कांग्रेसबाट अधिकांश नयाँलाई अवसर

कांग्रेसबाट अधिकांश नयाँलाई अवसर

काठमाडौं : नेपाली कांग्रेसले सरकारमा पठाएका १० मन्त्रीमध्ये अधिकांश नयाँ अनुहार पठाएको छ। कांग्रेस सरकारमा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको नेतृत्वमा गएको छ। सरकारमा सहभागी मन्त्रीहरू यी छन्।

प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास मन्त्री 

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह नयाँ सरकारमा दोस्रो वरीयतामा रहेका छन्। कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहलाई पार्टीबाट नेतृत्व गरेर सरकारमा पठाइएको छ। सिंहले उपप्रधानसहित सहरी विकास मन्त्रालयको जिम्मेवारी

पाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीपछिको वरीयतामा सिंहले प्राप्त गरेका छन्। दुई जना उपप्रधान रहेको नयाँ सरकारमा एमालेका विष्णु पौडेल उपप्रधानमन्त्री बनेका छन्। मन्त्रिपरिषद्मा उनी तेस्रो वरीयतामा छन्।

नयाँ सरकारमा कांग्रेसबाट ९ जना मन्त्री बनेका छन्। त्यसको नेतृत्व प्रकाशमानले गरेका छन्। उनै प्रकाशमान सिंह कुशल राजनीतिज्ञ तथा नेपाली कांग्रेसका शीर्षस्थ नेतामध्येका एक हुन्। उनी लौहपुरुषबाट परिचित गणेशमान सिंहका छोरा पनि हुन्। सर्वसाधारणमाझ उनी नेपाली कांग्रेसका प्रभावशाली नेता र इमानदार 
व्यक्तित्व भनेर चिनिन्छन्। 

२०३० सालदेखि नेविसंघबाट राजनीति थालेका सिंह २०३६ मा नेविसंघ काठमाडौं जिल्ला अध्यक्ष भएका थिए। त्यसयता विभिन्न पदमा रहँदै आएका सिंह देउवा नेतृत्वको सरकारमा उनी वन तथा वातावरण, कृष्णप्रसाद भट्टराईको नेतृत्वको सरकारमा जनसंख्या मन्त्रीसमेत भए। सुशील कोइराला प्रधानमन्त्री हुँदा उपप्रधानमन्त्री र स्थानीय विकास मन्त्री भएका उनी २०७० सालमा संसदीय दलको उपनेता भए। 

उनी काठमाडौं क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पनि थिए। २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौंं क्षेत्र नं. १ बाट पुनः निर्वाचित भएर प्रतिनिधिसभा सदस्य बनेका नेता सिंहले २०७९ सालको निर्वाचनमा पनि क्षेत्र नम्बर १ बाटै चुनाव जिते। 

पार्टीको १४औं महाधिवेशनमा वर्तमान पार्टी सभापति शेरबहादुर देउवालाई दोस्रो चरणमा सभापति बन्न सहयोग गरेकै आधारमा पनि देउवा सिंहप्रति अनुग्रृहितनै देखिन्थे। आज उनै सिंह सरकारको दोस्रो वरीयताक्रमको मन्त्री बनेका छन्। सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै सिंहले सहर व्यवस्थितको विषय अगाडि ल्याएका छन्। 

रमेश लेखक, गृहमन्त्री 
हाल कांग्रेस संसदीय दलको प्रमुख सचेतक रमेश लेखकले कांग्रेस–एमाले सत्ता समीकरणका लागि मुख्य भूमिका खेलेका थिए। उनै लेखकलाई पार्टी सभापति शेरबहादुर देउवाले गृह मन्त्रालयको बागडोर सम्हाल्ने अवसर दिएका छन्। 

कांग्रेसको भ्रातृ संस्था नेविसंघबाट लेखकले राजनीतिको सुरुवात गरेका थिए। लेखक २०३७ मा नेविसंघको जिल्ला उपसभापति बनेका उनी २०४८ र २०५६ गरी दुई पटक नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सचिव बने। त्यसपछि उनी पार्टीको केन्द्रीय राजनीति केन्द्रित भए। २०५९ मा शेरबहादुर देउवा नेतृत्वमा बनेको नेपाली कांग्रेस (प्रजातान्त्रिक) को केन्द्रीय सदस्य बने। २०६४ मा कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकता भएपछि पनि लेखक केन्द्रीय सदस्य बने।

