संकटमा वाम आन्दोलन

संकटमा वाम आन्दोलन

नेपाली कम्युनिस्ट आन्दोलन अत्यन्त कठिन र विर्सजनको मोडमा पुग्छ, त्यतिखेर उसले आफ्नो बाटो मोड्दै अनेकौं उकालीओराली पार गरी सही बाटो चयन गरेको पाइन्छ। यतिखेर वाम आन्दोलन संकटमा पुगेको कुरा यथार्थ हो। यसले भयानक विभाजनमात्र व्यहोरेन, आन्तरिक हिसाबले डरलाग्दो बुर्जुवाकरणसँग संघर्ष पनि गरिरह्यो। यो संघर्ष असफल भएपछि विद्रोह हुनु स्वाभाविक थियो, र भयो पनि। टुटफुट, विभाजन र बुर्जुवाकरण त्यतिखेर संगठनभित्र प्रवेश गर्छ, जतिखेर आन्दोलनमा विचारको शून्यता अथवा दिशाहीनता प्रकट हुन्छ। हो ! यही वैचारिक शून्यता र दिशाहीनताको यो अवधिमा एकीकृत समाजवादीले आफ्नो राष्ट्रिय महाधिवेशन गरेर सिंगो कम्युनिस्ट आन्दोलनलाई दिशाबोध गर्‍यो भन्ने यो पंक्तिकारको दाबी हो। 

नेपाल कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशनपछि अथवा २०१७ साल पुस १ मा राजा महेन्द्रले गरेको ‘कू’लाई सो पार्टीका महासचिव डा. केशरजंग रायमाझीले समर्थन गरेपछि विचारका हिसाबले र सांगठनिक हिसाबले समेत तीव्र विभाजन र मतभेद सुरु भयो। त्यो मतभेद र विभाजनले त्यतिखेरको कम्युनिस्ट आन्दोलन भयंकर संकटमा परेको थियो। एक प्रकारले भन्ने हो भने त्यो मतभेद, विभाजन, सांगठनिक अराजकता र दिशाहीनता आजको जस्तै थियो। 

यही पृष्ठभूमिमा २०२८ सालमा झापा विद्रोह भयो। झापा विद्रोहको मुख्य उद्देश्य सशस्त्र विद्रोहबाट सामन्ती राज्यसत्ता ध्वस्त गरी जनवादी राज्यसत्ता स्थापना गर्नु थियो। त्यो विद्रोह केवल एक वर्षमात्र चल्न सक्यो। तथापि यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक चर्चा पायो। पञ्चायत वा राजाले इतिहासमा पहिलो चोटी जनताको सशस्त्र विद्रोहको सामना गर्नु परेको थियो।

यो विद्रोहमा आधारभूत तहका मान्छेहरू सामेल भएका थिए। खासगरी किसान र भूमिहीनहरू। कम्युनिस्ट पार्टीको निष्क्रियतालाई तोड्न यो विद्रोह सफल रह्यो। देशभरका युवाहरू यो विद्रोहप्रति गौरव गर्दै यसमा सामेल हुन थाले। यद्यपि यसले अख्तियार गरेको वर्गशत्रु सफाया नीतिप्रति मान्छेहरूको ठूलो आलोचना छ। पछि यो विद्रोह सम्बद्ध नेताहरू र यसबाट विकसित भएको कोअर्डिनेसन केन्द्रले समेत विद्रोहका दौरान भएका उग्रवामपन्थी क्रियाकलापमा आत्मआलोचना गरेको पाइन्छ।

तथापि जे भए पनि २०२८ को झापा विद्रोह शिथिल र निष्क्रिय भएको नेपाली कम्युनिस्ट आन्दोलनलाई ब्युँत्याउने एउटा गतिशील प्रयास थियो। यो प्रयासमा उनीहरू पूरै सफल भए। झापा विद्रोहको प्रभाव देशभरि पर्‍यो। खासगरी युवाहरू प्रभावित भए। यही विद्रोहको जगमा निर्माण भएको कोअर्डिनेसन केन्द्र, माले, एमाले हुँदै आज एकीकृत समाजवादीसम्म आइपुगेको छ। त्यसकारण २०२८ को झापा आन्दोलनलाई नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा एउटा महत्त्वपूर्ण घुम्ती मान्न सकिन्छ।

नेकपा (एमाले) को पाँचौं राष्ट्रिय महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादनामक कार्यक्रम नेपाली कम्युनिस्ट आन्दोलनको अर्को एउटा महत्त्वपूर्ण घुम्ती हो। २०४६ सालमा बहुदलीय व्यवस्थाको स्थापनार्थ भएको आन्दोलनमा एमालेको महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका थियो। त्यसबाहेक पार्टीले नयाँ संविधान निर्माणमा पनि भाग लिएको हुनाले त्यो व्यवस्थाको स्वामित्व लिन पार्टी बाध्य भयो। प्राप्त उपलब्धिको रक्षा गर्ने र संसदलाई प्रयोग गरेर जनताको तत्कालीन समस्या समाधान गर्दै नयाँ जनवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्ने नीति पार्टीले लियो। यो कामलाई सैद्धान्तीकरण गर्नु जरुरी थियो। फलस्वरूप जनताको बहुदलीय जनवाद जन्म्यो। 

