सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने
धनगढी : असार २० गते नै अल्पमतमा परेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले साउन १८ गते विश्वासको मत लिने भएका छन् । बुधबार उनले सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै साउन १८ गते विश्वासको मत लिने जानकारी गराएका हुन् ।
सुदूरपश्चिम प्रदेशसभा सचिवालयले शुक्रबार ४ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि प्रदेश सभा सदस्यहरूलाई सूचना पनि पठाइसकेको छ । ‘आजै मुख्यमन्त्री ज्युको पत्र आएको थियो,शुक्रबार ४ बजे विश्वासको मतका लागि संसद बैठक बस्ने सूचना भइसकेको छ,'सभामुख भण्डारीले भने ।
असार २० गते नेकपा एमालेले सोडारी सरकारको समर्थन फिर्ता लिएपछि उनी अल्मतमा परेका थिए । उनले विश्वासको मत लिने अन्तिम दिन अथवा साउन १८ गते विश्वासको मत लिन लागेका हुन् । सोडारी त्यतिबेला एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नाउपाका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा मुख्यमन्त्री भएका थिए । तर, केन्द्रमा नयाँ गटबन्धन बनेसँगै एमालेले असारको २० गते उनलाई दिएको समर्थन फिर्ता लिएको लिदै आफ्ना तीनजना मन्त्रीहरू पनि फिर्ता बोलाएको थियो ।
विश्वासको मत मागेपनि सोडारीले पाउने सम्भावना भने छैन । अहिले कांग्रेस र एमालेको गठबन्धन भएकाले यी दुई दलको मात्रै बहुमत पुग्छ । अझ रेशम पक्षका नाउपाका सदस्यहरूले पनि नयाँ सरकारलाई समर्थन गर्ने संकेत देखाएका छन् । सुदूरपश्चिम प्रदेशसभामा २७ सिट बहुमत हो ।