वागमती वृत्तान्त
नेपाल प्रवेश गर्नेबित्तिकै विदेशी पर्यटकले टेक्ने पहिलो पाइलो भनेकै बागमती प्रदेश हो। यो प्रदेशले दिने पहिलो प्रभावले नै उनीहरूको बसाइ र फेरि नेपाल यात्राको सम्भावना तय गर्छ। तर, पर्यटनको सन्दर्भ जोडिनेबित्तिकै नेपालको पश्चिम र पूर्वी भूभाग र त्यहाँको प्रकृति, संस्कृति र सम्पदाको बढी चर्चा हुन्छ।
देशकै संघीय राजधानी रहेको बागमती प्रदेश पर्यटकको ‘ट्रान्जिट प्वाइन्ट’मात्र होइन, अथाह सम्भावना बोकेका यहाँका ‘भर्जिन गन्तब्य’हरू उनीहरूको स्वागत गर्न आतुर छन्। विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका १० गन्तब्यमध्ये आठ गन्तब्य बागमती प्रदेशमै पर्नु चानचुने विषय होइन। तर, कस्तुरीले बिनाको गन्ध थाहा नपाएजस्तै बागमती प्रदेशले पर्यटनमा आफ्नो सम्भावनालाई नजिकबाट हेर्न सकेको छैन।
संघीय सरकार र प्रदेश सरकारले बर्सेनि पर्यटन क्षेत्रमा बजेट खर्च, पर्यटन वर्ष घोषणा र प्रचार गरे पनि त्यसको लाभ बागमती प्रदेशले पाउन सकेको छैन। यद्यपि सम्पदा, संकृति र प्रकृतिमा धनी बागमती प्रदेशले बर्सेनि लाखौं पर्यटकलाई आकर्षित मात्र गरेको छैन, देशको अर्थतन्त्रमा पनि महत्त्वपूर्ण टेवा दिएको छ।
बाह्य पर्यटकले नेपालमा पहिलो पाइला टेक्ने ठाउँ हो, सम्पदाको सहर काठमाडौं। हिन्दुहरूका आराध्यदेव पशुपतिनाथ, बूढानीलकण्ठ, स्वयम्भूनाथ, बौद्ध, चाँगुनारायण काठमाडौं उपत्यकामा पर्छ। पुर्खाहरूले बनाएको सुन्दर कलाकृति र सम्पदाहरू संरक्षण गरेर राखेमात्रै पनि पर्यटनका लागि पर्याप्त हुन्छ। रसुवाको गोसाइँकुण्ड, दोलखाको कालिञ्चोक भगवती, भीमेश्वर मन्दिरलगायत धार्मिक गन्तब्य पनि यसै प्रदेशमा पर्छन्। यस प्रदेशमा रहेको लाङटाङ र गौरीशंकर गरी दुईवटा हिमशृंखला पर्यटनका दृष्टिकोणले महत्त्वपूर्ण छन्। विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जसँगै शिवपुरी राष्ट्रिय निकुञ्ज र लाङटाङ राष्ट्रिय निकुञ्ज यही प्रदेशमा पर्छ।
नेपालमा ६ हजार मिटरभन्दा माथिका हिमचुचुराको संख्या ४ सय १४ वटा रहेकोमा यस प्रदेशमा ६१ वटा छन्। बागमतीमा रहेको सबैभन्दा लामो नदी सुनकोशी र सबैभन्दा छोटो नदी लालबकैया छ। विशेषगरी नेवार र तामाङ संस्कृतिका लागि यो प्रदेश धनी छ। प्रदेश नीति तथा योजना आयोगको आर्थिक वर्ष २०७८/७९ को तथ्यांकअनुसार बागमती प्रदेशमा ९१ वटा तारेहोटल छन्। जसमा एकतारे होटल २४, दुईतारे होटल २७, तीनतारे होटल २४, चारतारे होटल ६ र पाँचतारे होटल १० छन्। विश्व सम्पदा सूचीमा सूचीकृत गन्तब्यहरूसँगै यहाँका हजारौं होटल, दर्जनौं होमस्टे, दर्जनौं सुन्दर सहर र सयौं सुन्दर गाउँ, हजारौं पर्यटकीय तथा धार्मिक सम्पदाहरू र बागमती प्रदेशका ६१ लाख नागरिक पर्यटकको स्वागमा आतुर छन्।
