धर्म धान्ने नारी शक्ति
काठमाडौं : पशुपतिक्षेत्र वनकालीको हंस मण्डपमा जारी कोटिहोममा भक्तजनको भीड दिनप्रतिदिन बढ्दो छ। यसको मुख्य कारण कोटिहोममा कथा वाचनका लागि आएका राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त कथा वाचकहरू नै हुन्। त्यसमा पनि महिला कथा वाचिकाहरूको सुन्दर प्रस्तुति र प्रष्ट वाचनशैलीले धेरैलाई आकर्षित गरिरहेको छ।
मानव सेवा फाउन्डेसन लगायतका संस्थाको आयोजनामा भइरहेको नेपाल महात्म्य एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ साउन ३२ गते सम्पन्न हुनेछ। फाउन्डेसनका व्यवस्थापक विष्णु थापाका अनुसार कोटिहोममा दैनिक ५० हजारभन्दा बढी भक्तजनको आवतजावत हुने गरेको छ। महिलालाई प्रोत्साहन दिएर अगाडि बढाउनुपर्छ भन्ने सोचका साथ अधिकांश कथा वाचकहरू महिला राखिएको उनले बताए। ‘यही २५ गतेसम्म उहाँहरूले वाचन गर्नुहुन्छ। त्यसपछि नेपाल र भारतबाट आउने साधु सन्तहरूलाई पनि ब्यास दिनुपर्छ भन्ने हाम्रो सोच छ’, उनले भने।
शास्त्रले नारीलाई सधैं सम्मान दिएको कोटिहोमका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्ति जी महाराजले बताए। ‘मानिस पुरातनवादी र रुढीवादी सोच तथा अन्धविश्वासको जालोमा फसेका कारण नारीमाथि अन्याय अत्याचार भइरहेको छ’, उनले भने, ‘नारी भनेको सबैभन्दा माथि छन् र उनीहरूलाई सदैव उच्च स्थानमा राख्नुपर्छ भन्ने सन्देश कोटिहोममा महिला कथा वाचकहरूको सहभागिता र प्रस्तुतिले दिएको छ।’
फाउन्डेसनकी मिडिया संयोजक अस्मिता पौडेलले आफू पनि एक नारी भएकाले महिला कथा वाचकहरूको प्रस्तुतिप्रति आफू गौरवान्वित भएको बताइन्। उनले महिला कथा वाचकहरूको कथा वाचन शैलीलाई धेरैले मन पराएकाले भीड सधैं अत्यधिक रहने जनाइन्। कोटिहोममा महिला भक्तजन मात्र नभई विभिन्न महिला समूहको उपस्थिति पनि बाक्लो देखियो। इन्द्रेगौंडा महिला समूह, गुल्मीकी अध्यक्ष कुबिजा बस्यालले महिला बाचिकाहरूको प्रस्तुति एकदमै उत्कृष्ट लागेको प्रतिक्रिया दिइन्। स्वस्ति वाचन गर्ने साना नानीहरूदेखि भागवत् वाचन गर्ने वाचिकाहरूसम्म सबैको प्रस्तुति प्रशंसायोग्य रहेको उनको भनाइ छ।
‘हरेक ठाउँमा महिलालाई हेप्ने प्रवृत्ति थियो। तर, अहिले यहाँ आएर यसरी मञ्चमा बस्न दिँदा र उहाँहरूको सारगर्भिक बाँणीहरू सुन्दा यसले महिला सशक्तीकरणमा ठूलो टेवा पुर्याएको छ भन्ने महसुस हुन्छ’, उनले भनिन्।
