अँध्यारोबाट उज्यालोतर्फको यात्रा

अँध्यारोबाट उज्यालोतर्फको यात्रा
सांकेतिक तस्बिर।

अज्ञान, अविद्याको निवीड अन्धकार। त्यो अन्धकारको साम्राज्यबाट ज्ञानको, विद्याको, बुद्धिको, चैतन्यको, अझ मुक्तिको उज्यालोतिर लैजाने, मृत्युबाट अमरतातर्फको बाटो देखाउने, लैजाने प्रकाशपुञ्ज अर्थात् गुरु। भनिन्छ, आधा गाग्रो छचल्किन्छ। खहरे खोलाहरू कति गडगडाउँछन्, महानदीहरू निःशब्द बग्छन्। यद्यपि मानवजातिले प्राकृतिक नियमहरूको उल्लंन गर्दा ती अजस्र जलका स्रोतहरूले तीता पाठहरू पढाउँछन्। तर ‘मूर्ख विद्यार्थी’सँग कसको के लाग्दो रहेछ र ?

गुरु महिमातर्फ फर्कौं। उच्च समुद्रमा चल्ने जहाजहरूलाई सही बाटो देखाउने प्रकाश गृहहरू मात्र होइनन्, गुरुहरू। सडक छेउमा राखिएका बत्तीहरू मात्र होइनन्, उनीहरू न त शिक्षकमात्रै हुन्। ती मानवजातिका मात्र होइन, यस चराचर जगत्कै पथप्रदर्शक हुन्। सभ्यता, संस्कृति, परम्परा, ज्ञानविज्ञान, पालक, पोषक, प्रवद्र्धक हुन्। यस लोकमा गुरु नामक विराट पात्रका अंशहरू यत्रतत्रसर्वत्र छन्। ज्ञान, विज्ञान, योग, प्रयोग, अनुसन्धान, योग्यता र पात्रताको कदर हुने समाजमा गुरुको आदरसम्मान हुन्छ नै। जसले यो गर्छ, त्यही समाज अघि बढ्छ।

ऐतिहासिक दृष्टिमा नेपाली समाज ज्ञान, विज्ञान, अध्ययन, अनुसन्धान, योग, प्रयोगको उच्च सम्मान गर्ने समाज नै हो। ज्ञानको सत्ता राज्यसत्ताभन्दा माथि हुने समय पनि थियो, हाम्रो समाजमा। सत्ता–शक्तिको मदले ग्रस्त प्राचीन, अर्वाचीन शासकहरू पनि गुरुको आज्ञा उल्लंघन गर्न धक मान्थे रे। यसो किनभने ती मनिषीहरूका व्यक्तिगत, गुटगत, पारिवारिक स्वार्थ हुन्थेनन्, समाज र राष्ट्रको हित साधन र उन्नयन नै उनीहरूको परम ध्येय हुने गथ्र्यो। ती महान् पात्रका छापहरू अझै पनि छन्, यस ऋषि, मुनि, योगी, ध्यानि, ज्ञानीहरूको ज्ञानभूमि, तपोभूमि, प्रयोगभूमिमा। साँच्चै याज्ञवल्क्य, गार्गी, कपिल, अष्टावक्र, वेदव्यास आदिका पाइलाहरू पच्छ्याउँदै जाने हो भने ज्ञानविज्ञानको कति विशाल साम्राज्य फेला पर्दो हो हाम्रै पाइताला मुनि !

उबेलाका गुरुहरू आआफ्ना मर्यादामा बस्थे रे, उनीहरूको मेरुदण्ड अलि दरो हुन्थ्यो रे, नैतिक बल, ओज, तेजको मात्रा बढी नै हुन्थ्यो रे भन्नुपर्ने अवस्था अहिले छ। त्यसैले त्यतिबेला कुन संस्थान, विश्वविद्यालय वा प्रतिष्ठानको कुन पदमा नियुक्तिका लागि जी–हजुर, धनुष्टंकार नमस्कार, दण्डवत् प्रणाम गर्नुपथ्र्यो होला र ? बाटो बिराएको समाजमा ‘गुरु’हरू पनि दलदलमा विभक्त हुँदा रहेछन्। ती प्राणी नेताहरूले गर्ने किसिमको निकृष्ट राजनीति पनि गर्छन्, आफ्ना मागहरू अघि सारी आन्दोलन पनि गर्छन्, शैक्षिक संस्थाहरू ठप्प पनि पार्छन्, फेरि अन्तर्राष्ट्रिय जगतमा जस्तो गुरुहरूको सम्मान यहाँ पनि हुनुपर्छ भन्दै कुर्लिन्छन् यदाकदा।

पछिल्लो समय फरक छ। गुरुहरूका पनि बग्रेल्ती मनोकांक्षा नहुने कुरै भएन। गुरुहरूको कदर सम्बन्धमा युरोपको ठूलो आर्थिक शक्ति जर्मनीको उदाहरण दिइटोपल्छन् कति व्यक्ति। कुरो पच्न छोड्छ। त्यहाँ सबैभन्दा धेरै तलब–सुविधा आदि गुरुहरू (शिक्षकहरू) को हुन्छ भन्ने सुनेको हो यस पंक्तिकारले एन्जला मर्कलको शासनकालमा। त्यहाँको सरकारको तर्क के रे भने जसले तमाम जर्मनलाई चिकित्सक, इन्जिनियर, विमानचालक, योजनाविद्, अर्थविद्, कम्प्युटर वैज्ञानिक, सरकारी कर्मचारी, न्यायाधिश, वकिल, अभियन्ता, साहित्यकार आदि बनाए ती महान् पात्रहरूको खान्गी (तलब, भत्ता, सुविधा आदि) किन अन्य नागरिकको भन्दा बढी हुनुनपर्ने ?

अधिकांश नेपाली विद्यार्थीको अवस्था हेरौं– खासगरी हालै प्रकाशित १० कक्षाको परीक्षाफलको आलोकमा। के हालै प्रकाशित परीक्षाफल हेरेर भविष्यका कर्णधारहरूले ‘राम्रै’ गरेछन् भन्न सकिने अवस्था छ ? हो, यस निराशालाग्दो परिणाममा शिक्षकलाई मात्रै दोष दिनु सरासर अन्याय हुन जान्छ। सरकार, शिक्षण संस्थाहरू, अभिभावकहरू, विद्यार्थी पनि दोषभागी छन् नै यसका लागि। तर ‘नन–ग्रेडेड’ विद्यार्थीलाई नै हो नि त सबैभन्दा बढी असर पर्ने ‘सरकार नै अनुत्तीर्ण भएको हो’ एसईईमा भनेर जसले जति फलाके पनि। सरकारलाई छु मतलब भन्या ? उत्तीर्ण भए, उत्कृष्ट भए युरोप, अमेरिका, जापानतिर लाग्छन् विद्यार्थी। दसौं वर्षको अध्ययनपछि पनि शैक्षिक प्रमाणपत्रहरू हातहातमा लिई संसारका सबैभन्दा जोखिमयुक्त भूखण्डहरूमा ‘डर्टी’, ‘डिफिकल्ट’, ‘डेन्जरस’ कामहरूको खोजीमा भौतारिइरहेका विद्यार्थीले के संकेत गरिरहेका छन् त ?

अन्त्यमा, परिचितहरूको भीडमा विद्यार्थीलाई अँध्यारोबाट उज्यालोतर्फ लैजाने कर्ममा संलग्न एक पात्र भेटिएपछि यस पंक्तिकारको मूर्खता पुनः जागृत भयो। वरपर, तलमाथिका कुरा सकिएपछि पंक्तिकार सोध्दो भयोः विद्यार्थीलाई अँध्यारोबाट उज्यालोतर्फ लैजाँदै हुनुहुन्छ कि अँध्यारोबाट अझ गाढा अँध्यारोतर्फ लैजाँदै हुनुहुन्छ ? प्रत्युत्तरमा गुरु हाँसे मात्र, केही बोलेनन्। वास्तवमा उनीसँगको त्यो प्रसंग एउटा ठट्टामात्र थियो। गुरु मैले बुझेसम्म कुनै लाभको पदमा छैनन्, सत्ता र शक्तिको समीकरणमा कतै छैनन्। सत्तामा, शक्तिमा नभई समाज डोहो¥याउन गाह्रै हुन्छ हाम्रोमा। रह्यो राजनीतिक आस्थाको कुरा, त्यो निजी विषय भयो। उपयुक्त व्यक्तिसँग उपयुक्त प्रश्न गर्नु उपयुक्त हुन्छ भन्छन्। छोटेबढे नेता, शिक्षक, विषयविज्ञ, नीतिनिर्माता, शैक्षिक संस्थाका हर्ताकर्ता, दलपति र तिनका सेनामेना, पाठ्यक्रमविद्, कुलपति र सरकारहरू समक्ष। तपाईंहरू नेपाली समाज र देशलाई अँध्यारोबाट उज्यालोतर्फ लैजाँदै हुनुहुन्छ कि अँध्यारोबाट अझ गाढा अँध्यारोतर्फ लैजाँदै हुनुहुन्छ ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.