ट्याटुले कमायो, ट्याटुले नै घुमायो

आत्मकथा

ट्याटुले कमायो, ट्याटुले नै घुमायो

जसलाई सानोमा स्कुल पढ्दादेखि चित्रकलामा अभिरुचि थियो। उनी विद्यालयका विभिन्न चित्रकला प्रतियोगितामा भाग लिन्थे। रहर बढ्दै जाँदा त्यो कागज र पेनमा सीमित हुन पुगे। उनी कक्षा ७ मा पढ्दै थिए। उनी कोरिरहन्थे, बस् कोरिरन्थे। एकदिन, उनका एकजना साथीले ट्याटु हानेको देखाएपछि उनलाई पनि त्यो मेसिन हेर्ने रहर जाग्यो। उनी रातभर निदाएनन्।

उनी भन्छन्, ‘म पनि मेसिन खोज्न हिँडें। हातले बनाएको त्यो मेसिन रातभर लगाएर बनाएरै छाडें’। त्यसपछि उनको त्यो चित्रकला ट्याटुमा परिणत भयो। पहिलोपटक आफ्ना छालाहरूमा मेसिनको उपयोग गरे। राम्रो देखियो। साथीहरूले असाध्यै मन पराएर उनलाई हामीलाई पनि बनाइदे भन्न थाले। एकपछि अर्को गर्दै उनले धेरै साथी बनाए। ट्याटु संसारमा प्रवेश गरेदेखि सफलता पाएसम्मका राजु पाण्डेका अनुभव र विचार उनकै शब्दमा :

आमाले शरीरमा कोतार्छ भन्नुहुन्थ्यो : आमालाई छोराको यस्तो हर्कत देखेर आश्चर्य लाग्थ्यो। कलमले कापीमा बनाउने चित्रकला बनाउँदासम्म कुनै आपत्ति थिएन। तर जब मेसिनले शरीरमा खोप्न थालें तब आमा कराउन थाल्नुभयो। त्यस समय ट्याटु बनाउनु भनेको नराम्रो सोचिन्थ्यो। बनाउँदै जाँदा अचेल भने ट्याटुले राम्रो रूप लियो। एक कान दुई कान गर्दै मानिस टाढाटाढाबाट आउन थाले। आमा ‘यो काम गलत हो’ भनेर झनै डराउँदै मलाई रोक्न थाल्नुभयो। एकातिर आमाको डर थियो भने अर्कोतिर यही काम गर्ने हुटहुटी। न त आमालाई बुझाउन सक्थें, न त मनलाई सम्झाउन। आमाले यो काम नगर भनेर उर्दी जारी गर्नुभयो। के गर्ने त ? तनाव भयो।

एकदिनको कुरा हो। उनी घरमै थिए। एउटा व्यापारीको छोरा उनको घरमै आएर आफूलाई ट्याटु बनाइदिन आग्रह गर्न थाले। उनलाई बनाउने मन भए पनि आमाको आज्ञापालन गर्नु थियो। आमाको डरले उनले बनाउन नसक्ने भन्दै अस्वीकार गरे। तर ती व्यापारीको छोरा पनि निकै जिद्दी थिए। कर गर्न थाले, पटकपटक भनिरहँदा पनि नमानेपछि अन्तिममा उनले भने, बनाइदेउन यार पैसा दिन्छु।

तत्काल जवाफ दिएँ, हैट ! पैसा पनि दिन्छ भने बनाइदिन्छु। तर तत्काल दिमागमा अर्को आइडिया फुर्‍यो, पैसा लिएँ भने आमाले मान्नुहुन्छ कि ? त्यसपछि उसलाई भनें– कति दिन्छौ ? जवाफमा उसले भन्यो, ‘कति लिन्छौ ?’ मेरो मुखबाट फ्याट आयो– पाँच सय रुपैयाँ। उसले ‘हुन्छ’ भन्यो। उसले सर्त राख्यो, तीन जनाको बनाउनुपर्छ नि। तीन जनाको ट्याटु बनाउँदा दिनभर लाग्यो। १५ सय कमाएँ र आमालाई दिएँ। तर पनि आमा खुसी हुनु भएन। झनै डराउनु भयो। अर्को दिन अर्को टिम आयो। मलाई आमालाई कुनै हालतमा मनाउनु थियो। आफूभित्रको रहरलाई बचाउनु पनि थियो।

अर्को टिमलाई प्रतिव्यक्ति हजार भनें। माने। तीनजनाको तीन हजार भयो। अर्को एक दिन त आमाले बनाउँदै गर्दा रुममा आएर ट्याटु बनाउनेलाई सोध्नुभयो, ‘बाबु कस्को छोरा हो ?’ आमालाई छोरा नफसोस् भन्ने ठूलो डर थियो। मलाई भने यो नशाजस्तै रहर। ट्याटु बनाउन आउनेसँग मेरो रेट बढ्दै गयो। अर्को टिमसँग दुई हजार लिएँ। तर, कहिलेकाहीँ तनाव हुन्थ्यो, मैले पैसा लिएको छु भन्ने।

