वन्यजन्तुबाट बाली जोगाउनै सकस

वन्यजन्तुबाट बाली जोगाउनै सकस
मालिका गाउँपालिका ठूलीचौरका प्रेमबहादुर थापाको बारीमा बँदेलले खाएको बाली। तस्बिर : मनोज कार्की

गुल्मी : गुल्मी मालिका गाउँपालिका–४ ठूलीचौरका प्रेमबहादुर थापाको १३ रोपनी जग्गाजमिन छ। थापाले आफ्नो बारीमा वर्षमा एकपटक मकै, आलु र कोदो लगायतका अन्नबाली रोप्ने गर्छन््। उनले गत फागुनमा दुई हलको बारीमा मकै रोपेका छन्। मकैसँगै थापाले केही खाली बारीमा आलु खेती पनि गरेका छन्। गतवर्ष उनले ३० मुरी आलु र ९ मुरी मकै उत्पादन गरेर बिक्री गरेको बताउँछन्। तर, यसवर्ष बँदेल र जंगली जनावरका कारण उत्पादन के–कति हुन्छ भन्ने नै टुंगो छैन। पछिल्लो केही वर्षयता जंगली जनावरका कारण गाउँमै उत्पादन घटिरहेको उनले बताए। 

अहिले ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेका कृषि उपज जंगली जनावरको आहार बन्ने गरेको छ। थापाको सानो परिवार छ। उनी छोरी चुमा थापा पनि घरमै छिन्। छोरीले दिउँसो गाउँकै एक बैंकमा जागिर गर्छिन्। बिहान बेलुका र फुर्सदको समयमा उनले परिवारलाई खेती किसानीमा सघाउँछिन्। विगत केही वर्षदेखि बँदेललगायत जंगली जनावरले सताएपछि उनको परिवारले जनावरलाई रोक्न बारी वरिपरि बाँसले घेराबार गरेका छन्। तर पनि उनी र गाउँका कृषकले जंगली जनावरको समस्या भोग्दै आएका छन्। 

अहिले उनको बारीमा हरियो मकै र आलु छ। दिउँसो गाउँमा मानिसको चहलपहल हुने भएकाले जंगली जनावर देखिँदैनन्। रातभर गाउँबस्ती सुनसान हुने हुँदा जंगली जनावरको बास नै मकैबारीमा हुने गर्छ।  जंगली वन्यजन्तुको हैरानीले सास्ती खेपेका केही गाउँलेले वडा कार्यालय र गाउँपालिकालाई समस्या समधान गर्न पटक–पटक माग गरे पनि त्यसको सुनुवाइ नभएको उनीहरूको गुनासो छ। 

‘मानो रोपेर मुरी फलाउने सोचले बारीमा मकै आलु रोपियो, बाली स्याहार्ने बेलामा बंदेल रातभर बारीमा पसेर भएको सबै सखाप पारिदियो’, थापाले भनिन्, ‘यस्तै भएर होला आजभोलि गाउँघरमा कृषकको मनोबल घट्ने र बारी बाँझो रहने अवस्था नै सिर्जना भएको छ। सरकारले कृषकलाई राहतको व्यवस्था गर्दै गर्दैन तर, घेराबारका लागि काँडेतार दिए पनि अर्को वर्ष बारी बाँझो राख्नुपर्ने थिएन।’

उनी जस्तै सोही गाउँका कृषक हुन् हिराबहादुर थापा। छोराछोरी सहितको परिवार भए पनि अहिले घरमा उमेर पुगेका बूढाबूढी मात्रै छन्। छोराछोरी पढाइ र रोजगारीका लागि बाहिर गएका छन्। उनीहरूले घरमा एउटा भैंसी पालेका छन्। उनको पनि १५÷१६ रोपनी जग्गा छ। थापाले खेतालाको साहारमा अन्नबाली रोप्ने र भित्राउने गर्छन्। गाउँको जग्गा मलिलो भएकाले उत्पादन पनि राम्रै हुने गरेको हिराबहादुर सुनाउँछन्। 

केही वर्षयता गाउँमा जंगली जनावर हावी भएकाले लक्ष्य अनुरूप प्रतिफल लिन नसकेको थापाले बताए। ‘गाउँमा युवा जनशक्ति न्यून छ भने भएका जग्गा जमिन बाँझिन थालेका छन्। पहिले गाउँमा टनाटनी गाईवस्तु पालिन्थ्यो, गाईभैंसीको मल बारीमा छरिन्थ्यो। मानो रोपेर मुरी फाइन्थ्यो तर त्यी कुरा अहिले एकादेशका कथा जस्तै भए’, हिराबहादुरले विगत स्मरण गरे।

आजभोलि गाउँमा मान्छे र घरपालुवाभन्दा जंगली जनावरको संख्या बढ्दै गएको छ। त्यसैले वनजंगनमा आवश्यक आहार नहुँदा उनीहरू गाउँबारीमा पसिरहेका बताउँदै उनले भने, ‘बाली भिœयाउने बेलामा जंगली जनावरले दिएको दुःख र हैरानीका कारण हामी कृषक आजित बनेका छौं। तर, यसको व्यवस्थापन र निवारणका लागि सरकारसँग ठोस निर्णय नै छैन।’ मालिका गाउँपालिकाका अर्खाबाङ, दर्लिङ, घमिर, छापहिले, मर्भुङ, नेटालगायतका स्थानमा बाँदर र बँदेलले थप समस्या दिइरहेको छ। किसानले बारीमा रोपेको मकै बँदेल र बाँदरले सखाप पारिदिने गरेको छ। कृषकले बाली सखाप पारेका तस्बिर खिचेर जग्गा बाँझो र कृक्षको मनोबल घट्नुको कारण यहि होला भन्दै सामाजिक सञ्जालमै राखेका छन्।

