उत्तरतर्फ उच्च हिमालका ठूला पर्खालले शृंगारिएकै कारण गण्डकी प्रदेश विश्व पर्यटकका लागि आकर्षणको केन्द्र बनेको हो।
उच्च हिमाल, पहाड र तराईको समिश्रण भएको प्राकृतिक अनि सांस्कृतिक रूपमा धनी प्रदेश हो, गण्डकी। उच्च हिमाल, पहाड र तराईको प्राकृतिक, सांस्कृतिक विविधता यस प्रदेशका महत्वपूर्ण सम्पत्ति हुन्।
हिमाल पारिको जिल्ला मनाङ, मुस्ताङको प्राकृतिक छटा, संस्कृति र कलाको अध्ययन, अनुसन्धान गर्न बर्सेनि पर्यटकसमेत पुग्छन्। पर्यटकीय राजधानी पोखरा र आसपासका जिल्लाको सुन्दरता पर्यटकका लागि पहाडी आकर्षण हुन्। नवलपुर जिल्लामा पाइने विश्वमै दुर्लभ वन्यजन्तु गैंडा, बाघ, हात्तीको अवलोकनका लागि तराई अर्को आकर्षणको केन्द्र हो।
विश्वमै ८ हजारभन्दा उच्च हिमालयमा पहिलोपटक मानव पाइला परेको हिमाल अन्नपूर्ण प्रथम हो। सन् १९५० जुन ३ मा फ्रेन्च नागरिक मौरिस हर्जोगको नेतृत्वमा अन्नपूर्ण प्रथम (८,०९१ मिटर) आरोहण गरेपछि नै आठ हजार मिटरभन्दा उच्च हिमालको आरोहण आरम्भ भएको थियो। यसैले अन्नपूर्ण हिमाललाई जेठो हिमालको रूपमा मानिँदै आएको छ।
त्यसको तीन वर्षपछि सन् १९५३ मे २९ का दिन नेपालका तेन्जिङनोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारीले सगरमाथा चुचुरोमा पाइला टेकेका थिए। ८,१४७ मिटर उच्च धौलागिरि र ८,१६३ मिटर उच्च मनासलु हिमाल पनि गण्डकी प्रदेशका आकर्षण हुन्। बेलायती सर्भे टिमले धौलागिरि हिमालको उचाइ ८,१४७ मिटर रहेको पत्ता लगाए। सुरुका ३० वर्ष संसारको अग्लो चुचुरो धौलागिरि हिमाल भन्ने विश्वास गरिन्थ्यो।
मौरिस हर्जोग नेतृत्वको टोलीले अन्नपूर्ण प्रथमको चुचुरोमा पहिलो पाइला टेकेपछि पोखरा र गण्डकी प्रदेको मात्र होइन, देशकै पर्यटनको ढोका खुलेको थियो। मौरिसको त्यो सफलतासँगसँगै नेपाल विश्व पर्यटनमाझ परिचित भएको हो। आठ हजार मिटरभन्दा उच्च अन्नपूर्ण, धौलागिरि, मनास्लु हिमालको आरोहण र पदयात्राका लागि आउने विश्वका पर्यटक पोखरा भएर नै यस क्षेत्रमा जाने भएकाले पर्यटकीय राजधानी पोखरा विश्व पर्यटनमाझ परिचित हुँदै गयो।
गण्डकी प्रदेशका प्राकृतिक, सांस्कृतिक रूपमा सुन्दर जिल्लाहरूको पनि पछिल्लो समयमा पर्यटकीय महत्व बढ्दै गएकोे छ। गण्डकी प्रदेशका ११ जिल्ला गोर्खा, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा, नवलपुर, कास्की, लमजुङ, मनाङ, मुस्ताङका पर्यटकलाई आकर्षण गर्ने आआफ्ना पहिचान छन्। प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधता छन्।
उत्तरतर्फ उच्च हिमालका ठूला पर्खालले शृंगारिएकै कारण गण्डकी प्रदेश विश्व पर्यटकका लागि आकर्षणको केन्द्र बनेको हो। हिन्दूकुश हिमालय पर्वत क्षेत्र पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यानमारसम्म सबै आठ देशको ३,५०० किलोमिटर भागमा फैलिएको छ। यो १० ठूला एसियाई नदी प्रणालीहरूको स्रोत पनि हो। यही पर्वत शृंखलामा पर्ने अन्नपूर्ण, धौलागिरि, मनास्लु, नीलगिरि, माछापुच्छेलगायत उच्च हिमाल, पहाड र तराई मिलेर बनेको छ, गण्डकी प्रदेश।
