म्याग्दीमा साढे ३७ किलोमिटर पक्की सडक निर्माण

म्याग्दीमा साढे ३७ किलोमिटर पक्की सडक निर्माण
सुन्नुहोस्

बेनी : म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा साढे ३७ किलोमिटर पक्की सडक निर्माण भएको छ। संघीय आयोजना, प्रदेश सरकार र स्थानीय तहहरूले आर्थिक वर्ष २०८०/०८१ मा ३७ किलोमिटर ४७० मिटर सडक कालोपत्रे र ढलान गरेका हुन्। 

संघीय सरकारको स्थानीय पूर्वाधार आयोजनाले १० किलोमिटर २०० मिटर, बेनी–जोमसोम–कोरला सडक आयोजनाले आठ किलोमिटर, पूर्वाधार विकास कार्यालयले १२ किलोमिटर र स्थानीय तहहरूले नौ किलोमिटर २४५ मिटर पक्की सडक निर्माण गरेको जनाएका छन्।  

आर्थिक वर्ष २०७९/०८० मा १० किलोमिटर र २०७८/७९ मा १९ किलोमिटर ६७० मिटर सडक कालोपत्रे भएको थियो। २०५२ मा सडक सञ्जालमा जोडिएको म्याग्दीमा आर्थिक वर्ष २०७७/०७८ सम्म करिब २० किलोमिटर मात्र सडक कालोपत्रे भएको थियो। 

यो वर्षसहित जिल्लाभर ८७ किलोमिटर सडक कालोपत्रे भएको छ। ६ वटा स्थानीय तहका ४५ मध्य धवलागिरी गाउँपालिका–१ गुर्जा बाहेकका वडामा सडक पुगेको छ। सडक सञ्जालमा जोडिएको २४ वर्षसम्म नयाँ मार्ग खोल्ने काम भएको म्याग्दीमा संघीयताको कार्यान्वयनसँगै भित्रिएका सडक आयोजनाले पूर्णता पाउन थालेका गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली बताउँछन्।  

‘म्याग्दी सडक पूर्वाधारका हिसाबले पछाडि परेको जिल्ला हो,’ गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री समेत रहेका उनले भने ‘प्रदेशको पहिलो कार्यकालमा भित्रिएका आयोजनालाई पूर्णता दिन जोड दिनुका साथै गत आर्थिक वर्षमा ७ वटा सडक आयोजना स्तरोन्नतिका लागि नयाँ योजना भित्रिएका छन्।’

ग्रामीण सडकहरू धमाधम कालोपत्रे, ढलान हुन थालेपछि धुलो र हिलोबाट मुक्ति मिलेको, यात्रा अवधि छोटिएको, सुरक्षित र सहज भएको सवारी चालक विश्वास खत्रीले बताए। भाडादर समायोजन, सडक अन्तर्गतका खोलाहरूमा पुल नहुनु र पहिरो तथा कटानका कारण स्तरोन्नति भएका सडकमा नियमित यातायात सञ्चालनको चुनौती देखिएको छ। 

कृषि उपजको निकासी, खाद्यान्न, दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीको भाडादर घटाउन, दुर्घटना न्यूनीकरण, प्रत्यक्ष रोजगारी सिर्जना, बसाई सराई घटाउँदै सहरबाट गाउँ फर्काउन, आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनका लागि सडक आयोजनाहरू प्रभावकारी बनेका छन्। 

हिलो र धुलोबाट मुक्ति पाएका सर्वसाधारण फराकिलो, सफा, पक्की सडकमा यात्रा गर्न पाउँदा खुसी भएका छन्। दुरदराजका बस्तीमा सडकसँगै समग्र विकासमा टेवा पुगेको छ।

क्रमागत, नयाँ बहुवर्षीय र सालबसाली सहित ८० भन्दा बढी योजनाहरू कार्यान्वयन गरेको गण्डकी प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद पौडेलले जिल्लाभर ८ दशमलव १८२ किलोमिटर सडक कालोपत्रे र ४ दशमलव २७३ किलोमिटर सडक ढलान भएको जानकारी दिए।  

२ वटा मोटरेबल पुल, १ वटा झोलुङ्गे पुल, ३१ वटा कल्भर्ट र १२ वटा कजवे निर्माण भएका छन्। ११ किलोमिटर नयाँ सडकको मार्ग निर्माण भएको छ। १२ दशमलव २०९ किलोमिटर सडक ग्राभेल भएको पौडेलले बताए। 

२ किलोमिटर ३१६ मिटर नाली निर्माण र कुल १७ हजार २८६ घनमिटर ग्याविन जाली तथा मेसिनरी पर्खाल निर्माण भएको छ। अधुरा अवस्थामा रहेका पुराना बहुवर्षीय क्रमागत योजनाहरूलाई लयमा फर्काउनुका साथै ७ वटा रणनीतिक महत्वका सडक स्तरोन्नति र थप २ ठाउँमा मोटरेबल पुल निर्माण गर्न बहुवर्षिय योजना कार्यान्वयन गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। 

चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलादेखि कालिओडार, तिप्ल्याङ, महभिर, भिरकाटे–रातोपानी–पोखरेबगर–भुरुङ्ग तातोपानी खण्डमा ८ किलोमिटर डिबिएसडी प्रविधिको कालोपत्रे भएको छ। 

हिउँदमा कालोपत्रे र ढलान भएको सडक बर्खा यामको सुरुवातसँगै पहिरो, पानीका मुहान र कटानका कारण क्षति पुगेको कालीगण्डकी कोरिडोरको ठेकेदार कम्पनी शर्मा–युनाइटेडका आयोजना व्यवस्थापक सुमन भट्टराईले बताए। 

सहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास कार्यालय कास्की मार्फत अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि गण्डकी प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल घोडेपानी जोड्ने १८ किलोमिटर दूरीको पोखरेबगर–चित्रे सडक स्तरोन्नति गर्न २०७५ मा सुरु भएको आयोजना यसै वर्ष ठेक्का टुङ्गिएको छ। 

आयोजना मार्फत ८ किलोमिटर डिबिएसडी कालोपत्रे, २ किलोमिटर २०० मिटर ढलान र ३ किलोमिटर ६९० मिटर सडक सोलिङ र ग्राभेल भएको अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले बताए। 

‘धेरै ठाउँमा सडक स्तरोन्नति भएपछि सहज भएपनि प्रवेश बिन्दुमा पर्ने हल्लेगौडा क्षेत्रको पहिरोले दुःख दिएको छ,’ उनले भने ‘पोखरेबगर–घोडेपानी सडकको यात्रालाई सहज, सुरक्षित र नियमित बनाउने हल्लेगौडाको २ ठाउँमा पहिरोको दीर्घकालीन समाधानका लागि बजेट र योजनाको खोजीमा छौं।’

बेनी नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा ५.४७ किलोमिटर सडक कालोपत्रे/ढलान, ३.६२ किलोमिटर ग्राबेल र १९.७८ किलोमिटर सडकमा सोलिङ, नाली, टेवा पर्खाल, विस्तार गरेर स्तरोन्नति गरेको प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले बताए। 
 
मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले ३ वटा आयोजना मार्फत ७०६ मिटर प्रिमिक्स कालोपत्रे, ५६९ मिटर ढलान र ३०० मिटर ग्राभेल सडक निर्माण गरिएको बताए। 

३ किलोमिटर ८८७.७ किलोमिटर सडकको नयाँ मार्ग निर्माण गरेको अन्नपूर्ण गाउँपालिकाका इञ्जिनियर ईश्वर भण्डारीले २७० मिटर ढलान, १ हजार ६४०.७ मिटर सोलिङ र ५८८ मिटर नाली निर्माण भएको जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.