प्याजको चोरी तस्करी बढ्यो
कपिलवस्तु : अवैध रूपमा भारतीय बजारबाट भन्सार छलेर ल्याउने प्याजको कारोबार बढेको छ। जिल्लाको सीमावर्ती नाका मर्यादपुर आसपासका ससाना सीमा बाटोहरूको प्रयोग गरी कारोबारीहरूले भारतबाट नेपाल तर्फ अवैध रूपमा प्याज भित्र्याउने गरेका छन्।
यसरी नेपाल तर्फ भित्र्याइएको प्याजलाई उनीहरूले भन्सार छलेर मोटरसाइकलमा तौलिहवास्थित हाट बजारसम्म पुर्याउने गरेका छन्। साँझ परेपछि मोटरसाइकलबाट तौलिहवा बजारको गोदामसम्म प्याज आउने गरेको छ। एक मोटरसाइकलमा ६० किलोसम्म प्याज लोड हुने गरेको छ। दैनिक ५० देखि ६० क्विन्टलसम्म प्याज तौलिहवा बजारको गोदाममा आउने गरेको छ।
तौलिहवा हाटबजारस्थित गोदामबाट स्थानीय व्यवसायीहरूले आफ्नो फर्मको बिल काटेर सो प्याजलाई साना साना मिनी ट्रकमा लोड गरेर जिल्ला बाहिर पठाउने गरेका छन्। भन्सार छलेर अवैध रूपमा आएको प्याजलाई स्थानीय व्यवसायीले स्थानीय उत्पादन रहेको दावी गर्ने गरेका छन्।
पछिल्लो ६ महिनाको अवधिमा मात्रै सुठौली भन्सार कार्यालयले ५ सय बोरा बढी प्याज तस्करी गरेर आउँदै गर्दा पक्राउ गरी जफत गरेको छ। नियम अनुसारका कागज पत्र पुरा गरी भन्सार गर्न आए प्याजको भन्सार हुने तर तस्करीबाट भित्र्याउने व्यवसायीले चोर बाटो बाटै प्याज भित्र्याउन गरेको सुठौली भन्सार कार्यालयका प्रमुख नारायण गैरेले बताए।