विश्व सम्पदाले भरिपूर्ण काठमाडौं : नेपालमा युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश भएका १० महत्त्वपूर्ण गन्तब्यमध्ये आठ बागमती प्रदेशमा पर्छ। तीमध्ये पनि सातवटा काठमाडौं उपत्यकमा छन्। यस कारणले पनि काठमाडौं देशको प्रमुख पर्यटन गन्तब्य हो। विश्व सम्पदा सूचीमा समावेश भएका उपत्यकाका गन्तब्यमा हनुमानढोका दरबार क्षेत्र, पाटन दरबार (ललितपुर), भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ र चाँगुनारायण रहेका छन्।
उपत्यका बाहिर चितवन राष्ट्रिय निकुञ्ज उक्त सूचीमा समावेश छन्। यीबाहेक गौतमबुद्धको जन्मस्थल लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा समावेश छन्। उपत्यकाका यी सम्पदाहरू नेपालको कला, वास्तुकला र संस्कृतिको उत्कृष्ट नमुना हुन्। यी स्थलहरूले नेवार संस्कृति र नेपालको विभिन्न शासनकालको इतिहासको झलक पनि दिन्छ। मन्दिर, स्तूप र दरबारहरूको यो संग्रहले सम्पदाको सहरको रूपमा काठमाडौं उपत्यका परिचित छ।
पशुपति मन्दिर : विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर भगवान् शिवको पवित्र निवास हो। विश्वका हिन्दु धर्मावलम्बीले जीवनमा एकपटक पुग्ने सपना देख्ने यो मन्दिरमा दैनिक हजारौं भक्तजनको भिड लाग्ने गरेको छ। पवित्र बागमती नदीकिनारमा रहेको मन्दिर लिच्छविकालीन समयमा निर्माण भएको मानिन्छ।
हनुमानढोका दरबार : हनुमानढोका मल्ल राजाहरूका शाही महल हो। नेपालको पूर्व राजशाही परिवार सन् १८८६ सम्म यस दरबारमा बसेका थिए। नेपाली राजाहरूको इतिहास बुझ्न र सुन्दर कलाकृतिको हेर्न यहाँ वार्षिक लाखौं पर्यटक पुग्छन्।
पाटन दरबार : मल्ल राजवंशको समयमा ललितपुर राज्यको राजधानी रहेको पाटन दरबारको वर्तमान दरबार संरचनाको निर्माण १७औं शताब्दीमा राजा सिद्धिनरसिंह मल्लले सुरु गरेको इतिहास छ। नेवारी वास्तुकलाको उत्कृष्ट नमुना हेर्न पाइने यो दरबारमा जटिल काठ र धातुको कला, मूर्तिकला र चित्रकला समावेश छ। मन्दिर परिसरमा रहेको जसमध्ये कृष्णमन्दिर र भीमसेन मन्दिर यहाँको प्रमुख मन्दिर हो। नेपाली कला र इतिहासको एक महत्त्वपूर्ण संग्रह यहाँ देख्न पाइन्छ। यहाँ वर्षैभरि विभिन्न परम्परागत उत्सव र समारोहहरू मनाइन्छन्।
भक्तपुर दरबार : भक्तपुर दरबार क्षेत्र नेपालको काठमाडौं उपत्यकामा अवस्थित एक प्रसिद्ध ऐतिहासिक स्थल हो। ५५ वटा झ्याल भएको यो भव्य दरबार १७ शताब्दीमा निर्माण गरिएको इतिहास छ। यहाँ रहेको पाँचतले न्यातापोल मन्दिर नेपाली वास्तुकलाको एक उत्कृष्ट उदाहरण हो। यहाँ प्रसिद्ध भैरवनाथ मन्दिर पनि छ। नेवारी वास्तुकलाको उत्कृष्ट नमुना हेर्न पाइने यो दरबार स्थानीय नेवार समुदायको आजीवन सांस्कृतिक र धार्मिक जीवनको केन्द्र हो। यहाँ बिस्केट जात्रा, गाईजात्रा, र इन्द्रजात्राजस्ता महत्त्वपूर्ण उत्सवहरू मनाइन्छ।
बौद्ध धर्म र नेपाली संस्कृतिको प्रतीक–स्वयम्भूनाथ :
