प्रकृतिको छातीमा सांस्कृतिक धड्कन

सन्थाली लोकगीत

प्रकृतिको छातीमा सांस्कृतिक धड्कन

सन्थाल लोकगीतको संरक्षण र संवर्द्धन चुनौतीहरू छन्। तर यी चुनौतीहरू सामना गर्नै नसकिने भने होइनन्।

ढिंकी आडाग् मेन ते 

कारिञनांगिञ बिङ बाबा साब किदी
ढिंकी आडाग् मेन ते 
कारिञनांगिञ बिङ बाबा साब किदी
कारिञनांगिञ विस् बाबा लागादिञ बाबू आपात
रोंडी बागियाम काना, बाहु ञङ मे...

यो लोकगीतको भावार्थ यसरी अथ्र्याउन सकिन्छ : 
निगुरो साग भनेर 
कारिञनांगिञ सर्प बाबा समाए
निँगुरो साग भनेर 
कारिञनांगिञ सर्प बाबा समाए
कारिञनांगिञ विस् बाबा लाग्यो मलाई बाबुको बाबा
विधुर बनाएर छोडेर जाँदैछु, बिहे गर्नु अर्की।

यसरी आफू मरेर गए पनि श्रीमान्प्रतिको अगाध प्रेमको चुडान्त अभिव्यक्ति प्रस्तुत लोकगीतमा पाइन्छ। यस गीतमा आफू बितिगए पनि श्रीमान्लाई दु : ख नहोस् भन्ने कामना गरिएको छ। एक महिलाले निगुरो साग भनी झुक्किएर विषाालु सर्प समाउँदा आफ्नु शरीरमा विष सरेर मरणान्त अवस्थामा रहँदा पतिलाई गीतका माध्यमबाट आफ्नो भावाभिव्यक्ति यसरी गरेकी हुन्। 

सन्थाली लोकगीतहरू पीडा, हर्ष, विस्मय, आक्रोशजस्ता भावना र संवेगका कथा र गहिरो अनुभूतिबाट संयोजित हुन्छन्। सन्ताल (सन् २०१४ : २४) लेख्छन्, ‘सन्थालहरू यतिमात्र होइन, उनीहरू उपचारमा पनि गीत गाउने गर्दछन्। उनीहरूको रैथाने ज्ञान र सीपलाई महŒव दिने ‘इथ्नोकोलोजी’ पनि लोकगीतहरूमा प्रतिबिम्बित भएको पाइन्छ। सीता शिवाकोटी वली (२०७३ : १५०) का अनुसार  :  ‘सर्पले टोकेको थाहा पाउन ओझाले आफ्नो हातमा मन्त्रद्वारा विष उठाएर कहाँसम्म पुगेको छ पत्ता लागेपछि विस्तारै माटोको धूलोले घेरा लगाई मन्त्रले बाँधेर सर्पको विष झार्ने गर्छन्। गाउँभरिका मानिस भेला भएर सर्पको गीत गाउँछन्। मन्त्र पढ्छन्। गीत गाउने सबैले हातमा सजीवन पात बोकेर गीत गाइरहन्छन्।’

सन्थालीहरू सुदूर विगतमा जंगलमा वा जंगलको किनारामा बस्थे। त्यसैले उनीहरूको गहिरो सम्बन्ध वनस्पति, प्राणी, जमिन, जल आदिसँग रहेको छ। साथै यसको सुगन्ध लोकगीतमा पनि महकाउँछ। सर्पले तथा बिच्छीले टोकेको बेला गोड अर्थात् सर्पगन्धाको पात, जरा र कन्दमूलको रस खुवाउने चलन सन्थालीहरूको परम्परागत रैथाने वनस्पतीजन्य ज्ञानमा पर्छ। यसका साथै यस्तो विपद्मा समुदाय नै भेला भई गीत गाउने चलन पनि छ : 
ओकोय विङ जो जो मकना विषयो कन्दोर महुर
झाडा यसो विष दो।
आयाङ विङ जो जो म काना विष दो
झाडाय से कुन्दोर मधुरा विष दो।

यी हरफहरूको भावार्थ यस प्रकार रहेको छ  : 
कुन चाहिँ सर्पले डसेर विष लाग्यो यकिन छैन
कुन महुरले विष झारी दियो
गोमन सर्पले डसेर विष लाग्यो कि अरूले नै डसेर विष लागेर हो
विष झारी दिएको छु।

