लक्ष्मी क्याम्पसको माग : बस सञ्चालनका लागि खर्च धान्ने अवस्था छैन, गाउँपालिकाले रकम दिनुपर्छ

लक्ष्मी क्याम्पसको माग : बस सञ्चालनका लागि खर्च धान्ने अवस्था छैन, गाउँपालिकाले रकम दिनुपर्छ

झापा : कचनकवल गाउँपालिका–६ बनियानीस्थित लक्ष्मी क्याम्पसलाई गाउँपालिकाले बस खरिद गरिदिने घोषणा गरेको छ। तर, क्याम्पसले बस पाएमा खर्च धान्ने अवस्था छैन। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक स्तरको लक्ष्मी क्याम्पसमा सीमान्तकृत, गरिब, विपन्न, पिछडिएका, दलित लगायतका विद्यार्थीहरू अध्ययनरत छन्। 

सामान्य मासिक शुल्क तिर्न समेत विद्यार्थीहरूलाई धौधौ भइरहेको अवस्थामा बस सञ्चालनमा ल्याउँदा उनीहरूमाथि नै थप आर्थिक भार थपिने भएपछि क्याम्पसलाई बस लिँदा समस्या हुने देखिएको हो। 
गाउँपालिकाले चालू आर्थिक २०८१/०८२ नीति तथा कार्यक्रममा लक्ष्मी क्याम्पसलाई एउटा बस खरिद गरिदिने घोषणा गरेको छ। बस सञ्चालन गर्ने वा नगर्ने विषयमा शुक्रबार बिहान क्याम्पसमा सञ्चालक समिति, विद्यार्थी तथा शिक्षकहरूसँग भएको छलफल पश्चात् दुई बुँदे निर्णय गरिएको छ। 

गाउँपालिकाले बस खरिद गरिदिएमा बस सञ्चालन गर्न आवश्यक पर्ने कर्मचारी, मर्मत सम्भार तथा इन्धन खर्च लगायत अन्य प्राविधिक खर्च कम्तीमा ५ वर्षसम्म गाउँपालिकाले बेहोर्नुपर्ने वा विनियोजित रकमको शीर्षक रकमान्तर गरी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमध्ये छात्रा, सीमान्तकृत, दलित तथा अपाङ्गता भएका विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति कार्यक्रम, आन्तरिक तथा भौतिक अनुदान, सम्पूर्ण विद्यार्थीहरूलाई साइकल खरिद गरी वितरण लगायत निर्णय गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण दंगालले जानकारी दिए। 

सो निर्णय यसअघि साउन ९ गते क्याम्पस सञ्चालक समिति, वडाअध्यक्ष, शिक्षक तथा कर्मचारी उपस्थितिमा गरिसकेको अध्यक्ष दंगालले बताए। यहाँका विद्यार्थीहरूले गाउँपालिकाका अध्यक्षलाई भेटेर बस चाहिन्छ भनेर जुन प्रकारको भ्रम फैलाउने काम गरिएको छ, त्यो दुःखद भएको बताउँदै अध्यक्ष दंगालले भने, ‘यो सामुदायिक स्तरको क्याम्पस हो, यहाँ अध्ययनरत विद्यार्थीहरू निम्न वर्ग, पिछडिएका, गरिब समुदायका छन्, उनीहरूले मासिक शुल्क तिर्न नसक्दा बिचैमा पढाई छाडेर जान्छन्, यस्तो अवस्थामा मासिक रुपमा बस शुल्क थप्दा उनीहरूमाथि नै आर्थिक भार थपिन्छ।’

क्याम्पसको आन्तरिक आर्थिक अवस्था अत्यन्तै कमजोर छ। गाउँपालिकाले बस दिएमा त्यसलाई सञ्चालनमा ल्याउने अवस्था छैन। गाउँपालिकाले बस दिने निर्णय स्वागतयोग्य रहेको बताउँदै उनले भने, ‘बससँगै त्यसको सञ्चालन खर्च पनि गाउँपालिकाले जिम्मा लिए हामी बस लिन तयार छौँ।’ 

‘बस सञ्चालन खर्च दिन गाउँपालिका असमर्थ भएको खण्डमा सो बजेटलाई रकमान्तर गरी क्याम्पसमा पूर्ण छात्रवृत्तिमा कार्यक्रम लागू गरिदिए विद्यार्थीहरू नै लाभान्वित हुने हाम्रो ठम्याइ छ,’ उनले थपे। 