स्वयम्भूनाथ, नेपालको सबैभन्दा पुराना र महत्त्वपूर्ण बौद्ध तीर्थस्थलमध्ये एक हो। एक किंवदन्तीअनुसार, यो स्थल स्वयं उत्पन्न भएको थियो। जुन बेला काठमाडौं उपत्यका एउटा ताल थियो। करिब २५ सय वर्ष पुरानो मानिएको स्वयम्भूनाथलाई हिन्दु धर्मावलम्बीले पनि श्रद्धाका साथ पुज्छन्। स्वयम्भूनाथबाट काठमाडौं उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ।
बौद्धनाथ : बौद्धनाथ स्तूप, काठमाडौंमा अवस्थित एक प्रसिद्ध बौद्ध तीर्थस्थल हो। विश्वभरका बौद्ध धर्मावलम्बीका लागि एक महत्त्वपूर्ण गन्तब्य बौद्धनाथ स्तूपाको चारैतिर अंकित बुद्धका आँखाहरू सर्वज्ञता र सर्वव्यापी उपस्थितिको प्रतीक हो। बौद्धनाथको निर्माण लिच्छवि राजा मानदेवको पालामा भएको मानिन्छ। एक किंवदन्तीअनुसार, स्तूपभित्र शाक्य राजवंशका अस्थिहरू छन्, जुन बुद्धको परिवार थियो। बौद्धनाथले नेपाली, तिब्बती र भारतीय संस्कृतिहरूको मिलनलाई प्रतिबिम्बित गर्छ। बौद्धनाथ लोकप्रिय पर्यटक गन्तब्यमध्ये एक हो।
चाँगुनारायण : चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालीन राजा हरिदत्त बर्माले ईशापूर्व ३२३ मा बनाएको इतिहास छ। नेपालको प्रसिद्ध तीर्थस्थलमध्येको एक र प्राचिन पुरातात्त्िवक शिला स्तम्भसमेत रहेको चाँगुनारायण मन्दिर भक्तपुरको चाँगुनारायण नगरपालिकामा छ। चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्त्वपूर्ण छ। तेलकोट भन्ज्याङ (तेलकोट डाँडा) चाँगु आउने रुट उपत्यकाकै सबैभन्दा राम्रो ट्रेकिङ रुट मानिन्छ। साथै यो क्षेत्र नगरकोटको ट्रेकिङ गर्न तथा उपत्यकाको दृश्यावलोकनका लागि पनि प्रसिद्ध छ।
यीबाहेक काठमाडौं उपत्यका सयौं महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तब्य छन्। सम्पदाको सहर काठमाडौं बाहिरबाट हेर्दा सिमेन्टको कंक्रिट देखिए पनि यसको भित्री सुन्दरता मनमोहक छ। प्राय: विदेशी पर्यटक एकपटक नेपाल आएपछि काठमाडौं उपत्यकाको सम्पदा र संस्कृतिले पुन: अर्कोपटक घुम्न आउने वाचासहित फर्कने गरेका छन्। काठमाडौं, ललितपुर र भक्तपुरका सयांै महत्त्वपूर्ण गन्तब्यहरूले प्रदेशलाई मात्र होइन, देशकै अर्थतन्त्र र पहिचानमा महत्त्वपूर्ण टेवा दिएको छ।
विहारबाट सवा घण्टामा हेटौंडा : देशकै मध्यभागमा पर्ने मकवानपुर सेन राजाहरूले १ सय ९७ वर्ष शासन गरेको तत्कालीन शक्तिशाली राज्य थियो। लुवाङ सेनले १६६२ सालमा बनाएको मकवानपुरगढी प्रदेशकै ऐतिहासिक पर्यटकीय गन्तब्य हो। मकवानपुर गढी र चिसापानीगढी ऐतिहासिक पर्यटकीय गन्तब्य हुन्। संघीय राजधानी काठमाडौंबाट नजिक रहेको दामन, पालुङ, इन्द्रसरोबर ताल, चित्लाङ मकवानपुरको महत्त्वपूर्ण पर्यटकीय गन्तब्य हुन्।