सन्थालहरूको रैथाने ज्ञान भएका ओझाहरूमा विष खेलाई हातमा विष दलेर झार्ने गर्छन्। त्यसैगरी सर्प वा बिच्छिले डसेर मानिसमा सरेको विष झारेर वा जडीबुटीबाट उपचार पनि गर्छन्। यस्तो बेला गाउने गीतदेखि परम्परागत उपचार पद्धति पनि हरेक वर्ष ओझाले नवपुस्ताका केही चेलाहरूलाई सिकाउँछन्।

सन्थाली लोकगीत सँगसँगै लोकनृत्य पनि प्रस्तुत गरिन्छ। अर्को भाषामा लोकगीत र सन्थाल नाचको अन्योन्याश्रित सम्बन्ध नै रहेको छ। ‘सन्थालहरूले नाच्न मन पराउँछन्। नृत्य उनीहरूको रगतमै रहेको हुन्छ। नृत्य सन्थालहरूको मेला र चाडपर्वहरूको महŒवपूर्ण अंग हो। दिनभरिको कडा परिश्रमपछि उनीहरू हल्का संगीत र नृत्यमा रमाउँछन्। अरूप देय (२०१५ : ३६) आफ्नो अनुसन्धानमा लेख्छन् :  ‘यी नृत्य र संगीतमा सन्थालहरूको हृदय बोलेको छ। आफ्ना इमान्दार भावना, अनुभूति, विचारहरू, सुख–दु : ख अभिव्यक्त संगीतको प्रवाह लोकगीतका शब्दमार्फत चलिरहेको हुन्छ। सन्थालहरू जब खुसी हुन्छन् तब उनीहरू गाउँछन् नाच्छन् किनभने उनीहरू यी क्रियाकलापलाई औधी प्रेम गर्छन् र यी सदैव उनीहरूका चाडपर्व र संस्कार कर्मसँग जोडिएका हुन्छन्, जुन चाहिँ सदैव उनीहरूको सामुदायिक व्यवहारभित्र पर्छन्।’

  • आधुनिक विकास र सन्थाली परम्परागत जीवनको बीचको सम्बन्ध विपरीत र द्वन्द्वात्मक रहेको पाइन्छ। सन्थालीहरूको विश्व दृष्टिकोण, प्राकृतिक जीवन, कथा, गाथा, परम्परा, लोकविश्वास र अभ्यासहरू उनीहरूका लोकगीतहरूमा प्रशस्त मात्रामा आएका छन्।
  • तर आधुनिकतासँगको द्वन्द्वले यिनको मौलिकता, अभ्यास र मौलिकताको निरन्तरतामा प्रश्न उठेको अवस्था आएको छ। शिक्षाको सही प्रणाली र प्रयोगबाट सांस्कृतिक संरक्षण, रूपान्तरण र आधुनिकतातर्फको यात्रालाई कम पीडादायी र कम क्षति पुर्‍याउने बनाउन सहयोग गर्न सक्छ।

मानिस जन्मँदै लिएर आएका मानवीय भावहरूलाई आद्यभाव भनिन्छ। हाँसो, आँसु, सौन्दर्य, वीरता, प्रेम, वियोग आदि प्राकृतिक रूपमै मानवलाई प्राप्त भावहरू समाजसँगको अन्तक्र्रिया र संघर्षबाट तीव्रताका साथ लोकगीतका माध्यमबाट समाजमै प्रकट हुने गर्छन्। सन्थाली लोकगीतहरूमा यस्ता विषय र भावहरू प्रशस्त पाइन्छन् : 
हुडिञ हुडिञ रे बाबा पीडा कु लागाएन
लुटा टाका तेकु आखिरिञ
लुटा टाका तेकु आखिरिञ किदिञ

आय ह बाङ तिञ, बाबा ह बाङ तिञ 
टाका रेकु जमञ्
टाका रेकु जम किदिञ।

यी पंक्तिहरूको भावार्थ यस्तो हुन्छ  : 
सानो सानैमा पाहुना लाग्यो बाबा
लोहटा रुपैयाँमा बेचे 
लोहटा रुपैयाँमा बेचे मलाई

