जनताले अस्वीकार गरेकाले शासन गर्ने व्यवस्था अब सधैंका लागि अन्त्य गर्नुपर्छ : महासचिव पोखरेल
पोखरेलले भने,‘मिसन ८४ मा हामी एक्लै एक्लै लड्ने छन्,साना दलसँग गठबन्धन गर्ने छैनन्। तर, ८४ पछाडि कांग्रेस र एमालेमध्ये एउटा सत्तामा एउटा प्रतिपक्षमा हुनेछ। सत्तामा जान साना दलले गर्ने सौदाबाजी अन्त्य हुनेछ।’
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताले अस्वीकार गरेकाहरुले शासन गर्ने व्यवस्था अब सधैंका लागि अन्त्य गर्नुपर्ने बताएका छन् ।
आज ललितपुरमा आयोजित मानव अधिकार एलाइन्सको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले साना-साना दलले सत्ताका सौदा बाजीका लागि जनताका भावनामाथि खेलवाड गर्ने परम्परा सधैंका लागि अन्त्य हुनुपर्ने धारणा राखेका हुन्।
‘जनताले अस्वीकार गरेकाहरुले शासन गर्ने व्यवस्था अब सधैंका लागि अन्त्य गर्नुपर्छ। साना-साना दलले सत्ताका सौदा बाजीका लागि जनताका भावनामाथि खेलवाड गर्ने परम्परा सधैंका लागि अन्त्य हुनुपर्छ। त्यो दिशामा जानका लागि दुई ठूला पार्टी मिलेका छौं।’ पोखरेलले भने,‘मिसन ८४ मा हामी एक्लै एक्लै लड्ने छन्,साना दलसँग गठबन्धन गर्ने छैनन्। जनतामा आशा जगाउन मिलेका हौं। तर, ८४ पछाडि कांग्रेस र एमालेमध्ये एउटा सत्तामा एउटा प्रतिपक्षमा हुनेछ। सत्तामा जान साना दलले गर्ने सौदाबाजी अन्त्य हुनेछ।’
उनले प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त हुने भएपछि शुक्रबार संसदमा छट्पटी देखिएको दाबी गरे। उनले कमजोर दलले देश र सरकार चलाउँदा अस्थिरता देखिएकाले दुई ठूला दल मिल्नुपरेको बताए।
महासचिव पोखरेलले राज्यलाई बलियो बनाउन राजनीतिक दल बलियो बनाउनुपर्ने धारणा राखे। राजनीतिक अस्थिरताबाट देश बन्न नसक्ने बताउँदै पोखरेलले अस्थिरतालाई जनताले अस्वीकार गरेर स्थिरता र समृद्धिका पक्षमा लाग्नुपर्ने प्रष्ट पारे।
उनले युवालाई देश पलायनबाट रोक्ने योजना बनाउनुपर्ने बताए। पोखरेलले भने, ‘युवाहरुलाई हामी आफैँ देश बनाउँछौ भन्ने भावना जगाएर विदेश पलायनबाट रोक्नुपर्छ। देश बनाउनका लागि क्षमता भएका युवालाई अवसर दिएर स्वदेशमै रोक्न सकेमात्र देश विकास हुन्छ।’
उनले एमाले नेतृत्व सरकारले समृद्ध नेपाल, सुखी नेपालको नारालाई साकार पार्ने अभियान चलाउने बताए। उनले भने,‘उद्योगी, व्यवसाय संकटग्रस्त अवस्थामा छन्, उनीहरुलाई कसरी गतिशिल बनाउने, चलायमान बनाउने भनेर नयाँ सरकारले काम अगाडि बढाउनुपर्छ।’