वीरगन्ज नाकाका भन्सारले भेटाएनन् राजस्व लक्ष्य

वीरगन्ज नाकाका भन्सारले भेटाएनन् राजस्व लक्ष्य
सुन्नुहोस्

वीरगन्ज : नेपालमा हुने कुल आयात–निर्यातको झन्डै ७० प्रतिशत अन्तर्राष्ट्रिय कारोबार हुने वीरगन्ज नाकाका दुवै भन्सार कार्यालयले गत आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पूरा गर्न असफल भएका छन्। गत आर्थिक वर्ष २०८०/०८१ मा वीरगन्ज नाकाका वीरगन्ज भन्सार कार्यालयले लक्ष्यको ६४.०१ प्रतिशत र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले लक्ष्यको ७१.७५ प्रतिशतमात्र राजस्व संकलन गर्न सकेको हो।

गत आर्थिक वर्षमा वीरगन्ज भन्सारले लक्ष्यभन्दा ८८ अर्ब ४८ करोड १९ लाख ५४ हजार रुपैयाँ कम राजस्व संकलन गरेको कार्यालय प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिए। उनका अनुसार गत आर्थिक वर्षमा भन्सार विभागले २ खर्ब ४५ अर्ब ८८ करोड ५० लाख ८२ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो। तर वीरगन्ज भन्सारले लक्ष्यभन्दा करिब ३६ प्रतिशत कम अर्थात् १ खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार रुपैयाँमात्र राजस्व संकलन गर्न सकेको पन्थीले जानकारी दिए। गत आर्थिक वर्षमा साउनदेखि असारसम्मको १२ महिनामध्ये कुनै पनि महिनामा राजस्व संकलनको लक्ष्य पूरा गर्न नसकिएको उनले बताए।

वीरगन्ज भन्सारले अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा पनि राजस्व संकलनको लक्ष्य पूरा गर्न असफल भएको थियो। त्यसबेला भन्सार विभागले वीरगन्ज भन्सारलाई २ खर्ब ६० अर्ब ९७ करोड २ लाख ८ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो। तर वीरगन्ज भन्सारले लक्ष्यको ६०.२० प्रतिशतमात्र अर्थात १ खर्ब ५७ अर्ब ८ करोड रुपैयाँमात्र राजस्व संकलन गरेको थियो।

तर त्यसअघिको आर्थिक वर्ष २०७८/७९ मा भने वीरगन्ज भन्सारले लक्ष्यभन्दा बढी नै राजस्व संकलन गरेको थियो। आर्थिक वर्ष २०७८/७९ मा वीरगन्ज भन्सारले लक्ष्यभन्दा शून्य दशमलव ५४ प्रतिशतले बढी नै अर्थात् भन्सार विभागले दिएको लक्ष्यभन्दा १ अर्ब ९ करोड ५३ लाख २२ हजार रुपैयाँ बढी नै राजस्व संकलन गरेको थियो। तर त्यसअघिका लगातार पाँच वर्ष (आर्थिक वर्ष २०७२/०७३ देखि २०७७/७८ सम्म) मा भने वीरगन्ज भन्सार राजस्व असुलीको लक्ष्य पूरा गर्न असफल नै भएको थियो।

यता, सिर्सिया भन्सार पनि गत आर्थिक वर्ष २०८०/८१ मा राजस्व संकलनको लक्ष्य पूरा गर्न असफल भएको छ। गत आर्थिक वर्षका लागि भन्सार विभागले ६५ अर्ब ९४ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो। तर सिर्सिया भन्सारले लक्ष्यको ७१.७५ प्रतिशतमात्र अर्थात् ४७ अर्ब ३१ करोड रुपैयाँमात्र राजस्व संकलन गर्न सकेको भन्सार कार्यालय प्रमुख धनबहादुर बडुवालले जानकारी दिए।

सिर्सिया भन्सारले अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा पनि लक्ष्यको ६२.८८ प्रतिशतमात्रै राजस्व संकलन गर्न सकेको थियो। उक्त आर्थिक वर्षमा सिर्सिया भन्सारले ६७ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएकोमा लक्ष्यको ६२.८८ प्रतिशतमात्रै अर्थात् ४२ अर्ब ४० करोड २२ लाख ९२ हजार रुपैयाँमात्र राजस्व संकलन गरेको थियो। त्यसअघिको आर्थिक वर्ष २०७८/०७९ मा पनि यस भन्सारले लक्ष्यको ९४.९८ प्रतिशतमात्रै राजस्व संकलन गरेको थियो।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले भने अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षमा राजस्व संकलनमा सुधार देखिएको बताए। गत आर्थिक वर्ष २०८०/०८१ मा अघिल्लो आर्थिक वर्ष २०७९/०८० को भन्दा ४ प्रतिशत बढी नै राजस्व संकलन भएको उनले बताए। गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा १४ प्रतिशत व्यापार घटेको भए पनि राजस्व संकलन भने ४ प्रतिशतले बढेको उनले बताए। 

उनले भने, ‘यो नाकाबाट हुने अन्तर्राष्ट्रिय कारोबार अघिल्लो आर्थिक वर्षको भन्दा १४ प्रतिशतले घटेको छ। तर रेभिन्यू (राजस्व) भने बढेको छ।’ पन्थीले गत आर्थिक वर्षमा भारत तथा तेस्रो मुलुकबाट मालवस्तुको आयात नै कम भएका कारण राजस्व संकलनको लक्ष्य पूरा गर्न नसकिएको बताए। बढी राजस्व दिने नयाँ सवारीसाधन, कोइला, खानेतेलको कच्चा पदाार्थ, फलामजन्य वस्तु इत्यादिको आयात कम भएकाले त्यसको प्रत्यक्ष असर राजस्व संकलनमा परेको उनले जनाए।

पन्थीले भने, ‘आर्थिक मन्दी नै त नभनौं तर नेपाली बजार अझै पनि पूर्ण रूपमा लयमा फर्किसकेको छैन। जसका कारण बजार सुस्त छ। बजार सुस्त हुदाँ विदेशबाट मालवस्तुको आयात कम भइरहेको छ। मालवस्तुको आयात कम हुँदा त्यसको सीधै असर भन्सार राजस्वमा परेको हो।’

यता सिर्सिया भन्सार कार्यालयका प्रमुख बडुवालले पनि बढी राजस्व दिने नयाँ सवारीसाधन, फलमजन्य उद्योगका कच्चा पदार्थ, विलासिताका सामानको आयात नै कम भएका कारण राजस्व संकलनको लक्ष्य पूरा गर्न नसकिएकोे बताए। उनले भने, ‘जुनजुन मालवस्तुबाट बढी भन्सार राजस्व उठ्छ ती मालवस्तुकै आयात घटेको छ। त्यहीकारण राजस्व संकलन पूरा हुन सकेन।

वीरगन्ज भन्सार नाका र भन्सार यार्डमा जाँचपासका लागि राखिएका मालवाहक ट्रक र कन्टेनर। तस्बिर : क्रान्ति शाह।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.