कर्णालीका स्थानीय तहमा ‘एकीकृत सेवा’

सेवाग्राहीको समयको बचत

कर्णालीका स्थानीय तहमा ‘एकीकृत सेवा’
रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले सुरु गरेको एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्रमा सेवाग्राही। तस्बिर : ललितबहादुर बुढा।
सुन्नुहोस्

रुकुमपश्चिम : रुकुमपश्चिमको चौरजहारी नगरपालिका–११ निवासी कोशिला वली धानको बोट नै लिएर नगरपालिकाको कार्यालयमा पुगिन्। सोमबार बिहान ११ बजे पुगेकी उनलाई नगरपालिकाको मुल ढोकामै रहेको सोधपुछ कक्षका कर्मचारीले टोकन लिन लगाए। 

टोकन लिएर उनी नजिकै रहेको एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्रमा पुगिन्। त्यहाँ रहेका कर्मचारीले उनको समस्या सुने। त्यसपछि ३० मिनेटमा काम हुने भन्दै कर्मचारीले उनलाई सेवाग्राही प्रतिक्षा कक्षमा आराम गर्न भने।
    

कोशिला प्रतिक्षा कक्षमा अन्य सेवाग्राहीसँगै बसिन्। त्यहाँ भित्तामा डिस्प्ले स्किृन राखिएको थियो। त्यसैमा हरेक सेवाग्राहीको फाइल र काम कुन शाखामा पुग्यो भन्ने देखाइएको थियो। केही मिनेटमै कर्मचारीले माइकमा कोशिलाको नाम बोलाए। धान खेतीमा किराले हैरान बनाएपछि उपाय खोज्दै पुगेकी उनलाई नगरपालिकामै रहेको कृषि सेवा शाखामा जान भनियो। कृषि शाखामा पुगेपछि प्राविधिक सहायक प्रकाश डाँगीले धानमा खपटे किरा लागेको भन्दै कोशिलालाई उक्त किरा नष्ट गर्ने विषादी दिए। अनि प्रयोग गर्ने उपाय सिकाएर पठाए। कर्मचारीले ३० मिनेट लाग्ने भने पनि कोशिला २३ मिनेटमै काम सकेर नगरपालिकाबाट बाहिरिन्।
    
चौरजहारीकै दिर्घ सापकोटा टोकन लिएर एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्रमा पुगे। कर्मचारीलाई आफ्नो फाइल बुझाए। उनको फाइल दर्ता गरेर कर्मचारीले ७० मिनेटभित्र काम सकिने भन्दै आराम गर्न भने। उनी पनि प्रतिक्षा कक्षमा रहेको शोफामा बसेर भित्तामा रहेको डिस्प्ले स्किृनमा हेर्न थाले। कर्मचारीले उनका फाइलहरू रुजु र वर्गीकरण गरेपछि उद्योग शाखाबाट काम हुने भयो। 

उद्योग नवीकरणका लागि पुगेका दीर्घले आफ्नो फाइल उद्योग शाखामा पुगेको डिस्प्ले स्किृनमा देखे। करिब १ घण्टा आराम गरेर बसेका उनले डिस्प्ले स्कृनमै आफ्नो काम सम्पन्न भएको थाहा पाए। त्यतिकैमा माइकमा उनको काम सकिएको भन्दै कर्मचारीले उद्योग नवीकरणको प्रमाणपत्र लैजान आग्रह गरे। उनले एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्रबाट प्रमाणपत्र लिएर निस्किए।

सेवाग्राहीलाई सहज र कम समयमै सेवा उपलब्ध गराउन चौरजहारी नगरपालिकाले एकीकृत सेवा प्रवाह सुरु गरेको छ। कार्यालय स्वःचालन प्रणालीमार्फत काम थालेको नगरपालिकाले स्मार्ट स्थानीय सरकारको अनुभूति दिन थालेको हो। जसअन्तर्गत नगरपालिकामा पुग्ने सेवाग्राहीलाई सुरुवातमा सोधपुछ कक्षमा सहजीकरण गरिन्छ। त्यसपछि सेवाग्राहीले भेटघाट वा कामको टोकन लिन्छन्। जनप्रतिनिधि र कर्मचारीलाई भेट्न पुगेका सेवाग्राहीलाई १५ मिनेटभन्दा बढी समय कुर्न नपर्ने व्यवस्था मिलाइएको छ। त्यसैगरी अन्य कामका लागि पुगेका सेवाग्राहीहरू पनि एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्रमा पुग्छन्। केन्द्रमा पुगेपछि कार्यालय स्वःचालन प्रणालीमार्फत सेवाको प्रकृति अनुसार दर्ता गरिन्छ। 
    