आइतबार कथा वाचिका चन्द्रकला सखीको प्रस्तुतिपछि भजन गायनका लागि आइपुगेकी गायिका इन्दिरा जोशीले पशुपति क्षेत्रमा महिला वाचकहरूको कथा वाचनसँगै कोटिहोमको माहोल निकै रमाइलो रहेको बताइन्। उनले अन्य भक्तजनलाई पनि आफूलाई गायनमा साथ दिन अनुरोध गर्दै कृष्णभजन प्रस्तुत गरिन्।
कोटिहोममा कथा श्रवण गर्नुका साथै स्वस्फुर्त रूपमा दान दिनेको संख्या पनि धेरै थियो। ‘दान रहरले गर्ने हो कहरले होइन, ऋण खोजेर पनि दान गर्ने होइन। जीवनमा हामीले कमाएकोमध्ये जम्मा १० प्रतिशत मावन सेवाका लागि खर्चिनुपर्छ भनेर शास्त्रमै लेखिएको छ’, जुम्ला सिन्जाका पूर्वप्राचार्य धनलाल आचार्यले भने, ‘म पनि आफूले कमाएको मध्येबाट केही दान गरेर मानव सेवामा लगाउने प्रतिबद्धता जनाउँछु।’
पहिला मन्त्री, अहिले वाचक
डा. कान्ता भट्टराईको भागमा श्रीमद देवी भागवत महापुराण वाचन परेको छ। फाउन्डेसनले कथा वाचनका लागि महिलालाई प्राथमिकता दिनुलाई आफूले निकै सकारात्मक रूपमा लिएको उनले बताइन्। पुराणहरूमा पुरुषको जुन बर्चश्व थियो, त्यो तोडिएर केही समय अगाडिदेखि महिलाले पनि कथा वाचन गर्दै आएको उनले बताइन्। उनले भारतको वृन्दाबन, अमेरिकाको टेक्सासलगायतका स्थानमा पनि श्रीमद् भागवत महापुराणको महात्म सुनाएकी थिइन्।
उनले संस्कृत विश्वविद्यालयबाट पूर्वीय दर्शनमा विद्यावारिधी गरेकी छन्। उनले झन्डै दुई दशक अगाडिदेखि प्रवचन सुरु गरेकी हुन्। तर, आधिकारिक रूपमा भने विगत ६ वर्षदेखि उनी निरन्तर भागवत वाचनमै छिन्।
डा. कान्ता भट्टराई
हाल राप्रपाको केन्द्रीय सदस्यसमेत रहेकी डा.भट्टराई २०७४ सालमा तत्कालीन राप्रपा नेपालको तर्फबाट महिला बालबालिका तथा समाज कल्याण राज्यमन्त्रीसमेत भइसकेकी छन्।
यसरी महिला पूर्वराज्यमन्त्रीले भागवत भनेको सम्भवतः यो पहिलो हो। करिब ३८ वर्ष शिक्षण पेसामा सम्लग्न उनी आफूले पूर्ण सेवाभावले भागवत वाचन गरेको बताइन्। ‘म आफूमा भएको ज्ञान बाँड्न कोटिहोममा गएको हुँ। हामीले दिएको गहन विषय लिन जान्नुपर्यो। लगाउनेले पनि मर्म बुझेको मानिसलाई लगाउनुपर्यो’, ६६ वर्षीया डा. भट्टराईले भनिन्, ‘साँच्चै भनौं भने महिलाले नै हो धर्मको रक्षा गरेको।’
नेपालको राजनीतिमा महिलालाई उचित स्थान नदिइए पनि धार्मिक, साँस्कृतिक, सामाजिकलगायतका हरेक क्षेत्रमा महिला अगाडि रहेका उनको धारणा छ। ‘हाम्रो धर्म शास्त्रले त महिलालाई पुरुषभन्दा हजार गुणामाथि भनेको छ। धर्मले महिलालाई हेला गरेको छैन। तर, धर्म शास्त्रका ती कुरा हाम्रा पाठ्यपुस्तकमा भएनन्’, उनले भनिन्, ‘पाठ्यपुस्तक निर्माणमा पुरुषकै बर्चश्व छ। त्यस्ता नेतृत्वदायी भूमिकामा महिला पुग्न सकिएको छैन।’
