‘नेचर’ – ‘नर्चर’

लेखन शैली

‘नेचर’ – ‘नर्चर’

हाम्रो लेखन शैलीलाई कुन कुराले आकार दिन्छ ? राम्रो लेखन भनेको के हो ? आफ्नै लेखनशैलीको अन्वेषण गर्दा सोच्न जरुरी छ।

‘मरी आमाबाट मोहित भएको थिएँ। न्युयोर्कको ११६ स्ट्रिटमा अवस्थित म बिहान उठ्नेबित्तिकै एउटा गहिरो चाहना राख्थें। उत्सुक हुन्थें सुन्नलाई उनको आवाज अनि हेर्नलाई उनको नरम शरीरको बक्रता। उनको लट्टा झैं गुँडुल्किएको कपाल, झ्याल सफा गर्दै गर्दा भर्‍याङमा अडिएको उनको शरीरको वजन...’ (एलिजाबेथ हार्डविक, निद्रारहित रातहरू : १६)। ‘कुनै पनि कलामा मानिसको शैली उसको पहिरनजस्तै हुनुपर्छ– यसले सकेसम्म कम ध्यान आकर्षित गर्नुपर्छ’ (बटलर : २५)

विदेशी लेखकका विभिन्न लेखन शैलीबाट म प्रभावित भएको छु। शैलीबारेका विविध पठनबाट रोमाञ्चित भएको छु। लेखन र शैलीका विभिन्न आयाम र प्रकृति बारेमा बहुआयामिक विचारलाई नियाल्दा शैलीको महत्वबारे महसुस गरेको छु। चाहे त्यो प्लेटोको सोक्रेटिक संवाद शैली होस् या सेनेकाको चरित्र चित्रण शैली। विशेष रूपमा मजस्ता लेखकहरूका लागि वा लेखनमा रुचि राख्नेहरूका लागि एउटा अद्भुत पाठ हुन सक्छ, शैलीबारेको ज्ञान। पुरानादेखि नयाँ लेखकहरूले प्रयोग गरेको शैली र शैलीसम्बन्धी पठनबाट के कुरा थाहा हुन्छ भने शैली लेखनको महत्वपूर्ण भाग हो, खासगरी लेखकले पाठकसम्म कस्तो सन्देश प्रवाह गर्ने र कसरी गर्ने भन्ने उद्देश्यका लागि।

हामी लेखकको रूपमा के सन्देश सार्वजनिक गर्न चाहन्छौं र कसरी गर्न चाहन्छौं ? भन्ने प्रश्नको उत्तर हाम्रो लेखनशैलीले दिन्छ। लेखनशैली लेखकको एउटा ब्रान्ड पनि हो जुन उसले आफ्नो भाषा र विचारद्वारा आफ्नो लेखनमा स्थापित गर्छ। जस्तो कि अर्नेस्ट हेमिङवेको आफ्नै शैली छ– सरल र स्पष्ट, वर्णनात्मक र विशिष्ट, र बिम्बात्मक। र त्यस्तै आफ्ना लेखन शैली भएका अरू कयौं लेखकहरू छन्।

मैले अहिलेसम्ममा सिकेको कुरा भनेको शैलीले कसरी लेखनको गुणात्मकताको निर्धारण गर्छ र त्यो सँगै अरू कस्तो तत्वहरूको अपरिहार्यता रहन्छ सुन्दर शैलीका लागि भन्ने हो। आखिर शैली के हो ? शैली कसैसँग जन्मँदै आएको जन्मजात गुण हो कि यसलाई लेखकले निरन्तर अभ्यासद्वारा तिखार्छ ? वा भनौं अभिजात गुण हो लेखन शैली कि ? कि शैलीलाई परिष्कृत गरिन्छ अभ्यास, सिकाई, र नक्कल गराईबाट ? या दुवै ?

मैले मेरै लेखन शैलीमा धेरै चोटि प्रतिबिम्बित गरेर हेरेको छु र थाहा पाएको छु शैली मेरो व्यक्तिगत विशेषता हो। अनि सांस्कृतिक पृष्ठभूमि हो, मेरो निजी जीवन र भोगाइ हो, जसले मेरो लेखन शैलीलाई आकार दिएको हुन्छ। जर्जिया कलेज तथा स्टेट युनिभर्सिटीका सिर्जनशील लेखनका प्राध्यापक पिटर सेल्जिन जसले शैलीका बारेमा एउटा पुस्तक नै लेखेका छन् ‘बाई कनिङ एन्ड क््रयाफ्ट’। भन्छन्– ‘शैली प्रकृति र परिपालन बीचको अनन्त खेल हो अर्थात् शैली 

