ओली सरकारमा आधा नयाँ

ओली सरकारमा आधा नयाँ
राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार आयोजित नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरूको शपथग्रहण कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेललगायत । तस्बिर : अभिषेक महर्जन

कांग्रेस एमाले गठबन्धनबाट प्रधानमन्त्री बनेका ओलीसहित उनका २२ जना सारथिको पनि सपथग्रहण भएको छ।

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। कांग्रेस एमाले गठबन्धनबाट प्रधानमन्त्री बनेका ओलीसहित उनका २२ जना सारथिको पनि सपथग्रहण गरिएको छ।

एमालेबाट प्रधानमन्त्रीसहित ९ मन्त्री भएका छन् भने कांग्रेसबाट उपप्रधानमन्त्रीसहित १० जना ओली सरकारमा समावेश भएका छन्। 

null

त्यस्तै अशोक राईले नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) बाट २ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट एक मन्त्री भएका छन्। ओलीको यो मन्त्रिपरिषद्मा दुई जना उपप्रधानमन्त्री भएका छन्। 

ओलीपछि दोस्रो मर्यादाक्रममा कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह उपप्रधानमन्त्री भएका छन्। उनलाई सहरी विकास मन्त्रीको जिम्मेवारी दिइएको छ।

त्यस्तै, तेस्रो मर्यादाक्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान एवं अर्थमन्त्री बनाइएको छ। ओलीको मन्त्रिपरिषदमा दुई जना महिला मन्त्री भएका छन्। कांग्रेसबाट आरजू देउवा र एमालेबाट विद्या भट्टराई मन्त्री बनेका छन्। 

९ जना नयाँ

ओलीले यो सरकारका आधा नयाँ अनुहारलाई मन्त्री बनाइएको छ। कांग्रेसले ५ जना र एमाले ४ जनालाई पहिलोपटक मन्त्री बनाएका हुन्। जसमा कांग्रेसबाट आरजु राणा देउवा, प्रदीप पौडेल, रामनाथ अधिकारी, बद्री पाण्डे र ऐनबहादुर शाही (ठकुरी) छन्।

यस्तै एमालेबाट देवेन्द्र दाहाल, विद्या भट्टराई, मानवीर राई र राजकुमार गुप्ताले पहिलोपटक मन्त्री बन्ने अवसर पाएका छन्। 

null

दोहरिए ४ जना  
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो सरकारका चार जना मन्त्री बनेका छन्।  एमालेका बलराम अधिकारी र दामोदर भण्डारीलाई पुरानै मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रचण्ड सरकारमा पनि अधिकारी भूमि व्यवस्था र भण्डारी उद्योग वाणिज्य मन्त्री थिए। यादव मन्त्री दोहरिएका छन् तर मन्त्रालय भने फेरिएको छ। प्रचण्ड सरकारमा यादव स्वाथ्यमन्त्री थिए। जसपाका मन्त्री बनेका सुडी पनि दोहरिएका छन्। दाहाल सरकारमा सुडी वन तथा वातावरण मन्त्री थिए। ओली सरकारमा सुडी महिला, बालिका तथा जेष्ठ नागरिक मन्त्री भएका छन्।  

कुन प्रदेशका कति मन्त्री ?
ओली सरकारको मन्त्रिपरिषद्मा सुदूरपश्चिम प्रदेशबाट चार जना मन्त्री भएका छन्। जसमा कांग्रेसबाट गृहमा लेखक, परराष्ट्रमा आरजु देउवा, पर्यटनमा पाण्डे मन्त्री बनेका छन्। एमालेले पनि भण्डारीलाई उद्योगमन्त्री बनाएको छ। 