जैविक विविधता, वन्यजन्तु, प्राकृतिक सम्पदा, जडीबुटी, धर्म, संस्कृति, रीतिरिवाजको सुन्दर फ्युजन गण्डकी प्रदेश हो। यही कारण गण्डकी प्रदेश देशकै सुन्दर पर्यटकीय गन्तव्य त हो नै। यस प्रदेशको राजधानी सहर पोखरा देशकै पर्यटकीय राजधानी सहर हो। प्रदेशको उच्च हिमाली क्षेत्रमा पाइने हिउँ चितुवा, रेडपाण्डा, पहाडमा पाइने चितुवा, ध्वाँसे चितुवादेखि तराई नवलपुरमा बाघ, हात्ती, गैंडा, नेपालमा पाइने नौ प्रजातिकै गिद्धलगायत दुर्लभ वन्यजन्तु, चरा पाइन्छन्। विश्वमै लोपोन्मुख वन्यजन्तुका लागि पनि गण्डकी प्रदेश धनी प्रदेश हो। ऐतिहासिक गोर्खा जहाँबाट नेपाल एकीकरण सुरु भयो: गण्डकी प्रदेशबाट नै नेपालको एकीकरण सुरु भएको हो। यसैले यो प्रदेश ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण छ। गोर्खा, कास्की, पर्वत, लमजुङ, तनहुँ आदिजस्ता ऐतिहासिक जिल्ला तत्कालीन बलिया चौबिसे राज्यहरू यसै प्रदेशमा थिए। त्यतिमात्र होइन, विभक्त नेपाललाई एउटै सूत्रमा बाँध्न सफल शाहवंशीय शासकहरूको उद्गमस्थल यसै प्रदेशको कास्की पर्छ।
कास्की राज्यमा कुलमण्डन शाहले कास्कीकोटमा बनाएको गृष्मकालीन दरबार अझै पनि देख्न पाइन्छ भने शीतकालीन दरबार लामाचौरमा बाटुलेचौरसँगै बनाएका थिए। तर अहिले भने त्यसको कुनै नाम–निशाना छैन। यिनै कुलमण्डन शाहका कान्छा छोरा यशोब्रह्म शाहलाई लमजुङका जनताले मागेर राजा बनाएको इतिहास छ। यशोब्रह्मका दुई छोरामध्ये जेठा नरहरि लमजुङका राजा बने भने कान्छा द्रव्य भने आफ्नै बाहुबलले सन् १५५९ मा स्वतन्त्र गोर्खा राज्यको स्थापना गर्न सफल भए। १७७९ पुस २७ गते जन्मेका पृथ्वीनारायण शाह २० वर्षको उमेरमा राजगद्दीमा बसेका थिए।
विशाल नेपालको परिकल्पना गरेका पृथ्वीनारायणले उपत्यका प्रवेशको पश्चिमी ढोका मानिन्छ नुवाकोट। जसमा दोस्रो पटकको आक्रमण १७४४ सेप्टेम्बर २६ मा गरे र कब्जामा लिन सफल भएका थिए। यसरी नेपालको एकीकरणको सुरुआत गर्ने ऐतिहासिक महत्व बोकेको गोर्खा जिल्लाले गण्डकी प्रदेशलाई विश्वमा परिचित गराएको छ। त्यतिमात्र होइन, धार्मिक महत्वले परिचित गोरखकाली दरबार र मनकामना मन्दिरले त गण्डकी प्रदेश शान बढाइरहेकै छन्। पर्यटकीय दृष्टिले महत्वपूर्ण यस्ता स्थलले अझै पनि उचित संरक्षण पाउन सकेका छैनन्।
