एकपछि अर्को हवाई दुर्घटना, कसले लिने जिम्मेवारी ?

एकपछि अर्को हवाई दुर्घटना, कसले लिने जिम्मेवारी ?

काठमाडौं : मुलुककै प्रतिष्ठित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको विमान दुर्घटना भयो। साउन ९ गते भएको उक्त दुर्घटनामा १८ जनाको ज्यान गयो।

दुर्घटना लगत्तै सरकार र उड्डयन क्षेत्रका सरोकारवाला ताते। कतिले नियामक निकाय उड्डयन प्राधिकरणतर्फ औंला ठड्याए, कतिले विमान कम्पनीका कमजोरी औंल्याए। उक्त दुर्घटनाले नेपाली आकाश सुरक्षित रहे/नरहेको भन्ने बहसले फेरि बजार तात्यो। तर, दुर्घटनाको कारण पत्ता नलाग्दै बुधबार अर्को दुःखद घटना भयो। त्रिभुवन विमानस्थलबाटै उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पर्‍यो। चालकसहित ४ जनाको ज्यान गयो। यो घटनाले सबैलाई झस्काएको छ। 

आर्थिक वर्ष सुरु भएको पहिलो महिना साउनमै भएका दुइटा दुर्घटनाबाट अर्बौंको आर्थिक क्षति भएको छ। २३ जनाले ज्यान गुमाएका छन्। मुलुकको  हवाई सुरक्षामा यसले गम्भीर प्रश्न उठाएको छ।  

डाइनेस्टीको हेलिकप्टर कसरी भयो दुर्घटना ?     
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रसुवाको स्याफु्रबेंसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर बुधबार दुर्घटना भयो। नाइनएन–एजेडी कलसाइनको हेलिकप्टर नुवाकोटको सूर्यचौरमा दुर्घटना भएको थियो। हेलिकप्टर दुर्घटनामा क्याप्टेनसहित ५ जनाको मृत्यु भएको छ।null

दुर्घटनामा क्याप्टेन अरुण मल्ल र ४ चिनियाँ पर्यटकको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले जानकारी दिए। हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेमा तीन पुरुष र एक महिला छन्। जसमा ३८ वर्षीय जुताओ ताङ, ३६ वर्षीय जी ली, ४१ वर्षीय जेमिङ सी र महिला ३१ वर्षीया वु यीयाओ छन्। मृतकमध्ये तीन पुरुष सिचुवान प्रान्तका हुन् भने महिला ग्वान्झाउकी हुन्। 

काठमाडौं विमानस्थलबाट १ बजेर ५४ मिनेटमा हेलिकप्टर रसुवाको स्याफु्रबेंसीका लागि उडेको थियो। उडेको ३ मिनेटपछि नै हेलिकप्टरको एयर ट्राफिक कन्ट्रोरल (एटीसी) सँग सञ्चार सम्बन्ध टुटेको थियो। भिजुअल फ्लाइट रुल्स (भीएफआर) मा उडेको जहाज टेरेन (पहाड) मा ठोक्किएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको प्रवक्ता पाण्डे बताउँछन्। 

भीएफआर भनेको प्रविधिको संकेतमा भन्दा पनि दृश्यमूलक उडान हो। हेलिकप्टरमा इन्स्टुमेन्टल फ्लाइट रुल्स (आइएफआर) भन्दा पनि भीएफआरमा नै उडान हुने गरेको छ।null

हेलिकप्टर जाँदा दुर्घटना भयो या इनरुटमा मौसम खराबी भएर फर्किने क्रममा दुर्घटनामा पर्‍यो भनेर एकिन गर्न नसकिएको  प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल बताउँछन्। ‘दुर्घटनापछि स्थानीयबाट फोन आएको थियो। कसैले बादल देखेर हेलिकप्टर फर्किने क्रममा दुर्घटना भएको बताएका छन् भने कसैले जाँदा नै रूखमा ठोक्किएर दुर्घटना भएको भनेका छन्,’ भुलले भने, ‘कसरी दुर्घटना भयो भन्ने अवस्था अहिले नै छैन।’ दुर्घटनाको प्रकृति हेरेर मात्रै दुर्घटना कसरी भएको थियो भन्न सकिने उनी बताउँछन्।

