नेपाली भाषा–साहित्यको आलोकमा आदिकवि !
‘भानुभक्त पढेर हाम्रो शिक्षा प्रारम्भ हुन्छ र उनलाई हेलाँ गरेर समाप्त हुन्छ।’ महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो गहन भावसँग भाषाको गरिमा प्रदर्शित छ। देवकोटाले भानुभक्त आचार्यलाई ‘नेपाली जातीय कवि’को संज्ञा दिए। वि.सं. १९४८ तिर मोतीरामद्वारा आदिकवि भनी चिनाइएका व्यक्तित्व भानुद्वारा नेपाली भाषामा गरेको योगदानले आज नवस्रष्टालाई जागरण दिन्छ। हामी भाषासँग भानु अनि भानुसँग साहित्यको कसीलाई खोज्छौं। पृथ्वीनारायण शाहद्वारा गाँसिएको नेपाली भूगोललाई भाषा र भावनाले थप कसिलो पार्ने भानुको आलोकमा नेपाली मन मुटुको सम्बन्ध गाँसिन्छ।
मातासरी सुख दिन्या कुन चीज् छ जान्नू ?
विद्यै छ त्यस्तो अरु कौन खोज्नू।।३७।। (प्रश्नोत्तर माला)
नेपाली साहित्यकाशको एउटा कालजयी इतिहासले नेपाली गरिमालाई उँचो बनाएको छ। आदिकवि आचार्यले नेपाली साहित्यको प्राथमिककालीन कालखण्डभित्रको रामभक्ति धारामा केन्द्रीय भूमिका निर्वाह गरे। भाषिक आलोकमा उनको लगनले आजका लागि पठन संस्कृति विकासार्थ प्रेरणा दिन्छ। बहुल भाषाभाषी र भाषाभित्रको जाति, संस्कृति, पहिचानका सन्दर्भसँग उनको कर्मले जागरण भर्छ। विचार समयसँग हुर्कन्छ, परिवेशमा रम्छ अनि परिवर्तनसँग परिवर्तित बन्दै जान्छ। वास्तवमा उनको योगदानलाई आजको समय, चिन्तन र परिवेशसँग नभएर तात्कालिक परिवेशका आधारमा विश्लेषण गर्नु वाञ्छनीय हुन्छ। सायद त्यतिखेर लेख्ने कापी, कलम र परिवेशको अभाव हुँदो हो। जायजेथा गरेर दुई छाकलाई भरथेग गर्नुपर्ने बाध्यता हुँदो हो। पढाइ–लेखाइमै मात्र समर्पित रहिरहने अवसर र परिवेश नहुँदो हो।
मोतीद्वारा चम्काइएका भानु र आज : हजुरबुबा श्रीकृष्ण आचार्यको दौराको फेर समातेर पढ्ने परिवेश पाएका भानुलाई मोतीराम भट्टले नेपाली साहित्यका ओजश्वी व्यक्तित्वका रूपमा चिनाएर अभूतपूर्व गुन लगाए। १८७१ असार २९ गते तनहुँको रम्घामा जन्मिएका पिता धनञ्जय आचार्य र माता धर्मावतीका एक मात्र सन्तान भानुभक्त आज पनि नेपाली काव्य सुधाभित्र गुञ्जिरहेको नाम हो। पूर्वीय आध्यात्मिक चिन्तन, आदर्शताको भाव र असल आचरणको बिजलाई समाजमा पैmलाउने रामायण महाकाव्य भानुको अभूतपूर्व देन हो। रामायणको प्रकाशनदेखि नै भाषाको ममतामा साहित्यको सुगन्ध फुल्यो अनि आदर्शको आलोक प्रवाह भयो। आज पनि उनकै पदचाप समातेर नेपाली भाषाले विश्वव्यापी तवरमा प्रतिष्ठा कमाइरहेको छ।