‘इन्नेट’ उपहार पनि हो र हो अभ्यास पनि।’
‘एक लेखकको लेखनमा आउने निखार र पूर्णता भनेको राम्रा लेखकहरूको लेख पढेर हो, उनीहरूको नक्कल गर्ने अभ्यास गरेर हो, उनीहरूबाट सिकेर हो तर त्यसमा लेखकको आफ्नो पन भने हराउनु हुँदैन’, सेल्जिन भन्छन्। शैलीकै विषयमा कुरा गर्ने हो भने ‘अन ब्ल्याक सिस्टर्स स्ट्रिट’ कि नाइजेरियन लेखिका चिका उनिगुएले पनि राम्रा पुस्तकहरू पढ्न जोड दिन्छिन् र भन्छिन्, ‘राम्रा लेखकका पुस्तक पढ्नुहोस् र राम्रा लेखन शैली र अभ्यास हेर्नुहोस्।’

पुराना लेखन शैलीदेखि अहिलेको ‘अभाण्ड गार्ड’ शैलीसम्मको लेखन हेर्ने हो भने हामीलाई छक्क लाग्न सक्छ, विभिन्न लेखकले विभिन्न समयमा प्रयोग गरेका शब्दहरू, वाक्य गठनहरू, शब्दको संयोजन र अनुच्छेदको गठन र अरू थुप्रै व्याकरणीय शैली देखेर। समयको परिवर्तनसँगै लेखन शैलीमा परिवर्तन आउन सक्छ, आउँछ। जुन परिवेश र समय भए पनि एउटै कारण हो लेखकले चाहेको शैलीको निर्माण गर्छ, निश्चित उद्देश्य पूरा गर्न। जसको सम्बन्ध पाठकसम्म हुन्छ अर्थात् कुन पाठकसम्म र कसरी पुग्ने भन्ने कुराको निर्माण शैलीले गर्छ। यसो भनिरहँदा केही प्रश्न भने मानसपटल झुन्डिरहन्छन्। कुन शैली उसो भए सबैभन्दा बढी प्रभावकारी हुन्छ ? यो लेखकका लागि खेलिरहने प्रश्न हो।

धेरै वर्षपहिले मलाई के प्रभाव परेको थियो भने ठूला शब्द, धेरै सिलेवल भएका शब्द, लामा शब्दको प्रयोगले लेखनलाई उच्चस्तरीय बनाउँछ र लेखकको उचाइ बढाउँछ, तर त्यो भ्रम ममा विस्तारै हटेको थियो। पछिल्लो समयमा आएर लेखन र लेखनशैलीका बारेमा अध्ययन गर्ने क्रममा ती दिनका याद आए। विलियम हेज्लिट (१८२१) ले लेखनमा सरलता र स्पष्टता हुनुपर्छ भनेर जोड दिएका छन्। उनी भन्छन्– शैली ‘फेमिलियर’ हुनुपर्छ जसले सर्वसाधारण वार्तालापको भाषालाई अंगीकार गर्न सकोस्, त्यसको ‘इसेन्स’लाई समात्न सकोस्, र मुक्ति पाओस् ढोंगी भाषा र नचाहिँदो सजावट र आलंकारिताबाट।

त्यसैगरी, लुइस आर्गोनले वाक्य गठनको परम्परागत शैलीलाई चुनौती दिन्छन् र भाषामा सिर्जनशीलता ल्याउनको लागि नचाहिँदो व्याकरणीय उल्झनबाट बाहिर आउन जोड दिन्छन्। उनका लागि शैली भनेको व्याकरणीय जालोबाट बाहिर निस्किएर प्रयोग र आविष्कारको मलिलो माटोमा लेखन शैलीलाई हुर्किन दिनु हो। हरेक लेखकले चेतन वा अर्ध चेतन तवरमा आफ्नै शैलीलाई परिचित गराइरहेको हुन्छ किनकि उसको लेखन उसको अनुभव, पृष्ठभूमि, हुर्काइ र ज्ञानबाट आएको हुन्छ। स्वयम् मैले मेरो आफ्नै लेखनमा त्यो मेरो आफ्नै शैली पाएको छु। तर त्यसो भनिरहँदा आफ्नो लेखन शैलीमाथि अरूको लेखन शैलीले पनि प्रभाव पार्दो रहेछ। त्यही भएर लेखन शैली भनेको आफू र अरू मिलेर बन्न सक्ने रहेछ अर्थात् यो ‘नेचर’ र ‘नर्चर’को खेल रहेछ।

