राजनीतिक दबाबमा जनतालाई फाइदा नहुने ठाउँमा सडक निर्माण आवश्यक छैन : प्रधानमन्त्री ओली
पाटन : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दबाबका आधारमा जनतालाई फाइदा नहुने ठाउँमा सडक निर्माणमा ध्यान दिनु आवश्यक नभएको बताएका छन्। आइतबार सडक विभागले ललितपुर आयोजना गरेको आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेका कामको प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै एउटै खालका योजना पटक–पटक बनाउन नहुने बताएका हुन्।
‘एउटै खालका योजना पटक–पटक बनाउने भन्ने हुँदैन।’ उनले भने,‘सडकको सुरक्षा र मानिसको सुरक्षा हुनेगरी काम गर्नु आवश्यक छ।’
उनले योजना निर्माण गर्दा गुणस्तरमा ध्यान दिन विभाग र मातहतका कार्यालयलाई निर्देशन दिए। उनले सडकको सुरक्षा र मानिसको सुरक्षा हुनेगरी चालु योजना सम्पन्न गर्न निर्देशन दिए।
ओलीले भने,‘मानिसलाई आवश्यक नै नहुने वन र भिरमा सडक खनेर कुनै फाइदा छैन, मानव बस्ती छुने र छोटो हुनेगरी सडक निर्माण गर्न आवश्यक छ, अनावश्यक ठाउँमा ‘ट्र्याक’ खोलेर उपयुक्त हुँदैन, भिरमा बाटो लगेर मानिसका लागि फाइदा हुँदैन, यसका लागि ध्यान दिन जरुरी छ।’
प्रधानमन्त्री ओलीले अन्तर मन्त्रालयबीच समन्वय गरेर परिणाम आउनेगरी काम काम गर्न सुझाव दिए। एमाले अध्यक्षसमेत रहेका ओलीले नेपाललाई पानीजहाज र रेलमार्गको सञ्जाल विस्तार गरेर अन्तरदेशीय र सहज यातायात सञ्चालनको योजना तर्जुमा गर्न आवश्यक रहेको बताए।