लेखक २०६४ को आमनिर्वाचनमा कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए। पहिलो संविधानसभामा चार वर्षसम्म संविधान निर्माण तथा लेखनमा उनी संलग्न रहे। २०७० मा संविधान सभाको दोस्रो निर्वाचनमा कञ्चनपुरको तत्कालीन ४ क्षेत्रबाट निर्वाचित लेखक न्यायपालिकासम्बन्धी उपसमितिको संयोजक थिए। 

२०७३ मा लेखक भौतिक पूर्वाधार तथा योजना मन्त्री भए। २०७४ को चुनावमा कञ्चनपुर–३ मा झिनो मतले पराजित लेखक २०७९ मा सोही क्षेत्रबाट भारी मतान्तरले निर्वाचित भए।

दीपक खड्का, जलस्रोत तथा ऊर्जामन्त्री 

प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा दीपक खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन्। खड्का संखुवासभाका हुन्।

खड्का ऊर्जा क्षेत्रका लगानीकर्तासमेत हुन्। २०६७ सालमा गृह जिल्ला संखुवासभाबाट कांग्रेसको महासमिति सदस्य निर्वाचित भएका उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा संखुवासभा क्षेत्र नम्बर २ बाट निर्वाचित भए। सोही क्रममा उनी २०७३ सालमा सुशील कोइराला नेतृत्वको सरकारमा खानेपानी तथा सरसफाइ राज्यमन्त्री बनेका थिए।

खड्का पुनः प्रतिनिधिसभाको २०७९ सालको निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनबाट निर्वाचित बनेका हुन्। कांग्रेसको १४औं अधिवेशनमा उनी संखुवासभाको जिल्ला सभापतिमा निर्वाचित भए। पदभार ग्रहण गर्दै मन्त्री खडकाले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’का सम्बन्धमा देखिएको समस्या समाधान गर्ने बताए।

अजय चौरासिया, कानुन न्याय तथा संसदीय मामिला मन्त्री 
नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सिंहदरबारस्थित मन्त्रालयमा आफ्नो पदबहाली गरेका छन्।​ पदबहालीपश्चात् उनले जनतालाई न्याय मिल्ने गरी कानुन निर्माण गर्ने बताए।

‘कानुन बनाउने मन्त्रालय भएकाले विधेयकहरू कति छन्, हामीले बनाउनुपर्ने कानुनहरू कति छन्, ती सबै कुराको ख्याल गरी जनतालाई न्याय मिल्ने गरी कानुन बनाउँछौं।’ मन्त्री चौरसियाले भने।

मधेस प्रदेशको पर्सा निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चौरसियाले नेपाली कांग्रेसबाट राजनीतिक यात्रा प्रारम्भ गरेका थिए।

तेजुलाल चौधरी, युवा तथा खेलकुद मन्त्रालय 
नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकूद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन्। कांग्रेसको राजनीतिमा इमान्दार छवि बनाएका छन्।

उनले आउँदो पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएका खेलाडीहरूको सहभागिता व्यवस्थित गर्ने बताए। उनले भने, ‘पेरिसमा हुने ओलम्पिक प्रतियोगितामा छनोट भएका खेलाडीहरूको प्रशिक्षण र सहभागितालाई व्यवस्थित गर्न निर्देशन दिन्छु।’

मन्त्री चौधरीले खेल संघमा देखिएको विवादलाई टुंग्याएर खेल क्षेत्रमा सकारात्मक सन्देशका लागि पहल गर्ने बताए। ‘विभिन्न खेल संघमा देखिएका विवादहरूलाई समयमै टुंग्याएर खेल क्षेत्र एकजुट छ भन्ने सन्देश दिन जरुरी छ,’ उनले भने, ‘त्यसको पहल गर्न राष्ट्रिय खेलकूद परिषद्लाई विशेष निर्देशन दिन्छु।’ राष्ट्रिय खेलकुद परिषद्मा प्राविधिक जनशक्तिको अभाव भएको कुरामा आफू जानकार रहेका कारण यसमा पनि आफ्नो विशेष पहल रहने उनले बताए।