आमा पनि हुनुहुन्न, बाबा पनि हुनुहुन्न 
रुपैयाँले खाए
रुपैयाँले खाए मलाई।

यो लोकगीत सानो उमेरकी युवतीले आफ्नो व्यथा पोखेको गीत हो। यो गीत विवाहको बेलामा प्राय :  गाएको पाइन्छ। आफ्ना आमाबुवाको स्मरण गर्दै रुपैयाँसँग, लोहटा वा धनसँग आफूलाई साटेको अनुभूति यो गीतमा व्यक्त गरिएको छ।

सन्थाली समाजमा वियोग/प्रेम/प्रयणका यस्ता अनेकौं लोकगीत प्रचलित छन्। ललाई–फकाई गरेर, सुन दिने भनेर विवाह गरेर पछि बालबच्चा भएपछि गरिबीका कारण दु : ख पाएको अवस्था व्यक्त गर्ने दु : ख र वेदनाको लोकगीत यसरी प्रस्तुत गरिएको छ  :  
किरिञ आमाञ गिच शुना
शुना रेनाग गाम्छा दइञ मेनलेद 
दिसम गि सानाम ढामाडोल एन
चाँदु गि चञ्चाँद कचे 
चाँदु गि चञ्चाँद कचे एना।

मडे सेर्मा नकल किदाय
गिद्–रा कु सागिएन
चेद कु जम ते हाराकुवा ?
मडे सेर्मा नकल किदाय
गिद्–रा कु सागिएन
चेद कु जम ते हाराकुवा
खुन्ता डुगुर गअंग मे
झाबा डुगुर गअंग मे
दिला डाहार डुगुर झिगुर
दिला डाहार डुगुर झिगुर पाडुब।

लोभ देखाई घरजम गर्ने र समय बित्दै जाँदा दु : ख जस्ताको तस्तै रहँदाको पीडा यो गीतमा व्यक्त गरिएको पाइन्छ। गीतको भावार्थ यस प्रकारको छ  : 
किनी दिन्छु सुन
सुनको गम्छा कपडा भनेर 
संसार नै सबै बिग्रियो 
सूर्य नै सूर्य ढल्कियो
सूर्य नै सूर्य ढल्कीयो।

पाँच वर्ष नाटक गर्‍यो 
बच्चाहरू वृद्धि भए 
केले खुवाएर हुर्काउनु ?
पाँच वर्ष नाटक गर्‍यो 
बच्चाहरू वृद्धि भए 
केले खुवाएर हुर्काउनु ?
खन्ती डुगुर बोक्नु 
ढाँकी डुगुर बोक्नु 
जौ बाटोमा डुगुर झिगुर 
जौ बाटोमा डुगुर झिगुर निकाल्न।

सन्थाल समाजमा प्रसिद्ध लोकगीतहरू प्रेम र विरही भावका पनि छन्। सन्थाल समाज परम्परागत संस्थाहरू र नियमहरूबाट सञ्चालित अनुशासित समाज हो। यस समाजका कन्याहरूले युवतीहरूले आफ्नो प्रेमविवाह नहुञ्जेलसम्म गोप्य राख्छन्। आफैंभित्र उब्जिएको प्रेमभावसँग कहिलेकाहीँ काउकुती अनुभव गर्छन् र डराउँछन् पनि। उनीहरू कोइली चरीको चिर्बिराहटसँग पनि भयभीत हुन्छन्। कहीँ उनीहरूको प्रेम सञ्चारित नहोस् र समाजमा आफू कलंकित नहोइयोस्। यस्तै भाव झल्किने कोइली चरीको सम्झनाको यो गीत  : 
‘नाले घाडकारे सीसा रारे
दोन आते चियो नालोम रागा। 
निज मिनाज मोर पियो नालान पियोज
कुआँरी मौन पियो डाले–डाले।’

