तरकारी खेतीबाट नाम र दाम दुवै

तरकारी खेतीबाट नाम र दाम दुवै
सुन्नुहोस्

गलकोट (बागलुङ) : कुनै समय निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने बागलुङ नगरपालिका-९ तित्याङका पदम खत्री यतिबेला तरकारी खेतीमा रमाइरहेका छन्। 

तरकारी खेतीबाटै स्वरोजगार बनेका उनले जिल्लामा उत्कृष्ट किसानका रूपमा सम्मान समेत पाइसकेका छन्। कृषि ज्ञान केन्द्र बागलुङले खत्रीलाई गत धान दिवसमा उत्कृष्ट किसानका रूपमा नगदसहित सम्मान गरेको थियो। घर निर्माण लगायतका काममा मजदुरी गर्ने उनी १५ वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय छन्। २०६६ सालमा एउटा प्लाष्टिक टनेलबाट तरकारी खेती सुरु गरेका खत्री यतिबेला जिल्लाकै सफल किसानका रुपमा परिचित छन्। उनले अहिले १८ रोपनी जग्गामा तरकारी खेती गरिरहेका छन्। उनीसँग फर्ममा आठ वटा साना र ठूला प्लाष्टिक टनेल छन्। अधिकांश दौतरीहरू पैसा कमाउन विदेश पलायन भए पनि खत्री भने तरकारी खेतीमै सक्रिय छन्। 

तरकारी खेतीबाट नाम र दाम दुवै हुन थालेपछि विदेश जाने योजना कहिल्यै नबनेको उनले सुनाए। ‘तरकारी खेतीबाटै वार्षिक १० देखि १२ लाख रुपैयाँसम्म आम्दानी भइरहेको छ’, उनले भने, ‘तरकारी खेतीबाटै नाम र दाम हुन थालेपछि विदेश जानुपर्ने बाध्यता कहिल्यै आएन।’ उनले तरकारी खेतीबाटै परिवारको खर्च, बालबच्चाको पालनपोषण भइरहेको बताए। 

उनले हालसम्म एक दर्जनभन्दा बढी संस्थाबाट प्रोत्साहनस्वरुप पुरस्कार प्राप्त गरिसकेका छन्। ‘एक रोपनी जग्गाबाट सुरु भएको तरकारी खेती अहिले १८ रोपनीमा पुगेको छ। अहिले दाम मात्रै हैन नाम समेत कमाउन थालेको छु, पहिला वडामा मात्रै कृषक भनेर चिन्थे अहिले जिल्लाभर कृषकको परिचय फेरिएको छ’, उनले भने, ‘पाँच रोपनी आफ्नै र अन्य जग्गा भाडामा लिएर तरकारी उत्पादन गर्दै आएको छु।’

अहिले खत्रीको टनेलमा टमाटर, सिमी, काक्रो, काउली, बन्दालगायतका तरकारी उत्पादन भइरहेका छन्। खत्रीले बेमौसमी तरकारी तथा खुला जग्गामा मौसमी तरकारी खेती गरिरहेका छन्। आठ वटा प्लाष्टिक टनेलमध्ये दुई वटा हाइटेक टनेल र अन्य परम्परागत टनेल रहेको बताउँदै खत्रीले नगरपालिकाको तरकारी खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत आधुनिक टर्नेल निर्माण भइरहको जानकारी दिए। 

खत्री एग्रो फार्ममा हालसम्म १२ लाख रुपैयाँ लगानी गरिसकेका छन्। उनले कृषि ज्ञान केन्द्रबाट प्लाष्टिक टनेल निर्माण र बिउ बिजनमा सहयोग प्राप्त भइरहेको जानकारी दिए। हाल उनले तरकारी खेतीसँगै ब्रोइलर कुखुरा र भेडापालन पनि गर्नुभएको छ। उनले एक जनालाई प्रत्यक्ष रोजगारी समेत दिएका छन्। रासस
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.