दोस्रो सर्किट ब्रेकपछि सम्हालियो सेयर बजार
काठमाडौं : दोस्रो सर्किट ब्रेकपछि सेयर बजार सम्हालिएको छ। बजार खुलेको पहिलो १ मिनेट ३० सिकेण्डमा नै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि सर्किट लागेर २० मिनेटका लागि सेयर कारोबार बन्द भएको थियो।
त्यसपछि दोस्रो कारोबार सुरू भएलगत्तै दोस्रो सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको हो। दोस्रो सर्किट लाग्दा नेप्से परिसूचक १२९.०७ अंकले बढेर २६९१.२१ विन्दुमा पुगेको थियो।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २६३०.२१ विन्दुमा कायम भएको छ। कारोबारमा आएका ८८ वटा स्टकको मूल्य बढेको छ भने १४९ वटाको घटेको छ।
कारोबार सुरू भएको पहिलो घण्टा अर्थात् ११ देखि १२ बजेको बीचमा ४ प्रतिशत,दोस्रो घण्टा अर्थान १२ देखि १ बजेको बीचमा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले बढे वा घटेमा सर्किट ब्रेक लाग्ने व्यवस्था छ।
मौद्रिक नीतिपछि सेयर बजारमा पहिलो पटक सकारात्मक सर्किट लागेको हो।
नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको थियो। राष्ट्र बैंकले संस्थागत लगानीकर्ताहरूका लागि बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान २० करोड रुपैयाँको सीमा खारेज गरिदिएको छ। यसबाट सेयर लगानीकर्ताहरू भने उत्साहित भएका छन्।