बारपाक–लाप्राक सडक एक महिनादेखि अवरुद्ध
गोरखा : गोरखाको बारपाक र लाप्राक जोड्ने सडक एक महिनादेखि अवरुद्ध बनेको छ। अविरल वर्षापछि झरेको पहिरोका कारण सो सडक अवरुद्ध बनेको हो।
सडक अवरुद्ध भएपछि धार्चे— ४ लाप्राक, धार्चे—५ गुम्दा र सिङ्लालगायतका गाउँका बासिन्दालाई सदरमुकाम र सहरी क्षेत्रमा आवातजावत गर्न पैदल हिँड्नुपर्ने भएको छ। ती गाउँहरूबाट गाडी चढ्न चार घण्टाको पैदलयात्रा गरी बारपाक वा माछाखोला पुग्नुपर्ने बाध्यता भएको धार्चे गाउँपालिका—४ लाप्राकका वडाध्यक्ष किसान गुरुङले बताए।
निरन्तर परेको वर्षाका कारण पहिरो गएर असार दोस्रो हप्ताबाट सडक अवरुद्ध बनेको थियो। माम्चे डाँडामा आएको पहिरोले सडक अवरुद्ध बनेको उनले बताए। ‘असार दोस्रो हप्ताबाट सडक बन्द छ,’ उनले भने, ‘माम्चे डाँडाबाट झरेको पहिरोले त्यो खण्डमा सडकको कुनै नामो निशाना छैन।’
पहिरोका कारण लाप्राकमा करिब ६ सय र गुम्दा र सिङ्लाका त्यत्तिकै घरधुरीका बासिन्दा गाडी चढ्नबाट वञ्चित छन्। ‘लाप्राकबाट गाडी चढ्न पाइँदैन। साढे तीन घण्टा, चार घण्टा हिँडेर बारपाक पुग्नुपर्छ। भारी बोक्यो भनी त झन् एक दिन नै लाग्छ’, वडाध्यक्ष गुरुङले भने, ‘माछाखोला पुग्न पनि उस्तै हो। गुम्दा र सिङ्लाका बासिन्दालाई पनि उस्तै समस्या छ।’
कोही बिरामी वा घाइते भएमा बोकेर अस्पतालसम्म पुर्याउन पर्ने बाध्यता रहेको उनले गुनासो गरे। ‘कोही बिरामी परिहाल्यो भने बोकेर नै अस्पताल लैजानुपर्ने भएको छ’ उनले भने, ‘हेलिकप्टर चार्टर गरौं भने पनि पैसा हुँदैन, साह्रै दुःख छ।’ सदरमुकामसम्म आउन बिहान ३ बजेदेखि हिँडेर बस भेट्टाउन पुग्नुपर्ने उनले बताए।
सडक बनाउन जिम्मा लिएको ठेकेदारको लापरवाहीले स्थानीयले अहिले सास्ती खेप्नु परिरहेको उनको भनाइ छ। ‘ठेकेदारले जहाँ सजिलो छ, फराकिलो छ त्यहाँ चाहिँ टेवा पर्खाल लगाउने, नाला बनाउने, ग्याबिनमा जाली भर्ने काम गरे,’ उनले भने, ‘असजिलो, साँगुरो ठाउँमा चाहिँ कुलो पनि नकाटेर छोडिदिए पछि पहिरो जाँदैन त।’ पछिल्लो एक वर्षदेखि ठेकेदार नै सम्पर्कमा नआएको उनले बताए। ठेकेदार सम्पर्कमा नआएदेखि सडक स्तरोन्नतिको काम रोकिएको छ।
सो सडक गण्डकी प्रदेश सरकारअन्तर्गतको आयोजना हो। बारपाक–लाप्राक सडक खण्ड निर्माणको लागि २०७७ साल असारमा शर्मा बिकोई जेभीसँग सम्झौता भएको थियो। २०७९ असारमा दुई वर्षभित्र सक्ने गरी ३४ करोड १५ लाख ७१ हजार १ सय ९८ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। यो आर्थिक वर्षमा पनि बारपाक–लुप्सीपाखा सडक स्तरोन्नतिका लागि २ करोड २० लाख बजेट विनियोजन भएको भौतिक पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले बताए।
तोकिएको समयमा काम सम्पन्न गर्न नसक्ने भएपछि कार्यालयले २०८० जेठ २२ गतेभित्रका काम सम्पन्न गर्ने गरी पहिलो पटक म्याद थप गरेको थियो।