बाढी पहिरोले गोरखाको सडक, घरगोठ र खेतमा क्षति
![बाढी पहिरोले गोरखाको सडक, घरगोठ र खेतमा क्षति](https://annapurnapost.prixacdn.net/media/albums/pahiro-gorkha-4_VIUccaMYxP_zmkXBq1bxe.jpg)
गोरखा : बिहिबार रातीदेखि शुक्रबार बिहानसम्म परेको अविरल वर्षाका कारण गोरखाका विभिन्न स्थानमा क्षति पुर्याएको छ। विभिन्न ठाउँमा खसेको पहिरोले अवरुद्ध बनेको गोरखा आबुखैरेनी सडक खण्ड बिहान प्रहरी, जनप्रतिनिधि तथा स्थानीयबासीको पहलमा खुलाइएको छ।
सहिदलखन गाउँपालिका ७ सुखौरा बस्ने अर्जुन थापाको घरभित्र लुदीखोलाको बाढी पसेर भाँडावर्तन तथा १५ वटा कुखुरा बगाएर लगेको प्रहरीले जनाएको छ। सहिद लखन २ बाँझोगरामा पहिरोसँगै ढलेको रुखले लागेर एक गोठमा क्षति पुर्याएको छ। त्यस्तै सहिद लखन गाउँपालिका ५ तीनमाने माझगाउँमा गएको पहिरोले वकिल बहादुर परियारको घरमा क्षति पुर्याएको छ।
पालुङ्टार नगरपालिका १ खोप्लाङका वडाअध्यक्षसमेत रहेका कृष्णबहादुर परियारको घरमाथिबाट आएको पहिरोले क्षति पुर्याएको वडाअध्यक्ष परियारले जानकारी दिएका छन्।
गण्डकी गाउँपालिका वडा नं. २ को साँदीखोलाकी मिनीमाया थापाको घर माथिबाट झरेको पहिरोले क्षति गरेको छ। घरको झ्यालसम्म पहिरोले पुरी घरभित्र लेदो पसेको वडाअध्यक्षले जानकारी दिएका छन्।
गोरखा नगरपालिका वडा नं. ५ मानेपानीको तीन घरमा पहिरोले क्षति पुर्याएको प्रहरीले जनाएको छ। स्थानीय रमेश सिर्मल, सर्मिला अछामी र दयाराम सार्कीको घरमा पहिरोले क्षति पुर्याएको छ। माथिबाट पहिरो आई घरमा क्षति पुर्याएपछि सर्मिला अछामीको छ जनाको परिबारलाई स्थानान्तरण गर्नुपर्ने अवस्था भएको छ। रमेश सिर्मलको चार जनाको परिबारलाई पनि अन्यत्र स्थानान्तरण गर्नुपर्ने अबस्था आएको प्रहरीको भनाइ छ। त्यस्तै दयाराम सार्कीको घरभन्दा तल पहिरो गई जोखिम बनाएको प्रहरीले जनाएको छ।
त्यस्तै गोरखा नगरपालिका ९ ठिँगुरेस्वाँराको रामकुमार योगीको गोठ पहिरोले क्षति पुर्याएको छ। सोही ठाउँका राजु गुरुङको घर पनि पहिरोले जोखिम बनाएकाले स्थानान्तरण गर्नुपर्ने अबस्थामा रहेको प्रहरीको भनाइ छ।
पालुङ्टार नगरपालिका ९ को खारखोला र चुक्तीखोलाको बाढी रोपाइँ गरिसकिएको फाँटमा पसेर बगाएको छ। रोपाइ गरिसकिएको खेतमा बाढी पसेर ठूलो क्षति पुर्याएको वडाअध्यक्ष भेजराज पाण्डेले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)