नयाँ सरकार गठन

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त, सोमबार सपथ ग्रहण हुने


योसँगै ओली चौथो पटक नेपालको प्रधानमन्त्रीमा बनेका हुन्।

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) बमोजिम प्रतिनिधि सभाका सदस्य ओलीलाई आज प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

असार १७ गते राति कांग्रेस-एमालेबीच सत्ता सहकार्य गर्न भएको सहमतिअनुसार पहिलो चरणमा ओली नेतृत्वमा नयाँ सरकार बन्न लागेको हो।

राष्ट्रपति कार्यालयकी सहसचिव शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री केपी शर्मा ओलीज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ।’ 

null

एमाले अध्यक्ष ओली यसअघि नेपालको नयाँ संविधान जारी भएपछि २०७२ असोज २५ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए। त्यस्तै, ओली दोस्रो पटक २०७४ फागुन ३ गते, तेस्रो पटक २०७८ वैशाख ३० गते प्रधानमन्त्री पदमा नियुक्ति भएका थिए। तेस्रो पटक ठूलो दलको हैसियतले प्रधानमन्त्री बनेका हुन्।

तीन वर्षपछि ‘कम ब्याक’

यस अगाडि २०७४ को निर्वाचनपछि करिब दुई तिहाइको समर्थनमा प्रधानमन्त्री भएका ओली सर्वोच्चको परमादेशबाट हटेका थिए। सर्वोच्चको संवैधानिक इजलासबाट परमादेश जारी भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका थिए।

२०७८ साल असार २८ मा देउवासहित माओवादी केन्द्र, एमालेकै तत्कालीन नेता माधवकुमार नेपालसहित मिलेर ओली सरकारलाई बर्हिगमन गराएका थिए। अहिले कांग्रेस सभापति देउवाकै समर्थनमा एमाले अध्यक्ष ओली पुन: प्रधानमन्त्री बनेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष नेपाल भने देउवा-ओलीको विपक्षमा छन्। तीन वर्षपछि फेरि बहिर्गमन भएकै दिन २०८१ साल असार २८ मा ओलीले प्रधानमन्त्रीको दाबी पेश गरे।

प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम मिति २०८१ असार २८ मा प्रतिनिधि सभाबाट विश्वासको मतको लागि राखेको प्रस्ताव प्रतिनिधि सभाबाट बहुमतले अस्वीकृत भएको थियो। २७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्री दाहालको पक्षमा ६३ मत, विपक्षमा १९४ मत र तटस्थमा १ मत परेको थियो। विश्वासको मत लिने दिन २५८ सांसद सहभागी थिए।

संसदबाट प्रचण्डले बहुमत गुमाएको जानकारी पाएलगत्तै संविधानको धारा ७६ को उपधारा (२) बमोजिम बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि राष्ट्रपति पौडेलले आइतबार अपरान्ह ५ बजेभित्र पेश गर्न आव्हान गरेका थिए।

संविधानको धारा ७६ (२) मा भनिएको छ, ‘उपधारा १ बमोजिम प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ।’ राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) आह्वान गरेपछि शुक्रबार नै एमालेका अध्यक्ष ओली कांग्रेसको समर्थनमा संसदीय दलका नेता एवम् सभापति शेरबहादुर देउवाको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दाबी पेस गर्न शितल निवासमा पुगेका  थिए। 

null

राष्ट्रपति कार्यालयमा ओलिको मात्र दाबी पेश भएको हो। राष्ट्रपतिबाट नियुक्त भएसँगै ओली चौथो पटक नेपालको प्रधानमन्त्रीमा बनेका हुन्। 

बहुमतका लागि १३८ सांसद आवश्यक भएपनि संसदमा कांग्रेसको ८८ जना र एमालेको ७९ (१ सभामुख, १ निलम्बित) सांसद रहेका छन्। एमाले-कांग्रेसको गठबन्धनलाई साना दलले समेत समर्थन गरेका छन्। 

प्रधानमन्त्रीको सपथ ग्रहण सोमबार बिहान ११ बजे हुने,  सांसदहरू साढे १० भित्र प्रवेश गरिसक्नुपर्ने

नवनियुक्त‍ प्रधानमन्त्रीको सपथ ग्रहण सोमबार बिहान ११ बजे हुने तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ। शितल निवासमा एक समारोहका बीच प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको सपथ लिनेछन्।

राष्ट्रपति कार्यालकी सहसचिव रेग्मीले संघीय संसद सचिवालयलाई सपथ ग्रहण समारोहमा उपस्थितिको लागि संघीय सांसदलाई बिहान १०:३० बजेभित्र राष्ट्रपतिको कार्यालय, शीतल निवास प्रवेश गरिसक्न निमन्त्रणासहित जानकारी गराउनका लागि पत्राचार गरेकी छन्। 

ओलीले सपथ ग्रहणसँगै मन्त्रिमण्डल विस्तार गर्नेछन्। एमाले र कांग्रेसबीच मन्त्रालय र मन्त्रीको नाम मोटामोटी रुपमा टुंगिसकेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.