टेथिस सागर बिलाएर बनेका उच्च हिमाल र शालग्राम: विश्वका पर्यटक आकर्षण गर्ने अन्नपूर्ण, धौलागिरि, मनास्लुमात्र होइन, सगरमाथा हिमाल उत्पत्तिको वैज्ञानिक तथ्य रोचक छ। करिब पाँच करोड वर्षअघि अन्नपूर्णलगायत हिमशृंखला क्षेत्रमा टेथिस सागर रहेको वैज्ञानिक अनुसन्धानबाट पत्ता लागेको बताइन्छ। भारतीय भूखण्ड र युरेसिया भनिने दुई विशाल भूभागहरूको टक्करका कारण हिमाल उत्पत्ति भएको वैज्ञानिक अध्ययनबाट विभिन्न प्रमाण फेला परेका छन्।
टेथिस सागर भएको क्षेत्र भारतीय भू–खण्ड र तिब्बती भू–खण्डसँग ठोक्किएपछि उक्त भाग बिस्तारै माथि उठ्दै सागर लोप भएर हिमालको उत्पत्ति भएको वैज्ञानिक अनुसन्धानबाट पत्ता लागेको छ। यसको प्रमाणको रूपमा मुस्ताङ क्षेत्रमा पर्ने कालीगण्डकी नदीमा पाइने शालग्राम हो। शालग्राममा तत्कालीन जलजीवहरूको अवशेष पाइनुले यो पुष्टि गरेको छ।
शालग्राममा समुन्द्रमुनि पाइने जीवको अवशेष पाइएको छ। यसरी लाखौं, करोडौं वर्ष लगाएर भूगर्भीय हलचलका कारण सागर उठ्ने क्रममा पर्वत श्रेणीहरू निर्मित भए। यसरी हिमालय पर्वत, महाभारत र पर्वतहरू बने। शालग्रामको कारण पनि पर्यटकलाई थप आकर्षण गर्न सकिन्छ। टेथिस सागर कसरी उठेर हिमालय पर्वत बने भन्ने रोचक वैज्ञानिक आधार पर्यटकका लागिमात्र होइन, स्वदेशी पर्यटक र अनुसन्धानकर्मीका लागि पनि महत्वपूर्ण छ। यो विषय समेटीएको बृहत् संग्रहालय बनाउन सके पर्यटकलाई कम्तीमा एक दिन हिमाल उत्पत्तिको कथा बुझाउन सकिन्छ। यसकारण पनि पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ। समुन्द्रमा पाइने अवशेषयुक्त पत्थर शालग्रामलाई हिन्दूहरू भगवान् विष्णुको अंश मानेर पूजा गर्छन्। शालग्रामको धार्मिकसँगै सांस्कृतिक महत्व पनि छ।
मुक्तिनाथ हिन्दू र बौद्ध धर्मालम्बीको साझा तीर्थस्थल
हिमालयको काखमा रहेको मुक्तिनाथ मन्दिर हिन्दू र बौद्ध धर्मालम्बीको साझा तीर्थस्थल हो। समुन्द्री सतहदेखि ३८ सय मिटर उचाइमा अवस्थित मुक्तिनाथ बर्सेनि लाखौं स्वदेशी तथा विदेशी पर्यटक पुग्छन्। विश्वकै गहिरो गल्छी पनि यसै क्षेत्रमा पर्छ। म्याग्दी र मुस्ताङ क्षेत्रअन्तर्गतको कालीगण्डकी क्षेत्र विश्वकै गहिरो गल्छी हो। यही गल्छी हुँदै कालीगण्डकीको किनारैकिनार घाँसा, मार्फा, जोमसोम र कागबेनी भएर मुक्तिनाथ पुगिन्छ। यात्राका क्रममा देखिने धौलागिरि, नीलगिरि हिमालयको सुन्दरता र खोला, नदी, झरना, हरियाली वन–जंगलको अवलोकन गर्दै पर्यटक लामो समय पदयात्रामा रमाउँछन्।
मार्फा, जोमसोमलगायतका क्षेत्रमा असोज, कात्तिकतिर यात्रा गर्दा स्याउका सुन्दर बगैंचामा बिभिन्न जातका स्याउ लटरम्म फलेको दृश्य देखिन्छ। मुस्ताङमा उत्पादित स्याउबाटै एप्पल पाई, एप्पल जुसलगायत परिकार बन्छन्। स्याउ सुकाएर पनि बिक्री गरिन्छ भने मार्फाको स्याउबाट तयार पारिएका एप्पल ब्रान्डी पनि निकै प्रख्यात छन्। कालीगण्डकीको छेउमा रहेको कागबेनी बजार धार्मिक रूपमा प्रख्यात छ।