नेपालमा बहुदलीय व्यवस्था स्थापनाका लागि नेपाली कम्युनिस्टहरूले संघर्ष गरिरहँदा पूर्वी युरोप र पूर्व सोभियत संघमा बहुदलीय व्यवस्था माग गर्ने जनतामाथि समाजवादी सरकारहरूले दमन गरिरहेका थिए। ती मुलुकहरूमा लागेको प्रजातन्त्रको नाराभित्र साम्राज्यवादी षड्यन्त्रको गन्ध आए पनि त्यहाँ भएको दमनप्रति विश्व जनमत खुसी थिएन। चीनको तियानमेन स्क्वायर घटना पनि त्यही कालखण्डमा घटेको थियो। 

नेपालमा कम्युनिस्टहरू लोकप्रिय भइरहँदा विश्वका कम्युनिस्टहरू बदनाम भइरहेका थिए। कम्युनिस्टहरू प्रजातन्त्र विरोधी हुन्छन र अब समाजवादको भविष्य छैन भन्नेजस्ता भाष्य निर्माण गर्न संसारभरका प्रतिक्रियावादीहरू जोडतोडका साथ लागिरहेका थिए। यसको प्रत्यक्ष प्रभाव एमालेमा पर्‍यो। हामी त्यस्तो होइनांै है भन्नका लागि पनि आन्दोलनको शास्त्रीय शैली परिवर्तन गर्न जरुरी थियो। यसरी जबजको निर्माणमा तत्कालीन विश्व घटना पनि प्रभावी बन्यो।

जे होस् जनताको बहुदलीय जनवादको कार्यक्रम नेपाली कम्युनिस्ट आन्दोलनको एउटा महत्त्वपूर्ण घुम्ती थियो। यही कार्यनीतिका आधारमा २०६२/०६३ को आन्दोलन सफल भएको तर्क गर्दा जबजप्रति पर्याप्त न्याय हुन्छ। जबजको अर्को योगदान प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने नीति हो। यो नीतिले कम्युनिस्ट आन्दोलनलाई लोकतन्त्रीकरण गर्न मद्दत पनि पुर्‍यायो। त्यसबाहेक नेपालमा कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउन जबजको पर्याप्त योगदान रह्यो। बहुदल प्राप्त भइसकेपछि राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा देखा परेका समाजवाद विरोधी भाष्यलाई चिर्न र आम कार्यकर्तालाई आश्वस्त पार्न पनि जबजको योगदान छ। त्यसकारण नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा यसको पाँचौं राष्ट्रिय महाधिवेशन र यसले पारित गरेको जनताको बहुदलीय जनवाद एउटा महत्त्वपूर्ण घुम्ती हो।

बहुदल प्राप्तिपछि प्रायः नेपाली कांग्रेस सत्तारूढ भई नै रह्यो। कम्युनिस्टहरूले समेत जनताको मन जित्ने काम गर्न सकेनन्। उनीहरू पनि सामान्य सुधारमै अल्झिएको पाइन्छ। मान्छेहरू आफ्नो जीवनमा परिवर्तन चाहान्थे। तर बहुदलले मान्छेको जीवनमा देखिने गरी केही परिवर्तन ल्याएन। विश्व पुँजीवाद र उस्को नवउदारवादी नीतिले देशभित्र दलालहरूको तीव्र उत्पादन गर्दै थियो। शिक्षा, स्वास्थ र अन्य क्षेत्रको निजीकरणको प्रक्रिया तीव्र बन्दै थियो। मान्छेहरू दिनप्रतिदिन आक्रोशित भइरहेका थिए। ठीक यही बेलामा २०५२ फागुन २ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सशस्त्र जनयुद्धको घोषणा गर्‍यो। 

सशस्त्र जनयुद्धको घोषणा नेपालको कम्युनिस्ट आन्दोलनको अर्को एउटा घुम्ती हो। यसका आलोचकहरूले जनयुद्धको जति आलोचना गरे पनि वा यसका समर्थकहरूले यसको असाध्य गौरवीकरण गरे पनि जनयुद्धका सबल र दुर्वल पक्षहरूको पटाक्षेप भइसकेको छ। यसको ठीक मूल्यांकन पनि जनताले गरिसकेका छन्। समाजमा दबिएका आवाजहरू र पछाडि पारिएका समुदायलाई राजनीतिको मूलधारमा ल्याउन र अग्रगामी चेतनाको विस्तार गर्न माओवादी सशस्त्र आन्दोलनको ठूलो भूमिका छ। आफ्नो आन्दोलनभित्र तस्करीकरण, अपराधीकरण र सांस्कृतिक विचलनलाई उनीहरूले रोक्न नसके पनि यो युद्ध नेपाली कम्युनिस्ट आन्दोलनको एउटा महत्त्वपूर्ण र बिर्सन नसकिने घुम्ती हो। निश्चित रूपमा यो कथाको अन्त्य दुःखान्त छ, तर पनि यसको सुरुआत त्याग, बलिदान, समर्पण र आस्थाको छ।

