हैजा संक्रमितले शय्याबाटै सुइँकुच्चा ठोकेपछि...

शुक्रराज अस्पतालमा भर्ना भएका ३ बिरामी फरार सूचीमा

हैजा संक्रमितले शय्याबाटै सुइँकुच्चा ठोकेपछि...
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : भर्नारत बिरामी सुत्ने तर्खरमा थिए। नर्सहरू ड्युटीमै दत्तचित्त देखिन्थे। यही मौका छोपेर हैजा संक्रमित एक बिरामी जुरुक्क उठे। पल्याकपुलुक हेर्दै शय्याबाट झरे। क्षणभरमै अस्पतालबाट सुइँकुच्चा ठोके। निगरानी गर्न आएकी नर्सले देखिन्, ‘शय्या छ, बिरामी छैन।’

 
यो घटना दुई रातसम्म शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा चलिरह्यो। भर्ना भएका हैजाका संक्रमित भाग्ने क्रमले नर्स र चिकित्सकलाई नै हैरान बनायो। पहिलो दिन अर्थात् सोमबार एक जना भागे।  

संक्रमितका अन्य साथी पनि के कम ? भोलिपल्ट  अन्य दुई जनाले पनि त्यही तौरतरिका अपनाए। राति नर्सहरूको आँखा छल्दै कुलेलम ठोके। नर्सहरू दोस्रो दिन पनि हेरेको हे¥यै भए। ‘सुरुमै पनि भर्ना हुनै मानिरहेका थिएनन्। बल्लतल्ल भर्ना भएका थिए,’ एक नर्सले भनिन्, ‘चिडचिडापन देखिएको थियो। राति त कसैलाई थाहापत्तो नदिई बेपत्ता भएछन्।’ पातलो दिसा हुने, वाकवाकी लाग्नेलगायत लक्षणहरू भएका फरार हैजा संक्रमित कहाँ छन् ? अस्पताल प्रशासनलाई कुनै पत्तो छैन। अस्पतालको फरार सूचीमा रहेका बिरामीहरू २१ वर्ष माथिका हुन्। 

अस्पतालका सूचना अधिकारी पुरन गुरुङका अनुसार, उपचाररत अवस्थामै तीन जना बिरामी कुलेलम ठोकेका हुन्। ललितपुरको ठैबस्थित  पुनःस्थापना केन्द्र (रिह्याबिलिटेसन सेन्टर) बाट जँचाउन आएका ५ जनामध्ये तीन जना भागेको गुरुङले बताए। तीन जना फरार भएकामा दुई जनामा हैजा संक्रमणको पुष्टि भएको छ। पुनःस्थापना केन्द्रबाट जँचाउन आएका ५ जनामध्ये एक जना अस्पतालमै उपचाररत छन्। 

अर्का एक जनालाई पाटन अस्पतालमा रेफर गरिएको उनले जानकारी दिए। ¥यापिड टेस्ट गर्दा पाँचै जनामा हैजाको संक्रमण पुष्टि भएपछि भर्ना गरिएको अस्पतालले जनाएको छ। तर, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, महामारी शाखा प्रमुख डा.मुकेश पौडेलले कल्चर रिपोर्टमा फरार भएकामध्ये दुई जनामा हैजाको संक्रमण पुष्टि भएको जानकारी दिए। ‘एन्टिवायोटिक दिई उपचार जारी थियो,’ डा. पौडेलले भने, ‘सामान्य लक्षण भएका कारणले पनि होला सुइँकुच्चा ठोकेछन्।’

 उपचाररत अवस्थामै सुइँकुच्चा ठोक्ने एक जना हैजाका संक्रमित भने असहज अनुभव भएपछि काठमाडौं मेडिकल कलेजमा भर्ना भए। अर्का भने घरमै उपचार गरिरहेको विवरण इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। अर्का एक जनाको अत्तोपत्तो छैन। महामारी शाखाका प्रमुख डा. पौडेलका अनुसार, पुनःस्थापना केन्द्रमा आश्रय लिएका व्यक्तिमा हैजा संक्रमण देखिनुमा दूषित पानीको प्रयोग भएको हुनसक्छ। पुनः स्थापना केन्द्रमा आश्रय लिएकाहरूबाहेक ललितपुर क्षेत्रका अन्य स्थानमा हैजाको संक्रमण नदेखिएको डा. पौडेलले जानकारी दिए। 

उपचार गर्दागर्दै हैजाका संक्रमित कुलेलम ठोकेपछि चिकित्सकहरू आश्चर्यमा छन्। शुक्रराज अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बिरामीहरू उपचार गर्दागर्दै भाग्न नहुने सुझाव दिन्छन्। ‘वर्षाको बेलामा पानी दूषित भएको हुन्छ। दूषित पानीको उपयोगले हैजा संक्रमण हुनु स्वाभाविक हो। अन्यथा लिनुपर्दैन,’ डा. पुन थप्छन्, ‘हैजा अति संक्रामक र शीघ्र फैलन्छ। हैजा संक्रमणको पुष्टि भएको व्यक्ति उपचार नगराई भाग्दै हिँड्दा झन् संक्रमण शीघ्र फैलने जोखिम हुन्छ।’ 

भिब्रियो कोलेरा नामक प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति संक्रामक झाडापखालासम्बन्धी रोग हो।  हैजा संक्रमण भएको एक सातासम्ममा लक्षणहरू देखा पर्छन्। पातलो (चौलानी )जस्तो दिसा हुन्छ। वाकवाकी लाग्ने, वान्ता हुने र कडा जलवियोजन हुन्छ। कडा जलवियोजन हुँदा आँखाभित्र गड्ने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, तीर्खा, थकाई लाग्ने, छाला सुक्खा हुने, पिसाब पहेंलो रंगको हुने, चिडचिडापन हुने लगायतका लक्षणहरू देखिन्छन्। सरुवा रोग विशेषज्ञहरूका अनुसार, यो रोगबाट मानिसहरूमा अति शीघ्र कडा जलवियोजन भई मृत्युसमेत हुने जोखिम रहन्छ।  

सरुवा रोग विशेषज्ञ डा. पुनका अनुसार, संक्रमित व्यक्तिको दिसाको माध्यमबाट बाहिरी वातावरणमा पुग्छ। स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट बढी सरेको पाइएको छ। डा. पुन भन्छन्, ‘हैजाबाट जोगिन शुद्ध पानी पिउने, सरसफाइमा ध्यान दिने र झिंगा भन्केको तथा सडेगलेको खानुहुँदैन। फलफूल पनि सफा पानीले धोइपखाली खानुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.