त्यसपछि ढुक्क भएँ : एकदिन एउटा पसलमा एकजना अंकललाई भेटें। उहाँले शरीरमा ट्याटु बनाउनु भएको थियो। जिज्ञासा राखें। अंकल तपाईंले यो ट्याटु कहाँ बनाउनु भयो ? उनले भने, लन्डनमा। आश्चर्य लाग्यो, त्यहाँ पनि बन्छ ? जिज्ञासु भएर फेरि प्रश्न गरें। उतैबाट त आएको हो यो नेपालमा। कतिमा बनाउनु भयो ? उनले भने, ‘नेपालको त्यस्तै ८० हजार पर्‍यो।’ त्यसपछि ढुक्क भएँ। उनले थपे, ‘नेपालमा ट्याटुको प्रचलन 
छैन तर संसारभर छ।’

पाण्डेको खुसीको सीमा रहेन। एकातिर उनले आमालाई दिने जवाफ पाए भने अर्कोतिर पैसा लिएकोमा हुने दुविधा हट्यो। तत्काल आमालाई यो कुरा सुनाएँ। अब सहज भयो। दाइ, मलेसिया हुनुहुन्थ्यो। आमामार्फत ज्याक लगाएर मेसिन मगाउने उपाय सोचें। आमाले दाइलाई भन्दिनुभयो। केही समयपछि मेसिन पनि आयो। तर प्रोफेसनल मेसिनले झनै गाह्रो भयो, ट्युनिङ मिलाउन। गर्दै जाँदा निपुण जस्तै बन्न थालें। यता एसएलसी पनि उत्तीर्ण गरें। विद्यार्थी भिसामा मलेसिया पुगें। कलेजपछि ट्याटुमै निपुण हुने चाहनाले स्टुडियो जान थालें।

अचेल त महिला पनि शरीरका विभिन्न अंगमा ट्याटु बनाउँछन्। यो क्रम बर्सेनि बढिरहेको छ। अझ युरोप, अस्ट्रेलिया र अमेरिकामा ट्याटुको यस्तो लहर चलेको छ।

मलेसियामा पहिलो दिनको कमाइ सात सय : मलेसियाका सुरुआती दिन। म सिक्न गएँ, उसले मलाई काम लगायो। ट्याटु हानें। बेलुकी घर जाने बेलामा सात सय रिंगिट दिँदै मलाई ‘दिस इज योर इन कम’ भनेर सात सय दियो। छक्क परें। जब कि त्यो समय वैदेशिक रोजगारमा जाने नेपालीले महिनामा सात सय कमाउँथे। अचम्म, मेरो दैनिक सात–आठ सय हुन्थ्यो। अहो, पैसा टनाटन हुन थाल्यो। आईटी पढ्न गएको म पढाइसँगै कामलाई 
निरन्तरता दिन थालें।

त्यसपछि यो काम ‘प्यासन’ बन्यो। सिंगापुर, थाइल्यान्ड र आसपास ‘गेस्ट सपोर्ट’मा जान थालें। मलेसियाको ७ वर्षको बसाइपछि भारतको मुम्बई गएँ। त्यहाँ पनि यही कामलाई निरन्तरता दिएँ। सेलिब्रेटीहरूलाई ट्याटु बनाउने काम गर्न थालें। त्यसपछि दिल्लीको गुँडगाउँमा १६ वर्ष काम गरें त्यहाँ पनि सेलिब्रेटीहरूले बनाउने। देश–विदेशबाट अवार्डहरू जित्न थालें। ‘निर्णायक’को भूमिकामा काम गरें। गर्दै जाँदा यो ‘प्यासेन्ट’ ‘प्रोफेसन’ भयो।

ट्याटु अहिले फेसन बन्यो : पहिले र अहिले ट्याटुको परिदृश्य नै परिवर्तन भएको छ। पहिले शरीर मोटोे हुनेहरूले सुन्दर हुन ट्याटु बनाउने भन्ने कुरा अहिले भने अर्थपूर्ण भएको छ। आजकल युवा पुस्ता अरूले भनेको ट्याटु हान्दैनन्, आफूलाई मन लागेको बनाउँछन् जबकि पहिले जुन भन्यो त्यही हान्थे। 

१८ देखि २५ वर्ष समूहले खोप्छन् धेरै ट्याटु : १८ देखि २५ वर्ष समूहले बढी मात्रामा ट्याटु खोप्ने गरेका छन्। तिनीहरू आफ्नो रोजाइ लिएर आउँछन्। यसको बजार धेरै राम्रो छ। विश्वका प्राय: सबै देशमा ट्याटुको रोजाइमा परेको छ। तर मुस्लिम देशहरूमा अलि कम छ। १८ वर्ष माथिकाले ट्याटु बनाउने चाहना राख्छन्।

