मुस्ताङको बजेट खर्च सवा ३ अर्ब

मुस्ताङको बजेट खर्च सवा ३ अर्ब
सुन्नुहोस्

जोमसोम : हिमाली जिल्ला मुस्ताङमा संघीय तथा प्रादेशिक सरकारी कार्यालयले ३ अर्ब ३४ करोड ७२ लाख रुपैयाँ बजेट खर्च गरेका छन्। आर्थिक वर्ष २०८०/८१ का लागि मुस्ताङका संघीय तथा प्रादेशिक सरकारी कार्यालयका लागि विनियोजित कुल बजेट ४ अर्ब २ करोड ६६ लाख ४९ हजार रुपैयाँ बजेटमध्ये ८३.१३ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोनिका) मुस्ताङले जनाएको छ।

चालु वर्ष संघीय तथा प्रादेशिक कार्यालयको कुल १६.८६ प्रतिशत बजेट फ्रिज हुन पुगेको छ। मुस्ताङका संघीय तथा प्रादेशिक कार्यालयका लागि विनियोजित चालु खर्चतर्फ १ अर्ब ६६ करोड ८७ लाख बजेटमध्ये १ अर्ब ३६ लाख ३१ हजार अर्थात् ८१.६८ प्रतिशत खर्च भएको छ भने पुँजीगत विकास खर्चतर्फ विनियोजित १ अर्ब ४२ करोड १४ लाख बजेटमध्ये १ अर्ब १७ करोड ८५ लाख रुपैयाँ अर्थात् ८२.९२ प्रतिशत बजेट खर्च भएको छ। कोष नियन्त्रक भण्डारीका अनुसार स्थानीय तह वित्तीय हस्तान्तरणतर्फ ९३ करोड ६४ लाख ४२ हजारमध्ये ८० करोड ५५ लाख ४९ हजार रुपैयाँ अर्थात् ८६.०२ प्रतिशत बजेट रहेको छ।

मुस्ताङका २३ वटा संघीय कार्यालयको चालु र पुँजीगत खर्चका साथै स्थानीय तह वित्तीय हस्तान्तरणका लागि विनियोजित कुल बजेट २ अर्ब २६ करोड ४ लाखमध्ये १ अर्ब ९५ करोड ६० लाख रुपैयाँ अर्थात् ८६.५३ प्रतिशत बजेट खर्च भएको छ। जसमध्ये संघीयतर्फको चालु बजेट १ अर्ब ४० करोड १० लाख बजेट विनियोजन भएकोमा १ अर्ब १९ करोड ७९ लाख अर्थात् ८५.५ प्रतिशत खर्च भएको हो भने संघीय पुँजीगत विकास खर्चतर्फको बजेट ८९ करोड ७६ लाखमध्ये ८६ करोड ६३ लाख रुपैयाँ अर्थात् ९६.५१ प्रतिशत बजेट खर्च भएको कोष नियन्त्रक भण्डारीले बताए। उनका अनुसार चालु वर्ष संघीय स्थानीय तह वित्तीय हस्तान्तरण बजेट ८५ करोड ९३ लाखमा ७५ करोड ८० लाख रुपैयाँ अर्थात् ८८.२२ प्रतिशत बजेट खर्च भएको हो। संघीय चालु तथा पुँजीगत र वित्तीय हस्तान्तरण गरी कुल बजेट ३ अर्ब १५ करोड ८० लाख बजेटमध्ये २ अर्ब ८२ करोड २३ लाख रुपैयाँ अर्थात् ८९.३७ प्रतिशत बजेट खर्च भएको छ।

यसैगरी, मुस्ताङमा १४ वटा प्रादेशिक कार्यालयतर्फ चालु तथा पुँजीगत र स्थानीय तह वित्तीय हस्तान्तरणका लागि विनियोजित कुल बजेट ८६ करोड ८५ लाख बजेटमध्ये ५२ करोड ४९ लाख रुपैयाँ अर्थात् ६०.४३ प्रतिशत बजेट खर्च भएको कोनिका मुस्ताङका कार्यालय प्रमुख भण्डारीले जानकारी दिए। जसमध्ये प्रादेशिक चालुतर्फ २६ करोड ७६ लाख बजेटमा १६ करोड ५१ लाख रुपैयाँ अर्थात् ६१.७१ प्रतिशत बजेट खर्च भएको हो। प्रादेशिक पुँजीगततर्फ ५२ करोड ३७ लाख बजेटमध्ये ३१ करोड २२ लाख रुपैयाँ अर्थात् ५९.६१ प्रतिशत बजेट खर्च भएको छ। स्थानीय तह वित्तीय हस्तान्तरणतर्फको कुल बजेट ७ करोड ७१ लाखमध्ये ४ करोड ७४ लाख रुपैयाँ अर्थात् ६१.५६ प्रतिशत बजेट वित्तीय हस्तान्तरण भएको उनले जनाए।