अथवा – हे कोइली चरा ! आँगनमा गुलाबको बोट छ, तिमी त्यसमा उफ्री उफ्री न बोल। जहिलेसम्म म कुमारी हुन्छु, त्यतिबेला सम्म नचिरबिराउनु, किनकि तिम्रो चिरबिराहटबाट मेरो कुमारी मनमा हलचल हुन थाल्छ– विह्वल हुन थाल्छ।
उमाशंकर (सन् १९६६) का अनुसार सन्थाल किशोरीहरू आफ्नो प्रेमीलाई सुँगाको प्रतीक बनाएर सम्झन्छन् र सम्झाउँछन्। प्रेमलाई भरोसा गर्नुपर्छ तर चञ्चल हुनुहुँदैन, अन्यथा सामाजिक नियम भंग हुन सक्छ र वित्यास आइपर्न पनि सक्छ  :  
‘होरेज चालाक् मिस हाँरेम पाञ्जाय
विरेज चालाक् मिस विरेज पाञ्जाय
जाँहाय दुडंप् मिस, तांहांम रागा
नाला किदिज दोम नासुत मिस।’

अथवा, हे सुँगा ! जब म कही जान हिँड्छु, तिमी पछ्याउन थाल्छौ। जंगल जान्छु, त्यहाँ पनि तिमी साथै जान्छौ। जहाँ कहीँ बसे पनि तिमी प्रेमले भरिएका कुरा सुनाउन थाल्छौ। ए घरपालुवा सँुगा ! तिमीले मलाई चञ्चल बनाइदियौ। जब प्रेमी आफ्नो प्रेयसीलाई भुल्छ वा वास्ता गर्दैन, उनलाई दु : ख लाग्छ र विरहिणी बनेर छटपटाउँदै लोकगीतका माध्यमबाट आफ्नो विरहको अभिव्यक्ति दिन्छन्  : 
‘सोनेरो रूप रूपेरो रूप
सोनेरो रूप लेका गातेय मेनाय
गातेज दिस भरे सोना मुन्दोम
गातअङ इहर जिबी दोलो कतिआ।’

अथवा, सुन र रुपैयाँ भन्दा धेरै रूपवान् छन् मेरा प्रेमी, सुनको औंठीले मेरो प्रेमीको याद दिलाउँछ र मेरो मनमा ठेस पुर्‍याउँछ।
सन्थाली समाज अनुशासित र संयमित छ। यस समाजका युवायुवती प्रेम गरे पनि निश्चित समयसम्म कुरेर प्रेमलाई सामाजिक स्वीकृति लिएरमात्र अघि बढ्न दृढ रहेको कुरा पनि लोकगीतहरूमा झल्किन्छ  : 
आम द दुलोडियो गाडाआडी कादाम बुटो धिरिरे
दुगुउकाते चादो दुलोडियम राङकाना चाहिँ दुलोडियो
राडाआ काना
आमसाउ ङयापाम हकु मानाकीदिङ तिसो दुलोडीयो 
इदियाम साउरे दुलोडियो दहहिङमे इङ–२
हापेसे दुलोडियो सोगुन बुंगा फोगुन द तियो उचुवामे दौडो 
चितानरे खै सिदुरामा सुमाझ तालारेखै आपनारमिचा
कुसी दुलोडियो मिनाआताम राहिवार दुलोढियो कुलकुम
दिसिम हड तालाखैगी इदिइङमे आमअ–२

प्रस्तुत लोकगीतमा उत्कृष्ट ढंगले प्रेमभाव अभिव्यक्त गरेको छ। यसको नेपाली भावानुवाद  : 
तिमी चैं मायालु कदम रुखको डुंगामा बसेर
खेल्दैछौ मायालु सूर्य खोल्दैछौ

तिमीसँग भेट्न घरको मान्छेलाई राजी गराई
कहिले लैजान्छौ सँगै राख्न

पर्खिनू साइत– देउता फागुनसम्म पर्खिनू
ठूलो निधारमाथि सिन्दुर लगाउनू, समाजबीचमा आफ्नो बनाउनू
मायालु खुसी छ भने, मायालु, लमी पठाउनू
संसार–मानिसबीचबाट लैजानू।

बि. बास्की (सन् २०१८ : १) भन्छन्, ‘सन्ताल (सन्थाल) हरूका केही शास्त्रीय गीत र विभिन्न स्वरूपका संगीत एवं नृत्यका स्वरूपहरू छन्, जुन सन्तालहरू बसोबास गर्ने सबैतिर उही तरिकाले गाइन्छ र प्रस्तुत गरिन्छ। उनीहरूसँग भएका यी मौखिक परम्परा, गीतहरू, संस्कारहरूले सांस्कृतिक संवद्र्धन र प्रसारणमा महŒवपूर्ण भूमिका खेलेका छन्। कतिपय सांगीतिक धुनहरू भने सन्थालहरूको संस्कृतिमाथि अन्य समुदायको प्रभाव स्वरूप सामान्य रूप परिर्वतन पनि भएको पाइन्छ।’ तर, वाद्ययन्त्र र आधारभूत सांगीतिक स्वरूप भने मौलिक र शताब्दिऔं अघिको झैं यथास्वरूपमा रहेको पाइन्छ।