तर, हामीले हिजोआज प्रयोग गर्ने सूचना, सञ्चार, विद्युतीय प्रकाशन, सामाजिक सञ्जाल, चिठी, निवेदन, शुभकामनाजस्ता व्यावहारिक लेखनमा अशुद्धिको चाङ छ। अंग्रेजी र हिन्दी भाषाको मिश्रणबाट खिचडी बनेको नेपाली भाषाको शुद्धताका सबालमा विज्ञहरूबीचमै बेमेल छ। दुई फरक धारले जन्माएको रोष, विभेद र विचारको विमतिका कारण कैयन् निर्दोष विद्यार्थी, शिक्षक, साहित्यप्रेमीलगायत सबै भाषाप्रेमीले हन्डर व्यहोर्नुप¥यो। अनुसन्धानपरक लेखनमा सन्दर्भांकन अर्थात् उद्धरण रखाइ र सन्दर्भ सामग्री सूची रखाइमा अंग्रेजीमा जस्तो ऐक्यबद्धता छैन। हिजो मोतीले चिनाएका भानुले जसरी आज हामी भाषिक मौलिकता संरक्षण, संवर्द्धन र विकासमा किन एक हुन सक्दैनौं ? के हामीले भाषानीति र योजनालाई सही दिशानिर्देश गरेका छौं ? यी प्रश्नले भाषाप्रेमीका मथिंगलमा आज पनि पीडाबोध हुन्छ।
वास्तवमा भानुभक्तमा १८/१९ वर्षको युवावस्थामै लेनदेन, लेखापढीका साथमा कवित्वभाव विकसित थियो। मोतीरामको चिन्तनमा कल्पनाभन्दा तथ्यको आधार स्पष्ट छ किनकि उनले वाल्मीकि र तुलसीदासलाई अध्ययन गरेरै भानुलाई नेपालीमा आदिकवि भन्न रुचाए। आजसम्म विकसित, परिमार्जित, मानकीकृत, आधुनिकीकृत नेपाली भाषाको गाँठो भानुसँग पुगेरै कसिएको छ। युवक कवि भट्टद्वारा लेखिएको ‘कवि भानुभक्ताचार्यको जीवन चरित्र (१९४८)’ ले नेपाली समालोचना जगत्लाई जगाइदियो। यसर्थ भानुको किरण मोतीमा चम्कियो अनि भानुकै नामसँग सिंगो नेपाली साहित्य, त्यसमा पनि नितान्त पद्य साहित्यको उठान भयो। वस्तुत: प्रारम्भिक काव्य धारमा फुटकर तथा महाकाव्यको विकास हुन पाएको गौरवसमेत भानुसँगै ठोकिएको छ।
हजुरआमाको चाउरिएको गालाले रामायण या त रामगीता गुनगुनाउँदा कलिलो दूधे बालकले औंला चालेर नाच्छ। भाका चोर्छ। वास्तवमा भानुलाई चर्चामा पुर्याएर आजसम्म जीवित तुल्याउने समाज, संस्कृति र साहित्यमा जीवनदर्शनको बोध हो– रामायण महाकाव्य। संस्कृतका आदिकवि वाल्मीकिद्वारा रचित संस्कृत भाषाको रामायणलाई तत्कालीन देश, भेष र परिवेशमा अनुवाद गर्दा मौलिकता भेटिन्छ। यसमा तत्कालीन लोकदर्शनको राग पाइन्छ। त्यसो त रामायण (रचना काल १९१०), भक्तमाला (रचना काल १९१०), प्रश्नोत्तरमाला (रचना काल १९१०), वधूशिक्षा (रचना काल १९१९), रामगीता (रचना काल १९२५) सबै कृतिमा काव्यसुधाकै लयभाव लहरी छ। जीवन र जगत्को लोकगत परिवेशसँग संरचित लयात्मक पद्यमयतामा आनन्दको भाव छ। यी भावभित्र मोतीमा टल्केको भानुको ज्योति पनि त छ !
