झन्झन् खस्किँदै विद्यालय तह शिक्षा

झन्झन् खस्किँदै विद्यालय तह शिक्षा
फाइल तस्बिर।

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा ५२.९१ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएका छन्। अर्थात्, ४७ प्रतिशत बढी विद्यार्थी अनुत्तीर्ण भएका छन्। बोर्डका अनुसार सबैभन्दा बढी अंग्रेजी विषयको परीक्षामा विद्यार्थीहरू नन्ग्रेडेड भएका छन्। यसअघि माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षामा पनि आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएका थिए। पछिल्ला वर्ष विद्यालय तहको नतिजा झन्झन् खस्कँदै गएकोमा शिक्षाविद्हरू चिन्ता व्यक्त गर्छन्। 

राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा १२ का लागि ३ लाख ९० हजार ८ सय ६८ विद्यार्थीले परीक्षा दिएका थिए। जसमा २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी मात्रै सफल भएका छन्। वैशाख १४ गतेबाट सुरु भएको परीक्षामा सहभागी विद्यार्थीमध्ये ५२.९१ प्रतिशतमात्रै उत्तीर्ण भए। नियमिततर्फ १ लाख ८७ हजार २१ विद्यार्थी नन्ग्रेडेड (एनजी) अर्थात् अनुत्तीर्ण भए। यद्यपि यो नतिजा गत वर्षको भन्दा २ प्रतिशत त बढी हो। तर, शिक्षाविद्हरू यसलाई सन्तोषजनक मान्न तयार छैनन्। गत वर्षको नतिजामा त करिब ५१ प्रतिशत हाराहारीमा मात्रै उत्तीर्ण भएका थिए। 

यस पटकको परीक्षामा आवेदन फाराम भरेका ५ हजार ६ सय ३२ जना विद्यार्थी परीक्षामै अनुपस्थित भएका थिए। साथै, परीक्षाको नियम तोडेका कारण १ सय २ जना विद्यार्थीको परीक्षा रद्द गरियो। अनुपस्थिति र रद्द गरिएका विद्यार्थीलाई पनि समावेश गर्दा १ लाख ८७ हजार २१ जना विद्यार्थी फेल भए। शुक्रबार सार्वजनिक भएको कक्षा १२ को नतिजाअनुसार एक सय २२ विद्यार्थीको नतिजा रद्द भएको छ। यीमध्ये १ सय १८ विद्यार्थीको चालु खण्डको सम्पूर्ण विषयको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ। 

विगतदेखिका नतिजा हेर्दा हामी कहीँ न कहीँ चुकेका छौं। नतिजा राम्रो आएन भन्नुको अर्थ विद्यार्थीले क्षमता विकास गर्न सकेनन् भन्ने हो। त्यसको पछाडिको मुख्य कारण भनेको राम्रो शिक्षण सिकाइ भएन भन्ने नै हो। स्थानीय तहले विद्यालयलाई राम्रो सहायता दिन सके उपलब्धि पनि राम्रो हुने हो। धेरै नतिजा खस्किँदै गयो भने पाठ्यक्रमलाई समीक्षा गर्नुपर्ने हो कि ? , डा. महाश्रम शर्मा, अध्यक्ष, राष्ट्रिय परीक्षा बोर्ड

अझ परीक्षामा ४ विद्यार्थीको चालु खण्डका सम्पूर्ण विषय रद्द गरेसँगै अबको एक वर्षसम्म बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको छ। 

बोर्डका अनुसार परीक्षा हलमा चिट चोर्ने, निरीक्षक र परीक्षामा संलग्न व्यक्तिहरूलाई अभद्र व्यवहार गर्ने लगायतका मर्यादा उल्लंघन गर्ने विद्यार्थीको परीक्षा रद्द गरिएको हो। 

बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा १२ कक्षाको यस पटकको नतिजामा उल्लेख्य सुधार नभएको स्वीकार गर्छन्। उनका अनुसार सबैभन्दा बढी नन्ग्रेडिङ अंग्रेजी विषयमा देखिएको छ। ‘तर पनि अंग्रेजीमा ७२ प्रतिशत विद्यार्थी पास भएकै छन्,’ शर्मा भन्छन, ‘लेखामा ७३ प्रतिशत र नेपालीमा ९१ प्रतिशत विद्यार्थीले राम्रै परिणाम ल्याएका छन्।’ व्यक्तिगत विषयमा राम्रो देखिए पनि समग्रमा भने नतिजा प्रोत्साहनमूलक नभएको उनी बताउँछन्। उत्तीर्ण संख्या ५० प्रतिशतकै हाराहारीमा भएकाले आगामी दिनमा विद्यालय र विद्यार्थीले निकै मेहनत गर्नुपर्ने उनको भनाइ छ। ‘विगतदेखिका नतिजा हेर्दा हामी कहीँ न कहीँ चुकेका छौं’ उनी भन्छन्, ‘कक्षाकोठाकै सिकाइ वितरण राम्रो भएन। गुणस्तर सिकाइले विद्यार्थीलाई उकास्ने र उनीहरूको क्षमता विकास गर्नैपर्छ। केहीमा भने पर्याप्त शिक्षक दिन सकिरहेका छैनौं। आवश्यकताको आधारमा शिक्षक दिन सकिरहेको छैन।’  

तल्लो कक्षामा मात्रात्मक मूल्यांकन प्रणाली भनियो र लचिलो तरिकाले कक्षा चढाइँदै आइएको अवस्था छ। यसो हुँदा विद्यार्थीले पर्याप्त सिकाइ नभई कक्षा चढ्दै आएका छन्। १०, ११ र १२ कक्षासम्म पुग्दा यसको असर नतिजामा देखिँदै आएको छ। यसर्थ समग्र शिक्षा प्रणालीमै जुन रूपमा विद्यार्र्थीले सिक्नुपर्ने हो, त्यो सिकाइएको छैन र सिकेको छैन भन्ने यो नतिजाले प्रमाणित गरेको छ। यसैले प्रणालीगत समस्या छ। वाईपी आचार्य, उपप्राध्यापक, त्रिभुवन विश्वविद्यालय 

परीक्षार्थीमा छात्रा बढी, उत्तीर्णमा छात्र बढी 

कक्षा १२ को परीक्षामा १ लाख ९४ हजार ३ सय १९ छात्र र १ लाख ९६ हजार ५ सय १ छात्रा सहभागी थिए। यस्तै, ४८ जना अन्य लैंगिक समूहका विद्यार्थी थिए। परीक्षामा छात्राको संख्या बढी भए पनि छात्रभन्दा कम छात्रा उत्तीर्ण भएका छन्। अर्थात् १ लाख ९ सय ९७ जना छात्रामात्रै उत्तीर्ण भए। १ लाख २ हजार ८ सय ३२ छात्र पास भएका छन्। १८ जना अन्य लैंंगिक समूहका विद्यार्थी उत्तीर्ण भए। 

ग्रेडवृद्धितर्फको उत्तीर्ण रजिस्ट्रेसन नम्बरअनुसार २८.२६ र ६२.०५

नियमित विद्यार्थीबाहेकका ग्रेडवृद्धितर्फ रजिस्ट्रेसन नं ७८ र ७९ मा कुल ९६ हजार ३ सय ५१ विद्यार्थीमध्ये २५ हजार ४ सय ३६ उत्तीर्ण भएका छन्। यो कुल सहभागीको २८.२६ प्रतिशत हो। बाँकी ७१.७४ प्रतिशत असफल भएका छन्। यससँगै ग्रेडवृद्धिका लागि रजिस्ट्रेसन नम्बर ७६ र ७७ अन्तर्गत कुल ३ हजार ८ सय ४२ विद्यार्थीमध्ये १ हजार ९ सय ५३ जना उत्तीर्ण भए। यो कुल सहभागीको ६२.०५ प्रतिशत हो। 

कुन जीपीएमा कति विद्यार्थी उत्तीर्ण ?