हेटौंडास्थित सहिद स्मारक, चिसापानी गढी, भुटनदेवी मन्दिर, दक्षिण एसियाकै पहिलो मानवनिर्मित सुरुङ दाबी गरिएको ऐतिहासिक चुरियामाई सुरुङ र हेटौंडाको सुन्दरता पर्यटकको आकर्षण केन्द्र हो। विहारको उर्लंदो गर्मी छल्न वीरगन्जस्थित रक्सौल नाकाबाट सवा घण्टामा हेटौंडा पुग्न सकिन्छ। तर, भारतीय पर्यटक तान्ने स्पष्ट योजना नहुँदा मकवानपुरले ठूलो पर्यटकीय जमात गुमाइरहेको छ।
मकवानपुर जिल्लामा मात्र लोपोन्मुख वनकरिया जातिको बसोबास छ। मनहरी गाउँपालिकाको हाँडीखोलास्थित ट्वाङ्ग्रामा सरकारले वनमा बस्दै आएका उनीहरूलाई अस्थायी घर बनाएर तीन दशकअघि राखिदिएका हुन्। त्यस्तै अति सीमान्तकृत चेपाङ समुदायको संस्कृति, जीवनशैली अध्ययनको लागि पनि मकवानपुर महत्त्वपूर्ण छ। देशकै ठूलो हेटौंडा औद्योगिक क्षेत्र, ठूला सिमेन्ट उद्योगहरू, मानवनिर्मित देशको पहिलो इन्द्रसरोबर ताल र त्यसबाट सञ्चालित तीनवटा कुलेखानी जलविद्युत् आयोजनाले पनि मकवानपुर चर्चित छ।
अन्तर्राष्ट्रिय पर्यटकीय गन्तब्य चितवन राष्ट्रिय निकुञ्ज : चितवनलाई नेपालकै तेस्रो प्रमुख पर्यटकीय गन्तब्यका रूपमा लिने गरिन्छ। नेपालमा नाम चलेका सहरमध्ये पर्ने चितवन विश्वभर एकसिंगे गैंडाले पनि परिचित छ। देशकै पर्यटक गन्तब्यमध्येको एक सौराहा बसेर चितवन राष्ट्रिय निकुञ्ज, दुर्लभ एकसिंगे गैंडा, पाटेबाघ, हात्ती, विभिन्न चराचुरुंगी हेर्न तथा जंगल सफारीको आनन्द लिन सकिन्छ। गैंडा हेर्नकै लागि विश्वभरबाट चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आउँछन्।
चितवनको प्रमुख पर्यटकीय गन्तब्य सौराहासँगै पटिहानी, मेघौली, देवघाटजस्ता क्षेत्रले पनि पर्यटनको माध्यमबाट देशको अर्थतन्त्रमा महत्त्वपूर्ण टेवा दिएको छ। प्रकृतिको भरपूर आनन्दसँगै नदी तटीय क्षेत्रमा बस्ने बोटे, थारू, मुसहर जातिको मौलिक संस्कृति र रहनसहनले धेरैलाई लोभ्याउने गरेको छ। पछिल्लो समय भरतपुर भ्रमण वर्षका कारण पनि चितवन पर्यटकको रोजाइको गन्तब्य बनेको छ।
हवाई यात्राका माध्यमबाट २० मिनेट र सडक यातायातको माध्यमबाट चार घण्टामा काठमाडौंबाट चितवन पुग्न सकिन्छ। नेपाल घुम्न आउने धेरै पर्यटकको रोजाइमा चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रमुख प्रवेशद्वार सौराहा हो। यहाँ जंगल सफारी, सामुदायिक वनमा हात्ती सयर, राप्ती नदीमा डुंगा सयर गरेर प्रकृतिको मजा लिन सकिन्छ। विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने टाइगर टप्स जंगल लजले पहिलोपटक जंगल सफारी सुरु गरेको थियो। सौराहा र मेघौलीको बसाइ र निकुञ्जको घुमाइ पर्यटकलाई अमिट छाप छाड्ने गरेको छ।
