लोमान्थाङको समग्र विकासमा प्रतिबद्ध छौं

लोमान्थाङको समग्र विकासमा प्रतिबद्ध छौं

चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको अध्यक्ष हुन् टसीनर्बु गुरुङ। उत्तरी कोरला नाकासँग सिमाना जोडिएको लोमान्थाङ गाउँपालिका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले निकै महत्त्वपूर्ण छ। स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गते सम्पन्न निर्वाचनमा लोमान्थाङ गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित गुरुङको कार्यकाल दुई वर्ष पूरा भइसकेको छ। लोमान्थाङ गाउँपालिकाको समग्र विकासमा लोमान्थाङ गाउँपालिकाले गरेको कार्यसम्पादन तथा प्रगतिलगायतका विषयमा पालिका अध्यक्ष गुरुङसँग अन्नपूर्णकर्मी मुस्ताङ संवाददाता सुन्दरकुमार थकालीले गरेको सम्पादित कुराकानी।

तपाईं अध्यक्ष पदमा निर्वाचित भएको पनि दुई वर्ष भइसकेको छ। लोमान्थाङको समृद्धि र विकासका लागि जनतासँग गरिएका प्रतिबद्धताहरू कत्तिको पूरा भएको देखिन्छ ?

निर्वाचनपछि अध्यक्ष भएर कार्यसम्पादन गरेको दुई वर्ष भइसकेछ। तर, त्यो समय कसरी बित्यो पत्तै भएन। जनताप्रति गरिएका प्रतिबद्धतालाई पूरा गर्ने ठूलो हुटहुटी छ। जनताकै सेवामा अहोरात्र लागिपरेको पनि छु। लोमान्थाङको समृद्धि र विकासमा गर्नुपर्ने धेरै कार्यहरू छन्। हामी आएपछि केही जनतासँग गरिएको प्रतिबद्धता सबै पूरा हुन नसके पनि केही आशालाग्दा कामहरू भएको मैले महसुस गरेको छु।

तपाईं लोमान्थाङ गाउँपालिकाको अध्यक्ष भएर निर्वाचन जितेमा मुख्य काम के गर्छु भन्नु भएको थियो ? त्यो अहिले के भइरहेको छ ?

हामीले निर्वाचनको बेला जनतासँग मुख्य कुरा उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकालाई कसरी समृद्ध तुल्याउन, यसका सम्भावनाहरू के के हुन सक्छन् भन्ने मुख्य चुनावी एजेन्डा थियो। समग्र लोमान्थाङको विकास र यहाँको सम्भावनालाई आत्मसात् गर्दै यसको गन्तव्य पहिल्याउन प्रयत्नरत भएर लागि पर्यायौं। पदमा जिम्मेवारी लिएर बसिसकेपछि विभिन्न अप्ठ्यारा र चुनौतीहरू त पक्कै हुन्छन्। यद्यपि हामीले हाम्रो तहबाट हुन सक्ने केही कार्य गर्न सफल भयौं। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण जोखिमले चार वर्षसम्म लगातार बन्द भएको कोरला नाका उपल्लो मुस्ताङका नागरिकलाई मात्रै भए पनि खोल्न सफल भयौं। यस कार्यमा हामीले संघ तथा प्रदेश माननीय, स्थानीय प्रशासन, सुरक्षाकर्मी र सबै सरोकारवाला निकायको सामूहिक भरपूर सहयोग मिल्यो। नाका बन्द हुँदा उपल्लो मुस्ताङीले भोग्नु परेका समस्याहरू अहिले समाधान उन्मुख भइरहेको छ। कृषि, पर्यटन र भौतिक विकासमा समेत हामी धेरै अघि बढिसकेका छौं।

कोरला नाका बन्द हुँदा पालिकावासीलाई कस्तो समस्या थियो र नाका खुलेपछि जनताले के सुविधा पाइरहेका छन् त ?

