प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतको ओइरो

प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतको ओइरो
सुन्नुहोस्

काठमाडौं : एकपछि अर्को दलले समर्थन फिर्ता लिन थालेकाले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत गुमाउने निश्चित छ। उल्टै विपक्षमा झन्डै दुई तिहाइ मत पर्ने सम्भावना बलियो बन्दैछ। 

नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धनसहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्ने र निर्णायार्थ पेश गर्न आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ।

प्रमुख दुई ठूला दल कांग्रेस र एमालेमात्रै होइन, सरकारमा रहेका साना दलले पनि प्रचण्डको विपक्षमा मत हाल्ने निर्णय गरिरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन्। कांग्रेस र एमालेको मात्रै प्रतिनिधिसभामा १ सय ६७ सिट छ।

कांग्रेसको ८८ र एमालेको ७९ सिट छ। एमाले सांसद रहेका सभामुख र निलम्बित टोपबहादुर रायमाझीले मतदान गर्न पाउने छैनन्। राप्रपा संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालले संसद्मा लिने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। बैठकपछि राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको जानकारी दिए।

उनले देशलाई अहिलेको अवस्थामा पुर्‍याउने काम स्वयं वर्तमान प्रधानमन्त्री दाहालले गरेको आरोप लगाए। लाखौं युवालाई विदेश जान बाध्य पार्ने, देशका भौतिक संरचना ध्वस्त पारेर मुलुकलाई विश्वको गरिब देश बनाउने मुख्य पात्र वर्तमान प्रधानमन्त्री दाहाल भएको उनको भनाइ छ। राप्रपाको प्रतिनिधिसभामा १४ सिट छ। 

अशोक राई नेतृत्वको जसपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने ह्विप जारी गरेको छ। जसपाको प्रतिनिधिमा ७ सिट छ। उपेन्द्र यादवको नेतृत्व गरेको जसपा नेपालले पनि विश्वासको मतको विपक्षमा नै मतदान गर्ने बताउँदै आएको छ। जसपा नेपालको प्रतिनिधिसभामा ५ सिट छ। यादवले कांग्रेस एमालेको गठबन्धनलाई सबैभन्दा पहिला समर्थन जनाएका थिए। 

उता जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि विपक्षमा नै मतदान गर्ने बताएको छ। जनमतको ६ र नागरिक उन्मुक्तिको ४ सिट छ। महन्थ ठाकुरको नेतृत्वमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी त अझ प्रचण्ड सरकारको विपक्षमा नै रहँदै आएको छ। प्रतिनिधिसभामा लोसपाको ४ सिट छ। 

प्रधानमन्त्री प्रचण्डको साथमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादीमात्रै देखिने भएका छन्।

संसद्मा प्रचण्डको पार्टी माओवादी केन्द्रको ३२, रास्वपाको २१ र एकीकृत समाजवादीको १० सिट छ। २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा जम्मा ६३ जना मात्रै प्रधानमन्त्रीको पक्षमा देखिएका छन्। रास्वपाले निर्णय गरिसकेको छैन। रास्वपाले त्यसबारे निर्णय गर्न शुक्रबारमात्रै बैठक बोलाएको छ। एमालेले समर्थन फिर्ता लिएपछि गोजीमा राजीनामा लिएर बालुवाटार पुगेका रास्वपाका मन्त्रीलाई प्रधानमन्त्री प्रचण्डले फकाएर फर्काएका थिए। त्यसैले रास्वपा विश्वासको मतको पक्षमा रहन सक्छ। 

जनमोर्चा नेपालले नेपाली कांग्रेस र एमालेको गठबन्धनका विपक्षमा अभिव्यक्ति दिँदै आएको छ। कांग्रेस एमालेको गठबन्धनको विरोध गदै आए पनि जनमोर्चाका अध्यक्ष एवं सासद चित्रबहादुर केसीले पक्ष वा विपक्षमा कता मत दिने भन्ने विषयमा केही बोलेका छैनन्। जसको प्रतिनिधिमासभा १ सिट छ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सधैंजसो सरकारको विपक्षमा नै रहँदै आएको छ। उसले प्रचण्डलाई विश्वासको मत दिने सम्भावना देखिँदैन। नेमकिपाको पनि १ सिट छ। प्रभु साहले नेतृत्व गरेको आम जनता पार्टीलगायत दुई स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पक्ष वा विपक्षमा मतदान गर्ने भन्नेमा खुलेका छैनन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.