प्राधिकरणले उडानको क्रममा बादलभित्र छिर्न रोक लगाए पनि त्यसको कार्यान्वयन हुन सकेको देखिँदैन। हेलिकप्टर स्याफु्रबेंसीका लागि उड्दा काठमाडौंको मौसम सफा थियो। हेलिकप्टर उड्दा काठमाडौंको भिजिबिलिटी ६ किलोमिटर थियो। सामान्यता ५ किलोमिटर भिजिबिलिटी भएपछि हेलिकप्टरलाई उडानको अनुमति दिइन्छ। वर्षाका कारणले इनरुट(उडानस्थलबाट गन्तव्यबीचको बाटो) को मौसममा केही बदली भइरहे पनि सफा नै थियो। काठमाडौंबाट बाहिर निस्किने क्रममा इनरुटमा बादलभित्र पसेर दुर्घटना भएको पनि हुनसक्ने भूल बताउँछन्। 

नेपालको हवाई सुरक्षा निगरानी प्रणालीमा नै सुधार गर्न जरुरी छ। कुनै अमुक निकाय मात्र नभई सम्पूर्ण नागरिक उड्डयन प्रणालीमा नै परिवर्तन गर्न आवश्यक छ। यसमा स्रोतको क्षमता, वित्तीय क्षमता लगायतमा पनि ध्यान दिन जरुरी छ। यहाँ प्राधिकरणका पनि कमजोरी छन्, हवाई सञ्चालकका पनि कमजोरी छन्। सरकारका कमजोरी पनि उस्तै छन्। २ हप्तामै अर्को हवाई दुर्घटना भएको छ भने कहीँ कतै त समस्या छ भन्ने देखाउँछ। 
सञ्जीव गौतम, पूर्वमहानिर्देशिका नेपाल नागरिक उड्डयन प्राधिकरण

युरोपियन युनियन(ईयू) को कालोसूचीमा हामी परिरहेका छौं। आइकाओ सेफ्टी अडिटमा पनि हाम्रो हवाई सुरक्षा मापदण्ड एकदम नै कम छ। यसलाई सम्बोधन गर्न प्राधिकरण टुक्र्याउनुको विकल्प छैन। प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी २ निकाय बनाउनैपर्छ। यसमा धेरै चलखेल हुने गरेको छ। प्राधिकरण २ निकायमा जाँदा सजगत बढ्छ जस्तो लाग्छ। निरन्तर हवाई दुर्घटना हुँदा यात्रुहरूको विश्वास पनि गुम्छ भने अन्तर्राष्ट्रिय जगतमा पनि राम्रो सन्देश जाँदैन  । 
सुरेशमान श्रेष्ठ, पूर्वसचिव

घर फर्किंदै थिए चिनियाँ पर्यटक
एयर डाइनेस्टिको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका ४ चिनियाँ पर्यटक रसुवाको केरुङ नाकाबाट नेपाल भित्रिएका थिए। उनीहरू सोमबार बिहान ९ बजे रसुवा नाकाबाट नेपाल प्रवेश गरेका थिए। उनीहरू बहुप्रबेंसी भिसामा नेपाल आएका थिए। ती चिनियाँ पर्यटक केरुङ हुँदै चीन फर्किनका लागि स्याफु्रबेंसी गएको प्राधिकरणका सूचना अधिकारी भुल बताउँछन्।

स्याफु्रबेंसीमा चिनियाँ पर्यटकलाई पुर्‍याएपछि त्यहाँ रहेका ६ अमेरिकी पर्यटकलाई लिने गरी हेलिकप्टर उडेको थियो। चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको कैलाश मानसरोवरको यात्रा गरी ६ अमेरिकी पर्यटक फर्किएका थिए। काठमाडौं हुँदै अमेरिका फर्किन लागेका ती अमेरिकी पर्यटकलाई ३–३ जना गरी दुई पटकमा काठमाडौं ल्याउने योजना थियो। तर, हेलिकप्टर गन्तव्य नपुग्दै उडेको ३ मिनेटमा नै दुर्घटनाग्रस्त भएको थियो।

सरकारले गठन गर्‍यो छानबिन आयोग

सरकारले एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न जाँझबुझ आयोग बनाएको छ। हवाई दुर्घटनापछि सरकारले  गठन गरेको यो १०९ औं आयोग हो। बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा जाँझबुझ आयोग बनाएको हो। तीन सदस्यीय आयोगमा विष्णु थापा र तनुजा पोखरेल छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले काम सुरु गरेको मितिले आयोगलाई एक महिनाको समय दिइएको जनाए। 

