राजनीतिक ‘ह्याङओभर’ कहिलेसम्म ?

राजनीतिक ‘ह्याङओभर’ कहिलेसम्म ?

सर्वसाधारण नागरिक मुठीभरका शासकहरूकै गुलामी गर्नुपर्ने बाध्यताले ग्रसित छन्। लोकतन्त्रमा यो दृश्य सबैभन्दा दुःखद् छ।

मुलुकको सबैभन्दा ठूलो प्रतिस्पर्धी राजनीतिक दल कांग्रेस र एमाले मिलेर ओलीको नेतृत्वमा गठन भएको नयाँ सरकारले गति बढाएको छ। कांग्रेस–एमाले बीचमा भएको यो सत्ता सहकार्य पहिलोपटक भने होइन। यसअघि पटक–पटक सहकार्य भएको छ। संसारमा कहीँ पनि नभएको परिघटना नेपालमै हुने गरेको पनि सर्वविदितै छ। जहाँ सत्तापक्ष र प्रतिपक्षको कुनै अर्थ छैन। जुन देशमा प्रतिस्पर्धी दल हुँदैन, त्यो देशको हालत कस्तो हुन्छ भन्ने कुरा नजिकबाट भोगिरहेका छौं।

प्रतिस्पर्धीविहीन राजनीतिक अभ्यासले लोकतन्त्रको मूलमर्मलाई नै सखाप गर्छन् भन्ने कुराको हामी भुक्तभोगी छौं। यो प्रदूषित कार्यले देश, जनता र शासकलाई समेत भलो गर्दैन भन्ने कुरा पनि जानेबुझेकै छौं। तर, हामी फेरि त्यही कार्य किन गरिरहेका हुन्छौं ? दोस्रो प्रतिस्पर्धाको नाममा प्रतिशोधको राजनीतिक अभ्यासले पनि देश लामो समयदेखि दुरवस्था भोगिरहेको छ। र, यहाँको राजनीतिक अवस्था गिर्दो र लाजमर्दाे अवस्थामा पुगेको छ। यसखाले राजनीतिक प्रवृत्तिले एउटा व्यक्ति बन्न सक्छ। एउटा शासक पनि बन्न, बनाउन सकिन्छ। तर, सिंगो देश र असल नागरिक बनाउन सकिँदैन। यसखाले राजनीतिक ह्याङओभरबाट हाम्रो देश, समाज र राजनीतिक दल कहिले मुक्त होलान् ?

हामी देश र समाजको विकास र समृद्धिका लागि राजनीति गर्छौं। राजनीतिक दल खोल्छौं। संघर्ष गर्छौं। बलिदान दिन्छौं। तर, जब सत्ता शक्तिमा पुग्छौं, त्यसपछि हामी ती सारा विषयलाई किनारामा राखेर निहित स्वार्थ पूरा गर्ने बाटोमा अग्रसर हुन थाल्छौं। यो गलत राजनीतिक कार्य, अभ्यास र प्रतिस्पर्धाले पछिल्लोपटक दलहरूलाई नागरिकले निर्वाचनमा सोही खालको मिश्रित जनमत दिन थालेका छन्। र, सबैजना मिलेर देश निर्माण गर भनेर ‘म्यान्डेट’ दिन थालेका छन्। 

हरेक राजनीतिक दललाई नागरिकले आशा र भरोसा गरे। त्यसैले सुरुवातीमा उनीहरूलाई र उनीहरूको संघर्ष अनि योगदानलाई मर्मबोध गरे। त्यही भएर केही गर्न सक्ने ऊर्जाशील अवस्थामा दुईतिहाइभन्दा बढी बहुमत दिएर सत्ता सरकारमा पठाएकै हुन्। तर, उनीहरूले त्यो जनमतलाई बुझ्न नसक्दा आज दलहरूले आफ्नो राजनीतिक भिख माग्ने अवस्थामै सीमित हुन पुगेका छन्। दलहरू पनि गलत राजनीतिक आहालमा पौडिन बाध्य छन्। उनीहरू आफूलाई बदल्न सकिरहेका छैनन्।

जनताको भावनामाथि खेलबाड भएपछि शासकहरूको पनि मनोदशा बिग्रनु स्वाभाविक हुन्छ। जब शासकको मनोदशा बिग्रिन्छ, तब देशको भविष्य उँभो लाग्न सक्दैन। आज नागरिकले आफ्नो एउटा पनि आधारभूत आवश्यकतामाथि गर्व गर्न सक्ने अवस्था छैन। राजनीतिक दल र शासकहरूको कारण नागरिकका आधारभूत आवश्यकतामाथि यति धेरै खेलबाड र व्यापार भएको छ कि नागरिक सहनै नसक्ने अवस्थामा पुगेका छन्। हरेक नागरिकले आफ्नो गाँस, बास, कपास तथा स्वास्थ्य, शिक्षा, रोजगार र सुरक्षामा यति धेरै समस्या भोगिरहेका छन् कि उनीहरूको श्रम र सम्पत्ति, जीवन र जगत्समेत नसोचिँदो तरिकाले सकिँदै गएको छ। राज्यबाट युगसापेक्ष सुविधा पाउन सकेको छैन।

