भक्तपुरका नेवार समुदायले शुक्रबार घण्टाकर्ण पर्व मनाए

भक्तपुरका नेवार समुदायले शुक्रबार घण्टाकर्ण पर्व मनाए

भक्तपुर : भक्तपुरका नेवार समुदायले वर्षभरी तिथि अनुसार मनाउने विभिन्न पर्व मध्य सबैभन्दा पहिलो पर्व घण्टाकर्ण चतुर्दशी शुक्रबार मनाएका छन्। भक्तपुरका नेवार समुदायले नेवारी तिथि अनुसार दिल्लागा: त्रयोदसी (श्रावण कृष्ण त्रयोदसी)का दिन विधिपूर्वक मनाएका हुन्।

भक्तपुरको नगर क्षेत्र र मध्यपुर थिमिमा घण्टाकर्ण चतुर्दशी पर्वको रौनक छाएको छ। भक्तपुरको नगर क्षेत्र र मध्यपुर थिमिको नगदेश, बोडे र थिमि लगायतका नेवार बस्तीमा स्थानीय नेवार समुदायले टोल टोलमा नजिकैका घण्टाकर्णको प्रतीक लाई छ्वाली , परालको आगो बाट पोली, घिसारेर र तानेर दोबाटो , चौबाटो र नजिकका खोलाहरूमा बिसर्जन गरेका छन्। 

पर्वको अवसरमा भक्तपुरको दतात्रय मन्दिर प्रांगणमा लस्करी ३ ओटा भन्दा बढी घण्टाकर्णका प्रतीक जलाइएका छन्। मध्यपुर थिमिको नगदेशमा नर्कटको प्रयोग गरी  घण्टाकर्णको प्रतीक  बनाएर स्थानीयले बस्ती भन्दा बहिरको दोबाटोमा जलाएका छन्। बोडेमा स्थानीयले परालबाट घण्टाकर्णको प्रतीक बनाई नगर परिक्रमा गरी बस्ती भन्दा बाहिर चौबाटोमा जलाएका छन्। थिमिका नेवार समुदायले नर्कटबाट घण्टाकर्ण बनाएर घिसारेर लगेर  हनुमन्ते खोलामा बिसर्जन गरेका छन्। 

घण्टाकर्ण चतुर्दर्शी अर्थात नेवारी भाषामा गठमुग चह्रे र गाठ्मा चह्रे भनिने यस पर्वलाई स्थानीयले घर शुद्ध, साफ गर्ने र घरबाट भूतप्रेत भगाउने पर्वका रूपमा मनाउने गरेका संस्कृतिका जानकार कृष्ण कुमार प्रजापतिले बताए।

पर्व मनाउन स्थानीयले एकदिन अघावै घर लिपपोत गर्छन्। त्यसको भोलिपल्ट स्थानीयहरू बिहानै चामलको ५ गेडो लिई नुहाउँछन्। त्यसपछि मन्दिर गई जल लिएर आफू माथि छर्कन्छन् भने मन्दिर जानु अघि घरलाई गोबर र पानी मिसाएर शुद्ध पार्छन्। यो गरिसके पछि घरका भान्सादेखि कुना काप्चा साफ गर्छन्। 

भान्सामा एक गेडो खानासम्म बाँकी नराखिकन, खान पकाउन प्रयोग भएका सम्पूर्ण भाँडा माझी सफा गर्छन्। त्यसमा रायोको साग र गोबर मिसाएर घरका ढोकाका काप्चा काप्चामा टाँसिन्छ। टाँसेर बकिरहेको गोबर र रायो सागको ब्यूको समिश्रणलाई एउटा कर्कलोको पातमा राखिन्छ। 

त्यसपछि घण्टाकर्णलाई मानिसहरूले मारेको बेला दिएको पीडालाई झल्कने गरी छ्वालीले पोल्न छ्वाली तयार गरिन्छ। यसलाई दोबाटो चौबाटोहरूमा समेत फाल्ने गरिन्छ। छ्वाली तयार गर्दा कर्कलोको पातमा आफूहरूले खाएको भात, समये बाजी र अन्य खाने परिकर पोको पारिन्छ र  छ्वालीको मुठामा नासपाती, अनार, अरुको हाँगा र सीस्नु राखी छ्वालीका मुठा तयार गरिन्छ। यस विधिलाई सीना ज्या बेंकेगू भनिन्छ। खाना लगायत अन्य कुरा राखिएको पोका र गोबर र रायोको साग मिश्रित पोकालाई छ्वालीको मुठालाई घण्टाकर्णको प्रतीकसँगै बिसर्जन गरिन्छ। यसलाई लुतो फाल्ने समेत भनिन्छ।

उनका अनुसार मानिसहरूले घण्टाकर्णको प्रतीक लाई राक्षस को संज्ञा दिएर अन्य भूत प्रेतले पनि दुःख नदियोस् भनेर आगोको मुस्लोमा पोलेर, सिस्नुले पोलेर घिसारेर, तानेर बस्ती बाहिरका दोबाटो, चौबाटो र खोलामा बिसर्जन गरिन्छ र जलाइन्छ।  यस दिन फलामका औंठी लगाउने चलन रहेको छ।

बिहानैदेखि औंठी पसलहरूमा फलाम तथा पञ्चतत्वको औंठी लगाउने र किन्न आउने मानिसहरूको भीड लागेको छ। घण्टाकर्ण चतुर्दशीका दिन फलामको औंठी लगाएमा दोबाटो र चौबाटोमा जाँदा भूत प्रेतबाट रक्षा हुने औंठी व्यापारी श्री कृष्ण नकर्मीले बताए। ‘यो औंठीहरू फलाम, तामा, पितल जस्ताबाट बनेको हुन्छ। पञ्च धातुबाट बनेको हुन्छ। यो लगायो भने भूतप्रेतले छुँदैन भन्छ। दोबाटो, चौबाटो गयो भने भूत प्रेतले केही पनि गर्दैन दुःख दिँदैन’, उनले भने।  


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.