फाइल दर्ता भएपछि केन्द्रका कर्मचारीले नै फाइलहरूको वर्गीकरण गर्दै सम्बन्धित शाखालाई काम सम्पन्न गर्नका लागि समय निर्धारण गर्दछन्। कार्यालयमा रहेका हरेक शाखाले आफ्नो शाखाका लागि आएको कामबारे सिस्टममार्फत नै जानकारी पाउँछन्। त्यही अनुसार शाखाहरूले तोकिएको समयमा काम सम्पन्न गर्दछन्। यो प्रक्रियाहरू सबै सेवाग्राहीले प्रतिक्षा कक्षमा बसेर डिस्प्लेमा हेर्न पाउँछन्। जहाँ काम सकिएको चरणहरूमा हरियो संकेत देखिन्छ। प्रतिक्षा कक्षमा रहेका सेवाग्राहीले शोफामै बसेर सेवा पाउँछन्। यदी कागजात नपुगेको अवस्थामा भने सुरुवातमै सेवाग्राहीलाई आवश्यक प्रमाण जुटाउन लागि आग्रह गरिन्छ। यस्तै सेवाग्राहीले नगरपालिकाको सेवाबारे कुनै गुनासो भएमा गुनासो पेटिकामा आफ्नो प्रतिक्रिया दिने व्यवस्था मिलाइएको छ।

सेवाग्राही दंग
    
एकीकृत सेवा सुरु भएपछि सेवा लिनका लागि कार्यालयका हरेक कोठामा धाउनुपर्ने, घण्टौंसम्म लाइन लाग्नुपर्ने, कर्मचारीलाई काम गराउनका लागि नमस्कार गरेर हारगुहार नै गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ। स्थानीय सर्जन गौतम भन्छन्,‘पहिला त आफ्नो काम कुन कोठाबाट हुन्छ भन्नेमै अलमल हुन्थ्यो, कर्मचारी र जनप्रतिनिधिलाई कोठा–कोठामा पुगेर नमस्कार गर्दै समय बित्थ्यो। अहिले सजिलो भयो, शोफामै बसेर सेवा पाउँदा म पनि दंग परेँ।’ 

सिफारिस लिनका लागि नगरपालिकामा पुगेका उनले सुरुमा त कामका लागि दिनभरि नै लाग्ने अनुमान गरेका थिए। तर एक घण्टामै काम सम्पन्न भएकोमा खुसी व्यक्त गरे।
    
सिफारिस पत्रका लागि नगरपालिकामा पुगेकी उर्मिला नेपालीले पनि पहिलाको तुलनामा सहजै सेवा पाएकोमा खुसी व्यक्त गरिन्। ‘लाइन नै लाग्नु परेन, कुन कोठामा जाने भन्ने दुविधा पनि भएन’, उनले भनिन्,‘करिब १ घण्टामै मेरो काम भयो, कागज बोकेर तलमाथि नै गर्नुपरेन। शोफामै आराम गर्दागर्दै सिफारिसपत्र हातमा आयो, खासमा बल्ल आएर संघीयता आएको अनुभूति गरेँ।’ 

विगतमा ३ घण्टा लगाएर नगरपालिकामा पुग्दा पनि काम नभएर होटलमै बस्नु परेको पीडा स्मरण गर्दै उनले अहिले आएर समय र पैसाको पनि बचत भएको सुनाइन्। 

‘संघीयताको सुन्दर नमूना’
     
कर्णाली प्रदेश सरकारले स्थानीय तहले थालेको एकीकृत सेवा प्रवाह संघीयताको सुन्दर नमूना भएको बताएको छ। प्रदेश सरकारका निमित्त प्रमुख सचिव आनन्द सारु भन्छन्,‘यो प्रयास संघीयताको सुन्दर पक्ष हो, स्थानीय सरकारले यो सेवा सुरु गरेर वास्तवमै संघीयताको अनुभूति दिलाएका छन्। यसबाट नागरिकले कार्यालयमा कर्मचारीलाई खोज्दै धाउनुपर्ने अवस्थाको अन्त्य भयो, अब अन्य पालिकाले पनि यसको सिको गर्नुपर्छ।’ 

प्रदेश सरकारले पहिलो चरणमा नमूनाको रूपमा यूएनडीपी नेपालसँगको सहकार्यमा कर्णालीका ५ वटा पालिका छनौट गरेको सारुले बताए। हाल रुकुमपश्चिमको चौरजहारी, सुर्खेतको पञ्चपुरी र दैलेखको दुल्लु नगरपालिकाले एकीकृत सेवा प्रवाह सुरु गरेका छन्। बाँकी २ वटा पालिकाले पनि चाँडै यो सेवा सुरु गर्ने तयारी गरिरहेको प्रदेश सरकारले जनाएको छ।

एकीकृत सेवा प्रवाह गरिरहेको चौरजहारी नगरपालिकाका उपप्रमुख ईश्वरी शर्माले भनिन्,‘एकीकृत सेवा दिन थालेपछि टाढाबाट आउने नागरिकलाई बास नै बस्नुपर्ने बाध्यता हटेको छ, काम गराउन नमस्कार नै गर्नुपर्ने अवस्था अन्त्य भयो। लाइन लाग्नुपर्ने अवस्था छैन, कागजपत्र मिलाउनुपर्ने झन्झटबाट पनि नागरिकले मुक्ति पाए।’ 

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकाल भन्छन्,‘स्थानीय तह नागरिकसँग प्रत्यक्ष जोडिएको सरकार हो, यसकारण पनि नागरिकलाई हामीले सहज रूपमा सेवा दिनुपर्छ। यसले नगरको सेवालाई एकीकृत गरेको छ, कर्मचारीलाई पनि सेवा दिन सहज भएको छ।’ एकीकृत सेवाका कारण कर्मचारीहरू पनि सेवाग्राहीप्रति उत्तरदायी र जवाफदेही बनेको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.