घातक हवाई दुर्घटना
यातायातको क्षेत्रमा सबैभन्दा सुरक्षित यातायातको साधन हो, हवाई जहाज । नेपालमा भने त्यसो भन्नु असत्य होलाजस्तो गरी एकपछि अर्काे हवाई दुर्घटना भएका छन् । पहाडका कुनाकन्दरामा मात्रै होइन, समथर क्षेत्रहरू र विमानसस्थलमै पनि दुर्घटना भएका छन् । बुधबार त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको दुर्घटना पहिलो होइन, नवौं हो । हवाई इतिहासमा भने १ सय ८औं । सन् १९५५ देखि अहिलेसम्म भएका दुर्घटना वर्षको एउटाको दरले होइन, धेरैले भएका छन् । जहाजमा सवार १९ मध्ये १८ जनाको ज्यान गएको साउन ९ गतेको सौर्य एयरलाइन्स दुर्घटना नियमित आकस्मिकतामात्रै भएको छ ।
यसै पनि नेपाली हवाई क्षेत्र असुरक्षित भएको भन्दै युरोपेली संघले जोखिम सूचीमा लागेर प्रतिबन्ध लगाएको छ, त्यसमाथि एकपछि अर्काे दुर्घटना भएका छन् । बर्खायाममा बादलमा फसेर वा पहाडतिर ठोक्किएर बाहेकमा पनि भइरहेका दुर्घटनाले मुलुकको हवाई सुरक्षामा ठूलो प्रश्न उठाएको छ । पूर्वाधार, भूगोल लगायत दृष्टिबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षित नै मानिन्छ । तर, पनि ७औं दुर्घटना यसले सहिसक्यो । ९ गतेको दुर्घटना विमानस्थलभित्रै भएको दोस्रो ठूलो दुर्घटना हो, मृत्युको दृष्टिले ।
यूएस बंगला विमान दुर्घटनामा ५१ जनाको ज्यान गएको थियो । त्यसो त १०८ मध्ये सबैजसो घातक खालकै हवाई दुर्घटना हुन्, जसमा कैयौंको ज्यान गएको छ । अहिलेसम्म ९३७ जनाले हवाई दुर्घटनामा ज्यान गुमाएका छन् । विमानस्थलभित्रै भएका दुर्घटनामा मात्रै ७३ जनाको ज्यान गएको छ ।
नौ दिन नौलो, बीस दिनमा बिस्र्याे भनेजस्तो गरी हवाई दुर्घटना बिर्सनलायक घटनाहरू होइनन् । यातायातको क्षेत्रका लागि लिनुपर्ने ठूलो शिक्षा हुन् । तर प्रत्येक हवाई दुर्घटनाको कारण खोजिन्छ, छानबिन गरिन्छ, प्रतिवेदन पनि तयार हुन्छ । प्रायमा पाइलटलाई दोषी देखाइन्छ, जो आफै बितिसकेको हुन्छ र आएर जवाफ दिन सक्दैन । बुधबारको दुर्घटनामा भाग्यवश पाइलट बाँचेका छन्, उनले कारण केही न केही खुलाउलान्, जसको अहिले त उपचार भइरहेको छ । हवाई दुर्घटना कम गर्न सरकारी उदासीनता नै देखिन्छ । र, नेपाल राज्यमा पुराना घटनाबाट पाठ नसिक्ने प्रवृत्ति ज्यादा छ । पुराना दुर्घटना, तिनका कारण र दिइएका सुझाव पालनामा भइरहेको उदासीनता नै घातक हवाई दुर्घटनाको निरन्तरताको मुख्य कारण हो ।