सशस्त्रको निर्देशन - बंगलादेशबाट विस्थापित व्यक्तिहरू सीमाबाट प्रवेश गर्न सक्छन् , चनाखो हुनुहोस्
काठमाडौं : सशस्त्र प्रहरी बलले सुरक्षित स्थान खोज्दै बंगलादेशी नागरिकहरू नेपाल प्रवेश गर्न सक्नेप्रति सचेत रहन मातहतलाई निर्देशन दिएको छ। सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले नेपाल-भारत खुला सीमाको फाइदा उठाउँदै बंगलादेशबाट विस्थापित भएका अवाञ्छित व्यक्तिहरू नेपाल प्रवेश गर्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन लिखित निर्देशन दिएका हुन् ।
सीमानाकाको उपयोग गर्दै हुनसक्ने गैर कानुनी प्रवेशलाई पूर्णरुपमा निषेध गर्न सरोकारवाला र अन्य निकायहरूसँग समन्वय गरी सीमा नाकामा चेकजाँचमा कडाइ गर्न सशस्त्रले निर्देशन दिएको हो। मंगलबार मात्रै विराटनगर नाकाबाट नेपाल प्रवेश गर्न खोज्ने बंगलादेशी नागरिकहरूलाई फिर्ता गरेपछि सीमा क्षेत्रमा थप सतर्कता अपनाइएको छ।
सोमबार बसेको गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले नेपाल-भारत खुला सीमाका कारण शरणार्थी बढ्न सक्ने भन्दै सीमा नाकामा उच्च सतर्कता अपनाउन निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार सीमामा उच्च सुरक्षा सतर्कता अपनाउन भनेको हो।
बंगलादेशमा विद्यार्थीले आरक्षणको विषयलाई लिएर आन्दोलन चर्काएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेकी छन्। प्रधानमन्त्री हसिनाले देश छोडेपछि बंगलादेशको सेनाले नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरेपनि अन्योल भने बाँकी नै छ।
प्रदर्शनकारीहरूले शेख आवद्ध पार्टीका समर्थक,नेताहरुको घर तोडफोड, हत्या,आगजनीजस्ता क्रियाकलाप गरेकाले उनी समर्थक र शरणार्थी सुरक्षित स्थानको खोजिमा भारत हुँदै नेपाल आउनसक्ने आकलन गरिएको छ।