सिन्धुपाल्चोकको विभिन्न स्थानमा बाढी पहिरो : हाईड्रोपावर र पुल बगायो, चीन जोड्ने तातोपानी मार्ग ठप्प

सिन्धुपाल्चोकको विभिन्न स्थानमा बाढी पहिरो : हाईड्रोपावर र पुल बगायो, चीन जोड्ने तातोपानी मार्ग ठप्प
सुन्नुहोस्

सिन्धुपाल्चोक : आइतबार रातिको अविरल वर्षाले सिन्धुपाल्चोक जिल्लाको विभिन्न नदी तटिय क्षेत्रमा क्षति पुर्‍याएको छ। 

भारी वर्षाका कारण आएको बाढीले पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ तिपेनीमा रहेको इन्द्रावती तेस्रो जलविद्युत आयोजनाको केही संरचना बगाएको छ भने पावर हाउसमा पानी पसेको र ड्याममा क्षति भएको प्रहरीले जनाएको छ। ७ दशमलव ५ मेगावाट क्षमताको आयोजनाको ड्याम बालुवाले भरिएको कारण बिद्युत उत्पादन ठप्प भएपछि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का अधिकांश भाग अन्धकार भएको छ।

आयोजनामा काम गर्ने सबै कर्मचारी सुरक्षित रहेको तर क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीको भनाइ छ। त्यस्तै बाढीले पाँचपोखरी थाङ्पाल गाउँपालिका–६ चिन्डेमा रहेको झोलुङ्गे पुल बगाएको छ। सोही गाउँपालिकाको खाल्डेखोलामा बाढी र पहिरोले सडक अवरुद्ध बनाएको छ। सो क्षेत्रमा जाने कुनैपनि वैकल्पिक सडक नहुँदा अत्यावश्यक यातायातका साधनहरू समेत चल्न नपाउँदा बिरामीहरू समेत मारमा परेका छन्।

लार्के खोलामा आएको बाढीले मेलम्ची भोताङ सडक ठाउँ ठाउँमा बगाएको छ। तटिय क्षेत्रको खेती योग्य जमिन बगाएको छ। चिनियापुल, माझीरुम्टी, तीपेनी, खसेबलुवा र खाल्डेखोलाजस्ता बस्ती बजार पूर्ण जोखिममा रहेको छ भने अस्पताल पनि जोखिममा रहेको बताइएको छ। बाढीले सडक, गोरेटो बाटो, खेत, तटबन्ध र घाटहरू समेत बगाएको छ। 

यसैगरी तिपेनी मेलम्ची सडक खण्डको बाटोमा पनि बाढीले क्षति पुर्‍याएको छ। गाउँपालिका अध्यक्ष टासी ह्योल्मो लामाले पालिका जोड्ने सडक पूर्ण रुपमा बन्द भएको बताए। अध्यक्ष लामाले पाँचपोखरीमा फेरी ठुलो विपत्ति आइलागेको बताउँदै खेती योग्य जमिन धेरै बगाएको जानकारी दिए। 

‘आइतबार साँझदेखि यहाँ बत्ती पनि छैन। नदी किनाराका कटेजहरू बाढीले बगाएको छ। कति बगायो भन्ने विवरण निकाल्नै मुस्किल परिरहेको छ’, उनले भने–‘गाउँपालिका अहिले सडक, बाटो, यातायात र बिजुली बत्तीबाट पूर्ण रुपमा विच्छेद भएको छ।’ त्यस्तै बाढीले इन्द्रावती नदीमा लगाएको अन्दाजी १ सय मिटर ग्याबिन जाली बगाई तिपेनी मेलम्चीको सडक अवरोध गरेको छ।

यता चीनसँग जोड्ने बाह्रबिसे–तातोपानी सडकमा पर्ने खाग्दल बजारमा रहेको बेलिब्रिज बाढीले बगाएको छ। खाग्दल खोलामा आएको बाढीले बेलिब्रिज बगाउँदा तातोपानी–बाह्रबिसेको सडक सम्पक टुटेको छ। इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीकाअनुसार सोमबार रातको दुई बजे खाग्दल खोलामा आएको बाढीले बेलिब्रिज बगाएसँगै आसपासका आधा दर्जन घरटहरामा क्षति पुर्‍याएको छ। 

अविरल वर्षात कारण उर्लिएको खाग्दल खोला रातको दुई नबज्दै बेलिब्रिज माथिबाट बग्न थालेपछि स्थानीयको भागभाग भएको थियो। पुल बगाएर वरपर नदी पसेपछि जोखिमबाट स्थानीयलाई जोगाउन राति नै नजिकैको सुरक्षित स्थानमा लगिएको प्रहरीले जनाएको छ। खाग्दलसहित कोदारी राजमार्गको खण्डपिच्छै विभिन्न स्थानमा बाढीपहिरो गएपछि सडक भएको छ। 

खागदल खोला नजिक रहेको ३ घर जोखिममा रहेको प्रहरीले बताएको छ। त्यहाँ रहेका ९ जना मानिसलाई नेपाली सेना र नेपाल प्रहरीले सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार उद्धारपश्चात ९ जनालाई  सुरक्षित स्थानमा सारिएको छ।  

जसमा खागदल बस्ने ७९ वर्षीय लोकबहादुर कार्की र उनको श्रीमती ६८ वर्षीया कमलादेवी कार्की, छोरा ४२ वर्षीय नवराज कार्की र छोरी ३५ वर्षीय निर्मला रोका रहेका छन्। यस्तै सोही ठाउँका ४१ वर्षीय विष्णु मगर उनको श्रीमती ३२ वर्षीया मनमाया मगर र छोरी १५ वर्षीया रेविका मगरलाई सुरक्षित स्थानमा सारिएको छ। यस्तै सोही स्थान बस्ने ३१ वर्षीय साजन श्रेष्ठ र २१ वर्षीय सुशील श्रेष्ठलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। 

नदी तटिय क्षेत्र र बाढी पहिरोबाट जोखिमयुक्त स्थानहरूमा विभिन्न इलाका प्रहरी कार्यालयबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ। प्रहरीले खोला किनारा छेउछाउमा बस्ने स्थानीय बासिन्दाहरूलाई सतर्कता अपनाउन साइरन बजाउने, माइकिङ लगायत अन्य जनचेतनामूलक कार्य गरी जोखिममा रहेकाहरूको उद्दार गरिएको भट्टराईले बताए।

बाढी पूर्वानुमान महाशाखाका अनुसार भोटेकोशी नदी, बाह्रबिसे जल मापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ। यो बढ्दो क्रममा रहेकाले सो नदीको तटीय क्षेत्रहरूमा रहनेहरूले बिहान ८ बजेसम्मै उच्च सतर्कता अपनाउनुपर्ने बताइएको छ। त्यसैगरी सिन्धुपालचोक जिल्लाकै इन्द्रावती याङ्ग्री नदी जल मापन केन्द्रमा हालको जलसतह बढ्दो क्रममा रहेको र थप बढ्न सक्ने सम्भावना रहेको छ। तल्लो नदी तटीय क्षेत्रहरू रहनेहरू बिहान उच्च सतर्कता अपनाउनुपर्ने महाशाखाको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.