भागवत महापुराणमा नारीलाई यति धेरै सम्मान दिइएको छ तर त्यो प्रसंगलाई पुराण भन्ने पुरुष पण्डितहरूले कहिले उल्लेख नगर्ने उनले बताइन्। यस्ता पुराणहरू वाचन गर्दा पुरुषको बर्चश्वको बारेमा मात्र नभई नारीको गरिमा र नारीशक्तिको गौरवशाली भूमिकाको विषयमा पनि उल्लेख गरिनुपर्ने उनको भनाइ छ।
सम्बन्ध विच्छेदले पुर्यायो वृन्दावन
कोटिहोममा कथा वाचक राधिका दासीले शिव महापुराण कथा वाचन गरिन्। उनको उत्कृष्ट कथा वाचन शैलीप्रति भक्तजन निकै मोहित देखिन्थे। प्रष्ट वक्ताकी रूपमा रहेकी दासी नेपाली समसामयिक परिवेशलाई उदाहरणको रूपमा जोडेर जोकोहीको ध्यान आकृष्ट गर्ने क्षमता राख्छिन्।
२०४५ साल भदौ १ गते परिवारमा दोस्रो सन्तानको रुपमा जन्मिएकी उनी सानैदेखि तीक्ष्ण र मेहेनती थिइन्। आध्यात्मप्रतिको उनको रुचि र शिक्षा उनका हजुरबुबाबाट आयो।
राधिका दासी
आफ्नो पढाइ सकाएर उनी काठमाडौं आइन् र एउटा विद्यालयमा पढाउन थालिन्। उनको एक सन्तान छ। विवाहको केही समयपछि उनको सम्बन्ध विच्छेद भयो। यही कारणले आफूलाई वृन्दावनसम्म पुर्याएको र त्यहाँ पुगेपछि आफूले आफैंलाई चिन्ने मौका पाएको उनले बताइन्। यो धर्तीमा आफू वास्तबमै किन आएको रहेछु भन्ने बुझेर उनले आफ्नो अध्यात्मिक यात्रा सुरु गरिन्। त्यहाँ अध्ययन पूरा गरेर नेपाल फर्केर उनी समाज सेवामा लागिन्।
१८ पुरानको सारमा बेदव्यासले ‘परोपकार सबैभन्दा ठूलो पुण्य हो र परपीडा सबैभन्दा ठूलो पाप हो’ भनेकाले आफूले पनि नेपाल आएर सेवाको बाटो रोजेको बताइन्। उनी मायाघर नेपालको सुरुवात गरिन्।
उनले वृन्दावनमा रहँदै धार्मिक प्रवचन दिन थालिसकेकी थिइन्। त्यहाँका केही संस्थामा अंग्रेजीमा पनि प्रवचन दिइन्। उनले नेपाल आएर पहिलोपटक आफ्नै खर्चले इटहरीमा पुराण लगाइन्।
जन्म, मृत्यु, विवाह, धनसम्पत्ति, मान सम्मानलगायतका चिजहरू मानिसको हातमा नभएको शास्त्रमा लेखिएको उनले बताइन्। ‘त्यसैले हामीले कर्म गर्ने हो , फल दिने काम भगवान्को हो’, उनले भनिन्। सनातन पराम्परालाई अंगालेर अगाडि बढ्दा जीवन साँच्चै सुन्दर हुन्छ भन्ने उनको अनुभव छ। आजको दिनमा घरघरमा तनावको विरामी पैदा भइरहेकाले नैतिक शिक्षा र संस्कार शिक्षामा जोड दिन सकेमात्र समाज सकारात्मक बाटोमा जाने बताउँछिन्।
हजुरबुवाको प्रेरणा,तिक्खर वाचक