आर्थिक वर्ष २०८०/८१ का लागि संघीय पुँजीगत बजेट करिब शतप्रतिशत खर्च हुँदा प्रादेशिक पुँजीगत विकास खर्च बजेट सन्तोषजनक देखिँदैन। उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरलानाका जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकको कामले गति लिँदा संघीय पुँजीगत खर्च वृद्धि भएको कोष नियन्त्रक भण्डारीको दाबी छ। तर, प्रादेशिक पुँजीगततर्फ पूर्वाधार विकास कार्यालय मुस्ताङको अख्तियारीमा परेका तीन वटा पुल र एक रिङरोड सडकको काम अलपत्र पर्दा प्रादेशिक पुँजीगत बजेट खर्च कम हुन पुगेको उनले जनाए।

संघीय सरकारतर्फ कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई विनियोजित कुल बजेट ७४ करोड ३७ लाख बजेटमा ७४ करोड ७८ हजार रुपैयाँ अर्थात् ९९.५० प्रतिशत खर्च भएको हो। यो कालीगण्डकी करिडोर सडकलाई विनियोजित बजेटको अहिलेसम्मकै सबैभन्दा बढी बजेट खर्च भएको देखिन्छ।

संघीयतर्फ शीतोष्ण बागवानी विकास केन्द्र (मार्फा) ले कुल बजेट ९ करोड २२ लाखमध्ये ७ करोड ४९ लाख रुपैयाँ अर्थात् ८१.२५ प्रतिशत बजेट खर्च गरेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ मुस्ताङले कुल बजेट ५ करोड ५१ लाखमध्ये ४ करोड ३० लाख रुपैयाँ अर्थात् ७८.०३ प्रतिशत बजेट खर्च गरेको छ। यस्तै, जिल्ला अदालत मुस्ताङले कुल बजेट १ करोड ९३ लाखमा १ करोड ८३ लाख अर्थात् (९४.२५ प्रतिशत) बजेट खर्च गरेको छ।

आर्थिक वर्ष २०८०/८१ मा प्रादेशिक कार्यालयतर्फ पूर्वाधार विकास कार्यालय मुस्ताङलाई २७ करोड ६२ लाख विनियोजन भएकोमा जम्मा १२ करोड १५ लाख रुपैयाँ खर्च गरेको छ। खानेपानी जलस्रोत तथा सिँचाइ सबडिभिजन कार्यालय मुस्ताङको कुल बजेट १९ करोड ४४ लाख रहेकोमा १७ करोड ४२ लाख रुपैयाँ अर्थात् ८९.५८ प्रतिशत बजेट खर्च भएको देखिन्छ। यस्तै, कृषि ज्ञान केन्द्र मुस्ताङले कुल बजेट ३ करोड ८९ लाखमध्येमा २ करोड ७ लाख रुपैयाँ अर्थात् ५३.३२ प्रतिशत बजेट खर्च गरेको हो। यस्तै, मुस्ताङ अस्पताल मुस्ताङका लागि विनियोजित बजेट ९ करोड ५६ लाखमध्ये २ करोड ८५ लाख अर्थात् २९.८९ प्रतिशतमात्रै बजेट खर्च भएको हो। मुस्ताङ अस्पतालको निर्माणाधीन भवन अलपत्र हुँदा त्यहाँँ बजेट खर्च कम हुन पुगेको हो।आर्थिक वर्ष २०८०/८१ मा मुस्ताङमा संघीय तथा प्रादेशिक कार्यालयबाट ८ करोड ९५ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन भएको छ। जसमध्ये संघीयतर्फ ७ करोड ७० लाख २० हजार रुपैयाँ राजस्व संकलन भएको छ। प्रादेशिकतर्फ १ करोड २५ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन भएको हो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.