द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन
काठमाडौं : बत्तीसपुतलीस्थित द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ। श्रेष्ठको ९२ वर्षको उमेरमा बिहीबार बिहान ललितपुरस्थित मेडिसिटी हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनी लामो समयदेखि निमोनिया र बाथरोगबाट ग्रसित थिइन्।
पारिवारिक स्रोतका अनुसार उनको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिनेछ। श्रेष्ठको निधनप्रति होटल संघ नेपालले गहिरो दुःख प्रकट गरेको छ। श्रेष्ठको निधनबाट देशले पर्यटन विकासको सच्चा अभियन्ता गुमाएको होटल संघ नेपालले जनाएको छ ।
भारतको सिक्किममा जन्मिएकी अम्बिका नेपालका व्यापारी घरानाका द्वारिकादास श्रेष्ठसँग विवाह गरेपछि काठमाडौं छिरेकी थिइन्।श्रीमान्को मृत्युपछि उनी द्वारिकाज होटलको अध्यक्ष भएकी हुन्।
सफल महिला उद्यमीको रुपमा उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेकी छन्।