विमान कम्पनीहरूको सुरक्षा निर्देशिकाको अडिट गर्दै थियो प्राधिकरण

हवाई दुर्घटनामा सुधार नहुँदा हवाई सुरक्षामा प्रश्न उठ्ने गरेको छ। हवाई दुर्घटना हुन्छन्, तर त्यसको जिम्मेवारी न सरकारले लिन्छ, न नियामक निकायले नै।  विमान कम्पनीहरूले पनि जिम्मेवारी लिँदैनन्। नियामक निकाय प्राधिकरणको नियमनकारी भूमिका कमजोर भएकोमा प्रश्न उठ्ने गरेको छ। गत साउन ९ गते सौर्य एयरकोे विमान दुर्घटनामा १७ जनाले ज्यान गुमाए। काठमाडौं विमानस्थलमा नै भएको दुर्घटनापछि प्राधिकरणले सुरक्षा निर्देशिकाको अडिट सुरु गरेको जनाएको थियो।

प्राधिकरण र अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण(आइकाओ) को सुरक्षा निर्देशिका अन्तरगत सेफ्टी म्यानेजमेन्ट सिस्टम र क्वालिटी म्यानेजमेन्ट सिस्टमको लागू दर निकाल्ने काम भइरहेको सूचना अधिकारी भूलले जानकारी दिए। सन् २०२३ को लागू दरले अहिले मूल्यांकन गर्न नमिल्ने भन्दै भुलले २०२४ को पछिल्लो ७ महिनामा आन्तरिक हवाई कम्पनी हवाई सुरक्षाका इन्डिकेटरहरूमा कसरी काम गरेका छन् भनेर हेर्न खोजेको भुलले बताए। उनका अनुसार यी लागू दरमा ६० प्रतिशतभन्दा तल आएकाको उडान रद्द गर्ने, ६० देखि ७५ प्रतिशतभित्र भएकालाई आवश्यकताअनुसार केही परिवर्तन गर्न लगाउने र त्यसमाथि आएकालाई उडान गर्न दिने भन्ने छ। अडिटको काम चलिरहँदा नै अर्को दुर्घटना भएको छ। 

नेपालको सेफ्टी कल्चर(सुरक्षा संस्कार) नै नभएकोले बारम्बार दुर्घटना हुने गरेको प्राधिकरण उच्च स्रोत बताउँछ। प्राधिकरणले सुरक्षाको व्यापार गर्ने गरेकाले यसको संस्कार बस्न नसकेको उनको तर्क छ। ‘हवाई उडानमा सेफ्टी अन प्रायोरिटी भनिन्छ, तर त्यसलाई पालना गरेको पाइँदैन,’ उनले भने।

हवाई सुरक्षाका सम्बन्धमा रिपोर्ट गर्नेभन्दा पनि लुकाउने प्रवृत्ति हावी भएको स्रोत बताउँछ। कसैले हवाई सुरक्षाको सम्बन्धमा रिपोर्ट गरे सुधार्नेभन्दा पनि प्रतिशोध साध्ने प्रवृत्तिले सेफ्टी कल्चर खस्किँदै गएको स्रोतको भनाइ छ। 

४५ वर्षमा ४०औं हेलिकप्टर दुर्घटना

हवाई सेवाको ७५ वर्षे इतिहासमा यो ११०औं दुर्घटना हो। हेलिकप्टर दुर्घटनालाई हेर्दा भने पछिल्ला ४५ वर्षमा यो ४०औं दुर्घटना हो। नेपालमा सन् १९७९ डिसेम्बर २७ अर्थात् २०३६ पुस १२ गते लाङटाङमा हेलिकप्टर दुर्घटना भएको थियो। यो दुर्घटनामा ६ जनाको ज्यान गएको थियो। त्यस यता बुधबारको एयर डाइनेस्टीको दुर्घटनालाई पनि जोड्दा हेलिकप्टर दुर्घटनामा परी ९७ जनाको मृत्यु भएको छ। अर्बौको आर्थिक नोक्सानी राज्यले बेहोरेको छ।null

०८० सालको असारमा मनाङ एयर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो। सामान्यता हेलिकप्टर दुर्घटना इनरुटमा बढि हुने गरेको प्राधिकरणको सुरक्षा प्रतिवेदनमा उल्लेख छ। प्राधिकरणका अनुसार हाल १२ हेलिकप्टर कम्पनीहरूले सेवा प्रदान गर्दै आइरहेका छन्। जसमा एयर डाइनेस्टी, अल्टिच्युड, अन्नपूर्ण हेलिकप्टर, फिस्टेल, हेलि एभरेष्ट, कैलाश, मनाङ, माउन्टेन, मुस्ताङ, प्रभु,  श्री र सिम्रिक हेलिकप्टर सञ्चालनमा छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.