चितवनको पटिहानी क्षेत्रमा पर्ने सीतामाई पनि जिल्लाको पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ। राप्ती नदी किनारमा राइनोकुञ्जअन्तर्गत पर्ने प्रमुख पर्यटकीयस्थल सीतामाई अवस्थित छ। विश्वकै पवित्र धाममध्येको एक देवघाटधाम पवित्र तीर्थस्थल हो। तनहुँ, चितवन र नवलपुर जिल्लाको संगमस्थानमा देवघाटमा वार्षिक लाखौं भक्तजनहरू दर्शन तथा अवलोकनका लागि आउने गर्छन्। चौकीडाँडा, बीसहजारी ताल र बाटुलीपोखरी, दियालो बंगला, सोमेश्वरगढी, वाल्मीकि आश्रम, सिराइचुली, उपरदाङगढी, जलबीरे लामो झरनाले पनि चितवनको घुम्नैपर्ने गन्तब्य हुन्। तराईबाट हिमाल देखिने चितवन देशकै अन्न भण्डार पनि हो। देशका ७७ जिल्लाकै नागरिक केन्द्रित भएको काठमाडौंपछिको दोस्रो जिल्ला चितवन हो। चितवनलाई पोल्ट्रीको राजधानी पनि भनिन्छ।
स्वर्गको टुक्रा–रुवी भ्याली : रुवी भ्याली पुग्नेबित्तिकै प्राय: पर्यटकले भन्ने पहिलो शब्द हो, ‘आहा ! रुवी भ्याली’। धादिङको उत्तरी भेगमा अवस्थित रुवी भ्याली देशकै भर्जिन पर्यटन गन्तब्य हो। बहुमूल्य रुवीढुंगा पाइने स्थानको रूपमा समेत चिनिने यो ठाउँ पाविल हिमाल र गणेश हिमालको काखमा रहेको छ। रुवी भ्यालीको सबैभन्दा आकर्षक ठाउँ हो, ‘पाङसाङ पास’। समुद्री सतहदेखि ३ हजार ८ सय ५० मिटर उचाइमा रहेको यो पाङसाङ पासबाट मनोरम हिमशृंखलाहरू, सुन्दर पहाडी प्राकृतिक छटाहरू अवलोकन गर्न सकिन्छ। विश्वकै उत्कृष्ट त्रिशूली र्याफ्टिङका लागि धादिङ पर्यटको रोजाइमा पर्ने गरेको छ। भैरवी मन्दिर, त्रिपुरासुन्दरी माई, गंगाजमुना झरना, मैदीकोट, एसियाकै सबैभन्दा ठूलो गुफा ‘नोहक’ महत्त्वपूर्ण गन्तब्य हुन्।
गोरु जुधाइँ मेला हेर्न नुवाकोट : नुवाकोट भन्नेबित्तिकै बाहिरी जिल्लाका धेरैले गोरु जुधाइँ मेला सम्झने गर्छन्। हरेक वर्ष माघ १ गते माघेसंक्रान्तिको अवसरमा नुवाकोटको तारुका र वेत्रावतीमा भव्य रूपमा गोरु जुधाइँ मेला आयोजना हुने गर्छ। बझांगी राजा जयपृथ्वीबहादुर सिंह तारुकामा मामाघर जाँदा उनलाई मनोरञ्जन दिलाउन गोरु जुधाइँ मेलाको सुरुवात गरिएको किंवदन्ती छ। गोरु जुधाइँ हेर्न बाहिरी जिल्लाबाट हजारौं नागरिक नुवाकोट जाने गरेका छन्।
नुवाकोटको साततले दरबार : नुवाकोट सदरमुकाम बिदुरबाट पाँच किमि नागबेली उकालो मोटरमा यात्रा गरेपछि साततले दरबार पुगिन्छ। धातुको छाना भएको यो दरबार १८१९ सालमा पृथ्वीनारायण शाहले ललितपुरबाट वास्तुकलाका दक्ष कालिगड झिकाएर निर्माण गरेका थिए। सुरुमा यो दरबार नौतले थियो। १९९० सालको भूकम्पले दुई तला भत्किएर साततले हुन पुगेको थियो। नेपालको राज्य एकीकरण र इतिहाससँग जोडिएको यो दरबार पुनर्निर्माण र प्रचारमा सरकारले ध्यान दिन सकेको छैन। २०७२ को भूकम्पले क्षति पुगेको यो दरबार पुनर्निर्माणको क्रममै छ। नुवाकोटको अर्को ऐतिहासिक गन्तब्य हो, नुवाकोटको ककनी गाउँपालिकामा रहेको वसन्ती दरबार। पृथ्वीनारायण शाहले १८०१ सालमा नुवाकोट विजय गरेपछि काठमाडौं आवतजावत गर्दा बस्न बनाएका थिए।