शिक्षक नभएको कारण वा विद्यार्थीले नपढेर शिक्षा कमजोर भयो भन्ने भाष्य बनाएका छौं। अब यो बदल्नु पर्छ। शिक्षक अभाव भएकालाई दिन सक्ने भए दिनुप¥यो, शिक्षक दिन नसक्ने भए विकल्पमा प्रविधि छ, यसबाट विद्यार्थी आफैंले पढ्न सक्ने सामग्री उपलब्ध गराउँछौं भनेर उपाय खोज्न जरुरी छ। शिक्षकले विषयवस्तु पढाउन थाले, तर विद्यार्थीले मोबाइलमा खोज्न थाले। मोबाइलमा खोज्ने विद्यार्थीलाई शिक्षकले पनि सोहीअनुसार पढाएर अन्तरक्रिया गर्नुप¥यो। प्रा.डा. विद्यानाथ कोइराला, शिक्षाविद्

परीक्षा नियन्त्रण कार्यालयका अनुसार कक्षा १२ को नतिजामा ९ हजार ५ सय ९१ जनाले ३.६१ देखि ४ जीपीए ल्याउन सफल भए। जसमा सबैभन्दा बढी बागमती प्रदेशका छन्। वागमतीबाट ६ हजार ७ सय ५२ विद्यार्थीले यो रेसियो सफल हुन सके। सबैभन्दा कम कर्णाली प्रदेशका २४ जनाले मात्रै यो रेसियोमा उत्तीर्ण हुन सके। यस्तै, ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्याथी संख्या ४६ हजार ८ सय ९३ छ। यसमा बागमती प्रदेशबाट २५ हजार १ सय ४५ जना छन्। सबैभन्दा कम कर्णालीबाट ७ सय ३४ जना छन्। तुलनात्मक रूपमा सबैभन्दा धेरै २.८१ देखि ३.२० जीपीएसम्म ७८ हजार ७५ विद्यार्थी उत्तीर्ण भए। २.४१ देखि २.८० सम्म जीपीए ल्याउने विद्यार्थी संख्या ६१ हजार ३६ जना छन्। यस्तै ८ हजार २ सय ४० जनाले २.०१ देखि २.४० जीपीए ल्याउन सफल भएका छन्। यो सन्तोषजनक अर्थात् सी प्लस हो। यस्तै, १२ जनाले १.६१ देखि २ जीपीए अर्थात् सी ग्रेड (एसेप्टेवल) प्राप्त गरेका छन्। तर उक्त नतिजाअनुसार १ लाख ८७ हजार २१ विद्यार्थी नन्ग्रेडेड (एनजी) अर्थात् अनुत्तीर्ण भए। 

भदौ २५ र २६ मा पूरक परीक्षा

कक्षा १२ को नतिजामा बढीमा दुई विषयमा नन्ग्रेडेड भएका विद्यार्थीले भदौ २५ र २६ गते पूरक परीक्षा दिन पाउनेछन्। राष्ट्रिय परीक्षा बोर्ड बैठकले नतिजा सार्वजनिक गरेसँगै अनुत्तीर्ण भएकाको लागि पूरक परीक्षाको मिति घोषणा गरेको हो। जसअनुरूप विद्यार्थीको सैद्धान्तिकतर्फ अन्य सबै विषयमा ‘डी’ अर्थात् यसभन्दा माथिल्लो ग्रेड पाएर डीमा कुनै दुई विषयमा नन्ग्रेडेड वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीले ग्रेडवृद्धिका लागि पूरक परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. शर्माले जानकारी दिए। परीक्षाको परिमाणअनुसार १ लाख ८७ हजार २१ विद्यार्थी नन्ग्रेडेड भएकाले यी विद्यार्थीका लागि उत्तीर्ण गर्ने अवसर हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.