कागबेनीमा श्राद्ध गर्दा पितृ उद्धार हुन्छन् भन्ने धार्मिक विश्वास छ। यहाँ स्वदेशीमात्र होइन, बर्सेनि लाखौं भारतीय पर्यटक पनि तीर्थयात्राको क्रममा पुग्ने गर्छन्। गण्डकी प्रदेशको उत्तरतर्फ अवस्थित हिमाल पारिको जिल्ला मुस्ताङ, धवलागिरि र नीलगिरि दुई अग्ला हिमशिखरको बीचमा अवस्थित छ। हिन्दू र बौद्ध तीर्थयात्रीको पावनभूमि, पवित्र कृष्ण गण्डकी प्रवाहित हुने सुन्दर मुस्ताङ जिल्ला पर्यटकका लागि आकर्षक गन्तव्य हो।
ऐतिहासिक लो–मन्थाङ: मुस्ताङ जिल्लाको उपल्लो मुुस्ताङ (लो–मन्थाङसहितको क्षेत्र) विश्व पर्यटकका लागि उत्कृष्ट गन्तव्य हो। परापूर्वकालमा नेपाल र तिब्बतबीचको व्यापारिक मुख्य नाका रहेको यो क्षेत्रको सभ्यता पुरातात्विक उत्खननबाट समेत तीन हजार वर्षभन्दा अगाडि रहेको पुष्टि भएको छ। प्राचीन गुम्बा, चट्टानी पहाडमा बनाइएको ऐतिहासिक रहस्यमयी गुफा पर्यटकका लागि निकै आकर्षक छन्। अझ अनुसन्धान गर्नेका लागि त झनै महत्वपूर्ण छन्। यसैले यहाँका प्राचीन गुम्बा, गुफा विदेशीको खोज र अनुसन्धानको केन्द्र बन्दै आएका छन्। तिबब्तीयन संस्कृतिबाट प्रभावित यो क्षेत्र पर्यटकको प्रमुख आकर्षण हो। लोमान्थाङको प्राचिन सभ्यताको अध्ययन, अनुसन्धान र भ्रमण गर्न विदेशी पर्यटक जाने गर्छन्।
अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको उपल्लो मुस्ताङ पर्यटकका लागि अद्र्ध निषेधित क्षेत्र हो। सरकारले सन् १९९१ मा पर्यटकका लागि उपल्लो मुस्ताङ आंशिक रूपमा खुला गरेको थियो। ३,८५० मिटरमा अवस्थित लो–मन्थाङ एउटा उपत्यका हो। क्षेत्रमा जाने पर्यटकका लागि प्रवेश शुल्क अन्नपूर्ण संरक्षण क्षेत्रकै मुक्तिनाथ, जोमसोम, अन्नपूर्ण आधार शिविरलगायतका क्षेत्रमा जाँदा भन्दा निकै बढी अर्थात् १० दिनको प्रतिव्यक्ति पाँच सय डलर तोकिएको छ। तर पनि पर्यटक लो–मन्थाङ जान तयार हुन्छन्। भनौं, घुइँचो लाग्छ।
अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) का अन्य क्षेत्रको पदयात्रामा जाँदा भने सार्क मुलुकका पर्यटकका लागि एक हजार र अन्य देशका पर्यटकका लागि प्रतिव्यक्ति तीन हजार रुपैयाँ अन्नपूर्ण संरक्षण क्षेत्र प्रवेश शुल्क लाग्छ। नेपालमै पछि फेला परेको मनाङ जिल्लाका दुई गाउँ नार र फू गाउँको पदयात्रा गर्दा विदेशी पर्यटकलाई सिजनमा ९० डलर प्रतिव्यक्ति प्रतिहप्ता र अफसिजनमा ७५ डलर प्रतिव्यक्ति प्रतिहप्ता लाग्ने गर्छ। यस क्षेत्रमा पदयात्रा गर्न डिसेम्बरदेखि अगस्टसम्म उपयुक्त सिजन मानिन्छ भने अन्य महिना ‘अफ–सिजन’ मानिन्छ।
लो–मन्थाङको छोसेरमा अनौठो गुफा रहेको छ। पाँचतले झोङ गुफामा १ सय ८ कोठा छ। यस गुफालाई केभ मिलेज भनिन्छ। झोङको वारि ऐतिहासीक निफुग गुम्बा छ। त्यहाँ बौद्ध चित्र र मूर्ति रहेका छन्। देशकै सुन्दर प्राकृतिक विविधता, ऐतिहासिक सांस्कृतिक रूपमा महत्वपूर्ण कला, शैली, जनजीवन प्राकृतिक सुन्दरता लोमान्थाङको आकर्षण हो। यहाँ बर्सेनि मनाइने यातुङ, तिजीलगायतका पर्व पर्यटकका लागि आकर्षण बन्दै गएका छन्।
