यस्ता तस्बिर खिच्नै नपरोस्
काठमाडौं : मेरो घर नजिकैबाट हवाईजहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जान्छ। बाल्यकालदेखि नै यो दृश्य हेरेर हुर्केको हुँ। कार्यालय पनि विमानस्थलनजिकै छ। हवाईजहाज उडेको अवतरण भएको कार्यालयबाटै देखिन्छ।
तर, बुधबार यही विमानस्थलमा मैले सौर्य एयरको जहाज दुर्घटनाग्रस्तपछि बीभत्स दृश्य देखेँ। अन्नपूर्ण पोस्ट्को फोटो पत्रकार भएकाले राजधानीमा हुने घटना दुर्घटनाको सधैं अपडेट हुन जरुरी हुन्छ। बुधबार बिहान त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना भएको सामाजिक सञ्जालमार्फत जानकारी पाएँ। मैले अन्नपूर्ण पोस्ट्को अनलाइन संस्करण हेरेँ। समाचार देखेपछि म झोलामा क्यामेरा हालेर घरबाट विमानस्थलतर्फ हानिएँ।
कोटेश्वर, जडिबुटी, पेप्सीकोला हुँदै अघि
बढ्दा सडक सवारी चाप बढ्यो। फुटपाथमा यात्रुको पनि भीड देखिन थाल्यो। खहरे हुँदै गोठाटारतर्फ अघि बढ्दा रमिता हेर्नेहरूले सडक जाम थियो। यात्रुले फुटपाथ ठेलमठेल थियो। मुस्किलले गोठाटारनजिकै विमानस्थलको आन्तरिक जहाज पार्किङ पछाडि खोंचमा दुर्घटनाग्रस्त विमान बल्दै गरेको देखियो। सडकमा रमिते थिए। तारबारभित्र सेना अनि प्रहरी उद्धारमा खटिएका थिए। सर्वसाधारणसमेत शव तान्न, आगो निभाउन दमकलको पाइप घिच्चाइरहेका थिए। सुरक्षाकर्मीको अनुमतिपछि भित्र छिरेँ। जहाँ त्यही सरफमिश्रित फिजले सेताम्मे थियो। विमानका टुक्रा चारैतिर छरपस्ट थिए। हिलाम्मे जमिन र पानी पोखरी छल्दै तस्बिर खिच्न थालेँ।
सेना र प्रहरीहरूले शवहरू निकालिँदै थिए। शवका पोकाहरू देखेँ। आगोले जलेका मानिसका शरीर देख्दा दृश्य खिच्न मलाई साहै्र असजिलो भएको थियो। विमानस्थलमै पहिले भएका एयर बंगला र सीता एयरको दुर्घटनामा तस्बिर खिच्ने क्रममा आँखाको डिलसम्मे आँशु छछल्किएको थियो।
जस्ताले छाएको एउटा घरअगाडि विमानको मुख्य भाग बजारिएको थियो। विमानको पखेँटाको टुक्रा कान्लाभरि छरिएको थियो। विमानस्थलको डिलैमा ट्रान्सपोर्टको सामान बोक्ने ट्रकको कन्टेनरको बाकसमा विमानको कटपिट ठोक्किएर झन्डै ५० मिटर अग्लो कान्लोको बीचमा अडिएको थियो। कन्टेनर च्यातिएरभित्र कटपिटको भाग अड्किएको थियो। सुरक्षाकर्मीहरू सरसामान बाहिर निकाल्ने प्रयासमा थिए।
रनवेबाट चिप्लेर घाँसेमैदान हुँदै कन्टेनरमा ठोकिने क्रममा जमिनको माटो धस्सिएको थियो। नजिकै केही भवनहरू देखिन्थे। ती भवनमा ठोक्किएको भए झन् ठूलो क्षति हुन्थ्यो कि भन्ने डर लाग्यो। विमान कन्टेनरमा नठोकिएको खण्डमा बेगले बस्तीसम्मै पुग्थ्यो शायद।
दुर्घटनाको केही समयमा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखक विमानस्थलको छेउसम्मै आएर अवलोकन गरे। एकातिर दुर्घटनाको त्यो दृश्यले बेचैन बनाउँथ्यो भने प्रहरी र सेनासँग हातमा हात मिलाएर सर्वसाधारणले उद्धारमा सहभागी भइरहेको देख्दा नेपालीहरूको सहयोगी भावना प्रशंसनीय थियो। उद्धारमा खटिएका प्रहरी, सेना, अग्निनियन्त्रक, फोटोपत्रकार र टेलिभिजन पत्रकार हिलाम्मे शरीर लिएर उद्धारमा खटिएका थिए।
दुर्घटनाको रमिता हेर्नेको भीड नियन्त्रण गर्न प्रहरी परिचालित थिए। सडकमा ट्राफिक जाम थियो। सर्वसाधारण मोबाइलबाट फोटो र सेल्फी खिचिरहेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीता एयर, एयर बंगला, टर्किस एयर र सौर्य एयरका चार दुर्घटनापछिका बीभत्स दृश्यहरू मैले प्रत्यक्ष रूपमा देखेको छु। विमानबाट निकाल्दै गरेका छट्पटाएका घाइते र आगोले जलेको शव देखेको छु। विमान दुर्घटना सम्झदा ती दृश्यले मलाई बेचैन बनाउँछ। लाग्छ, यस्तो दुर्घटना देख्नु नपरोस्। तस्बिर खिच्नु नपरोस्।