देवी प्रतिभाको नामले परिचित प्रतिभा पराजुली काभ्रेको मन्डनदेउपुर ज्वानेटारमा जन्मिएकी हुन्। साधुराम पराजुली र इन्दिरा पराजुलीकी माइली छोरी हुन् प्रतिभा। उनी पशुपति क्षेत्रमा लगाइएको कोटिहोमा कथा वाचनका लागि भारतको वृन्दावनबाट काठमाडौं आएकी हुन्। उनले नर्सरीदेखि कक्षा ३ सम्म गाउँको स्कुलमा पढिन्। संस्कृत पढ्ने उनको बालहटका कारण उनलाई काठमाडौं ल्याइयो। त्यसपछि वृन्दावनमा गएर उनले संस्कृत व्याकरण पढ्न थालिन्।
शान्त सुशील स्वभावकी देवी प्रतिभा आफ्नो उद्देश्य प्राप्तिमा सानैदेखि अटल भएर लागिरहिन्। पण्डित बन्ने आफ्नो उद्देश्य पूर्तिका लागि उनी जस्तोसुकै जोखिम मोल्न पनि तयार भइन्। १२ वर्षको हुँदा भारतको वृन्दावन पुगेकी उनले १७ वर्षको उमेरदेखि कथा वाचन सुरु गरेकी हुन्।
देवी प्रतिभा
हजुरबुबाको प्रेरणाले नै वृन्दावनसम्म पुगेर अध्ययन थालेको २३ वर्षीया देवी प्रतिभा बताउँछिन्। विभिन्न सामाजिक काममा सम्लग्न संस्था राष्ट्र सेवा परिवारमा पनि उनी आबद्ध छन्। देवी प्रतिभाले भारतका विभिन्न स्थानमा आफ्नो प्रवचन दिइसकेकी छिन्। उनी अन्तर्राष्ट्रिय रूपमै यति चर्चित छन् कि प्रवचनका लागि उनको आगामी दुई वर्षसम्मका लागि व्यस्थ तालिका छ।
देवी प्रतिमा एक तिक्खर कथावाचक हुन्। उनी भागवत पुराणका साथै रामचरित मानस पनि सुनाउँछिन्। उनको सबैलाई लठ्याउने खालको कथावाचन शैली छ। उनले सुनाएका कथा कोटिहोममा उपस्थित हजारौं भक्तजनले मन्त्रमुग्ध भएर सुनिरहे। उनी जहाँ–जहाँ प्रवचनका लागि जान्छिन्। त्यहाँ निकै ठूलो भीड जम्मा हुने गर्छ। यही कारणले गर्दा उनलाई सम्बन्धित आयोजकले विशेष सुरक्षा प्रदान गर्ने गरेको छ। त्यसैगरि आफ्नो सुरक्षाका लागि भारत सरकारले समेत केही अंग रक्षक दिएको उनले सञ्चार माध्यममा बताएकी थिइन्।
उनको कथा वाचन मात्रै होइन, सुमधुर स्वरमा गाइएको भजनलाई पनि दर्शकले अत्यधिक रुचाएका छन्। शास्त्रले नारी शक्तिको सर्वदा सम्मान हुनुपर्छ भनेको उनले वाचनको क्रममा भन्ने गरेकी छन्। ‘नारीले पनि पुरुषको सम्मान गर्नुपर्छ र पुरुषले पनि नारीको सम्मान गर्नुपर्छ’, उनले एक अन्तर्वार्तामा भनेकी थिइन्।
लन्डनबाट आइन् रामकथा सुनाउन
चन्द्रकला सखी केही समयदेखि बेलायतको लन्डनमा बसेर अंग्रेजी भाषामा राम कथाको प्रवचन दिँदै आएकी छन्। उनी पशुपति क्षेत्रको कोटिहोममा लन्डनबाट आएर रामकथा सुनाइरहेकी छन्।
बाल्यअवस्थामा उनलाई घरमा पूजा हुँदा किन हजुरआमाले घण्टी बजाइरहनुभएको होला भन्ने लाग्यो उनलाई। एक दिन उनलाई फुपू दिदीसँग गुरु आश्रम जाने अवसर मिल्यो। त्यहाँ गुरुद्वारा धर्म संस्कृतिको महत्वको बारेमा वैज्ञानिक ढंगले प्रस्तुत भएको सुनेर आध्यात्म प्रति उनको आकर्षण बढ्दै गएको हो।