मनै लोभ्याउने मनाङ: मनाङ जिल्ला पनि हिमालपारिको जिल्ला हो। हिमाली सौन्दर्य, अनौठो भूगोल र भोटे संस्कृति यहाँका आकर्षण हुन्। मनाङ विदेशी पर्यटकका लागि २०३४ वैशाख १ गतेदेखि खुला गरिएको हो। मनाङको नार र फू गाउँ भने २०५९ देखिमात्रै खुला गरिएको थियो। विश्वकै उच्च स्थान समुन्द्री सतहदेखि ४,९१९ मिटर उचाइमा रहेको तिलिचो ताल यसै जिल्लामा छ। गंगापूर्ण तालको सुन्दरता उस्तै छ। पोखराबाट देखिने अन्नपूर्ण हिमशृंखलाको पारितर्फको हिमालको काख र मस्याङ्दी नदीको किनार (३,५४० मिटर उचाइमा) मनाङ गाउँ धेरैको रोजाइमा पर्छन्।
अन्नपूर्णको चक्रीय पदयात्रा मार्गमा पर्छ, मनाङ। मनाङबाट ५,४१६ मिटर उचाइमा रहेको थोराङ भन्ज्याङ छिचोलेर मुस्ताङ जिल्लामा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर पुगिन्छ। यो साहसिक यात्रा हो। मनाङको प्राकृतिक, सांस्कृतिक सुन्दरताले पर्यटकलाई मोहित बनाउँछ। नेपालकै पछि पत्ता लागेको मनाङ जिल्लाको नार र फू गाउँ पर्यटकका लागि छुट्टै आकर्षणस्थल हुन्। त्यहाँका प्राकृतिक सुन्दरता, रहनसहन, भेषभूषा, कला, संस्कृति आफ्नै शैलीका छन्। यसैले पनि पर्यटक नार र फू गाउँ जान रमाउँछन्। जहाँ समुन्द्र सतहदेखि १,६८० मिटरको उचाइ (नासो गाउँपालिका) देखि मनाङ जिल्लाको सबैभन्दा उच्च भूभागमा ८,१६३ मिटर उच्च मनास्लु हिमाल हो। यसैले पनि यहाँको जैविक विविधताले उस्तै धनी रहेको छ। सांस्कृतिक रूपमा पनि उस्तै धनी रहेको छ मनाङ।
अन्न भण्डार नवलपुर : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को यो जिल्ला गण्डकी प्रदेशको अन्न भण्डार हो। चीनसँग मुस्ताकोङ लोमान्थाङ र जिल्ला मनाङ जोडिए जस्तै भारतको बिहार प्रदेशसँग गण्डकी प्रदेशको नवलपुर जोडिएको छ। नवलपुरमा कृषि योग्य जमिन ४३,८९७ हेक्टर छ। यहाँका मुख्य धार्मिक तथा पर्यटकीय केन्द्र दाउन्ने देवी, मौलाकालिका मन्दिर, शास्वतधाम, धौवादी, देवचुली डाँडा, अमलटारी होमस्टे, प्रिप्रहर होमस्टेलगायत छन्। जसमा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र पनि पर्छ। यहाँ बाघ, गैंडा, हात्तीलगायत वन्यजन्तु पाइन्छन्।
देशकै एकमात्र ‘हन्टिङ रिजर्भ’ ढोरपाटन: गण्डकी प्रदेशमा देशकै एकमात्र हन्टिङ रिजर्भ रहेको छ। बागलुङ, म्याग्दी र रुकुम जिल्लासम्म फैलिएको ढोरपाटन सिकार आरक्षण पर्यटकीय गन्तन्व्य हो। यस आरक्षणमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन्। प्रमुख जनावर, नावर, झारल, थार र हिमाली भालु हुन्। यहाँ दुर्लभ एवं संरक्षित पन्छीको रूपमा डाँफे, मुनाल, चिरलगायत १६४ प्रजातिका चरा पाइन्छन्।