बास्की (सन् २०१८ : १) का अनुसार, ‘सन्थालीहरूको सांस्कृतिक जीवन सामुदायिक, एकीकृत, मौलिक र समन्वयात्मक रहेको छ भने

आधुनिक जीवनले व्यक्तिगत हित, स्वतन्त्रता र प्रगतिमा जोड दिन्छ। त्यसैगरी, प्रजातान्त्रिक अभ्यासका दृष्टिले सन्थालहरू समुदायमा छलफलद्वारा सर्वसम्मत निर्णयहरू लिने गर्छन् भने आधुनिक अभ्यासमा निर्वाचन प्रणाली अभ्यास गरिन्छ।’
सन्थाल जस्ता सिमान्तकृत समुदायको प्रजातान्त्रिक अधिकार शक्ति र सत्तामा आधिपत्य जमाएका वर्गले खुम्च्याउँछन्। पछिल्लो समयमा स्वतन्त्रताभन्दा पनि पैसा र बलजफ्तीबाट अधिकार कुण्ठित पार्ने अभ्यास आधुनिक समाजमा बढ्दो छ, जुन चिन्ताको विषय छ।
सन्थाल वर्तमानको यथार्थमा जिउने, शारीरिक श्रम गर्ने, कम प्रतिस्पर्धी हुने, पैसा थुपार्ने लोभ नभएको परम्परागत जीवनशैली र सोचमा जिएको छ। आधुनिक समाजले भने प्रतिस्पर्धी भावबाट सफलता प्राप्त गर्ने र श्रमबाट बचत र पुँजी जम्मा गर्ने अभ्यास गर्दछ।

सन्थाल बालबालिकाहरू थोरै सामाजिक नियम र बन्धनबीच स्वतन्त्र रूपमा हुर्किन्छन्। थोरै आवश्यकता र सामग्रीबीच उनीहरू सन्तुष्ट हुन्छन् तर आधुनिक भनिएको समाजमा बालबालिकालाई अनुशासन र औपचारिक जीवन पद्धतिबाट हुर्काइन्छ । आधुनिक सुविधाहरूबाट अधिकतम लाभ लिन सिकाइन्छ।

महिलाहरूको स्वतन्त्रताका विषयमा पनि सन्थाल समाज पृथक् छ। महिलाहरू आफ्नो साथी–श्रीमान् छान्न स्वतन्त्र छन्, अविवाहित जोडीले पनि सँगै बस्ने र रीत पुर्‍याएर बालबच्चा जन्माउन सक्छन्। तर मूल प्रवाह भनिएका अन्य जातीय समूहहरूको परम्परागत जीवनसँग तुलना गर्दा त्यहाँका महिलाहरू धेरै सांस्कृतिक सीमाहरूभित्र खुम्चिएका पाइन्छन्। सन्थालहरूमा जातिप्रथा र दाइजोप्रथा छैन। त्यसैगरी, सामाजिक विभेद पनि नभएको बास्की (सन् २०१८) बताउँछन्।

सन्थालहरूको नियमित जिन्दगीको अभिन्न अंगका रूपमा रस्का (जीवनको आनन्द)को अभ्यास रहेको पाइन्छ। उनीहरू आफ्ना हरेक क्रियाकलापहरू आनन्दका साथ मनोरञ्जन र खुसीका साथ गर्छन्। तर आधुनिक विकसित समाजको अनुशासनमा यस्तो अभावलाई सहजै स्वीकारिँदैन। सन्थालीहरूको विश्व दृष्टिकोण प्राकृतिक र विश्वासमा आधारित छ तर आधुनिक विकासको विश्व दृष्टिकोण भने कारण, विवेक, परिणाम र तथ्यमा आधारित छ।