कोरला नाका अहिलेको जस्तै बाह्रैमहिना खुल्ला हुने अवस्था पहिला थिएन। पहिलापहिला उपल्लो मुस्ताङीहरू बर्सेनि असार र भदौमा सीमित समयका लागि किनमेल गर्न कोरलाको चिनिया भू—क्षेत्रमा जानु पथ्र्यो। नाकाको तिब्बती भूमिमा व्यापार मेला चल्दा हामीले त्यहाँबाट दैनिक घरायसी मालसमान र लत्ताकपडा र अन्य सामान आयात गथ्र्यौं। यसले केही मात्रामा भए पनि निकै राहत भएको थियो। तर, कोभिडले नाका पूरै बन्द भएपछि चार वर्षसम्म व्यापार मेला लागेन, त्यसपछि उपल्लो मुस्ताङका नागरिकलाई निकै समस्या पर्‍यो। हामीले उत्पादन गरेका कृषि उपज र अन्य सामान पनि सीमापारि बिक्री गर्न सकेनौं। यसले गर्दा पालिकावासीको आर्थिक जीवनमा पनि ठूलो असर पुर्‍यायो। अहिले नाका खुलेको छ। बाह्रै महिनामा चीनको भूमि लिजीमा पुगेर सामान किनमेल गर्न सजिलो भएको छ। हामीले हाम्रो उत्पादन पनी सीमापारि लगेर बिक्री गर्न सहज भएको छ। नाका खुलेकै कारण पालिकावासीलाई आंशिक भए पनि वैकल्पिक रोजगारीको अवसर प्राप्त भएको छ।

तपाईंको गाउँपालिका त गण्डकी प्रदेशकै प्रमुख गाउँपालिका पनि हो। यहाँको धार्मिक तथा सांस्कृतिक र पुराताŒिवक सम्पदाको संरक्षण र विकासमा के गर्नुभयो ?

निश्चित रूपमा हाम्रो गाउँपालिका लोमान्थाङ निकै प्रचुर सम्भावना नै सम्भावना भएको पालिका हो। यहाँ शदियौं वर्षदेखि स्थापना भएका धार्मिक तथा ऐतिहासिक पुराताŒिवक सम्पदाहरू छन्। यी सम्पदाको संरक्षण, संवद्र्धन र विकासमा हामो ध्यान निरन्तर छ। यहाँको सबै प्रकार सम्भावना र मौलिकतालाई प्रचारप्रसारको आवश्यकता पनि छ। जसले यहाँको समग्र आर्थिक विकासमा टेवा पुग्न सकोस् भन्ने नै महŒवपूर्ण हो। हामीले हाम्रो तहबाट हुन सक्ने कामहरू अघि बढाइरहेका छौं। हामो तहबाट हुन नसक्ने कामहरू संघ र प्रदेश सरकारसँग निरन्तर समन्वय र सहकार्य गरेका पनि छौं। हामीले धार्मिक तथा सांस्कृतिक पर्यटन विकासका लागि ऐतिहासिक तथा धार्मिक पर्व तिजी र यार्तुङ पर्वलाई प्रवद्र्धन गर्न आवश्यक बजेट विनियोजन गरेर यसको व्यवस्थापन र प्रचारप्रसारमा समेत जोड दिइरहेका छौं।

उपल्लो मुस्ताङ निषेधित तथा नियन्त्रित क्षेत्रभित्र पर्दछ। यसले यहाँको पर्यटन विकासमा के कस्तो परेको छ नि ?

निश्चित रूपमा उपल्लो मुस्ताङलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्रको रूपमा राख्दा यहाँ मुस्ताङ आउने विदेशी पर्यटक ५ प्रतिशत पनि आउन सक्दैनन्। नेपाली पर्यटकले मात्रै पर्यटकीय आर्थिक विकास र समृद्धि पूरा हुन सक्तैन। हामीले विगतदेखि हालसम्म पनि निरन्तर यही समस्या उठाउँदै आइरहेका छौं कि उपल्लो मुस्ताङलाई सरकारले खुल्ला गरिदिओस् अथवा यहाँ आउने पर्यटकलाई लिइने चर्को रोयल्टी शुल्कलाई कम गरियोस्। तर हामीले गरेका सबै यस प्रकारका प्रयासहरू अझै सार्थक हुन सकेका छैनन्। जसका कारण उपल्लो मुस्ताङका पर्यटन व्यवसायीलाई ठूलो असर पुगेको छ।

पूर्वाधार विकासतर्फ तपार्इंको गाउँपालिकाले के कस्ता विकास योजनालाई अघि बढाएको छ ?

