सेयर बजारमा करेक्सन, २१ अर्ब ७१ करोडको कारोबार
काठमाडौं : सेयर कारोबार साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार ६४.२५ अंकले बढेको नेप्से यसदिन ५.२९ अंकले घटेर २७५५.६२ विन्दुमा पुगेर बन्द भएको छ। नेप्से घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ।
यसदिन ३३२ स्क्रिप्सको ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता सेयर २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार ७ रुपैयाँमा खरिदबिक्री भए। बुधबार २१ अर्ब ९१ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
यसदिन पाँचवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भए। हाइड्रोइलेक्ट्रोसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट, नेपाल हाइड्रो डेभलपमेन्ट,शुभम् पावर,सिटी होटल र कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो।
पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर ९.१३ प्रतिशतले घट्यो। ५९ करोड ७५ लाख मूल्य बराबरको सेयर कारोबार गरी हिमालयन रिइन्स्योरेन्सले शीर्ष स्थानमा रह्यो।
यसैगरी शिवम् सिमेन्टको ४३ करोड,सीईडीबी हाइड्रोपावरको ४२ करोड, नेपाल फाइनान्सको ४१ करोड ६७ लाख र नेपाल इन्फ्रास्टक्चर बैंकको ४१ करोड ४२ लाख मूल्य बराबरको सेयर कारोबार भयो।
आज कारोबारमा आएका ७४ स्टकको मूल्य बढ्दा १६४ वटाको मूल्य घट्यो। ३ स्टकको मूल्य भने स्थिर रह्यो। ६ वटा समूहको उपसूचक बढ्दा अन्य समूहको उपसूचक भने नकारात्मक देखिएका छन्।