कर्णाली प्रदेशबाट एक जना मात्रै मन्त्री बनेका छन्। कर्णालीबाट शाही वनमन्त्री बनेका छन्। उनी कांग्रेसका सांसद हुन्। लुम्बिनी प्रदेशबाट २ जना मन्त्री भएका छन्। दुवै मन्त्री एमालेबाट बनेका छन्। रूपन्देही २ वटा निर्वाचित विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री एवं कपिलवस्तु १ बाट निर्वाचित बलराम अधिकारी पनि भूमिव्यवस्था मन्त्री बनेका छन्। गण्डकी प्रदेशबाट एमालेबाट दुई मन्त्री बनेका छन्। लमजुङका पृथ्वी सुब्बा सञ्चार तथा कास्की २ बाट निर्वाचित विद्या भट्टराई शिक्षा मन्त्री बनेकी छन्। 

वागमती प्रदेशबाट ३ जना मन्त्री बनेका छन्। तीन जना कांग्रेसका सांसदले मन्त्री बन्ने अवसर पाए। काठमाडौंं १ का प्रकाशमान सिंह, काठमाडौंं ५ का प्रदीप पौडेल र धादिङ २ का रामनाथ अधिकारी मन्त्री बनेका छन्। मधेस प्रदेशबाट धेरैले मन्त्री बन्ने अवसर पाएका छन्। मधेसबाट ६ जना मन्त्री बनेका छन्। त्यसमा पनि पर्सा जिल्लाबाट तीन जना मन्त्री बनेका छन्। 

एउटै जिल्लाका तीन मन्त्री 

ओली सरकारमा पर्सा जिल्लाबाट तीनजना मन्त्री बनेका छन्।  पर्सा–१ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव खानेपानी मन्त्री बनेका छन् भने पर्सा– २ का सांसद अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन्। पर्सा– ३ का सांसद राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका हुन्।

यादव जसपाका केन्द्रीय उपमहासचिव, चौरसिया कांग्रेसको केन्द्रीय सदस्य र गुप्ता एमालेका केन्द्रीय सदस्य हुन्। यादव प्रचण्ड सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए। महोत्तरी २ बाट निर्वाचित शरतसिंह भण्डारी, सप्तरी १ बाट नवलकिशोर साह सुडी, महिला बालबालिका र सप्तरी ४ बाट तेजुलाल चौधरी मन्त्री भएका छन्। 

कोशी प्रदेशबाट भने प्रधानमन्त्री ओलीसहित ४ जना मन्त्री बनेका छन्। जसमा झापाबाट प्रधानमन्त्री ओली र देवेन्द्र दाहाल मन्त्री बनेका छन्। त्यस्तै संखुवासभाबाट दीपक खड्का ऊर्जा र सोलुखुम्बुवाट मानवीर राई रक्षा मन्त्री भएका छन्। 

१३ औं पटक भण्डारी 

शरतसिंह भण्डारी १३ पटक मन्त्री बनेका छन्। २०३८ सालदेखि निर्वाचन जित्दै आएका भण्डारी पञ्चायतकाल, बहुदलकाल हुँदै गणतन्त्रकालमा मन्त्री भइरहेका छन्। २०३८ र २०४३ सालमा भण्डारी राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए। २०४४ सालमा पञ्चायतका अन्तिम प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठको मन्त्रिपरिषद्मा पहिलोपटक मन्त्री भएका थिए। २०४४ सालमा भण्डारी पञ्चायत तथा स्थानीय सहायक मन्त्री भएका थिए। 

त्यसपछि २०४५ सालमा सिंहकै पुनर्गठित मन्त्रिपरिषद्मा वाणिज्य राज्यमन्त्री भएका थिए। २०५१ सालको मध्यावधि निर्वाचन भण्डारी महोत्तरीबाट स्वतन्त्र चुनाव लडेर निर्वाचित भए। त्यसपछि उनी पुनः मन्त्री बन्ने बाटो खुल्यो। २०५२ मा बनेको शेरबहादुर देउवाको सरकारमा भण्डारी बिनाविभागीय राज्यमन्त्री बने। त्यसपछि देउवाकै मन्त्रिपरिषद्मा २०५३ मा बिनाविभागीय मन्त्रीमा बढोत्तरी भयो। २०५४ को सूर्यबहादुर थापा नेतृत्वको सरकारमा भण्डारी युवा, खेलकुद तथा संस्कृतिमन्त्री बने। २०५६ सालमा कांग्रेसमा गएर चुनाव लडे। महोत्तरीबाटै सांसद बने। २०५६ जेठमा कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकार पुनः भण्डारी युवा तथा खेलकूद मन्त्री बने।