विद्रोह, व्यंग्य र लय : संस्कृत भाषामा नलेखेर नेपाली भाषामा कविता लेख्नेलाई ‘नजान्ने मानिस’ को उपमा दिइने त्यो समयमा उनले रामायणलाई अनुवाद गरेर विद्रोह गरे। संस्कृत भाषा र साहित्यको बाहुल्य रहेको अनि हिन्दी प्रभावले ढपक्क ढाकेको समयमा उनको यो पुनित कार्य कम संघर्षपूर्ण पक्कै थिएन। नेपाली साहित्यको प्राथमिक कालीन (वि.सं. १८२६–१९४०) केन्द्रीय प्रतिभा हुनुसँग उनको कर्मठ व्यक्तित्व र समर्पण गाँसिन्छ। यसकारण मौलिकतामा सरलीकृत गरेर दूरदर्शिताको पाठ सिकाउने, आदर्शतालाई पढाउने, युगलाई बोल्ने उनको काव्यिक गुणलाई नेपाली साहित्यको अग्रपंक्तिमा छ। तब त छन्द र पद्य साहित्यको मिठासमा सरलीकरण गर्ने खुबीभित्र भाषा र साहित्यको गुञ्जाइस रहिरहन्छ।
आदिकवित्वको भावमा धर्म, अर्थ, काम र मोक्षको साधनासँग पुरुषोत्तम रामको भक्ति जागरण छ जहाँ हिन्दु दर्शनभित्रको जीवनदर्शन अनि हाम्रो समाजको आदर्श भावचित्र छ। तब त पारिवारिक प्रभावमा पुरुषोत्तम रामको आदर्शताबोध भयो अनि सुशासनको सारलाई भाषामा पोखियो। भानुलाई स्मरण नगरी नेपाली भाषाले आफ्नो मौलिकता माथि कसरी गर्व गर्न सक्ला र ! छन्द माधुर्यले गफ र बोलचाल नै कवितात्मक सुरमा ढाल्ने भानुमा आशुकवित्वको झलकसँग कलाकारिता झल्किन्छ। उनका कृतिभित्र अलिकति देशभक्तिको भावमा प्रकृतिप्रेम छचल्किन्छ। रसभावको विविधताले रम्य बनाउँछ अनि नैतिक अनुशासनका पात्रगत भूमिकाभित्रको आख्यानकारिताको लालित्य झुल्छ।
साथै व्यंग्यभावसमेत पोखिन पुग्छ :
लाङ्खुट्टया उपिञा उडूस् इ सँगि छन् इन्कै लहडमा बसी
लाङ्खुट्टयाहरू गाउँछन् ति उपिञा नाच्छन् म हेर्छू बसी।। (फुटकर रचना)
तत्कालीन समाजका विकृत पक्षमा प्रहार गर्नु, पौराणिक, धार्मिक आदर्शमा जीवन र जगत्को व्याख्या गर्दै संकुचनलाई चिर्नु उनका रचनाको सौन्दर्य शक्ति हो। युग र सोच जे–जसरी बदलिए पनि ज्ञानको क्षितिज सीमांकित हुँदैन। वास्तवमा प्लेटो, अरस्तुका ज्ञानका नैतिक आदर्शतालाई जति पढिए पनि आज मनन् गरिँदै छ। यसर्थ भानुको रामायण पढेर बोध गर्ने कुरामा कञ्जुस्याइँ हुँदा दु:ख मान्नुपर्छ। भानुसँग व्यक्तिगत स्वार्थभन्दा मास्तिर सामाजिक स्वार्थको सोच थियो। सायद, घटनाले साहित्य जन्माउँदो रहेछ। विचार महान् भए कर्म र चिन्तनको मेलमा घाँसीबाटै पनि त प्रेरणा मिल्ने रहेछ अनि साहित्य जन्मने रहेछ। त्यो पनि केवल समाजको आदर्शबोधका लागि :
भर्जन्म घाँसतिर मन् दिइ धन् कमायो
नाम क्यै रहोस् पछि भनी कुवा खनायो
घाँसी दरिद्री घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनी भै कन आज यस्तो।
(मोतीराम भट्ट)