फागुनमा रोपेको मकैले साउनमा उत्पादन दिन्छ। यहाँका कृषकको मुख्य आम्दानीको स्रोत आलु नै बन्ने गरेको छ। मकैसँगै आलु पनि उत्पादन हुने भएकाले यस क्षेत्रका कृषकले दुई उत्पादन एकै पटक भिœयाउँछन्। मकै भित्राएपछि लगत्तै खेतमा धान र बारीमा कोदो रोप्ने प्रचलन छ। अहिले मकैमा घोगा र आलुमा दाना लागिरहेको छ। 

मकैमा लागेको घोगा खाना रातिमा जंगली जनावरको बासस्थान नै बारी बन्ने गरेको स्थानीय कृषक बताउँछन्। ग्रामिण क्षेत्रमा दिउँसोमा बाँदर र रातिमा बँदेल र दुम्सीलगायतका जनावरको आक्रान्तले पछिल्लो समय कृषकमा निराशा पैदा भएको छ। गुल्मीमा जंगली जनावरका कारण किसानलाई बाली जोगाउनै सकस परेको छ। जंगल नजिक बसोबास गर्ने किसान जंगली जनावर बँदेलबाट पीडित मात्रै बनेका छैनन््। उनीहरू वन्यजन्तुका लागि आहार जुटाइदिने एक माध्यमसमेत बनेका छन्। यी र यस्ता समस्या जिल्लाका अधिकांश कृषक भोग्न बाध्य छन्। 

त्यस्तै, मदाने गाउँपालिका–६ डढुवाका प्रेमबहादुर घर्तीले दिउँसोमा बाँदर र रातिमा बँदेलका कारण घोगा लाग्दै गरेका मकै जोगाउनै समस्या परेको गुनासो गरे। ‘सरकारले बाँदर र बँदेल मार्न पाउनुपर्ने कानुनी व्यवस्था गरिदिनुपर्‍यो’, उनले भने, ‘होइन भने हामी कृषकलाई मेहनत अनुसारको लगानी उठाउने अवस्था नै छैन।’ जंगली जनावरण नियन्त्रणका लागि वडा कार्यालय र वन कार्यालयसँग आग्रह गरिए पनि किसानको समस्यालाई गम्भीरतापूर्वक नलिइएको कृषकको आरोप छ। 

‘जिल्लाका विभिन्न ठाउँमा बाँदर र बँदेलका कारण अन्नबाली जोगाउनै मुस्किल परेको छ। वन्यजन्तुले मकैबाली जोगाउन दिउँसोमा बारीको छेउमा छाप्रो निर्माण गरेर कुकुरको साहारा लिएर कृषक बस्नुपर्ने बाध्यता छ’, घर्तीले भने, ‘बँदेल साँझमा आएर कति बेला खान्छ पत्तै हुन्न, बाँदर र बँदेललाई मार्न दिने कानुनी व्यवस्था भएमात्र किसानले उत्पादन गरेको अन्नबालीमा कम क्षति हुने थियो।’ जंगली जनावरलाई मार्न नदिने र मकैबाली बचाउन बारीमा एक्लै जानुपर्दा वन्यजन्तुले आक्रमण गर्छ कि भन्ने डरको किसानले बर्सेनि समस्या भोग्नुपर्ने अवस्था रहिआएको छ। 

अघिल्लो आर्थिक वर्षमा मालिका गाउँपालिकामा अन्नबालीमा वन्यजन्तुले पुर्‍याएको क्षतिको क्षतिपूर्तिको माग र प्रहरी मुचुल्कासहित १८ जना कृषकको निवेदन आएको कृषि विकास शाखाले जनाएको छ। 

गाउँपालिकामा आएका सबै निवेदन डिभिजन वन कार्यालयमा राहत उपलब्ध गराउनका लागि पठाइएको छ। यस आर्थिक वर्षमा अन्नबालीमा वन्यजन्तुले पुर्‍याएको क्षतिका निवेदन नआएको गाउँपालिकाले जनाएको छ। खेतबारीमा रोपिएको अन्नबालीमा वन्यजन्तुले क्षति पुर्‍याएमा मूल्यांकनको आधारमा १० हजार रुपैयाँ राहत उपलब्ध गराउने राहत वितरण निर्देशिका २०८० नै बनेको छ। तर, राज्यबाट रकम अभाव भएकाले थुप्रै निवेदन कार्यालयमा आए पनि कृषकले राहत नपाएको डिभिजन वन कार्यालय गुल्मीका वरिष्ठ वन अधिकृत पंकजकुमार ठाकुरले बताए। हाल कृषकबाट वन्यजन्तुले क्षति पुर्‍याएको विवरणसहितका निवदेन धेरै नै आउने गरेको भए पनि राहतका लागि केही प्रक्रिया अगाडि नबढेको उनले बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.