डोल्पो इतिवृत्तान्त
पुस्तकभित्र डोल्पाभित्र प्रचलनमा रहेका अनेकौं चालचलन, प्रथा तथा रहस्यात्मक कुरालाई सन्तुलित किसिमले उजागर गरिएको छ।
‘डोल्पो ओ डोल्पो’ नेपाली साहित्यमा कविता, निबन्ध तथा नियात्रा विधामा निरन्तर क्रियाशील लेखक डा. दामोदर पुडासैनीको नियात्राको पछिल्लो कृति हो। यस कृतिमा उनले कर्णाली अञ्चलको डोल्पा जिल्लामा उनको बसाइको क्रममा भोगेका अनुभूति, देखेका दृश्य, संकलन गरेका सूचना तथा आत्मसात् गरेको ज्ञानका प्रकाशलाई लिपिबद्ध गरेका छन्। साझा प्रकाशनले प्रकाशित गरेको पुस्तक झन्डै साढे तीन सय पृष्ठको छ।
महालेखा परीक्षकको विभागमा जागिरे रहँदा लेखापरीक्षणको काम लिएर लेखक डोल्पा पुग्छन्। त्यसो त आम कर्मचारीको रोजाइमा पर्ने जिल्ला होइन डोल्पा। तर लेखक भने नयाँ विषयवस्तुको अन्वेषण हुनसक्ने, सूचना एवं अनुभव र ज्ञानको नयाँ क्षितिज खोल्न सकिने अनि रोचकता, कुतूहलता तथा रहस्यका पोयाहरू फुकाउँदै आपूm र पाठकलाई रोमाञ्चितसमेत बनाउने सन्दर्भमा भने डोल्पा भ्रमण गर्न उपयुक्त थलो ठान्छन्। कर्णालीका कथा धेरै लेखिएका छैनन्। त्यसमाथि पनि डोल्पाका कथा कमै लेखिएका छन्। लेखिएका विषयवस्तुले पनि सिंगो डोल्पालाई बोक्दैनन्। यस परिप्रेक्ष्यमा सिर्जनाकर्मी किशोरले लेखापरीक्षणको लागि डोल्पा जिल्लालाई रोज्नुको कारण बुझ्न सकिन्छ।
लेखकको यात्रा काठमाडौंबाट सुरु हुन्छ र डोल्पामा आफ्नो काम सम्पन्न गरेर जहाज चढेर फर्केको दिन सकिन्छ। मूलकार्य लेखापरीक्षण भए तापनि समय मिल्नासाथ अथवा बिदाका दिनहरूमा सदरमुकाम दुनै बजारबाट बाहिर निस्केर लेखक डोल्पाका विभिन्न ऐतिहासिक, प्राकृतिक, धार्मिक, भौगोलिक स्थलहरूमा पुग्छन्। उनी जहाँ जान्छन् त्यहाँ मानिससँगको अन्तरक्रिया उनको प्राथमिकता बन्छ। अन्तरक्रियाबाट उनी स्थानीय संस्कार, संस्कृति, भाषिक बनोट, सामाजिक अवस्था, मानवीय सम्बन्ध, आर्थिक अवस्था तथा प्रकृति र मानिसबीचको सम्बन्ध एवं अन्तर्घुलनको गहिराइ बुझ्ने प्रयास गर्छन्। उनी प्राप्त गरेका सूचना, जानकारी, घटना तथा तिनले जन्माएका अनुभूति र भावनाहरूलाई लेख्छन्। यसरी डोल्पा बसाइमा उनी कति पनि अल्छी नगरी लेखिरहन्छन् र अन्ततः डोल्पो ओ डोल्पो नामको सुन्दर नियात्राकृति नेपाली साहित्यलाई उपहार दिन्छन्।
पुस्तकको अध्ययनबाट बहुपतिप्रथा, पाहुनालाई सत्कार गर्ने तरिका, त्यहाँका स्थानीय जात्रा तथा चाडबाडहरू र तिनलाई मनाउने तरिका, किरा (यार्सागुम्बा) टिप्ने उत्साह, दुनैमा कार्यरत सरकारी कर्मचारीको मनोदशा, स्थानीय मानिसहरूको सोच, दैनिक जीवन, भौगोलिक तथा प्राकृतिक अवस्था एवं सौन्दर्यको आस्वादन अत्यन्त रोचक अनि हृदयस्पर्शी किसिमले हुन्छ। नियात्राकारको भाषा सुललित तथा प्रभावकारी छ। उनी अभिव्यक्तिहरू कहीँ पनि आफ्नो व्यक्तित्वलाई हावी हुन दिँदैनन् र तटस्थ भएर अभिव्यक्ति दिन्छन्। उनले डोल्पालाई प्रेमिकाका रूपमा चित्रण गरेका छन्। अनेकौं स्थानमा वर्णनको क्रममा लेखकको प्रेमले भरिएका कोमल भावनाहरू छताछुल्ल भएका छन्। तर, कहींँ पनि दामोदरको कलम उत्ताउलो भएको छैन। उनको लेखनमा सम्मोहन र शक्ति छ जसले पाठकलाई समातेर राख्ने सामथ्र्य राखेको छ। यो यस पुस्तकको विशेषता पनि हो।