सन्थाली दैनिक जीवन र मूल्य प्रणाली गहिरोसँग प्रकृतिसँग जोडिएको पाइन्छ। उनीहरू प्रकृति, मानव र ईश्वर एकआपसमा जोडिएका छन्। सन्थालहरूले पूजा गर्ने देवदेवी प्रकृतिमै बस्छन् भन्ने विश्वास उनीहरूमा रहेको पाइन्छ। उनीहरूको गीत, लोककथा र इतिहास वन, नदी र पहाडसँग जोडिएका छन्। तर आधुनिक विकास प्राय :  प्राकृतिक स्रोत र संशाधनको चरम शोषण र प्रयोगबाट गरिएको छ।
यसरी हेर्दा आधुनिक विकास र सन्थाली परम्परागत जीवनको बीचको सम्बन्ध विपरीत र द्वन्द्वात्मक रहेको पाइन्छ। सन्थालीहरूको विश्व दृष्टिकोण, प्राकृतिक जीवन, कथा, गाथा, परम्परा, लोकविश्वास र अभ्यासहरू उनीहरूका लोकगीतहरूमा प्रशस्त मात्रामा आएका छन्। तर आधुनिकतासँगको द्वन्द्वले यिनको मौलिकता, अभ्यास र मौलिकताको निरन्तरतामा प्रश्न उठेको अवस्था आएको छ।

शिक्षाको सही प्रणाली र प्रयोगबाट सांस्कृतिक संरक्षण, रूपान्तरण र आधुनिकतातर्फको यात्रालाई कम पीडादायी र कम क्षति पुर्‍याउने बनाउन सहयोग गर्न सक्छ। यसमा सन्थालहरूको संस्कृतिको भित्री तथ्य, आयाम र जटिलता बुझ्न र सही ढंगले सम्बोधन गर्नुपर्ने हुन्छ। सन्थाल संस्कृतिलाई सही ढंगले राम्ररी बुझेपछि यो संस्कृतिको विभिन्न आयाम, मूल्य मान्यता र जटिलतालाई परिपक्व ढंगले अन्तर्बोध हुन्छ। तत्पश्चात् बहुसांस्कृतिक समाजमा एक खास संस्कृतिको स्थानको खोजी र अन्तक्र्रिया गर्दै पहिचानसहित राष्ट्रिय संस्कृतिको अंगका रूपमा स्थापित हुन सकिन्छ।

सन्थाली लोकगीतहरूलाई विश्लेषण गर्दा अनेकौं भाव र सन्दर्भका गीतहरू प्रचलनमा रहेको पाइन्छ। सन्थाली समाजका सदस्यहरूसँग अन्तक्र्रिया र अन्तर्वार्ता गर्दा त्यो समाजमा सधैं गाउने प्रचलनमा रहेका लोकगीतहरू पनि रहेका पाइन्छन्। उदाहरणका लागि निम्न गीतलाई यस वर्गमा राख्न सकिन्छ–
कडकाई नेइङ गिदोरे इङद आमाआ दाुलोडरे–२
आमाआ मुलुई लान्दारे कुहु चेडे आडाङ रे

कुवल बिनाउ काडा कुदोल बिनाउ टाडा हेरमे दिपिल
कुडी दा आ लुथाम लुँगी पेन्ची बादिअ मजेम डेलोआम

मुलुई लादा साउ दाआत लुइमेसे तिताङ जिवी आस 
दुलोड इमेङमे–२
मने चालाउमे जिदो सोरी सोरी गी दुलोड मिङरे
जिवी सुमाङरे–२
कंकल बिनाउ काडा कुदोल बिनाउ डाडा हेरमे दिपिल
कुडी दाआ लुभाम लुंगी पेन्ची वादिअ मजेम डेलोआम

मायामा एकोहोरो भएको एक व्यक्तिको मनोभाव यो गीतमा व्यक्त भएको छ। लोकगीतको नेपाली अनुवाद  : 
पागल भएँ बहिनी रे म चाहिँ तिम्रो मायामा
हाँस्दाको मुस्कानले, बोल्दाको चरीको झंै स्वरले।

कुमालेले गाग्रो बनाउनु कमलोसँग कम्मर च्याप्नू
केटीले लुंगीपेन्ची लगाएर राम्री भई पानी भर्नू।