वन्यजन्तुको सदुपयोगका साथै संरक्षण होस् भन्ने उद्देश्यले यस क्षेत्रलाई सिकार आरक्षण बनाइएको बताइन्छ। आरक्षणलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ ७ ब्लकमा विभाजन गरी सिकार खेल्न दिने व्यवस्था मिलाइएको छ। यहाँ लिखित अनुमति लिएर तोकिएको शुल्क तिरेर, तोकिएको समय र क्षेत्रमा तोकिएको जनावरको सिकार गर्न पाइने व्यवस्था गरिएको छ।
आरक्षणमा सिकारबाट विदेशी मुद्रा आर्जन भएको छ भने स्थानीय स्तरमा पर्यटनको विकास भएको विश्वास गरिन्छ। पेसेवर विदेशी सिकारीहरूका लागि आरक्षण केन्द्र प्रमुख गन्तव्यको रूपमा रहेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले समय समयमा सिकार गरिने मुख्य वन्यजन्तु नाउर र झारलको गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गरी प्रतिस्पर्धाको आधारमा सिकार गराउँछ। यसरी सिकार गर्न दिँदा कुनै जनावर अत्यन्त न्यून वा सखापै हुने अवस्था नरहने र जनावरको संख्या अत्यधिक बढेर आफ्नै बासस्थानलाई नोक्सान पुर्याउने बालीनालीलाई अत्यधिक क्षति पुर्याउने परिस्थिति पनि उत्पन्न नहुने विभागले जनाएको छ।
बागलुङ जिल्ला जैविक विविधताले धनि जिल्ला हो। यहाँका उच्च हिमालको सुन्दरताको छुट्टै महत्व छ। जहाँ कालिका मन्दिर, नयाँ धार्मिक पर्यटकीय गन्तव्य पञ्चकोट, शालग्राम संग्रहालय पर्यटकका आकर्षणका केन्द्र हुन्।
अन्नपूर्ण आधारशिविरको काखमा पञ्चकुण्डा हिमताल:
म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका नारच्याङस्थित अन्नपूर्ण आधारशिविर क्षेत्र ८,०९१ मिटर उचाइमा छ। अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण गर्न गएको ऐतिहासिक क्षेत्र पनि हो यो। यसैले पनि यस जिल्लाको आरोहणका हिसाबले छुट्टै महत्व छ। सन् १९५० जुन ३ मा फ्रेन्च नागरिक मौरिस हर्जोग नेतृत्वको टोलीले अन्नपूर्ण प्रथमको चुचुरोको सफल आरोहण यसै नारच्याङमा रहेको अन्नपूर्ण आधारशिविर हो। यो हुँदै गएर इतिहासमै पहिलोपटक आठ हजारभन्दा उच्च हिमालको सफल आरोहण गरेको रेकर्ड कायम गरेको पाइन्छ। विश्वकै प्रख्यात पदयात्रा मार्ग अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने म्याग्दी जिल्लाको महत्व छुट्टै छ।
यहाँ रहेका प्राकृतिक तातोपानी कुण्डहरू स्वदेशी र विदेशी पर्यटकका माझ प्रख्यात छन्। गलेश्वरधाम, कालीगण्डकी धार्मिक रूपमा निकै महत्वपूर्ण छ। गण्डकी प्रदेशका सबै ११ जिल्लाको आआफ्नो ऐतिहासिक एवं धार्मिक महत्व छ। त्यसमा पनि तनहुँ धार्मिक रूपमा र सांस्कृतिक रूपमा छुट्टै पहिचान बनाएको जिल्ला हो। जुन व्यासको जन्मस्थल हो। तनहुँको बन्दीपुर पहाडकी रानीको रूपमा पर्यटकमाझ परिचित छ।