चन्द्रकला सखी
धेरै देशमा आफूले यात्रा गर्दा नेपालको जस्तो महान संस्कार संस्कृति कहीँ रहेछन् भन्ने आफूले अनुभव गरेको उनले सुनाइन्। हामी नेपाली सँगै खान्छौं, सँगै हिँड्छौं। तर, विदेशमा सँगैको छिमेकीसँग पनि नबोल्ने कारणले धेरैमा तनाव र एन्जाइटी भएको उनको भनाइ छ। आफूलाई पनि विदेश जानेबित्तिकै यस्ता ससाना कुरा याद आएर मातृभूमिको निकै माया लागेर आएको उनले बताइन्।
कोटिहोममा कथा वाचनको सिलसिलामा कहीँ कतै गल्ती भए उनले क्षमा पनि माग्ने गरेकी छन्। आफू कुनै विधुषी नभएकाले त्रुटि हुन सक्ने भएकाले आफ्नै छोरी सम्झेर माफ गरिदिन उनले बेलाबेलामा भन्ने गरेकी छन्। ‘दिनलाई दान, लिनलाई ज्ञान र त्याग्नलाई अभिमान’ सबैभन्दा श्रेष्ठ हो भन्ने विचार राख्ने सखी नेपाली भक्तजनमाझ पनि निकै लोकप्रिय कथा वाचक बन्न सफल भइन्।
संविधानले ३३ प्रतिशत दिन्छ, धर्मले बराबर
जहाँ नारीको पुजा हुन्छ, जहाँ नारीको सम्मान हुन्छ त्यहाँ स्वयं देवता र भगवानको बास हुन्छ भनेर शास्त्रमा भनिएको छ। हामीले जहिले पनि भगवान्को उच्चाहरण गर्दा कृष्ण राधा भन्दै नौं, राधा कृष्ण भगवान्को जय भन्छौं। सीताराम भगवान्, लक्ष्मीनारायण भगवान्, उमामहेश्वर भगवान् भनेर सम्बोधन गर्छौं। जहिले पनि पुरुषको नामको अगाडि श्री लगाइएको हुन्छ। श्री भनेको लक्ष्मी हो। लक्ष्मी नारी शक्ति हो। भगवान् शिवलाई पनि अर्ध नारेश्वर भनिन्छ।
नेपालको संविधानले महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेको छ। तर, हिन्दु शास्त्रले पुरुष र नारीलाई बराबर स्थान दिएको छ। एउटै सिक्काका दुई पाटाका रुपमा परिभाषित गरेको छ। त्यसैले नारी शक्तिको जागरण र सचेतनाको रुपमा अहिले अध्यात्मिक क्षेत्रमा दाजुभाइकोभन्दा पनि सहभागिता आमाहरूको छ। यहाँ कोटिहोममा उपस्थित हुनुभएका आमा तथा दिदीबहिनीहरूको संख्याले पनि त्यसलाई प्रष्ट पार्छ। पुरुषका भाग्य विधाता भनेकै नारी हुन्। पति, छोरा र परिवारलाई कुन बाटोतर्फ लैजाने भन्ने नारीको हातमा हुन्छ।
बालयोगेश्वर श्री विजय कृष्णमूर्ति जी महाराज, अध्यक्ष एवं संस्थापक, मानव सेवा फाउन्डेसन
त्यसैले अहिले कोटिहोममार्फत राष्ट्र शान्ति, विश्व कल्याण, आम नेपालीको सुख शान्ति तथा समृद्धिका लागि आह्वान गरिरहेका छौं। ललितपुरस्थित मामाघर अनाथालय आश्रम र भक्तपुरस्थित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको सर्वांगिण विकासका लागि यो यज्ञ गरिएको हो। यस कोटिहोममा विश्व प्रसिद्ध कथा वाचिकाहरूद्वारा कथावाचन गरिएको छ।
