बर्दिया ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा
गुलरिया : बर्दियालाई पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। जिल्लामा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालवालिकालाई राष्ट्रिय खोप तालिकामा समावेश भएका सबै खोपहरू पूरा गरेसँगै शनिबार बर्दियालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनमगरले बर्दिया पूर्ण खोप जिल्ला घोषणा गर्दै प्रदेशमा धेरै स्वास्थ्य समस्या रहेको औल्याए। लुम्बिनी प्रदेशले गतवर्ष केही जिल्लामा घोषणा हुन नसकेकेका कारण लुम्बिनीलाई पूर्ण खोप प्रदेश घोषणा गर्न नसकेको बताउँदै यसवर्ष असार महिनाको अन्तिम दिन पूर्ण खोप प्रदेश घोषणा गर्ने तयारी रहेको बताउँदै घोषणा कार्यक्रम सफल बनाउन स्वास्थ्य स्वयंसेविकाहरूको ठूलो भूमिका रहेको स्मरण गरे। स्वास्थ्य कार्यालयका अनुसार बर्दियामा १६ देखि ५९ महिनासम्मका २४ हजार ६०४ जना बालबालिकाले सबै खोप पाएका छन्।
बर्दियाका ८ वटै पालिका पूर्ण खोप घोषणापश्चात बर्दियालाई पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए।