गोरखा बजारको ठूलोआँगनमा पृथ्वीनारायण बनेर उभिन छाडे

गोरखा बजारको ठूलोआँगनमा पृथ्वीनारायण बनेर उभिन छाडे
सुन्नुहोस्

गोरखा : ऐतिहासिक गोरखा बजारको ठूलोआँगनमा पृथ्वीनारायण शाहको ७ फिट ३ इञ्च अग्लो स्वर्णवर्णको सालिक छ। त्यसको सम्मुखमा ऐतिहासिक, पुरातात्विक सम्पदाले भरिएको गोरखा संग्रहालय छ। संग्रहालको मुलगेटमा  कालो दौरा सुरुवालमा सजिएका, पटुकी कसेका, त्यसमै खुकुरी भिरेका, शीरमा चम्किलो श्रीपेच पहिरिएका, बायाँ हातमा तरबार लिएर दायाँ हातको चोर औँला ठड्याइरहेका काटीकुटी पृथ्वीनारायण शाहकै झल्को दिने एक युवा उभिरहेका हुन्थे। 

अढाइसय बर्षअघि इहलीला समाप्त भइसकेका पृथ्वीनारायण शाहको समूल देखेपछि ठूलोआँगन आइपुगेका पर्यटकहरू उनको दायाँ, बायाँ उभिएर रोमाञ्चित हुँदै फोटो खिचाइरहेका देखिन्छन्। पृथ्वीनारायण शाहसँग झुम्मिएर कोही फोटो, कोही सेल्फी, कोही भिडियो खिचाउथे। कोही टिकटक बनाउने, कोही युट्युब भिडियो बनाउने। स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका मिडियाले उनको रिपोर्टिङ गरेका छन्। 

ठूलोआँगनको यो दृश्यको असीम चर्चा र प्रचारप्रसारले गोरखा भित्रिने पर्यटकको संख्या पनि उल्लेखनीय वृद्धि हुँदै गएको थियो।

बिगत दुई वर्षदेखिको यो निरन्तरतामा अचेल क्रमभंग भएको छ। 

ठूलोआँगनको तल्लोदरबार अघि पृथ्वीनारायण शाहको ड्युटीमा खटिने हुमबहादुर उपरकोटीलाई ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिले बिदा गरिदिएपछि अहिले यो दृश्य देख्न नपाइएको हो। ठूलो आँगनबाट १८ किलोमिटर कच्ची बाटो टाढा पर्ने गोरखा नगरपालिका २ शिखरबाट घरको ड्युटी सकेर उनी पृथ्वीनारायण शाहको ड्युटी गर्न बिहान १० बजे आइपुग्थे। दिनभर पर्यटकहरूसँग फोटो, भिडियो खिचाउन भ्याइनभ्याइ हुन्थ्यो। फोटो खिचे बापत निश्चित शुल्क बाकसमा खसालेर पर्यटक रमाउँदै जान्थे। महिना दिन पुगेपछि समितिले बाकस खोल्दा ३० देखि ५० हजार रुपैयाँसम्म आम्दानी हुन्थ्यो। उपरकोटीलाई १८ हजार रुपैयाँ पारिश्रमिक दिएपछि बचेको रकम समितिकै आम्दानी हुने गरेको थियो। यो परिपाटीलाई स्थानीय पालिकाले पनि धेरथोर आर्थिक रुपमा टेवा दिने गरेको थियो। 

तर अनायास समितिले पृथ्वीनारायण शाहलाई बिदा गरेपछि अहिले ठूलो आँगनमा यो रोमाञ्चक दृश्यको अभाव खट्किएको छ। ‘यो सिजनमा पर्यटक नआउने भए, त्यसैले हामीले उनलाई बिदा गरिदियौँ’, समितिका अध्यक्ष सुरेशमान श्रेष्ठ भन्छन्, ‘अब भदौदेखि उनी आए उनलाई नै, उनी नआए अरु कसैलाई खटाउँछौँ।’ 

उपरकोटीको भने यस निर्णयमा असन्तुष्टि छ। ‘धेरै आम्दानी भएका बेला राख्ने, आम्दानी घटेपछि निकाल्ने त राम्रो परिपाटी हुँदै भएन नि’, उनी भन्छन्, ‘धेरै आम्दानी भएका बेला हामीले धेरै मागेका थियौँ र ? यस्तो त कुनै ठाउँमा पनि हुँदैन।’

उपरकोटीले पृथ्वीनारायण शाहको स्वरुपमा ड्युटी गर्न थालेको ११ महिना मात्र भयो। यसअघि ओमबहादुर श्रेष्ठले २०७९ को भदौबाट सोही भूमिका निर्वाह गरेका थिए। गोरखामा हुने ठूला सभा, समारोह, र्‍यालीहरुमा पृथ्वीनाराण शाहको झाँकी प्रदर्शन गर्दै आएका उनले सोही समितिको माताहतमा रहेर दुई वर्ष अघिदेखि ठूलो आँगनमा ड्युटी गर्न सुरु गरेका थिए। तर समितिकै व्यवहार अनुचित लागेर एक वर्षपछि ड्युटी छाडेको श्रेष्ठ बताउँछन्। 

‘हातमुख जोर्न, परिवार पाल्न आफ्नै पेन्सन थियो। गोरखा बजारमा पर्यटन विकास गर्नुपर्छ भनेर काम गरेको हुनाले मलाई त पैसाको पनि कुनै मतलब थिएन’, श्रेष्ठ भन्छन्, ‘तर समितिको व्यवहार मन नपरेर मैले काम छोडेको हुँ।’

दुवै जनाले पृथ्वीनारायण शाहको ड्युटी छाडे पनि सो भूमिका निर्वाह गर्न अरु जति पनि मान्छे पाइने समितिका अध्यक्ष श्रेष्ठको तर्क छ।

तस्बिर : पृथ्वीनारायण शाह बनेर ड्युटी गर्ने ओमबहादुर श्रेष्ठ र हुमबहादुर उपरकोटी।
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.