यसैगरी, देवघाट धार्मिक तीर्थयात्राका लागि प्रख्यात छ। विभिन्न ऋषिमुिनहरूको कारण पनि तनहुँ जिल्ला प्रसिद्ध छ। सेती र मादी नदीको पवित्र संगमस्थल महर्षि वेदव्यास र पराशरको तपोभूमि (कर्मक्षेत्र) रहेको मानिन्छ। भानु जन्मस्थलसमेत रहेका तनहुँको छुट्टै पहिचान छ।
लमजुङ जिल्ला अन्नपूर्ण क्षेत्रको पदयात्राअन्तर्गत थोरङपास, तिलिचो ताल क्षेत्रको पदयात्रा यही जिल्ला भएर जाने गरिन्छ। पहिले सडक नबन्दा लमजुङको बेसीसहरबाटै पर्यटकले अन्नपूर्ण पदयात्रा सुरु गर्थे। स्याङ्जा जिल्ला पनि धार्मिक, पर्यटकीय र जैविक विविधताको हिसाबले महत्वपूर्ण मानिन्छ। यहाँको सिरुवारी होमस्टे देशकै पहिलो होमस्टे हो। यहीबाट होमस्टे पर्यटनको विकास भएको हो।
नयाँ साहसिक पर्यटकीय गन्तव्य पर्वत: पर्वत जिल्ला नयाँ साहसिक पर्यटकीय गन्तव्यको रूपमा विकास भएको छ। कालीगण्डकी माथि बनाइएको पुलबाट बन्जीजम्प गरेर रमाउन चाहने साहसिक खेलमा रुचि राख्नेका लागि नयाँ गन्तव्य बनेको छ। विश्वकै लामो झोलुंगेपुलको रूपमा परिचित पर्वत जिल्ला पछिल्लो समय साहसिक पर्यटकीय गन्तव्यको रूपमा परिचित हुँदै गएको हो। यहाँ स्काई साइक्लिङ, जिपलाइन, सिसाको स्काई ब्रिज, क्यानोनिङलगायतका गतिविधि हुँदै आएका छन्।
पर्यटकीय राजधानी पोखरा: गण्डकी प्रदेशका राजधानी सहर पोखरा ताल, गुफा, साहसिक खेल, धार्मिक, सांस्कृतिक विविधताको सहर हो। कास्की जिल्लामा पर्ने पोखरा विश्वप्रख्यात अन्नपूर्ण पदयात्रा मार्गको गेट–वे हो। गण्डकी प्रदेश र पोखराको पर्यटनको विकासमा फ्रान्सका नागरिक मौरिस हर्जोग र उनको टिमको महत्वपूर्ण योगदान छ।
हर्जोगले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेपछि अन्नपूर्ण हिमालय क्षेत्र र पोखरा विश्व पर्यटन बजारमा परिचित भएको हो। अन्नपूर्ण हिमालको सफल आरोहणपछि उनले लेखेको आरोहण अनुभवको अन्नपूर्ण पुस्तक विश्वमै धेरै बिक्री भएको पुस्तकमध्ये पर्छ। यसैका कारण गण्डकी प्रदेश विश्व पर्यटन बजारमा सन् १९५० जुन ३ मा सफल आरोहण भएदेखि नै परिचित भएको हो। पोखरा साहसिक पर्यटन प्याराग्लाइडिङ, अल्ट्रालाइट, जिप लाइन, वञ्जीजम्प, क्यानबिङ, र्याफ्टिङ, स्काइड्राइभ लगायतका साहसिक खेलका लागि विश्व पर्यटन बजारमा प्रख्यात छ। पोखराबाट ८ हजार मिटरभन्दा उच्च तीनवटा हिमाल अन्नपूर्ण प्रथम, धौलागिरि, मनास्लुलगायतका हिमाल अवलोकन गर्न सकिन्छ।
पोखरा नयाँ सहर हो। १२ हजार वर्षअघि र पछिल्लो ८ सय वर्षअघि अन्नपूर्ण हिमालय क्षेत्रमा रहेका हिमताल फुटेर आएको ठूलो बाढीले पुरिएर बनेको पोखरा उपत्यकाको इतिहास रोचक छ। यसरी पुरिएर बनेको पोखरा बजारको मध्यभागबाट त्यो कमजोर भागलाई कटान गरेर सेती नदी गहिरिएर बगेको छ। सेती नदीको गल्छी पर्यटकको आकर्षणको केन्द्र बनेको छ।