डा. आरजू राणा, परराष्ट्र

नेपाली कांग्रेसबाट समानुपातिक सांसद् रहेकी डा. आरजू राणा देउवा पहिलोपटक मन्त्री भएकी हुन्। उनी परराष्ट्र मन्त्री बन्दै गर्दा एउटा इतिहास पनि रचिएको छ। ७३ वर्षे परराष्ट्रको इतिहासमा मन्त्रालयको प्रमुख जिम्मेवारी पहिलोपटक दुई महिलाले पाएका छन्।

परराष्ट्रमन्त्री आरजू राणा देउवा र परराष्ट्र सचिव सेवा लम्साल। एकै पटक परराष्ट्रमन्त्री र परराष्ट्र सचिव महिला थिएन्न्। यो एउटा संयोग पनि भएको छ। 

वि.सं. २०५३ देखि राजनीति यात्रा तय गरेकी आरजू संविधानसभा सदस्य हुँदै संविधान मस्यौदा समितिको सदस्य र महिला संसदीय समन्वय समिति अध्यक्ष भइसकेकी छन्। राणा हाल कृषि समितिको सभापति पनि छिन्। 

परराष्ट्रमन्त्री राणले सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै सीमा समस्याहरू तथ्य र प्रमाणका आधारमा समाधान हुने बताएकी छन्। उनले सीमाका विषयमा पहिलेजस्तो सीमास्तम्भ हेरेर मात्र निर्णय गर्नु नपर्ने बताइन्।

प्रदीप पौडेल, स्वास्थ्यमन्त्री

कांग्रेसमा प्रभावशाली युवा नेताको छवि बनाएका प्रदीप पौडेल पहिलोपटक मन्त्री बनेका हुन्। हाल उनी कांग्रेसका केन्द्रीय कार्यसमिति सदस्य हुन्। नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका प्रदीप प्रतिनिधिसभा निर्वाचन, २०७९ मा उनले काठमाडौंं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका वरिष्ठ उम्मेदवार ईश्वर पोखरेललाई पराजित गरेका थिए। उनी सन् १९९६ मा स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षसमेत भएका थिए। २००७ देखि सन् २०१२ सम्म नेपाल विद्यार्थी संघको अध्यक्षसमेत भएका थिए।

उनी २०७४ मा तनहुँ क्षेत्र नम्बर २ को (क) बाट गण्डकी प्रदेशसभाका प्रदेशसभा सदस्य झिनो मतले पराजित भएका थिए। केही गरेर देखाउँछु अनि मात्र माला र खादा लगाउँछु भनेर प्रण गरेका पौडेलले पहिलो दिनमै नियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोग निवारण रणनीति बनाउने पहिलो निर्णय गरेका छन्।

बद्री पाण्डे, पर्यटन मन्त्री

कांग्रेसका सह–महामन्त्रीसमेत रहेका बद्रीप्रसाद पाण्डे विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। २०४९ सालदेखि सक्रिय राजनीतिमा होमिएका हुन्। नेविसंघ केन्द्रीय समिति कार्यवाहक अध्यक्ष पनि भए।

पाण्डे कांग्रेसको १२औं महाधिवेशनमा केन्द्रीय सदस्य भए। उनी पार्टीको १४औं महाधिवेशनबाट कांग्रेस सह–महामन्त्रीमा निर्वाचित भए। यस्तै २०७९ को निर्वाचनमा बाजुराबाट प्रत्यक्ष निर्वाचित भएर पहिलोपटक संसद्‍मा आए। सांसद बनेको पहिलो कार्यकालमै उनी मन्त्री भएका छन्।

२०७० सालको दोस्रो संविधानसभामा समानुपातिक तर्फबाट सांसद बनेका पाण्डे २०७४ मा राष्ट्रियसभाका सदस्य बने। २०७९ मा भने प्रत्यक्षतर्फको निर्वाचन जितेका हुन्। पाण्डेले पदभार ग्रहण गर्दै नेपाललाई पर्यटकको हब बनाउन र सम्भावनामा उचित व्यवस्थापन गर्न लागि पर्ने बताएका छन्। 