जहाँ पृथ्वीनाराण शाहले मृत्युवरण गरे : नुवाकोट जिल्लाको सदरमुकाम विदुरदेखि आठ किलोमिटर दक्षिणमा त्रिशूली नदीको किनारामा रहेको देवीघाटमा जालपादेवी मन्दिर छ। शाहको दाहसंस्कार यही मन्दिरको घाटमा गरिएकाले नेपालको इतिहासमा यसको विशेष महत्त्व छ। यस स्थानमा सतीदेवीको तल्लो ओठ पतन भएको विश्वास गरिन्छ। यहाँ भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ। नुवाकोटको विदुर नगरपालिका–२ मा अवस्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर अर्को महत्त्वपूर्ण पर्यटन गन्तब्य हो।
कुण्डैकुण्डले घेरिएको गोसाइँकुण्ड : देशको सुन्दर पर्यटकीय गन्तब्यमध्ये एक हो, गोसाइँकुण्ड। रसुवा जिल्लामा ४ हजार ३ सय ८० मिटरको उचाइमा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो नीलो पानीको सरोवर हो। यसका वरिपरि अरू १ सय ८ कुण्ड छन्। काठमाडौंको सुन्दरीजलदेखि गोसाइँकुण्डसम्मको यात्रा धार्मिक, ऐतिहासिक र मानवशास्त्रीय हिसाबले राम्रो पदयात्रा मानिन्छ।
भोटसितको युद्धका बेला जंगबहादुरका भाइ धीरशमशेरको नेतृत्वको फौजको यहाँ किल्ला थियो। धार्मिक तथा पर्यटकीय गन्तब्य गोसाइँकुण्डलाई रसुवाले पर्यटन प्रचारमा ‘ब्रान्डिङ’ भने गर्न सकेको छैन। तर पनि यहाँ बर्सेनि हजारौं पर्यटक पुग्ने गरेका छन्। यहाँको अर्को महत्त्वपूर्ण गन्तब्य हो, लाङटाङ हिमशृंखला। तिब्बतसँग जोडिएको लाङटाङ हिमाल र लाङटाङ राष्ट्रिय निकुञ्ज देशकै प्रमुख पर्यटकीय गन्तब्यमा पर्छ। रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ तातोपानीस्थित कुण्ड, तातोपानी नाका यहाँको पर्यटन ब्रान्ड हो।
रसुवागढी : देशको अर्थतन्त्रमा महत्त्वपूर्ण टेवा दिने रसुवागढी चीनसँगको भन्सार नाका र पर्यटकीय गन्तब्य पनि हो। नेपाल–चीन सिमानामा रसुवा जिल्लामा रहेको गोसाइँकुण्ड गाउँपालिका–२ रहेको रसुवागढी डेढ शताब्दीअघिको गढी हो। १९१२ सालमा यस गढीको निर्माण भएको थियो। यही गढीको नामबाट रसुवा जिल्लाको नामकरण गरिएको हो। अहिले यो नाका व्यापारिक र पर्यकटीय गन्तब्य बन्न पुगेको छ। तर, रसुवा जिल्ला मनोरम हिमाली दृश्य, धार्मिक गन्तब्यहरूले भरिए पनि संघ र प्रदेश सरकारको पर्यटन ब्रान्डिङमा प्राथमिकतामा छैन। रसुवा तामाङ संस्कृतिले पनि धनी छ।
घुम्न जाउँ नगरकोट : मन भरिनेग री हिमाल हेर्न टाढा जानु पर्दैन। राजधानी काठमाडौं नजिकै धुलिखेलबाट हरियालीले ढाकिएका होचा अग्ला पहाडहरू र अलि पर हिमाली चुचुराहरू र सूर्याेदयको बिहंगम दृश्य देखिन्छ। काठमाडौं नजिक पर्यटको रोजाइमा काभ्रेको धुलिखेल र नगरकोट पर्छ। काभ्रेकै बहुबली झरनाले सबैलाई मोहित बनाउँछ। काभ्रेको रोशी गाउँपालिकामा रहेको तीनधारे झरना बहुबली झरनाको नामले पनि परिचित छ। मन शान्तिको लागि धेरै पर्यटक पुग्ने धार्मिक पर्यटकीय गन्तब्य हो नमोबुद्ध। काभ्रेस्थित नमोबुद्धको शरणमा पुग्नेहरूले छुट्टै ऊर्जा प्राप्त भएको महसुस गर्छन्। विश्व सम्पदामा सूचीकृतको तयारीमा रहेको नमोबुद्ध तीन महान् चैत्यमध्ये एक हो।