कास्की साहसिक पर्यटनको मात्र होइन, पदयात्रा पर्यटनका लागि पनि प्रख्यात छ। अन्नपूर्ण पदयात्रा मार्गको कास्कीतर्फको अन्नपूर्ण आधारशिविर पर्यटकको प्रमुख पर्यटकीय गन्तव्य हो। माछापुच्छे« आधारशिविर भएर अन्नपूर्ण आधारशिविर पुगिन्छ। अन्नपूर्ण, माछापुच्छे« आधारशिविर क्षेत्रबाट माछापुच्छ्रे हिमालको फरक रूप देख्न पाइन्छ। माछापुच्छे« एक हिमाल अनेक रूपमा पोखरादेखि अन्नपूर्ण आधारशिविर पुग्दासम्म देख्न पाइन्छ। पदयात्रा मार्गमा पाइने जैविक विविधता, झरना, खोला, हरियाली वनजंगलदेखि उच्च हिमाली क्षेत्रमा पाइने वनस्पति र वन्यजन्तु पर्यटकको आकर्षण हुन्।
कास्कीका माछापुच्छ्रे गाउँपालिकाको ल्वाङ गाउँ होमस्टे पर्यटनका लागि प्रख्यात छ। अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय घान्द्रुक गाउँ, मादी गाउँपालिकाको सिक्लेस, ताङतिङ गाउँ गुरुङ कला, संस्कृतिको साथै प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। पोखराको कालाभाङलगायत होमस्टे पनि आकर्षक छन्।
मादी गाउँपालिकाको सिक्लेसमा अवस्थित नेपालकै कम उचाइ (२,४५० मिटर उचाइमा) मा रहेका कफुचे हिमताल विदेशी तथा स्वदेशी पर्यटकको आकर्षणको केन्द्र बनेको छ। पहिलो हिउँको थुप्रो देखिने यस क्षेत्रमा पछिल्लो समयमा हिउँ पग्लिएर ताल बनेको हो। यसरी हिमाली क्षेत्रमा हिउँको थुप्रो पग्लिएर ताल बन्दै जानुले हिमाल र हिमाली क्षेत्र ग्लोबल वार्मिङको कारण जोखिममा रहेको संंरक्षणविद् डा.हुमबहादुर गुरुङ बताउँछन्।
पोखराका पर्यटकीय आकर्षणमा फेवाताल, बेगनास, रूपालगायतका ९ ताल र त्यहाँ पाइने जैविक विविधता पनि हो। अन्नपूर्ण हिमशृंखलाको अवलोकन गर्दै फेवातालमा नौका बिहार गर्न पर्यटक रमाउँछन्। तालको बीचमा रहेको वाराही मन्दिरको अवलोकन गर्न पर्यटक पुग्छन्। पोखराको विन्ध्यवासिनी मन्दिर, भद्रकाली, विश्वशान्ति स्तूप पर्यटकका लागि अर्को आकर्षक गन्तव्य हुन्।
यहाँका गुप्तेश्वर गुफा, चमेरी गुफा, महेन्द्र गुफालगायतका गुफा पर्यटकको अर्को आकर्षण हो। गुप्तेश्वर गुफा भित्रबाटै पातालो छाँगोको अवलोकन गर्न पाउनु अर्को सुन्दर पक्ष हो। पोखराको पुम्दीकोटमा पछिल्लो समयमा बनाइएको ५१ फिट अग्लो महादेवको मूर्ति पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। स्वदेशी र भारतीय पर्यटकको यस मन्दिरमा भिड लाग्छ। अन्य देशका पर्यटकको पनि नयाँ गन्तव्य बनेको छ।
सूर्योदय र अन्नपूर्ण हिमशृंखलाको अवलोकन गर्न पोखराको सराङकोट उस्तै आकर्षणको केन्द्र हो। पछिल्लो समयमा पोखराको सेदीबाट सराङकोटसम्म केबलकार चढेर नै पुग्न सकिन्छ। ताल, पोखरा बजार, हिमालको अवलोकन गर्दै केवलकारमा सरर सराङकोट पुग्न पर्यटक लालायित हुन्छन्। अन्नपूर्ण, धौलागिरिलगायतका हिमाल, ताल र पोखरा बजारको दृश्यावलोकनका लागि पछिल्लो समयमा पोखराको काहुँ डाँडा पनि उत्तिकै आकर्षणको केन्द्र बनेको छ।