पूर्वाधार विकासतर्फ हाम्रो गाउँपालिकाले केही राम्रा कार्यहरू गरिरहेको छ। हामीले कृषितर्फको आर्थिक विकासलाई टेवा पुर्‍याउन कृषि सडक स्तरोन्नति र निर्माणतर्फ जोड दिएका छौं। लोमान्थाङ गाउँपालिकाकै पाँचवटै वडा जोड्ने गरी कृषि सडक निर्माण गर्न दुई वटा योजनाको काम गाउँपालिकाले गरेको छ। लोमान्थाङको ५, २ र १ जोड्ने कृषि सडक निर्माण चालु आर्थिक वर्षमा सुरु गरेका छौं। त्यो आर्थिक वर्ष २०८१/८२ मा पूरा हुनेछ। अर्को ५, ३ र ४ वटा जोड्ने कृषि सडकको ठेक्का आह्वान भइसकेको छ। विद्यालय भवन र एक गुम्बा स्कुलको छात्रावास भवन निर्माण गर्न वैदेशिक लगानीसँग लागत साझेदारी गर्ने गरी ८ करोड रुपैयाँको योजना पनि सुरु हुँदैछ। लोमान्थाङ दरबारमा छपनी ढुंगा बिछ्याउने कामका साथै स्वास्थ्यचौकी भवनको भौतिक पूर्वाधार निर्माणको काम पनि भएका छन्।

पालिकामा कृषि लक्षित कार्यक्रमहरू कसरी अघि बढेको छ ?

गाउँपालिकाले सीमित स्रोतसाधनका बाबजुद कृषिलाई पनि महत्त्वपूर्ण प्राथमिकता दिएको छ। लोमान्थाङको ठिङ्गरमा सामूहिक आलु पकेट क्षेत्र र किम्लिङमा सामूहिक तोरी र फापर खेतीलाई पकेटका रूपमा विस्तार गर्न सफल भएका छौं। यस प्रकार सामूहिक खेती गर्ने किसानलाई पूर्वाधार निर्माण, उपकरण खरिदमा अनुदानलगायत विभिन्न सहयोग पुर्‍याएको छ। यसका अलावा कृषकलाई बिउबिजन र विभिन्न उपकरणमा अनुदान दिँदै आइरहेको छ।

उपल्लो मुस्ताङका युवाहरू धेरैजसो विदेश पलायन भइरहेका छन् भनिन्छ, यो किन हो ?

यो एकदमै साँचो हो। हाम्रो पालिकामा धेरैजसो युवा जनशक्ति विदेशी पलायन हुने क्रम बढ्दो छ। यसमा हामी एकदमै चिन्तित छौं। उनीहरूलाई विदेश जानबाट रोक्न हामीले के गर्न सक्छौं भन्नेतर्फ गम्भीर रूपमा सोच्न पर्ने देखिन्छ। गाउँमा युवाशक्ति बाहिर जानुको मूल कारण आर्थिक विकास नै हो। हामीकहाँ जबसम्म आर्थिक विकासका मार्गहरू खुल्ला हुँदैन तबसम्म यो क्रम रोकिँदैन। यसका लागि सर्वप्रथम त उपल्लो मुस्ताङ विदेशीका लागि पनि खुल्ला हुनुपर्छ। कोरला नाकालाई अन्तर्राष्ट्रिय नाकाको रूपमा खुल्ला गरी व्यापारिक हबको रूपमा विकास हुनु पर्दछ। 

टसीनर्बु गुरुङ, अध्यक्ष, लोमान्थाङ गाउँपालिका


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.