यदि हामीले प्लेटोदेखि सेनेका, जेन आस्टिन, मार्क ट्विन, अर्नेस्ट हेमिङवे, सम्युल ब्याकेट, जोन डिडियनसम्मका शैलीहरूलाई पढ्ने र हेर्ने हो। उनीहरूको शैली त्यतिबेलाको समय, ज्ञान, अनुभव, सांस्कृतिक पृष्ठभूमिबाट र उनीहरूको मस्तिष्कमा पाठक राखेर आएको देखिन्छ। त्यसो भनिरहँदा मलाई मन परेको शैली अर्को पाठकलाई ठ्याक्कै मन पर्छ भन्ने छैन। हाम्रा रुचि र स्वादहरू फरकफरक छन्, पाठक नै पिच्छे। त्यो हाम्रा इच्छा, बानी र आदतमा भर पर्छ। तर के चैं हो भने राम्रा लेखक र लेखन पढ्नाले लेखकको लेखन शैली र अभ्यासमा भने पक्कै निखार आउँछ।

शैली भनेको कसरी लेख्ने भन्ने मात्र होइन, किन लेख्ने र कसका लागि लेख्ने भन्ने पनि हो जसले शैलीको निर्धारण गरेको हुन्छ। यो सन्दर्भमा डेसिडेरियस इरास्मस (१५१२) को लेखन प्रयोग र उनले देखाएको दिशा महत्वपूर्ण र मूल्यवान् छ। शैलीको विषयमा उनी वाक्य गठन, बनोट, विधा, विषय, दृष्टिकोण, चरित्र र लेखकीय उद्देश्यलाई जोड दिन्छन्। यस सन्दर्भमा उनी थप्छन्, ‘साहित्यिक संयन्त्रहरू जस्तो रूपक, अलंकार, भाषिक छनोट र संवादको उपस्थितिले लेखन शैलीमा योगदान पुर्‍याउँछ।’

बेन योगडाले (२००५) लेखन शैलीलाई महत्व दिँदै भन्छन्– यो एउटा माध्यम हो जसको सहयोगमा लेखक र विचारकहरूले घतलाग्दो र सम्झनयोग्य विचारहरू अभिव्यक्त गर्छन्। यसले के देखाउँछ भने छनोटको विषयमात्र होइन शैली, लेखको कलात्मक संवेदनशीलता पनि हो। अर्थात् योगडाको भाषामा ‘अल्टिमेट मोरालिटी अफ द माइन्ड’ हो। अर्थात् मस्तिष्कले उत्पन्न गरेको नैतिकताको अन्तिम रूप हो। रेमन्ड किन्स (१९७९) ले कसरी एउटै कथा सय तरिकाले लेख्न सकिन्छ 
भनेर देखाएका छन्। यसले के देखाउँछ भने शैली भनेको अभिजात गुणमात्र होइन, अभ्यास गरेर अझ बढी शैलीगत बनाउन सकिने विषय र विधा पनि हो।
शैलीका बारेमा पढ्दै जाँदा वा राम्रा लेखकहरूका लेखहरू अध्ययन गर्दै जाँदा उनीहरूका विभिन्न शैलीका बारेमा थाहा पाइने रहेछ। जस्तो कि प्लेटोको सोक्रेटिक शैली जसले आलंकारिक प्रश्न र उत्तरको खोजी गर्ने शैलीसँग परिचित गरायो। अरस्तुको विचारले बनोट र विषयबीचको लेखन शैलीलाई जोड दियो। ‘लुसिलियसलाई नैतिक चिठी’ भन्ने लेखमा सेनेकाले (१९१७) लेखनमा आत्माको महत्वलाई जोड दिए, जसले 
गर्दा लेखन राम्रो हुने कुरा व्यक्त गरे। र त्यो सँगसँगै ‘फेमिलियर’ भाषाको प्रयोगलाई पनि जोड दिए।