भट्टराईकै मन्त्रिपरिषद् भण्डारी २०५६ को फागुनमा स्वास्थ्यमन्त्री भए। २०५८ सालमा देउवा सरकारमा पुनः भण्डारी मन्त्री भए। देउवाले उनलाई स्वास्थ्य मन्त्रालयकै जिम्मेवारी दिए। २०६६ सालमा माधवकुमार नेपालको नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री बने। त्यो बेला भण्डारी कांग्रेस छोडेर मधेसवादी दलमा गइसकेका थिए। मधेस आन्दोलनको रापतापमा मधेसी जनअधिकार फोरममा गएर उनी सांसद बनेका थिए। 

२०६८ मा डा. बाबुराम भट्टराईको मन्त्री परिषद्मा पनि उनी मन्त्री भए। भट्टराईको सरकारमा त भण्डारी रक्षा मन्त्री नै बने। त्यो बेला भण्डारी उपेन्द्र यादवको नेतृत्वको फोरम फुटाएर विजयकुमार गच्छदारको नेतृत्वमा रहेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा गएका थिए।

२०७८ जेठमा केपी शर्मा ओली नेतृत्वको सरकारमा पनि भण्डारी मन्त्री भए। त्यो बेला एकदमै छोटो समय (१७ दिन) मात्रै उनी मन्त्री भएका थिए। त्यो बेला उनी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भएका थिए। उनी त्योबेला जनता समाजावादी पार्टीमा थिए। २०७९ पुष्पकमल दाहालको सरकारमा लोसपाका तर्फबाट श्रम तथा रोजगार मन्त्री भए। २०८१ को ओली सरकारमा पुनः श्रम तथा रोजगार मन्त्री भएका छन्। 

एमालेका मन्त्री 
विष्णुप्रसाद पौडेल, उपप्रधान तथा अर्थमन्त्री 
एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल उपप्रधान तथा अर्थमन्त्री नियुक्त भएका छन्। २०३५ सालमा अखिल नेपाल कम्युनिस्ट कोअर्डिनेसन कमिटीबाट राजनीति सुरु गरेका पौडेल संघर्षशील नेता हुन्। २०१६ मंसिर १५ मा स्याङ्जामा जन्मिएका पौडेल १८ वर्षको उमेरमा नै वामपन्थीहरूबाट प्रभावित भएर पूर्णकालीन राजनीतिमा लागेका थिए। 

उनी ११ वर्ष भूमिगत बसेका थिए। २०४१ सालमा रूपन्देही जिल्ला कमिटीको सचिव बनेका पौडेलले २०४७ सालमा एमालेको केन्द्रीय सदस्य रहँदै आएका छन्। २०५९ सालमा एमालेको स्थायी कमिटीका सदस्य बनेका भए। २०६५ सालमा भएको एमालेको आठौं महाधिवेशनमा सचिवमा निर्वाचित भएका थिए। नवौं महाधिवेशनमा उपमहासचिवमा निर्वाचित भएका पौडेल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरणपछि गठन भएको नेकपाको महासचिव भएका थिए। दसांै महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पौडेल सरल राजनीतिक नेताका रूपमा चिनिन्छन्। 

