अस्ताए शास्त्रीय संगीतका साधक कामत

अस्ताए शास्त्रीय संगीतका साधक कामत

काठमाडौं  :

बल्ल बुझे प्रेमको नशा, पागल के चिज हो ?
बिना साउन वर्षा हुन्छ, बादल के चिज हो ? 

जब भिजाउछेउ केश तिमिले, मौसमले लेख्छ कविता
बल्ल बुझे प्यासी नजरको, तल तल के चिज हो ? 

भन्ने गरिन्छ, प्रेममा नपरी प्रेमको नशा बुझिँदैन। अनि, पागलपन बुझिँदैन। झरी नलागी वर्षा हुन थालेपछि नै बादलको महत्व थाहा हुन्छ। ‘तिमीले केश भिजाएको देखेपछि  म मात्रै के हुँ र मौसमले नै कविता लेख्छ’, भन्दै आफ्नी प्रेयसीको बखान गरेका थिए । कामत कहिले प्रेमको गीत गाउँथे, कहिले जिन्दगीप्रति गुनासो गर्थे। मौसमसँग लुकामारी खेल्थे। अब भने उनको आवाजमा नयाँ गीत सुन्न पाइने छैन। कर्णप्रिय स्वरका धनी संगीत साधक गुरुदेव कामत बिहीबार अनन्त यात्रामा निस्केका छन्। शास्त्रीय संगीतका एक हस्ती, अनवरत संघर्षका प्रतिमूर्ति संगीत साधक कामत अब सम्झनामा मात्रै हुने छन्। 

संगीत साधक कामतको मृत्युपछि नेपाल पत्रकार महांसघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले सौम्यता, विज्ञता, समर्पण र एक विशेष क्षमताको अवसान भएको प्रतिक्रिया दिएका छन्। संगीतकार राम सिटौला गुरुदेव कामतलाई नेपाली शास्त्रीय संगीतका हस्ती मान्छन्। 

उनले हजारौं शिष्यहरूलाई शास्त्रीय संगीत सिकाएका छन्। सयौ गीतहरूमा संगीत भरेका छन्। सांगीतिक घरानामा जन्मिएका कामत सानैदेखि संगीतमा रुचि राख्थे । उनका दाजु पनि शास्त्रीय संगीतमा नै लागिपरेका थिए। कामतले गीत, गजल, सायरी, कविता सबै विधामा आवाज दिएका छन्। उनको योगदान शास्त्रीय संगीतमा बढी छ। 

संगीत भनेपछि हुरुक्कै हुने र संगीतलाई निकै माया गर्ने कामत संगीतका विशेष प्रतिभा हुन्। उनले नेपाली भाषामा मात्रै नभएर हिन्दी र अन्य भाषामा पनि दक्खल राख्थे। तराई मूलका मान्छे, काठमाडौं आएर करियर बनाउनका लागि उनले सुरुवातको दिनमा निकै संघर्ष  गर्नुपरेको थियो।  

संगीतकार गायक सिटौला भन्छन्, ‘नेपाली संगीतमा शास्त्रीय संगीतको व्यावसायिकता अझै अगाडि बढेको छैन। यसैलाई पेसा बनाएर टिक्नका लागि अत्यन्तै गाह्रो छ। यही अवस्थाको झटारोमा साधक कामत पनि परे। संगीत साधकलाई संरक्षण गर्ने विषयमा सरकार चुकिरहेको छ।’

शास्त्रीय संगीतका दुर्लभ नक्षत्र

साहित्यकार राजेन्द्र विमल संगीतकार कामतको निधनले देशलाई अपूरणीय क्षति भएको बताउँछन्। उनी भन्छन्, ‘बाल्यकालदेखि नै संगीत साधनामा लागेका गुरुदेव कामत एक दुर्लभ नक्षत्र हुन्। उनमा विभिन्न राग रागिनीको अत्यन्तै राम्रो ज्ञान थियो।’ कामतले हजारौं शिष्यहरूलाई संगीत सिकाएका छन्। संगीतको ज्ञान भरेका छन्। उनका शिष्यहरू नेपाल तथा विदेशमा समेत चर्चित छन्। सच्चा साधकहरू व्यावसायिक साधना गर्दैनन्। उनीहरूलाई पैसा कमाउनुसँग सरोकार नै छैन। काम गरेको पैसा माग्नेसमेत हिम्मत राख्दैनन्। तर, साधना गरिरहन्छन्। आलाप गरिरहन्छन्। पैसाको अभाव नभएको भए कामतले किड्नी ट्रान्सफर पनि गर्न सक्ने अवस्था थियो ।  

२०१२ साल साउन १७ गते सिराहामा जन्मिएका कामत लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए। कामतको ६९ वर्षको उमेरमा सिराहाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पोखरभिण्डास्थित निवासमा बिहान करिब साढे ७ बजे निधन भएको हो। उनी पछिल्लो समय स्वास्थ्य समस्या तथा आर्थिक संकटको अवस्थाबाट गुज्रिरहेका थिए। काठमाडौंमा उपचारका लागि खर्च धान्न गाह्रो भएपछि उनी गत असारमा सपरिवार गाउँ फर्किएका खवर बाहिरिएको थियो। पछिल्लो ४० वर्षदेखि नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका कामतले डिल्लीबजारमा गुरुकुल संगीत पाठशाला सञ्चालन गर्दै आएका थिए। कामतका तीन छोरा, एक छोरी र श्रीमती छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.