वडाअध्यक्ष चिन्तामणि खरेल लगायतका स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूले समेत क्याम्पसको आन्तरिक स्रोतबाट बस सञ्चालन गर्ने अवस्था नरहेको निष्कर्ष निकालिसकेको उनले बताए। 
त्यस्तै क्याम्पस प्रमुख मोतीलाल राजवंशीले २०६६ सालमा स्थापना भएको यस क्याम्पसमा बीएड र बीबीएसमा अध्ययनरत विद्यार्थीहरूका अभिभावक गरिब, विपन्न, सीमान्तकृत समुदायका छन्। सामुदायिक क्याम्पसको मुख्य स्रोत नै विद्यार्थी हो। तर, यहाँ अध्ययनरत विद्यार्थीहरूको आर्थिक अवस्था कमजोर भएकोले उनीहरूबाटै बस शुल्क उठाएर बस सञ्चालन गर्ने अवस्थामा क्याम्पस नरहेको उनले प्रस्टाए। 

‘विद्यार्थीहरूले मासिक शुल्क तिर्न नसक्दा यहाँका शिक्षक तथा कर्मचारीहरूलाई नियमित तलब खुवाउन नसकिरहेको अवस्थामा बस सञ्चालन गरेर थप आर्थिक भार क्याम्पसले बेहोर्न सक्दैन,’ उनले भने। 
गाउँपालिकाले सम्पूर्ण विद्यार्थीलाई चार महिनाको छात्रवृत्ति प्रदान गर्दै आइरहेकोमा यसलाई वार्षिक बनाइ क्याम्पसलाई स्थायित्व प्रदान गर्ने भूमिकामा लागु पर्ने उनको धारणा छ। 

क्याम्पसको बीबीएस दोस्रो वर्षमा अध्ययनरत छात्रा इसा पौडेलले बसको ठाउँमा  गाउँपालिकाले पूर्ण छात्रवृत्ति कार्यक्रम लागू गरिदिएमा यहाँका विद्यार्थीहरू थप लाभान्वित हुनेमा जोड दिइन्। गाउँपालिकाका अध्यक्ष ज्यूले बोलाएरै हामी उहाँलाई भेट्न गएको बताउँदै उनले भनिन्, ‘त्यहाँ विद्यार्थीहरूसँग बस सञ्चालन लगायतका अन्य बारेमा छलफल भएको थियो।’ हामीलाई बस चाहिन्छ भनेर अध्यक्षलाई भेट्न नगएको उनले प्रस्ट्याइन्। 

बस भन्दा पनि विद्यार्थीहरूको पहिलो माग निःशुल्क उच्च शिक्षा व्यवस्था हो। गाउँपालिकाले त्यसप्रति ध्यान दिनुपर्ने बीबीएस दोस्रो वर्षमा अध्ययनरत छात्र दिनेश चौधरीले बताए। गाउँपालिकाले क्याम्पसलाई बस दिएमा विद्यार्थीबाट शुल्क नउठाउने व्यवस्थापन पनि मिलाइदिनुपर्ने उनको भनाइ छ। यता गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले टाढा टाढाबाट आउने विद्यार्थीहरूको सुरक्षासँगै सुविधालाई मध्यनजर गरी लक्ष्मी क्याम्पसलाई एउटा बस खरिद गरिदिने नीति तथा कार्यक्रमबाटै पारित गरिएको बताए। 

क्याम्पसको आन्तरिक स्रोतको बारेमा सञ्चालक समिति र शिक्षकहरूले जानकारी गराइसकेको बताउँदै अध्यक्ष राजवंशीले भने, ‘गाउँपालिकाले बस खरिद गर्छ, त्यसलाई कसरी सञ्चालन गर्ने विषयमा फेरि विद्यार्थी, क्याम्पस प्रशासन र सञ्चालक समितिसँग बसेर छलफल गरी अघि बढ्छु।’ गाउँपालिकाले छात्रवृत्ति कार्यक्रम अनुसार प्रति विद्यार्थी एकमुष्ट चार हजार रुपैयाँ दिँदै आइरहेकाले अहिले त्यसलाई बढाउने अवस्था नरहेको उनको भनाई छ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.