रघुगंगाको बाढीले सडक र तटबन्ध बगायो

रघुगंगाको बाढीले सडक र तटबन्ध बगायो
सुन्नुहोस्

बेनी : रघुगंगा नदीमा शुक्रबार बिहान आएको बाढीले रघुगंगा गाउँपालिका–३ राहुघाटमा सडक र तटबन्ध बगाएको छ। संरक्षणका लागि बनाइएको तटबन्ध बगाएको बाढीले सडकलाई कटान गरेर साँघुरो बनाएपछि बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ। 

रघुगंगा नदीले बेनी नगरपालिका–९ गलेश्वर तर्फ बाढी नियन्त्रणका लागि निर्माण गरेको तटबन्ध भत्काएको छ। गलेश्वरको बस्ती, मोटरेबल पुल र राहुघाटको बस्ती  बाढीको जोखिममा परेको राहुघाटका लक्ष्मण चालिसेले बताए। राहुघाट र कालीगण्डकीको दोभानबाट ढुंगा, गिट्टी, बालुवा निकाल्न डोजर लैजान बनाइएको बाटोबाट बाढी पसेर सडक कटान गरेको हो। रघुगंगाको कटानका कारण राहुघाटमा रहेको धार्मिक तथा ऐतिहासिक महत्वको गायत्री मन्दिर क्षेत्र उच्च जोखिममा परेको छ।  

बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड राहुघाटसहित ४ ठाउँमा पहिरो र कटानका कारण अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा सिंगो मुस्ताङ जिल्ला, अन्नपूर्ण गाउँपालिकाको पुरै र रघुगंगा गाउँपालिकाको ८ मध्य ६ वटा वडाको यातायात सम्पर्क बिच्छेद भएको हो। 

बेनी–जोमसोम सडक आयोजनाका सव इञ्जिनियर सोहनजंग कार्कीका अनुसार रघुगंगा गाउँपालिकाको राहुघाट, बैसरी, सिरुवारी र कालीओडारमा पहिरो र कटानका कारण सडक अवरुद्ध बनेको छ। ‘अन्नपूर्ण गाउँपालिकाको रुप्से, गुइठेभिर, भिरकाटे र दोवाखोलाको पहिरो पन्छाएर यातायात सञ्चालन भएको छ,’ उनले भने ‘कालीओडार, सिरुवारी र बैसरीमा पहिरो पन्छाउन सडक विभागको डोजर, लोडर लगायतका उपकरण, प्राविधिक जनशक्ति र मजदुर परिचालन भएका छौं।’

बेनी–जोमसोम सडकको प्रवेश बिन्दुमा पर्ने रघुगंगा गाउँपालिका–३ गायत्री मन्दिर नजिकै रघुगंगा नदीले कटान गरेर भासिएको सडक मर्मत गर्न केही समय लाग्ने सव इञ्जिनियर कार्कीले बताए। भीरकाटेको पहिरो बाहेक अन्य पहिरो बेनी–जोमसोम सडकमा हरेक मनसुनमा दैनिक झरिरहने नियमित र अति जोखियुक्त पहिरा हुन्। सडक अवरुद्ध हुँदा रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक, तीर्थयात्रीहरूलाई समस्या भएको छ। 

निर्माणाधीन जलविद्युत, प्रशारण लाइन, सडक लगायत विकास आयोजनाहरू प्रभावित भएका छन्। म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका कृषकले उत्पादन गरेको आलु बजार पठाउन समस्या भएको छ। पहिरोले पोल ढलाएका कारण अन्नपूर्ण गाउँपालिकाको अधिकांश वडामा विद्युत आपूर्ति बन्द हुँदा जनजीवन कष्टकर बनेको अन्नपूर्ण–६ का वडा अध्यक्ष रामबहादुर खड्काले बताए।  

यसैबीच फापरखेत र बाङ्गेपहिरोमा अवरुद्ध म्याग्दीको पश्चिमी क्षेत्रका धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक खुलाउन डोजर परिचालन गरिएको पूर्वाधार विकास कार्यालय, म्याग्दीले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.