नवलपरासीमा सुतेकै अवस्थामा एकजनाको हत्या
परासी : नवलपरासीमा सोमबार बिहान एकजनाको हत्या भएको छ । पाल्हीनन्दन गाउँपालिका–५ हर्दी बस्ने २० वर्षीय सूर्य कुमार भनिने रोशन कुमार बढईको धारिलो हतियार प्रयोग गरी हत्या भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले बताए ।
आफ्नै घरमा सुतिरहेका बढईको घाँटी रेटेर हत्या गरिएको डीएसपी बोहराले बताए । बढई आफ्ना भाइसँगै कोठामा सुतेका थिए । ढोका खुला राखेर सुतेका बढईको हत्याको समयमा भाइले थाहा नपाएको बताइएको छ ।
घ्यारघ्यार आवाज सुनेपछि सँगै सुतेका भाइले अर्को कोठामा सुतेका परिवारलाई खबर गरेका थिए । घरमा हजुरबुबा,हजुरआमा र मृतककी आमा थिइन् । परिवारजनले बत्ती बालेर हेर्दा घाँटी काटेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उनको केही बेरमै घरमै मृत्यु भएको बताइएको छ । बिहान ५ बजे खबर गरेका कारण हत्या ४ देखि साढे ४ को बीचमा भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उनलाई के कति कारणले हत्या गरियो भन्नेबारे अनुसन्धान भइरहेको डीएसपी बोहराले बताए ।