बरु राज्यले उल्टो पाइलैपिच्छे ढाड सेक्ने गरी कर र जीवन ध्वस्त हुने गरी कानुनी झमेला थोपर्दै आएको छ। जसले गर्दा सर्वसाधारण नागरिक मुठीभरका शासकहरूकै गुलामी गर्नुपर्ने बाध्यताले ग्रसित छन्। लोकतन्त्रमा यो दृश्य सबैभन्दा दुःखद् छ। आज देशले हरेक राजनीतिक दल र शासकहरूको नारी छामिसकेको अवस्था छ। 

एउटा असल राष्ट्रपिताको खोजीमा केही समयका लागि फेरि पनि उनीहरूलाई न‌ै मिश्रित जनमत दिन मजबुर छन्। उनीहरूको समानखाले राजनीतिक हैसियतले समान हिसाबमा देश चलाउने आदेश पाएका छन्। तर, उनीहरू यो कुरा बुझ्न सकेको छैन। अझै पनि आफ्नै राजनीतिक नशाको अहंमा बाँचिरहेका छन्। र, बाँच्न खोजिरहेका छन्, जो दुर्भाग्यपूर्ण छन्। यसले दलहरू पनि कालान्तरमा कमजोर हुने र सकिने हुन्छ। सच्चिने हुँदैन। र, ‘ग्लोबलाइजेसन’ले देश पनि सकाउने हुन्छ।

तीन करोड जनसंख्या भएको देशमा यदि यहाँका राजनीतिक दल र शासकहरू असल भइदिएको भए यहाँको विकास र समृद्धिका लागि ३० वर्षको समय काफी छ। तर, यहाँ जसले देश र समाज बिगारेको छ। यहाँसम्म पुर्‍याएको उनीहरूकै कब्जामा अझै पनि देश र यहाँको सामाजिक धरातल बन्धक छन्। जसले गर्दा यो विषय कुरामै सीमित हुँदै आएको छ। र, ७५ वर्षदेखि मुलुकले सामाजिक, राजनीतिक र आर्थिक अस्थिरता भोग्दै आएको छ। र, आपत्कालीन अवस्थामा हामीले राहत दिने देशहरू यतिबेला हामीलाई राहत र अनुदान दिने ठाउँमा पुगेका छन्।

समाजमा हिजो एउटा कुनै व्यक्तिलाई तपाईंले आफ्नो जमिनमा काम दिएर रोजगार दिनुभएको थियो तर आज तपाईं त्यो अवस्थामा पुगेर उनीसँग रोजगार माग्नुपर्ने अवस्था आयो भने तपाईंको मन कस्तो हुन्छ ? हो, हाम्रो मुलुकको दुर्दशा त्यस्तै भएको छ। हामी हरेक नागरिकको एकपटक आफ्नो मुटुमा हात राखेर यो कुरा सोच्नेबेला आएको छ। र, राजनीतिक दल र शासकहरूलाई फेर्ने, बदल्ने र सच्याउने दिन आएको छ। यदि हामीले बेलैमा सच्याउन र बदल्न सकेनौं भने हाम्रो सात पुस्ताले यो दुःख र दुर्दशा भोगिरहनेछन्।

यसर्थ, हामी तीन करोड नागरिक सचेत भएर सोचौं। नागरिकभन्दा अगाडि देश चलाउने राजनीतिक दल र शासनले सोचौं। हरेक निकायका शासक अनि प्रशासन एवं प्रहरी प्रशासन सबै सोचौं। एउटा मात्र सच्चिएर केही हुनेबाला छैन। त्यो भनेको एउटा शरीरको अंग राम्रो भएर सिंगो शरीर रोगबाट ग्रसित भए जस्तै हो। यसले कुनै अर्थ परिवर्तनमा राख्दैन। परिवर्तन भनेको समूल रूपमा परिवर्तन हुनुपर्छ। एउटा अंशको परिवर्तनले समग्रताको बोध गर्न र गराउन सकिँदैन।

हामीले देश र समाज परिवर्तनका लागि पहिला निहित स्वार्थलाई तिलाञ्जली दिन साहस गर्नुपर्छ। दलभित्र पूर्ण समावेशी प्रतिनिधि र आन्तरिक लोकतन्त्रको मजबुत गर्न सक्नुपर्छ। राज्यको हरेक क्षेत्र र निकायमा रहेका सबैखाले विकृति, विसंगति, बेथिति र भ्रष्टाचारलगायतका समस्याको समाधानका लागि संविधान संशोधन वा पुनर्लेखन, राज्यको नयाँ ढंगले पुनर्संरचना र जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखलगायतका सबाल आजको आवश्यकता हो। जसले मात्र मुलुकको गलत राजनीतिक ह्याङओभरबाट 
मुक्त गर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.