१८ देखि ३० वर्षका बढी चाहना राख्छन्। त्यसपछि अलि कम छ। ३० देखि माथि ५० सम्मका पनि आउँछन्। नयाँ आउनेहरूले विदेशलाई ‘फलो’ गरेका छन्। अहिले मेरो व्यवसाय काठमाडौंको ठमेलमा छ। नेपालमा तीन हजारदेखि एक लाखसम्म लिने गर्छु। साइजअनुसार हुन्छ। नेपालमा तीन हजारदेखि एक लाखसम्म लिएको छु। विदेशमा भने ५ देखि ६ लाखसम्मको ट्याटु बनाएको छु।

ट्याटु पनि वरिपरिका : ट्याटुको किसिमको कुनै सीमा छैन। जति पनि ‘आर्टवेस’ फर्महरू छन्। ती सबै ट्याटुमा आउँछन्। कसैलाई कफी मनपर्छ, त्यही बनाउँछ। कसैलाई भगवान् मनपर्छ, त्यही बनाउँछन्। ट्याटु फेसन हो। यो मनोरञ्जनसँगै सौन्दर्य पनि हो। यो एक प्रकारको ‘एडिक्सन’ पनि हो। एकपछि अर्को बनाउँदै जान्छन्। कसैलाई शरीरका धेरै भागमा बनाउन मन लाग्छ। जस्तै, आमाको माया, शुभ र प्रिय चिजलाई प्राथमिकता दिन्छन्। २२ वर्षको अनुभव भइसकेछ। लाग्छ, ट्याटुमा पीएचडी भयो। जब युट्युब र गुगल थिएनन् तब डिजाइन पाउन गाह्रो थियो। अहिले त नयाँ पुस्ताले आफैं डिजाइन लिएर आउँछन्। मलेसिया र सिंगापुरमा ७ वर्ष र भारतमा १६ वर्षसम्म काम गरेछु। त्यसपछि नेपालमै केही गरौं भन्ने सोच आयो।

देशले तान्यो र आफ्नै व्यापार सुरु गरें। तर मलाई अझै देशविदेश घुम्न मन छ। ट्याटुले मेरो जीवनमा त परिवर्तन आयो नै, आमाको मन पनि परिवर्तन गरिदियो। छोराले ट्याटुमा यस्तो प्रगति गर्ला भनेर आमाले त सोच्नु नै भएको थिएन। कुनै पनि कुरामा ‘डेडिकेटेड’ भएर लाग्यो भने मानिस सफल बन्छ भन्ने उदाहारण हो यो।

सरकारसँगको अपेक्षा : केही वर्ष अगाडि ट्याटुकै काममा जाने राम्रो अफर आउँदा अन्तर्राष्ट्रिय कार्यक्रममा ‘लिगल पेपर’ नभएकाले जान पाइनँ। सरकारले घरेलु उद्योगमा ट्याटुमा समावेश गरिदिए हुन्थ्यो भन्ने लाग्छ।

कसरी बन्छ ट्याटु ? अहिले विश्वव्यापी रूपमा युवापिँढीमा ‘बडी आर्ट’को उत्साह देखिन्छ। स्वदेश तथा विदेशमा स्थायी ट्याटुको लोकप्रियता बढ्दो छ। अन्य देशको देखासिकीबाट नेपालमा पनि युवायुवतीमा ट्याटु मोह बढेको छ। विश्वका कतिपय विकसित मुलुकमा ५० प्रतिशतसम्म मानिसको शरीरमा कम्तीमा एउटा ट्याटु रहेको पाइन्छ। यो क्रम बर्सेनि बढिरहेको छ। अझ युरोप, अस्ट्रेलिया र अमेरिकामा ट्याटुको यस्तो लहर चलेको छ। साधारणतया ट्याटु पुरुषहरूले बढी बनाउने चलन थियो।

अचेल त महिला पनि शरीरका विभिन्न अंगमा ट्याटु बनाउँछन्। नेपाल, भारत, थाइल्यान्ड, कम्बोडिया, भियतनाम, इन्डनोनेसियाजस्ता मुलुकका युवायुवतीले रहरै–रहरमा पाखुरा, गर्दन वा शरीरका विभिन्न भागमा ट्याटु खोप्ने गर्छन्। कतिले यसलाई कलाका रूपमा लिएका छन् भने कतिले फेसन। धेरैजसोले भने आफ्नो नाम तथा देवीदेवता वा प्रिय मान्छेको आकृति खोपाउने गरेको पाइन्छ । मुस्लिम देशहरूमा केही कम संख्याले मात्र यो बनाउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.