१२ वर्षे मेला : काभ्रेको पनौती सहरलाई पनि पर्यटनको आकर्षक गन्तब्यको रूपमा लिइन्छ। पनौतीमा प्राचीन नेपाल हेर्न पाइन्छ। प्राचीन कला, संस्कृति र ऐतिहासिकता बोकेकाले पनौतीलाई सरकारले प्राचीन स्मारक भनेर घोषणा गरेको छ। १२ वर्षे मेला लाग्ने यहाँ जात्रा, पूर्व पूजा चलिरहन्छ। यहाँका सम्पदाहरू अन्य सम्पदामा काशीभन्ज्याङ, दोलालघाट, पलाञ्चोक भगवती, नारायणस्थान तेमाल, चौवास, बेथानचोक नारायणस्थान, सुनकोसी–इन्द्रावती रोसी नदीलगायत छन्। विभिन्न पर्यटन मार्गले धनी काभ्रे सुविधासम्पन्न होटलहरूको जिल्ला पनि हो। काभ्रेको तेमाल बुद्धचित्तको खेती र मालाको व्यापारका लागि प्रख्यात छ। एकै बोटको फललाई करोड रुपैयाँसम्म पर्ने भएपछि रुखको सुरक्षाको लागि समेत कर्मचारी राखिने गरिएको छ। प्रमुख दुई राजमार्ग अरनिको र बीपीले मित्रराष्ट्र चीन र भारतसँग प्रत्यक्ष जोडिने काभ्रे काठमाडौंका लागि तरकारी पठाउने प्रमुख जिल्लामध्ये पनि हो।
सुकुटेमा र्याफ्टिङ सरर : सिन्धुपाल्चोक र्याफ्टिङ र बन्जीको मजा लिन पाइने गन्तब्य हो। सुकुटे पुगेपछि भोटेकोशीमा र्याफ्टिङको मज्जा लिन र बन्जी गर्न पर्यटक आतुर हुन्छन्। सुनकोशी नदीकिनारामा रहेको लोभलाग्दो ‘फन डिस्टिनेसन’मा आन्तरिक र बाह्य पर्यटकको भिड लाग्ने गरेको छ। यहाँको अर्को महत्त्वपूर्ण गन्तब्य जुगल हिमाल हो।
जुगल हिमाल : नि:शुल्क हिमाल चढ्न चाहनुहुन्छ भने जुगल हिमाल आरोहण गर्न सकिन्छ। यो हिमाल सरकारले आगामी पाँच वर्षसम्म नि:शुल्क आरोहण गर्न दिएको छ। यहाँ काठमाडौंबाट तीन दिनमै पुग्न सकिन्छ। त्यस्तै धार्मिक तथा साहसिक पर्यटनका लागि सदाबहार गन्तब्यको हो, पाँचपोखरी। नेपाल र तिब्बतबीच युद्ध भएपछि १९१२ सालमा बनाइएको सिन्धुपाल्चोकको दुगुनागढी पर्यटनका लागि सुन्दर गन्तब्य हो।
हेलम्बुका शेर्पा सत्कार र मौलिक ह्योल्मो संस्कृति, भोटेकोशीको भैरवकुण्ड यहाँबाट देखिने जुगल हिमशृंखला, तिब्बतका हिमालहरू, गौरीशंकर हिमालले सबैको मन लोभ्याउँछ। हाइकिङको भूत छाँगामा सय मिटर अग्लो झरना धेरैको रोजाइमा पर्ने गरेको छ। पाँचपोखरी थाङ्पाल र हेलम्बुको सिमानामा रहेको आमा याङ्ग्रीलाई मनमोहक पदयात्रा रुटको रूपमा समेत लिइन्छ। सिन्धुपाल्चोक जिल्लाकै प्रसिद्ध धार्मिक स्थान पाल्चोकी माई, त्रिपुरासुन्दरी माईको मन्दिर, रानीपोखरी यहाँका उत्कृष्ट पर्यटकीय गन्तब्य हो। चीनसँग सिमाना जोडिएको र चीनतर्फको प्रमुख तातोपानी भन्सार नाकाका कारण पनि यो ठाउँ चर्चित छ।
भीमेश्वरको भीमकाय स्वरूप, पसिना आएपछि देशमा अनिष्ट : दोलखा भीमेश्वर मन्दिरमा पसिना आउँदा देशमा हुने अनिष्ट हुने विश्वास छ। हालसालै भीमेश्वरको शिलामा पसिना आउनु र त्रिभुवन विमानस्थलमा प्लेन दुर्घटना हुनुलाई पनि धेरैले एकसाथ जोडेर हेरिरहेका छन्। भीमेश्वरको दायाँबायाँ दुुवै भागबाट पसिना आउँछ। दायाँ भागबाट पसिना आउँदा राजा पक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ट हुने धार्मिक मान्यता रहँदै आएको छ।