कविता, नियात्रा र दर्शनका विभिन्न पुस्तक लेखिसकेका दामोदरमा अध्ययन एवं अनुभवले जीवनदर्शनप्रति खँदिलोपना आउनुका साथै स्पष्टता प्र्राप्त भएको देखिन्छ। सिक्नुपर्ने विषय अनन्त भए तापनि तीमध्ये मानिसले जीवनकालमा केही न केही प्राप्त गर्छ। तिनलाई व्यवस्थित गर्न सक्नेले तिनबाट प्राप्त गर्ने शिक्षा, तिनले दिने ज्ञान एवं दर्शनबाट लाभान्वित हुन सकिन्छ। पुस्तकमा उल्लेख गरेका पाठकलाई सोचमग्न बनाउने र पाठकको मनभित्र गहिरोसँग प्रवेश गरेर बस्ने विभिन्न महŒवपूर्ण भनाइमध्ये केही उल्लेख गर्छु :
युद्धमा होस् वा अरू बेला जीवन जोगाएरै मुठीमा पार्नुपर्ने रहेछ सफलता। मृत्यु भनेको सम्भावनाहरूको समाप्ति हो। जीवन युद्धहरूको शृंखला नै हो (पृष्ठ २६०)। जिन्दगी भनेको चलाकी रहेछ। कहिले अघि बढेर फाइदा, कहिले पछि हटेर फाइदा। जिन्दगी यति, गति र चाल मिलाउने रहेछ (पृष्ठ २६१)। सम्झना भनेकै माया हो। माया ताजा राखिरहन हेर्ने हो तस्बिर (पृष्ठ १३७)। मान्छेको खुसी मान्छे नै हो। मान्छे नभेटे बाँच्न बेकार छ मान्छेलाई (पृष्ठ १२०)। दृश्यहरू निर्माण गर्न सक्नुपर्छ मान्छेले। पाइतालाका छापहरूले उडाउन सक्नुपर्छ बेग्लै धूलो। पुर्याउन सक्नुपर्छ शिर नयाँनयाँ आकाशमा (पृष्ठ ७४)। गीत बचाएर जीवन जगाउने संस्कार नबसेकोमा अलि तीतो बन्यो मेरो मन (पृष्ठ ७५)।
पुस्तकमा डोल्पामा लेखकले करिब दुई महिना बस्दा साक्षात्कार गरेका दृश्य तथा भेटेका मानिससँगका केही फोटा पनि भइदिएको भए किताबभरि छरिएका शब्दहरूले जसरी ती फोटाहरूले पनि बोल्ने थिए होला। यसैगरी, सुरुका केही परिच्छेदमा, खासगरी, हरित समुद्रमा श्वेत कुहिरो शीर्षकको आलेखमा लेखकको डोल्पालाई भेट्ने आतुरता र चट्टान एवं प्रकृतिसँगको लगाव र ‘इमोसन्स’ ज्यादै सुन्दर रूपमा व्यक्त भएको भए तापनि वर्णन अलि लामो भएको हो कि भन्ने लाग्न सक्छ पाठकलाई। यसमा गरिएका अभिव्यक्तिलाई लिएर एउटा अलग्गै तर ज्यादै सुन्दर निबन्ध बन्न सक्थ्यो होला भन्ने अनुभूति पनि भएको हो।
समग्रमा, डोल्पो, ओ डोल्पो नेपाली नियात्रा साहित्यले पाएको महŒवपूर्ण पुस्तक हो। यस पुस्तकभित्र डोल्पाभित्र प्रचलनमा रहेका अनेकौं चालचलन, प्रथा तथा रहस्यात्मक कुरालाई सन्तुलित किसिमले उजागर गरिएको छ। पाठकले यस पुस्तकको अध्ययनबाट आनन्द प्राप्त गर्नुका साथै कर्णाली, खासगरी डोल्पालाई बुझ्ने एवं चिन्ने राम्रो अवसरसमेत प्राप्त गर्छ। पुस्तक पठनीय र संग्रहणीय दुवै छ।