मैले अगाडि उल्लेख गरे झैं जब जब नेपालमा कम्युनिस्ट आन्दोलनमा संकट आउछ, यसले आफूलाई नयाँ घुम्तीमा प्रवेश गराएको छ। आफुलाई जोगाएको छ। २०१७ पछि नेपालको कम्युनिस्ट आन्दोलनमा देखा परेको आत्मसर्मपणवाद, टुटफुट विभाजन र सांगठनिक अराजकतालाई २०२८ सालको झापा विद्रोहको मोडले सच्याएको थियो। २०४७ पछि नेपालको कम्युनिस्ट आन्दोलनमा देखा परेको संसदीय भास र राजासँगको अघोषित मित्रतालाई २०५२ को सशस्त्र जनयुद्धले केही सच्याउन मद्दत गर्‍यो। गणतन्त्र प्राप्तिपछि कम्युनिस्ट आन्दोलनमा देखा परेको दक्षिणपन्थी विर्सजनवाद, टुटफुट विभाजन र आन्दोलनको बुर्जुवाकरणलाई नेकपा (एकीकृत समाजवादी) को दसौं महाधिवेशनमा पास गरेको दस्तावेजले दिशा प्रदान गरेको छ। त्यसकारण नेकपा (एकीकृत समाजवादी) को दसौं महाधिवेशन नेपाली कम्युनिस्ट आन्दोलनको अर्को एउटा मोड अथवा घुम्ती सावित भएको छ।

जनताको बहुदलीय जनवाद अब नेपाली कम्युनिस्ट आन्दोलनको मार्गनिर्देशक सिद्धान्त बन्न सक्दैन। २०६२/०६३ को जनक्रान्तिपछि यसको सान्र्दभिकता सकिएको छ। कमरेड मदनले थुप्रै ठाउँहरूमा भन्नु भएको छ, जबज भनेको सार त नयाँ जनवाद नै हो, अर्थात् यो सामन्तवाद विरोधी कार्यक्रम हो। आज राजकीय सत्ता र उत्पादन पद्धतिमा सामन्तवाद समाप्त भएको अवस्थामा जबजको उपादेयता सकिनु स्वाभाविकै हो। जबजले उठाएका केही प्रसंगहरू अझै बाँकी छन् भने ती अब समाजवादी क्रान्तिका अंग हुनेछन् ।

२०४८ पछि कम्युनिस्टहरूले जसरी सरकार र संसद्लाई प्रयोग गरे ती प्रयोगहरू असफल भए भन्ने दस्तावेजको आशय हो। जसरी पनि चुनाव जित्ने र जसरी पनि सरकारमा जाने तरिकाले आन्दोलनलाई फाइदा पुगेको छैन। बरु आन्दोलन बदनाम भएको छ। आन्दोलन बदनाम हुँदा यसका नेताहरू समाजमा दिनप्रतिदिन अलोकप्रिय भइरहेका छन्। यसको विकल्पमा एकीकृत समाजवादीले प्रगतिशील संसद्वादको विकल्प अगाडि सारेको छ। निर्वाचन, संसद् र सरकार पनि वर्गसंघर्षकै क्षेत्रहरू हुन् भन्ने यसको आशय हो। त्यसकारण ती क्षेत्रहरूमा विचारधारात्मक संघर्ष र वर्गपक्षधरता देखिनुपर्छ भन्ने कोणबाट दस्तावेज आएको छ।

पार्टीलाई स्थिर तलाउजस्तो होइन, बगिरहेको पानीजस्तो बनाउनु पर्छ। त्यसका लागि नयाँ युवा पुस्ताहरूलाई निर्णय गर्ने ठाउँमा नपुर्‍याई गतिशील संगठन बनाउन सकिँदैन भन्ने सन्दर्भलाई दस्तावेजले आत्मसात् गरेको छ। त्यसकारण पार्टीको केन्द्रीय कमिटीमा २० प्रतिशत सिटहरू ४० वर्षमुनिका कमरेडहरूलाई आरक्षण गरिएको छ।

सारमा, नेकपा (एकीकृत समाजवादी)ले दसौं महाधिवेशनमा पास गरेको समाजवादी कार्यदिशा भएको दस्तावेजले सिंगो कम्युनिस्ट आन्दोलनलाई दिशाबोधमात्र गरेको छैन, निराशालाई चिर्दै वाम एकताको प्रस्तावसमेत गरेको छ। यसबाट समाजवादी कार्यदिशा वा बुर्जुवाकरण ? यही प्रश्नको वरिपरि अबको वाम आन्दोलनले परिक्रमा गर्ने निश्चित छ। 

अर्याल, नेकपा समाजवादी केन्द्रीय प्रचार विभागका उपप्रमुख हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.