नेपाल नारीप्रति हिंसा, अन्याय, अत्याचार, नारीलाई दोस्रो दर्जाको नागरिकका रूपमा गरिने व्यवहार र पितृसत्तात्मक देश भनेर चिनिएको नेपालमा नारीलाई ब्यास पीठमा राखेर उनीहरूलाई विश्वभरी नै चिनाउन यज्ञले महत्वपूर्ण भूमिका निभाएको छ। मानिसलाई सत्मार्गको बाटोमा लाग्न प्रेरित र मार्गनिर्देश गर्न र धर्म तथा संस्कृतिलाई बचाउन उहाँहरू पनि सक्षम हुनुहुन्छ भन्ने सन्देश कोटिहोमले दिएको छ। नारी आफैंमा सशक्त हुनुहुन्छ। नारी भनेको महानता हो। नारी शक्तिको प्रतिमुर्ति हुन्।
नारी सबैलाई मार्गप्रशस्त गर्ने देवी स्वरूपा हुन्। नारीलाई लक्ष्मी, दुर्गा र सरस्वतीको रुप मानिन्छ। भगवान् शिवले पार्वतीलाई जसरी माया गर्नुहुन्थ्यो, सतीदेवीलाई जसरी माया गर्नुहुन्थ्यो, अर्धनारेश्वरको भूमिमा, पशुपतिनाथको भूमिमा नारीहरूलाई वक्ताका रूपमा ल्याउँदा यसले नारी सशक्तीकरण गरेको छ। नारीलाई सम्मान, इज्जत र प्रतिष्ठा दिएको छ। गाउँघरमा अहिले पनि छोरी जन्मदा नाक खुम्च्याउने र छोरा जन्मदा हर्षोल्लास, अबिर जात्रा र खानपिन गर्ने चलन छ। छोरी पनि राष्ट्रका लागि महत्वपूर्ण अंग हुन्, छोरी बिनाको घर, दिदीबहिनी बिनाको घर, आमा विनाको घर भनेको सुन्य र मसानघाट जस्तो महसुस हुन्छ।
९ वर्षमै जितिन् सबैको मन
गुल्मी घर भएकी ९ वर्षीया बालिका अनुराधा पाण्डेले कोटिहोममा कथा वाचन गर्दा तालिको गडगडाहट रोकिएन। आफू उमेरमा सानै भएको र धेरै ज्ञान नभए पनि भगवान्को कृपा रहेको उनले बताइन्।
त्यसैगरी गुरुजनहरूको शिक्षा र ममतामही आमा बाबाहरूको आशीर्वादबाट जे प्राप्त गरेको छु, त्यही प्रस्तुत गर्छु भन्दै उनले बीचबीचमा संस्कृतका श्लोकहरू पस्कँदै कथा वाचन गरिन्।
अनुराधा पाण्डे
गल्तीहरू अनेकौं भए पनि आफ्नै छोरी सम्झेर माफ गर्ने र आशीर्वाद दिनुहोला उन्दै उनी कथा वाचन अगाडि बढाउँछिन्। भक्तजनको त्यति ठूलो मासको अगाडि बसेर निकै आत्मविश्वास ढंगमा उनले वाचन गरेका कथा सुनिरहुँ झैं लाग्छन्।
‘मानिसले जबसम्म कुनै पनि वस्तुको महत्व बुझ्दैन, तबसम्म उसलाई उक्त वस्तुप्रति श्रद्धा र विश्वास हुँदैन’, उनले कथा वाचनको क्रममा भनिन्। उनका बुबा पनि वृन्दावनमा संस्कृत व्याकरणका विद्वानमा गनिन्छन्। संस्कृत, हिन्दीलगायतका विभिन्न भाषामा कथा वाचन गर्ने क्षमता भएकी उनले हजारौं भक्तजनको मन जितेकी छन्।