भानुको अतुलनीय देनको सुगन्धले नेपाली पद्य साहित्यको समकालीन धार सायद कमजोर छैन। अर्कोतर्पm धार्मिक, नैतिक, राजनीतिक, आध्यात्मिक चेतनाका मुहान आचार्य हाम्रा राष्ट्रिय विभूति हुनुमा नेपालीको साझा गौरव झल्किन्छ। वर्गमा गरिब र जातमा चाहिँ बाहुन भएर पनि जीवन–जगत्का मार्मिक आदर्शको सत्यमा जिउने व्यक्तित्व हुन्– भानु। आदर्शवादीहरू आज पनि सुखी छैनन्। अनि, उनले भोगेको समाज र कर्मचारीको व्यवहारबाट पाइने पीडा पनि आजकै जस्तो रहेछ :
जागिर् छैन धनी म छैन घरको केबल् कोदालो खनी
खान्थ्याँ दुक्ख गरेर चाकरी गरेँ मान् पाउँला की भनी।।
(फुटकर रचना)
राजनीतिक जिम्मेवारीभित्रको आदर्श विचार, सेवा समर्पण र त्यागको सन्देश दिने भानुका रचनाले दिएका उपदेशहरू साँच्चै कालजयी लाग्छन्। भ्रष्टाचारको जालोमा फस्ने लालची, दुराचारी आचरणले उनका कृति पढेर आदर्शलाई सिक्न सक्नुपर्छ। आजको स्वार्थी र बर्बर समाजले बनाएको जर्जर परिस्थिति बदल्न भानुको एउटै कृति रामायण नै पनि पर्याप्त छ। सतीशिरोमणि सीताको मर्यादा र चरित्र होस् या त दशरथनन्दन रामको आदर्श राज्य सञ्चालन शैली– त्यो जनसम्मानप्रतिको लगाव असल नेताका लागि अनुकरणीय लाग्छ। त्यस्तै प्रश्नोत्तर कृतिभित्र पनि अनुशासन, परिश्रमी भाव, जीवनको सारलगायत सन्तोषी जीवन जिउने पूर्वीय दर्शन ओतप्रोत देखिन्छ :
कुन् हो धनी सब् नरले कह्याको ?
सन्तोषले जो छ खुसी रह्याको।।८।। (प्रश्नोत्तरमाला)
भानुका कृतिहरूलाई पर्गेल्दा रामराज्यको परिकल्पनाले पूर्वीय आदर्शवाद अनि पाश्चात्य माक्र्सवादी साम्यवाद तथा समाजवादलाई अद्यापि प्रश्न गरिरहेको देखिन्छ ! एउटा दिग्भ्रमले झापड हानिरहने रहेछ; हिजोको आदर्श रामराज्यको भाइचारा, भाव र समर्पण आज कहाँ गयो ! यद्यपि विश्वव्यापीकृत परिवर्तन र विज्ञानको विकाससँगै भौतिक उन्नतिपश्चात् हरेक मानिसले अन्ततोगत्वा आदर्शकै आडमा आएर शान्तिको खोजी गर्छ।
भाषिक मर्मभित्रको सचेतना : इतिहासलाई खोतल्दा नेपाली भाषालाई समुन्नत बनाउने कार्यको थालनी नै विदेशी विद्वान्बाट भएछ। सन् १८११ (वि.सं. १८६८) मा विद्वान् कर्कप्याट्रिकद्वारा नेपाल अधिराज्यको विवरण (एन अकाउन्ड अफ द किङडम अफ नेपाल) नामक पुस्तकमा पहिलो पटक नेपाली शब्द संकलन गरिएको देखिन्छ। त्यस्तै सन् १८२० (वि.सं. १८७७) को जे.ए. ऐटनको ‘नेपाली भाषाको व्याकरण’ (अ ग्रामर अफ दि नेपाली ल्याङ्वेज) नै पहिलो नेपाली व्याकरण हो। यसको ९१ वर्षपछि वि.सं. १९६८ मा जयपृथ्वीबहादुर सिंहद्वारा ‘प्राकृत व्याकरण’ लेखेको इतिहास छ। यसर्थ परम्परा, इतिहास र हिजोको पुस्ताबाट भाषा जन्मियो अनि विकसित भयो। भानुले वि.सं. १८९८ तिर बालकाण्ड लेख्न थालेको इतिहास पढ्न पाइन्छ। त्यसको ११÷१२ वर्षसम्म आइपुग्दा युद्धकाण्ड र उत्तरकाण्डसम्म लेखेको बुझिन्छ। यद्यपि यो प्रयास नेपाली भाषा साहित्यको मुख्य सचेतनाको जग हो।