दाँतेले (१९९६) कसरी भाषाको एकीकृत प्रयोगले प्रभावकारी सञ्चार गर्छ भन्ने कुरामा जोड दिए। स्याम्युल जोन्सनले (१९७०) ‘सरल र बुझ्न सकिने भाषाको महत्वलाई जोड दिए र त्यस्तो भाषा जसले पाठकलाई अत्याउँछ वा अचम्मित बनाउँछ’लाई निरुत्साहित गर्न भने। भोल्टेयर (१९७१) ले शैली भनेको भाषालाई प्रभावकारी हिसाबले पस्किनु हो भने। अभिव्यक्तिको शुद्धता, लालित्य र औचित्यका लागि वकालत गर्दै त्यसो भने। तर उनले ‘फ्लावारी’ भाषाको प्रयोगको भने आलोचना गरे। किनभने उनले भने, ‘त्यस्तो भाषाले पाठकलाई दिने सन्देशको सारबाट विमुख गराउन सक्छ। विचारको मौलिकता र कल्पनाशीलताको लागि भाषाको प्रयोगमा होसियार हुनुपर्छ यदि त्यो लेखनमा सुन्दर शैली खोज्ने हो’ भने।

लेखनशैलीका बारेमा विभिन्न लेखकले विभिन्न सल्लाह सुझाव दिँदै आएका छन्। सेंस्बरी (१८८५) ले लेखनमा उखान तुक्काको प्रयोग र अरू भाषाबाट आयातीत शब्दको प्रयोग कम गर्न वा गर्दै नगर्न भनेका छन्। गिब्सन, डेभिड ह्युम, एडमन्ड वर्कको कुरा गर्ने हो भने उनीहरू निकै ठूला लेखक तथा विचारक थिए। उनीहरूले लेखनको संगठन र रिदम अर्थात् लयमा जोड दिए जुन राम्रो शैलीका लागि महत्वपूर्ण रह्यो। उनीहरूले वाक्यमा सन्तुलन र अनुपातको महत्वलाई दर्साए। अनावश्यक शब्दको प्रयोग र वाक्य गठनले सरलता र स्पष्टतालाई बिगार्ने उनीहरूको राय थियो। सोचाइमा स्पष्टता भयो भने लेखन शैली राम्रो हुन्छ भने कुरा सोफेन हाओर (२००७) ले व्यक्त गरे। उनले दुई किसिमका लेखकबारे कुरा गरे: एउटा पैसाका लागि लेख्ने लेखक र अर्को विषयका लागि लेख्ने लेखक। जो विषयका लागि लेख्छ उसले समाजलाई केही दिन्छ, उनको राय थियो। ‘पैसाका लागि लेख्ने लेखकले साहित्यलाई बिगार्छन्, उनले भने, ‘र भाषा र सिर्जनशीलतालाई मार्छन्।’ 

विभिन्न लेखकका शैलीमाथिका समालोचनाहरू पढ्दा मलाई धेरै अन्तर्दृष्टिहरू प्राप्त भयो, जस्तै मार्क ट्वेनको फेनिमोर कुपर माथिको निबन्ध, जसमा ट्विनले कुपरको गद्य शैलीको आलोचना गरे, त्यसको अस्पष्टता र शब्द माथि आलोचना गरे। एच एल मेनकेन (ज्ञढघट) ले स्पष्टतामा जोड दिए। लेखन शैलीकै बारे कुरा गर्दा एलिजाबेथ हार्डविकको ‘स्लिपलेस नाइट्स’ अर्को राम्रो उदाहरण हुन सक्छ : उनले प्रयोग गरेका काव्यात्मक ‘इमेजरी’ को मिश्रण हेर्दा उनको लेखन भयानक र बेजोड लाग्छ।’

अन्त्यमा, एच रिड (१९५२) ले लेखनको शैलीमा साहित्यिक रूपकहरूको सही प्रयोग र महत्वको खोजी गरे। लुइस अरागोन (१९२८) ले वाक्य रचनाको परम्परागत नियमहरूप्रति अवज्ञा व्यक्त गरे। ओर्वेल (२०००) ले व्याकरण र छोटो वाक्य, थोरै शब्द र सरलताको भूमिकाको महत्व सुझाए। स्मिथ( २००८) ले लेखहरू र यसको महत्वको पुनरावलोकनको बारेमा छलफल गरे। हाम्रो लेखन शैलीलाई कुन कुराले आकार दिन्छ ? राम्रो लेखन भनेको के हो ? जस्ता प्रश्नहरू लेखन शैलीको अन्वेषणका लागि व्यावहारिक छन्। एक लेखकको रूपमा, मलाई लाग्छ, यी प्रश्नहरू आफ्नै लेखनशैलीको अन्वेषण गर्दा सोच्न जरुरी छ। अब तपाईं आफ्नो लेखनशैलीको आफैं अन्वेषण र आविष्कार गर्नुहोला !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.