मुस्काएर हासेर तिर्खा भेटिने गरी पानी दिनू
मन राख्नु माया दिनू साँच्चै माया दिन्छु शीरभरि।

खासगरी आद्य भावका लोकगीतहरू, दैनिक जनजीवनका र कलाकृतिका लोकगीतहरू बाह्रैमास प्रस्तुत गरिने लोकगीतमा पर्छन्।
झापा, मोरङ र सुनसरीमा मूल बासस्थान रहेको सन्थालहरूको जनसंख्या राष्ट्रिय तथ्यांक कार्यालय (२०७८) का अनुसार ५७,३१० (०.२ प्रतिशत) र सन्थाली भाषीको संख्या ५३,६७७ (०.१८) रहेको छ। सन्थाली लोकगीतलाई गायन समय, विषयवस्तु, प्रस्तुत गरिने अवसर, भाव लादिका आधारमा मूल वर्ग र तीभित्र पनि विभिन्न उपवर्गमा वर्गीकृत गरेर अध्ययन गर्न सकिन्छ।

सन्थालहरूको भाषा, परम्परा र संस्कृति मौलिक हुँदाहुँदै पनि यसको संरक्षणमा चुनौती देखिएको अनुभव सन्थालहरू स्वयंले गरेका छन्। यसका कारणमध्ये गरिबी, अशिक्षा र धर्म परिवर्तनलाई मूलरूपमा लिइएको छ। मूलरूपमा हिन्दु धर्मावलम्बी सन्थालहरूको मौलिक संस्कृति पनि हिन्दु धर्ममा आधारित भएको र हालसम्म करिब १ चौथाइ सन्थालहरूले हिन्दु धर्म त्यागी क्रिस्चियन धर्म अपनाएकाले मौलिक संस्कृति जोगाउन चुनौती आएको सन्थाल अगुवाहरू बताउँछन् (शनि–अर्जुन सन्थाल समाज, झापाका अध्यक्ष मोहन हेमरमसँग र नेपाल सन्थाल विकास संघ, झापाका अध्यक्ष बडाराम हेमरमसँग  २०७२ पुस ४ मा गरेको कुराकानीमा आधारित)।

निश्चय नै सन्थाल लोकगीतको संरक्षण र संवद्र्धनमा चुनौतीहरू छन्। तर यी चुनौतीहरू सामना गर्नै नसकिने भने होइनन्। यस्ता चुनौतीहरूको सामना गर्न उनीहरूलाई गुणस्तरीय शिक्षाको अवसर, गीतसंगीत र नाचसम्बन्धी तालिम र जागरणका लागि बृहत् अभियान नै चाहिएको सन्थाल अगुवाहरू स्वयं बताउँछन् (उर्लाबारी मोरङका सन्थाल अभियन्ता बुद्धिलाल सोरेनसँग र नेपाल सन्थाल विकास संघ, झापाका अध्यक्ष बडाराम हेमरमसँग र झापा राजगढ निवासी शिव मुर्मुसँग २०७८ पुस अन्तिम सातामा झापाको बाह्रदशीमा गरेको कुराकानीमा आधारित। सोही सन्दर्भमा झापा अर्नुनधारा निवासी सजनी हेमरमसँग २०७८ पुस अन्तिम सातामा झापाको शनिश्चरेमा अन्तर्वार्ता गरिएको थियो)। सहभागीहरूसँग लिइएको विस्तृत अन्तर्वार्ताका क्रममा प्राय :  सबैको समान धारणा पाइएको थियो।

नयाँ पुस्ताको लागि संगीत विद्यालय सञ्चालन गर्ने, सन्थाली धुनहरूलाई नोटेसनमा अभिलेखन गर्ने कार्य, बाजागाजा निर्माण, मर्मत र सामग्री खरिद गर्न मद्दत गर्ने गीतहरूको रेकर्डिङ व्यवस्था मिलाउने आदि कदमबाट सन्थाली लोकगीत संगीतहरूको संरक्षण गर्न सकिन्छ।

(लोकगीतका स्रोतहरू  :  सनामनी हाँस्दा, हपनमाई हाँस्दा, बुदिन मुर्मु, लुखी मुर्मु र शिवु मुर्मु, मेनुका मर्डी र मोहन हेमरम तथा सन्थालीबाट नेपालीमा भावानुवाद :  शिवु मुर्मु)।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.