नेपालले विकेन्द्रीकृत शासन प्रणालीलाई अवलम्बन गरेपश्चात् भाषिक सवाललाई विशेष वैधानिकता प्रदान गरेको देखिन्छ। नेपालको संविधान २०७२ को धारा २८७ को प्रावधानबमोजिम वि.सं. २०७३ भदौ २३ गते भाषा आयोग गठन भयो। धारा ७ को उपधारा ३ तथा धारा २८७ को उपधारा ६ तथा भाषा आयोग ऐन, २०७४ को दफा ३ (च) को काम, कर्तव्य र अधिकारका सन्दर्भमा आयोगले कार्य सम्पादन गरिरहेको छ। यसमा नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा शिक्षण गर्ने त्रि.वि.लगायतका निकाय, विभिन्न भाषिक निकायहरूको ऐक्यबद्धता हुनु उत्तिकै आवश्यक छ। वैधानिकताको सन्दर्भमा यसअघि २००४ को वैधानिक कानुन र नेपालको अन्तरिम शासन विधान २००७ मा भाषाको विषय समावेश भएको पाइँदैन।
नेपाल अधिराज्यको संविधान २०१५ को धारा ७० मा नेपाली भाषाले राष्ट्रभाषाको मान्यता पाएको सन्दर्भ छ। यसमा अन्य भाषा समावेश छैनन्। नेपालको संविधान २०१९ को भाग १ को दफा ४ मा पनि नेपाली भाषाकै प्रसंगमात्रै थियो। नेपाल अधिराज्यको संविधान २०४७ ले धारा ६ मा नेपाली भाषालाई राष्ट्रभाषा र अन्य भाषालाई राष्ट्रिय भाषा भनियो। नेपालको अन्तरिम संविधान २०६३ ले नेपाली भाषालाई सरकारी कामकाजको भाषा र सबै मातृभाषालाई राष्ट्रभाषा भन्यो। हामी २०७२ को भाषिक सन्दर्भ, प्रादेशिक भाषाका अभ्यास तथा भाषिक हक र अधिकारको प्रयोजनपरक अभ्यासमा छौं। यसमा आदिकविको भाषिक देन ऐतिहासिक पृष्ठभूमिका रूपमा गाँसिन पुग्छ।
२०७८ को जनगणनाले गणना गरेका १२४ ओटै भाषा र १४२ ओटै जातिभित्रको सौन्दर्यलाई नेपालले प्रभावकारी भाषानीति र योजनामार्पmत समेट्नु अत्यावश्यक छ। भाषिक प्रयोगमा देखिएका बग्रेल्ती अशुद्धि, बेवास्ता र सरकारी सूचनामै भएका गम्भीर अशुद्धि तथा त्रुटिलाई नियमन नगरिनु नेपालको सबैभन्दा ठूलो भाषिक बेवास्ता हो। सरकारी निकायबाटै प्रकाशित सामग्रीमा भाषिक तथा विषयवस्तुगत सम्पादन नहुँदा देखिएको कमजोरीले भानुको लगनलाई गिज्याइरहेको छ। सूचना तथा सञ्चार जगत्का विशेषत: अनलाइन सामग्रीमा देखिएका गम्भीर अशुद्धिले भाषिक बेवास्तालाई प्रश्रय दिइरहेको छ। आम जनमानसमा ‘भाषा हो, बुझे भइगयो नि’ भन्ने भाष्यका कारण त्रुटि सम्पादनलाई बेवास्ता गरिहिएको देखिन्छ।
अन्तत: भाषाको खडेरीमा जन्मेर गहन ज्ञानलाई काव्यात्मक रूपमा पस्कनु आफैंका अनुकरणीय कर्म थियो। केवल ५४ वर्षको अल्पायुमा भक्तिभावको गाथा, रामको कथा, भाषा विकासको गुह्य सन्दर्भ आदिलाई एकसाथ समेटिनु गौरवको विषय हो। नेपाल, नेपाली समाज र स्वपहिचानको आधारवस्तुमा भानुको देन र महिमा सदैव जीवन्त छ। अत: नेपाली मनमुटुले भानुलाई नसम्झी भाषा र साहित्यलाई सम्मान गर्नै सक्दैन।