चिल्ड्रेनपार्कले छोपेको ५ सय वर्ष पुरानो मुकुन्द सेनको इतिहास
गोरखा : गोरखा नगरपालिका—५ को हाल चिल्ड्रेनपार्क भनेर चिनिने डाँडाको पुरानो नाम मणि मुकुन्दसेन कोट हो। नयाँ पुस्ताले पाँच सय वर्ष पुरानो इतिहासको सुनौलो महिमा मेटेर चिल्ड्रेनपार्क नामकरण गरिएको छ। चिल्ड्रेनपार्कको नाम पनि परिमार्जन गरी आजभोलि ‘सीपी’ नामकरण गरिएको छ। यो मुकुन्दसेन कोटको इतिहास खोज्दै जाँदा विक्रम संवत् १५७५ देखि १६१० सम्म पुग्न सकिन्छ। जतिबेला पाल्पाका चक्रवर्ती राजा मणिमुकुन्द सेनले यहाँसम्म राज्य सञ्चालन गरेका थिए।
द्रव्य शाहले विक्रम संवत् १६१६ मा गोरखा राज्य स्थापना गर्नुअघि यहाँ राजा मुकुन्द सेन (प्रथम)को राज्य थियो। यहाँ अहिले पनि त्यतिबेला मुकुन्द सेनको दरबार र उनले निर्माण गरेको खड्गदेवी मन्दिर छ। यसलाई पुरातŒव विभागले जीर्णोद्धार गरिराखेको छ।
त्यतिबेला पाल्पाका राजा मुकुन्द सेन (प्रथम) राज्य एकीकरण अभियानमा थिए। उनले पूर्वमा गंगा र ब्रह्मपुत्रको संगमस्थल, पश्चिममा कुमाउँ, गडवाल र श्रीनगरसम्म राज्य विस्तार गरेका थिए भने उत्तरमा धौलागिरि हिमाल र दक्षिणमा हरिहर क्षेत्रसम्म अजेय राज्य सञ्चालन गरेका थिए।
उनले शिववाणी सुनेका थिए र उनलाई भगवान् शिवले खड्ग उपहार दिएका थिए भन्ने गरिन्छ। सोही खड्गलाई पूजा गर्न उनले यहाँ खड्गदेवी मन्दिर निर्माण गरेका थिए भन्ने इतिहास छ। उनको दरबारभन्दा केही तल उनले धारा निर्माण गरेको थिए, जसलाई मिरकोटे धारा भनिन्छ।
राजा मुकुन्द सेन दुई जना थिए। मुकुन्द सेन प्रथम जीवनको उत्तरार्धमा बन्दीपुर हुँदै देवघाटमा गएर मुनि बनेर तपस्यामा लीन बने र सशरीर परमात्मामा विलीन भए। मुनि मुकुन्द सेन भन्दाभन्दै पछि उनी मणि मुकुन्द सेन नामले कहलाए।
गोरखाका राजा पृथ्वीनारायण शाहसँग पाल्पाली सेन राजाको नाता साइनो पनि थियो। पाल्पाली राजा गन्धर्व सेनकी छोरी कौशल्यावतीलाई गोरखाका राजा नरभूपाल शाहले विवाह गरे। जसको कोखबाट आधुनिक नेपालका निर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्म भएको थियो।
यिनै मणि मुकुन्द सेन (प्रथम)ले केही समय राज्य चलाएको डाँडा भएकाले यसलाई मुकुन्दसेनकोट भनेर चिनिएको इतिहासविद् दिनेशराज पन्तले जानकारी दिए। पन्तका अनुसार १५७५ देखि १६१० सम्म उनको शासनकाल रहेको छ।
गोरखा सदरमुकामको सबैभन्दा प्राचीन धरोहरका रूपमा रहेको भए पनि प्रचारप्रसारको अभावमा यसको महŒव ओझेलमा परेको छ।
गोरखा नगरपालिका–५ स्थित मणि मुकुन्दसेनकोट। तस्बिर : शिव उप्रेती।