कोशीमा उद्यमशीलता र रोजगारमूलक कार्यक्रम गर्ने समझदारी
विराटनगर : कोशी प्रदेशमा विभिन्न उद्यमशीलता र रोजगार मूलक कार्यक्रम गर्ने समझदारी बिहीबार भएको छ। निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौं र कोशी प्रदेश सरकारबीच द्विपक्षीय सम्झौता भएको हो।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरे र मुख्यमन्त्री कार्यलयका उपसचिव अर्जुनकुमार निरौलाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
समझदारीपछि कोशी प्रदेशका सर्वसाधारण नागरिकमा उद्यमशीलताको विकास र रोजगार सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। नागरिकलाई सर्वसुलभ कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहित गर्ने समझदारी पत्रमा उल्लेख्य छ। हस्ताक्षर कार्यक्रममा मुख्यमन्त्री कार्कीले यो समझदारीले प्रदेशमा रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
अब प्रदेश नयाँ समझदारीका साथ अघि बढ्दा विकास र रोजगारीमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरेका छन्। प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले नागरिकका अपेक्षा पूरा गर्न समझदारीले सहयोग पुग्ने बताए। आगामी दिनमा प्रदेशमा नयाँ काम गर्न सहज हुने उनको भनाइ छ।
कोषका कार्यकारी अधिकृत घिमिरेले कोशी प्रदेशमा युवा रोजगार, घरेलु उद्योग विकास र उद्यमशीलताको विस्तारमा समझदारीले नयाँ ढोका खोलेको बताए। मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डाक्टर मोहन सुवेदीले कोशी प्रदेशमा करिब १ हजार रोजगारी सिर्जना गर्ने गरी समझदारी गरिएको जानकारी दिए।
रोजगारी सिर्जनाका लागि चाँडै नै मन्त्रालय तहमा समझदारी गरेर अघि बढ्ने उनको भनाइ छ। प्रदेशमा १२ कक्षा उत्तीर्ण भएका करिब १ हजार जनालाई तालिम दिएर यसै वर्ष अनलाइन रोजगारी दिने प्रदेश सरकारको तयारी छ।