सुरुमा पाल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका पौडेल पछिल्लो समयमा रूपन्देहीबाट निर्वाचित हुँदै आएका छन्। २०७९ सालको रूपन्देही क्षेत्र नम्बर २ बाट पौडेल प्रतिनिधिसभामा निर्वाचित भएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी उम्‍मेदवार गणेश पौडेललाई १ हजार ३ सय ६६ मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका थिए। विष्णु पौडेलले २७ हजार १ सय ४८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७ सय ८२ मत ल्याएका थिए। २०७४ सालको आमचुनावमा उनले २२ हजार मतको अन्तरले चुनाव जितेका थिए। २०७० को दोस्रो संविधानसभाको चुनावमा उनले रूपन्देही–२ बाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पराजित गरेका थिए। 

पौडेल आठ पटक मन्त्री भएका छन् जसमा पाँच पटक अर्थमन्त्री नै भएका छन्। २०७२ कात्तिकमा ओलीको नेतृत्वको पहिलो सरकारमा पहिलोपटक अर्थमन्त्री भएका थिए। दोस्रो पटक ओलीकै नेतृत्वमा २०७७ असोजमा उनी अर्थमन्त्री बनेको थिए। डा. युवराज खतिवडा अर्थमन्त्रीबाट हटेपछि पौडेल बनेका थिए। तेस्रो पटक २०७८ जेठमा ओलीकै नेतृत्वको सरकारमा पौडेल अर्थमन्त्री बने। चौथो पटक २०७९ पुसमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपप्रधानसहित अर्थमन्त्री बने। 

२०८१ असार ३१ मा पाँचौं पटक ओली नेतृत्वको पौडेल उपप्रधानसहित अर्थमन्त्री बनेका छन्। पौडेल पहिलोपटक २०५३ चैत १२ देखि २०५४ असोज १० सम्म युवा, खेलकूद तथा संस्कृतिमन्त्री बनेका थिए। २०६५ भदौ ५ देखि २०६६ जेठ ७ सम्म उनी दोस्रो पटक मन्त्री बन्दै जलस्रोत मन्त्रालय सम्हाले। त्यतिबेला पुष्पकमल दाहाल पहिलोपटक प्रधानमन्त्री बनेका थिए। त्यसैगरी झलनाथ खनालको नेतृत्वमा २०६७ सालमा बनेको मन्त्रिपरिषद्‍मा पौडेल रक्षामन्त्री थिए। त्यतिबेला पौडेल ०६७ चैत ३ देखि २०६८ भदौ ११ सम्म रक्षा मन्त्रालय सम्हालेका थिए। पौडेल समन्वयकारी नेताका रूपमा चिनिन्छन्। 

पृथ्वी सुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्री 
हाल गुरुङ एमालेका उपमहासचिव छन्। ओली सरकारमा गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन्। उनी सरकारका प्रवक्ता पनि बनेका छन्। एमालेको प्रचार विभागको प्रमुखका रूपमा गुरुङले भूमिका निर्वाह गरे। जनजाति समुदाय प्रखर नेताका रूपमा चिनिने गुरुङले २०७९ को निर्वाचनमा लमजुङबाट माओवादी केन्द्रका महासचिव देव गुरुङलाई हराएका थिए। 

गुरुङ गण्डकी प्रवेशको पहिलो मुख्यमन्त्री पनि हुन्। गुरुङ सफल मुख्यमन्त्रीका रूपमा परिचित छन्। शान्ति स्थापनापछि बनेको गिरिजाप्रसाद कोइरालाको नेतृत्वको अन्तरिम सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए। संविधान सभाका गुरुङको भूमिका सशक्त थियो। पहिलो संविधानसभा निर्वाचनपछि गुरुङ आदिवासी जनजाति सांसदहरूको समूह (ककस) को अध्यक्ष बनेका थिए। एमालेभित्र उनी वैचारिक र संघीयता पक्षधर नेताका रूपमा चिनिन्छन्। 