शिव र पार्वतीको प्रतीक गौरीशंकर हिमाल : तर, यति महत्त्वको धार्मिक क्षेत्रलाई धार्मिक पर्यटनको गन्तब्य बनाउन भने तीनै तहको सरकार चुकेको छ। दोलखाको महत्त्वपूर्ण पर्यटन गन्तब्य गौरीशंकर हिमालबाट नेपालको प्रमाणिक समय निर्धारण गरिएको छ। हिन्दु धर्मावलम्बीको आराध्यदेव शिव र पार्वतीको प्रतीक मानिने गौरीशंकर हिमाल धार्मिक आस्थाका कारणले आरोहण गर्न प्रतिबन्ध छ। चीनसँग जोडिएको ७१३४ मिटर अग्लो यो हिमाल महत्त्वपूर्ण धार्मिक पर्यटन गन्तब्य हो।
कालिञ्चोक : दोलखाको कालिञ्चोक अर्को धार्मिक पर्यटन गन्तब्य हो। प्रकृति र संस्कृति संगम भूमि कालिल्चोकमा पुसदेखि चैत्र–वैशाखसम्म हुने हिमपात, वर्षायाममा देखिने हरियाली, वैशाख–जेठको सुन्दर प्राकृतिक दृश्यसँगै कालिञ्चोक भगवती मन्दिरको धार्मिक महिमा र महत्त्वले पर्यटकलाई कालिञ्चोकमा पुर्याउने गर्छ।
च्छोरोल्पा हिमताल : दोलखाको मुख्य पर्यटकीय गन्तब्यको रूपमा चिनिन्छ, च्छोरोल्पा हिमताल। पछिल्लो समय धेरैको रोजाइमा परेको च्छोरोल्पा ४ हजार ५ सय ८० मिटर उचाइमा छ। चरीकोटबाट छ्योतछ्योतसम्म गाडीमा र त्यहाँबाट दुई दिन हिँडेर पुग्न सकिन्छ। यस पदमार्ग २०७२ सालको भूकम्पपछि स्विस सरकारले पक्की र आकर्षक बाटो बनाएको छ। सदरमुकाम चरीकोटबाट ५५ किलोमिटरको दूरीमा रहेको जिरीलाई नेपालको स्विट्जरल्यान्ड पनि भनिन्छ।
जिरी : जिरी प्राकृतिक सुन्दरताको साथै धार्मिक, सांस्कृतिक रूपमा पनि अग्रस्थानमा छ। जिरीलाई भाषा, संस्कृतिको खानी पनि मानिन्छ। यहाँ जिरेल समुदायको मात्र बसोबास छ। पर्यटकहरू जिरीबाट कोसेलीको रूपमा याकको चिज, छुर्पी, जिरी चिया आदिलाई महत्त्व दिने गर्छन्।
शैलुङ : कहिल्यै हेरेर नअघाउने दोलखा प्रमुख पर्यटक स्थल हो, शैलुङ। यो हिउँदमा सेताम्मे र बर्खामा हरियालीपूर्ण देखिन्छ। १०० थुम्का भएकाले तामाङ भाषामा शैलुङ भनिएको हो। रामेछाप र दोलखा जिल्लाको सीमा विवादले पर्यटन पूर्वाधार विकास र प्रचारमा पछि परेको शैलुङ आन्तरिक होस् या बाह्य पर्यटक एकपटक पुग्नै पर्ने गन्तब्य हो।
रामेछाप हुँदै लुक्ला : सगरमाधा आधारशिविर लुक्ला जान रामेछापको सदरमुकाम मन्थली टेक्नै पर्छ। मन्थलीबाटै लुक्लाको लागि हवाई उडान हुने गरेको छ। प्राकृतिक विविधता र सुक्खा हावापानीका कारण अन्य जिल्लाभन्दा फरक रामेछाप प्रजातन्त्र स्थापनार्थ जीवन बलिदान दिने गंगालाल श्रेष्ठ, मकैखेतीका लेखक कृष्णलाल र कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको जिल्ला पनि हो। उनीहरूको नामबाट मन्थली—१ मा तीनलाल पार्क बनाइएको छ।
जहाँबाट अंग्रेज लखेटेर देश जोगाइयो : अंग्रेजलाई हराएर देशको अखण्डता जोगाएको सिन्धुलीगढी पुनर्निर्माणसँगै संग्रहालय बनेपछि घुम्न लायक ऐतिहासिक गन्तब्य बनेको छ।