धरानका मेयर हर्क साम्पाङविरुद्ध उत्रिए १० राजनीतिक दल
धरान : खानेपानीको महशुल वृद्धि भएपछि धरान उपमहानगरपालिकाको नेतृत्वविरुद्ध १० दल आन्दोलनमा उत्रिएका छन्। कांग्रेस, एमाले, जसपा, जसपा नेपाल, प्रमुख प्रतिपक्ष माओवादीलगायतका १० दलरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले बिहीबार मेयर हर्कराज राईविरुद्ध नाराबाजी गर्दै धरान उपमहानगरपालिकामा नाराजुलुससहित धर्ना दिएका छन्।
कांग्रेस धरानका सभापति श्याम पोखरेल, एमाले धरानका अध्यक्ष हर्कजङ एभेङ, माओवादीका अध्यक्ष मनोज भट्टराई, पूर्व सांसद जयकुमार राई लगायतको नेतृत्वमा १० दलका नेता कार्यकर्ताहरू नारा जुलुस लगाउँदै उपमहानगरपालिका पुगेका थिए। उनीहरूले नालायक मेयर हर्कराज मुर्दावाद, खानेपानीको मूल्यवृद्धि फिर्ता गर, हर्कराज राई राजीनामा दे लगायतका नारा लगाएका थिए।
एमालेका धरान अध्यक्ष एभेङले मेयर हर्क साम्पाङले खानेपानी व्यवस्थापन बोर्डको बैठक नै नराखी खानेपानीको महसुल वृद्धि गरेकाले आन्दोलन गर्नुपरेको बताए। उनले १० दलको जायज मागलाई मेयर राईले सम्बोधन नगरेका कारण नगरपालिका घेराउ गर्नुपरेको बताए।
हजारौंको संख्यामा आएका आन्दोलनकारीले नगरपालिका प्रवेश गर्न लागेपछि सशस्त्र र नेपाल प्रहरीले रोकेको थियो। आन्दोलन सशक्त बनेपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले राजनीतिक दलहरूलाई संयमित भएर वार्ता र छलफल गरी समस्याको समाधान गर्न अनुरोध गरे।
उनले आन्दोलनले कसैलाई पनि फाइदा नगर्ने भन्दै वार्ताद्वारा समस्याको निकास खोज्न राजनीतिक दल र धरान उपमहानगरपालिका नेतृत्व समक्ष अनुरोध गरे। सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले धरानमा भएको आन्दोलनका विषयमा दुवै पक्षलाई सहमतिमा ल्याउने पहल भइरहेको बताए।
धरान १७ का अध्यक्ष तथा उपमहानगरका प्रवक्ता मनोज भट्टराईले मेयर राईको निरंकुश शैली विरुद्ध जनप्रतिनिधिहरू पनि आन्दोलनमा उत्रनु परेको बताए। मेयर राईले भने एसियाली विकास बैंकको ऋण तिर्न खानेपानीको महसुल बढाउनु परेको बताए।