ऐनबहादुर शाही, वनमन्त्री
शाही २०४४–०४५ बाट नेपाल विद्यार्थी संघबाट संक्रिय राजनीतिमा होमिएका थिए। बहुदलीय व्यवस्थाको स्थापनापछि कांग्रेस जिल्ला पार्टी सदस्य हुँदै २०६८ मा शाही मुगु जिल्ला सभापतिमा निर्वाचित भएका थिए। उनी दोस्रो पटक २०७८ मा पनि कांग्रेस मुगुको सभापति बनेका थिए। २०७९ को आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए।

मुगुबाट प्रतिनिधिसभा २०७९ मा विजयी कांग्रेसका ऐनबहादुर शाही २०७९ मा पहिलोपटक संसद्‍मा आएका उनी पहिलोपटकमै मन्त्री पनि भए। उनी नेपाली कांग्रेसबाट पहिलोपटक मन्त्री बनेका हुन्। प्रधानमन्त्री केपी शर्मा नेतृत्वको नयाँ सरकारमा कर्णाली प्रदेशबाट मन्त्री बन्ने उनी एकल व्यक्तिसमेत हुन्। उनी नेपाली कांग्रेसका जिल्ला सभापति पनि हुन्।

रामनाथ अधिकारी, कृषिमन्त्री

कांग्रेसका पुराना नेता रामनाथ अधिकारी पहिलोपटक मन्त्री बनेका हुन्। २०७९ को निर्वाचनमा धादिङ निर्वाचन क्षेत्र नं २ बाट विजयी भएका उनी कांग्रेस धादिङ जिल्ला सभापतिसमेत हुन्। अधिकारी तीन दशकभन्दा लामो समयदेखि कांग्रेसमा सक्रिय अधिकारी इमानदार र निष्ठावान् नेता मानिन्छन्।

पाँच कार्यकालसम्म कांग्रेस धादिङको सभापति भए। २०५६ सालमा उनी पहिलोपटक सांसद् बने पनि मन्त्री बन्न सकेनन्। २०६४ सालको पहिलो संविधानसभा निर्वाचन र २०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभा निर्वाचनमा उनी पराजित भए। जनताका समस्या सम्बोधन गर्न आफू मन्त्री भएको उनी बताउँछन्। कृषि र पशुपालनमा देखिएका चुनौती समयमै समाधान गर्ने उनको योजना छ।


 जसपाका मन्त्री

प्रदीप यादव, खानेपानी मन्त्री
प्रदिप यादव खानेपानी मन्त्री बनेका छन्। अघिल्लो दाहाल सरकारमा पनि उनी मन्त्री दिए। अशोक राई नेतृत्वको जसपा नेता यादव दाहाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए। उनी छोटा समय स्वास्थ्य मन्त्री भए।

उपेन्द्र यादवको नेतृत्वको जसपा नेपाल विभाजन भइ अशोक राईको नेतृत्वमा बनेको जसपामा यादव लागेका थिए। त्यसपछि उनी स्वास्थ्य मन्त्री बने। यस अघि पनि यादव वन तथा वातावरण मन्त्री भएका थिए। 

२०७९ सालको निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा जसपाका प्रदीप यादव निर्वाचित भएका छन्। स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीलाई पछि पार्दै यादव निर्वाचित भएका हुन्। अन्तिम परिणामअनुसार यादवले २२ हजार ५३७ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार द्विवेदीले २० हजार ९१७ मत पाए। दोस्रो कार्यकालका लागि निर्वाचित भएका यादवले पर्सा–१ मा नयाँ इतिहास पनि रचेका थिए।

नवलकिशोर साह सुडी, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री 
नवलकिशोर साह सुडी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भएका छन्। सप्तरी १ का निर्वाचित सुडी यस अघि वन तथा वातावरण मन्त्री थिए। उनी २०८० फागुन २७ गतेदेखि वन तथा वातावरण मन्त्री नियुक्त भएका थिए।

२०७९ सालको निर्वाचनमा जनमत पार्टीका जयकान्त राउतलाई ३ हजार ५८२ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका थिए।जसपा नेपालका सुडीले २३ हजार ५६४ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टीका राउतले १९ हजार ९८२ मत मात्र ल्याए। यस अघि मधेश प्रदेशका स्वास्थ्य मन्त्री भइसकेका थिए। हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हालेका छन्। हाल सुडी अशोक राईको नेतृत्वको जसपामा छन्।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.