विद्या भट्टराई, शिक्षा तथा विज्ञान प्रविधि मन्त्री
कास्की २ बाट निर्वाचित विद्या भट्टराई शिक्षा तथा विज्ञान प्रविधिमन्त्री बनेकी छन्। उनी एमालेको तर्फबाट बन्ने एक मात्र महिला मन्त्री हुन्।

२०२९ सालमा काठमाडौंंमा जन्मिएकी विद्या २०४६ सालको आन्दोलनमा पनि होमिएकी हुन्। एमाले भ्रातृ संगठन अनेरास्ववियुको राजनीति गर्दै २०५५ सालमा केन्द्रीय सचिव पनि भइन्। त्यतिबेला रवीन्द्र अधिकारी संगठनको नेतृत्वमा थिए। पोखराका अधिकारीसँग विवाह भएपछि छोडेको राजनीतिमा उनकै अनुपस्थितिका कारण फर्किनुपर्‍यो। 

लामो समय उनले प्राध्यापक पेसामा बिताइन्। तर अधिकारीको मृत्युपछि राजनीतिमा पुनरागमन उनको बाध्यता थियो, केही आफ्नै र श्रीमान्को विरासत पनि तर आफ्नै योग्यताले चाहिँ मन्त्री भएकी छन्। अब भने मन्त्रालय हकाइँको सफलता, असफलताले नै उनको राजनीतिक भविष्य निर्धारण गर्नेछ। रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि भएको उपनिर्वाचनमा पहिलोपटक भट्टराई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् भने २०७९ को निर्वाचनमा उनी दोस्रो पटक कास्कीबाटै निर्वाचित भएकी हुन्। 

बलराम अधिकारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री 

कपिलवस्तु १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अधिकारी दोस्रोपटक मन्त्री बनेका छन्। २०८० फागुन २१ पछि बनेको एमाले माओवादी केन्द्र गठबन्धनको प्रचण्डको सरकारमा उनले पहिलोपटक मन्त्री बन्ने सौभाग्य पाएका हुन्। अधिकारी २०७९ पुसमा पनि प्रचण्ड सरकारमा पठाउने तयारी गरिएको थियो तर अन्तिम समयमा विमला पौडेल राईलाई मन्त्री बनाउनु पर्ने अवस्था आएपछि उनको नाम हटाइएको थियो। चार महिनामात्रै मन्त्री भएका कारणले उनलाई दोहोर्‍याएको बताइएको छ।

२०७९ को निर्वाचनमा तत्कालीन सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादीका नेता चक्रपाणि खनाललाई पराजित गर्दै फराकिलो मतान्तरका साथ एमालेका अधिकारी निर्वाचित भएका थिए। एमालेका अधिकारीले ३४ हजार ६ सय ७५ मत ल्याएर विजयी भए भने माओवादीका खनालले १८ हजार ९ सय ८३ मत ल्याएर पराजित भएका छन्।

दामोदर भण्डारी, उद्योग,वाणिज्य तथा आपूर्ति
सुदूरपश्चिम प्रदेशको बैतडीबाट निर्वाचित दामोदर भण्डारी पछिल्लो समयमा एमालेका हरेक सरकारमा मन्त्री बन्न पाएका छन्। यो पटकको ओली सरकारमा भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति बनेका छन्। योभन्दा अघि दाहाल सरकारमा पनि यही मन्त्रालयको जिम्मेवारीमा भण्डारी रहेका थिए। 

२०७९ पुसमा बनेको प्रचण्डको सरकारमा पनि उनी मन्त्री थिए। २०७९ निर्वाचनमा एमालेबाट दुई जनामात्रै प्रत्यक्षतर्फ निर्वाचित भएका थिए। जसमा भण्डारी एक हुन्। उनी सुदूरपश्चिममा प्रभावशाली नेताका रूपमा चिनिन्छन्। उनी २०४६ सालको जनआन्दोलनबाट प्रभावित भई अनेरास्ववियुमा आबद्ध भण्डारी बैतडी जिल्ला अध्यक्ष हुँदै सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष भएर काम गरिराखेका छन्।

देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथ यातायात मन्त्री 

राष्ट्रियसभा सदस्य देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका छन्। उनी पहिलोपटक मन्त्री बनेका छन्। राष्ट्रियसभामा एमालेको दलको नेतासमेत रहेका दाहाल झापाका हुन्। दाहाल संगठन सञ्चालन काम गर्ने क्रममा २०४५ सालदेखि तत्कालीन नेकपा मालेको झापा जिल्ला कमिटीमा आबद्ध भएका थिए। 

२०५१ सालसम्म नेकपा मालेदेखि एमालेसम्मको जिल्ला कमिटी सचिवालयको जिम्मेवारीमा रहे। २०५१ देखि २०५३ सम्म जिल्ला उपसचिव हुँदै दाहाल २०५३ जेठ २३ गते देखि २०६६ साल भदौ २७ गतेसम्म एमाले झापाको नेतृत्व सम्हाले। करिब १३ वर्ष अर्थात् चार कार्यकाल झापा एमालेको नेतृत्व गरेको दाहालले झापामा २०५४, २०५६ सालको आमनिर्वाचन र २०६४ सालको संविधानसभा निर्वाचनमा पार्टी कमाण्डसमेत सम्हालेका थिए। राजनीतिक परिवर्तनका लागि उनले २०५१ सालमा शिक्षकको जागिर राजीनामा गरेर राजनीतिको पूर्णकालीन भएका थिए। दाहालले विज्ञान शिक्षकका रूपमा १३ वर्ष शिक्षण पनि गरेका थिए। 

मानवीर राई, रक्षामन्त्री 
मानवीर राई ओली सरकारमा रक्षामन्त्री भएका छन्। जसले नेपाली सेनाको कमान्ड गर्नु पर्नेछ। उनी पहिलोपटक मन्त्री भएका हुन्। त्यतिमात्र होइन राईले सोलुखुम्बु जिल्लामा पनि पहिलोपटक एमालेलाई जिताएका छन्। २०७९ सालको निर्वाचनमा राई कांग्रेसका पुराना र प्रभावशाली नेता बलबहादुर केसी हराएर इतिहास रचेका थिए। 

राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री 
पर्साका राजकुमार गुप्ताले कर्मचारीको नेतृत्व गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन्।  एमालेबाट पर्सा–३ बाट प्रतिनिधिसभा निर्वाचित गुप्ता सामान्य प्रशासन मन्त्रीमा नियुक्त भए। पर्साको तत्कालीन भौराटार—६ मा २०२७ चैत २० जन्मिएका गुप्ता वीरगञ्ज ११ श्रीपुर निवासी हुन्। वाणिज्य शास्त्रमा स्नातकसम्म अध्ययन गरेका गुप्ता राजनीतिसँगै व्यापार पनि गर्छन्।

२०४२ देखि अखिलबाट राजनीति सुरु गरेका राजकुमार विसं २०५१ मा युवा संघको विभिन्न पदमा काम गरेका थिए। एमालेको जिल्ला सदस्य हुँदै उनी २०६६ मा पर्सा क्षेत्र नं. ३ को अध्यक्ष बने। 

लोकतान्त्रिक मधेसी संगठनको केन्द्रीय महासचिव हुँदै चितवनको सौराहामा सम्पन्न १०औं महाधिवेशन केन्द्रीय सदस्य निर्वाचित भएका थिए। संसदीय राजनीतिमा दोस्रो पटकको पालमा उनी मन्त्री बनेका हुन्। उनी २०७० को दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। २०७९ को संसदीय चुनाव जितेका उनी यसपटक केपी शर्मा ओली नेतृत्वको सरकारमा संघीयता कार्यान्वयन र कर्मचारी प्रशासन मामिला हेर्ने मन्त्रीका रूपमा नियुक्त भएका छन्।

 null


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.