तातोपानी भन्सारले संकलन गर्‍यो १३ अर्ब ३६ करोड राजश्व

तातोपानी भन्सारले संकलन गर्‍यो १३ अर्ब ३६ करोड राजश्व
सुन्नुहोस्

सिन्धुपाल्चोक : तातोपानी भन्सार कार्यालयले आर्थिक वर्षमा २०८०/८१ मा १३ अर्ब ३६ करोड रुपैयाँ राजश्व संकलन गरेको छ। भन्सार कार्यालयले राखेको लक्ष्य भन्दा ५ अर्ब रुपैयाँ बढी राजस्व संकलन भएको तातोपानी भन्सार कार्यालयका भन्सार प्रमुख अधिकृत दयानन्द केसीले बताए।

तातोपानी भन्सार कार्यालयले यो आर्थिक वर्षमा ८ अर्ब ४२ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो। राजश्व संकलन बढ्नुमा चीनबाट सामान आयात, मापदण्डको पालना, व्यापारी, व्यवसायीलाई प्रशिक्षण, भन्सारले अवलम्बन गरेको शीघ्र जाँचपास प्रणाली, चुस्त दुरुस्त सेवा लगायतका कारण भएको भन्सार प्रमुख केसीले बताए। 

विद्युतीय सामग्री, तयारी पोशाक र विद्युतीय यातायातबाट सबैभन्दा बढी राजश्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ। गत जेठसम्म तातोपानी नाकाबाट विद्युतीय गाडीहरूको आयात धेरै भएको थियो। जसले गर्दा राजश्वमा उल्लेख्य वृद्धि भएको हो। ‘इभीका साथै चिनियाँ सामान ठूलो परिमाणमा भित्रिएकाले राजस्व सोचेभन्दा निक्कै उठेको हो’, केसीले भने– ‘यसको अलवा मेशिनरी, तयारी कपडा तथा स्याउलगायत वस्तु आयातबाट पनि राम्रो राजश्व संकलन भयो।’ 

बजेट पछि भने नाकाबाट गाडीको आयात घट्न थालेको र राजश्व संकलन पनि कम हुँदै गएको उनले बताए। चालु आर्थिक वर्षमा २०८१/८२ मा तातोपानी भन्सार कार्यालयले २० अर्ब रुपैयाँको राजश्व संकलन गर्ने लक्ष्य राखेको केसीले बताए। सडकको कारणले केही समस्या देखिएकोले त्यसप्रति सरकारको ध्यान जानुपर्ने उनको भनाइ छ।

तातोपानी नाकाबाट स्याउ, सुन्तला, किबी, ड्रागनफ्रुट लगायत फलफूलका साथै तयारी कपडा, जुत्ता, विद्युतीय उपकरण आयात हुँदै आएको छ। आयातमा वृद्धि भएपनि निर्यात भने अझै हुन नसकेको भन्सार कार्यालयले जनाएको छ। ‘आयात भएपनि निर्यात हुन सकेको छैन, यो चाहिँ दुःखद कुरा हो। यसको लागि सरकारले उच्चस्तरीय पहल गर्नुपर्ने देखिन्छ’, उनले भने।

सामान्य मानिसहरू पनि खासासम्म जान पाउने र किनमेल गर्न पाउने अवस्था हुने हो भने राजश्व संकलन झन बढ्ने व्यवसायीहरू बताउँछन्। ‘अहिले पहिलाको तुलनामा नाकामा सुधार आएको छ। सामग्री पनि ७/८ दिनमै तातोपानी आइपुग्छ’, सामग्री ढुवानीकर्ता ट्रान्स सिल्क टरमिनल्स प्रा.लि.का विजय शेर्पाले भने– ‘नेपालतर्फको सडकलाई सुविधायुक्त हुने हो भने यो नाकाबाट झन् बढी व्यापार हुने र राजश्व संकलन बढ्ने देखिन्छ।’

अहिले चीन सरकारले स्वशासित तिब्बतको न्यालम जिल्लाअन्तर्गत रहेको खासा बजार (जाङ्मु पोर्ट) लाई मिनी सहरका रूपमा विकास गर्न थालेका कारण छिट्टै आयात निर्यात सहज हुने भोटेकोशी चेम्बर अफ कमर्सका अध्यक्ष फुनु शेर्पाले बताए। ‘पहिलाको खासा भन्सारभन्दा मुनिबाट रमिते बजारको तल्लो क्षेत्रमा दुई सय ७० मिटर लामो जाङ्मु पुल बन्दै छ। पहिला रहेको भ्यान पार्किङ हुँदै खासा सहरको तलबाट ट्रक तथा कन्टेनर कुद्ने सडक निर्माण भइरहेको छ’, उनले भने– ‘खासा क्षेत्र व्यवस्थित हुँदा आयात निर्यातमा सहजता हुनेछ।’


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.