नवलपरासीमा जग्गाको नयाँ मूल्य कायम

परासी : नवलपरासीमा जग्गाको नयाँ मूल्य कायम गरिएको छ। जिल्लाको न्यूनतम मूल्य निर्धारण समितिले आर्थिक वर्ष २०८१/०८२ का लागि नयाँ मूल्य कायम गरेको हो। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको समितिले साउन १ देखि लागू हुने गरी जग्गाको मूल्य कायम गरेको हो।
जग्गाको मूल्य गतवर्षभन्दा ५ प्रतिशतले वृद्धि गरिएको छ। प्रति कठ्ठाका आधारमा जग्गाको मूल्य कायम गरिएको हो। जिल्लाका साता पालिकाको तुलनामा सबैभन्दा बढी जग्गाको मूल्य सुनवल नगरपालिकामा रहेको छ। सुनवलको चौराहाको जग्गा प्रतिकठ्ठा ८१ लाख ८५ हजार रहेको मालपोत कार्यालय परासीका नायब सुब्बा बेलप्रसाद भण्डारीले जानकारी दिए। त्यस्तै राजमार्ग छेउ छाउका जग्गाको मूल्य ३२ लाख २८ हजार रहेको छ। भने भित्री सडक, कालोपत्रे सडकलगायत अन्य जग्गाको मूल्य ३ लाखदेखि १७ लाखसम्म कायम गरिएको छ। खेती योग्य जग्गाको मूल्य २ लाखभन्दा बढीकायम गरिएको छ।
सरकारीस्तरबाट कायम गरिएको जग्गाको मूल्यभन्दा चलनचल्तीमा दोब्बरदेखि तेम्बर बढीमा खरिद बिक्री हुँदै आएको छ। त्यसैगरी सबैभन्दा बढी जग्गाको मूल्य हुनेमा बर्दघाट नगरपालिकामा रहेको छ। बर्दघाटको राजमार्ग क्षेत्रको जग्गा ७९ लाख ८९ हजारदेखि ५१ लाखसम्म रहेको मालपोत कार्यालयले जनाएको छ। त्यस्तै कच्ची, पक्की र अन्य बाटो छेउछाउका जग्गाहरूको मूल्य ५ लाखदेखि १० लाखसम्म रहेको छ। बर्दघाट क्षेत्रका खेतीयोग्य जग्गाको मूल्य १ लाख ५५ हजारदेखि २ लाख बढी कायम गरिएको छ।
रामग्राम नगरपालिकाको परासी–भैरहवा सडकखण्ड, सुनवल–परासी सडक खण्ड र महेशपुर– परासी सडकखण्डको जग्गाको मूल्य २८ देखि ३७ लाखसम्म कायम गरिएको छ। बजार क्षेत्रको २८ देखि ३६ लाखसम्म कायम गरिएको छ। त्यस्तै हुलाकी सडक खण्डको १४ लाख, बैकुण्ठापुर–हरकट्टाको १८ लाख कायम गरिएको छ। नगर क्षेत्रका अन्य भित्री सडक, पक्की, शाखा बाटो लगायतका क्षेत्रको जग्गाको मूल्य २ देखि १७ लाख कायम गरिएको छ। खेती योग्य जग्गाको मूल्य ठाउँ हेरेर १ लाख २७ हजारदेखि १ लाख ८३ हजारसम्म कायम गरिएको मालपोत कार्यालयले जनाएको छ।
सुस्ता गाउँपालिकाको घडेरी जग्गाको मूल्य ७ लाख २१ हजारसम्म छ। त्यस्तै पक्की बाटोको दायाँ बायाँ ५ लाख २६ हजार र भित्री कच्ची बाटोको २ लाख १० हजारसम्म छ। खेतीयोग्य जग्गाको मूल्य १ लाख ७ हजार देखि १ लाख २७ हजारसम्म छ। सरावल गाउँपालिकाको जग्गाको मूल्य ३ लाखदेखि ४० लाख बढीसम्म छ। राजमार्ग क्षेत्रको बासाबसहीदेखि ७ सय मिटर पश्चिमतर्फ ४० लाख ८३ हजार रहेको छ। अन्य राजमार्ग छेउ छाउको जग्गा ३१ लाख रहेको छ। शाखा र भित्री सडकका जग्गा ३ लाख १२ हजारसम्म छ। खेतीयोग्य जग्गा १ लाख १० हजारदेखि २ लाख ३२ हजारसम्म छ।
त्यस्तै पाल्हीनन्दन गाउँपालिकाको जग्गाको मूल्य १७ लाखसम्म कायम गरिएको छ। परासी– महेशपुर सडकमा ११ लाख बढी र महेशपुर बजार क्षेत्रको जग्गा १७ लाख २६ हजार कायम गरिएको छ। अन्य कच्ची तथा शाखा बाटोतर्फका जग्गाको मूल्य ३ लाख देखि ६ लाख ७५ हजार कायम गरिएको छ। पञ्चनगर– महेशपुर सडकको १० लाख ६७ हजार कायम गरिएको छ। खेतीयोग्य जग्गाको मूल्य १ लाख २७ हजारदेखि १ लाख ५५ हजारसम्म कायम गरिएको छ।
प्रतापपुर गाउँपालिकाको जग्गाको मूल्य ६ लाख देखि १२ लाख बढीसम्म कायम गरिएको छ। अन्य भित्री सडक र शाखा बाटोतर्फका जग्गाको १ लाख ६८ हजारदेखि २ लाख बढी मूल्य कायम गरिएको छ। खेतीयोग्य जग्गाको मूल्य १ लाख ११ हजारदेखि १ लाख ६७ हजारसम्म कायम गरिएको छ। फेनरा– बेलाटारीको जग्गाको मूल्य १२ लाख ४४ हजार कायम गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
